थापाथोक कफी उत्पादक सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न

मंसिर १/खबरकलम संवाददाता: अर्जुनचौपारी गाउँपालिका वडा नं १ थापाथोक स्थित श्री थापाथोक कफी उत्पादक सहकारी संस्था लिमिटेडले आफ्नो १५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।

थापाथोक स्थित त्रिपुत्र वागवानी फार्ममा आज शेयरधनीहरुको उपस्थितिमा संस्थाले आफ्नो १५ औं साधारणसभा सम्पन्न गरेको हो। संस्थाका अध्यक्ष पिताम्बर अर्यालको सभाध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले सहकारीको सिद्धान्त अनुसार चलेका सहकारीलाई आफ्नो भरपुर साथ रहने बताउँदै सहकारीमा आबद्ध सदस्यहरुको जीवनस्तर उकास्न योजना बनाएर सोको खाकासहित आएमा आफू सँधै सहयोग गर्न तयार रहेको उनको भनाइ थियो।

अर्जुनचौपारी गाउँपालिकालाई आफ्नो कार्यकालभित्रै सबैले चिन्ने बनाउने र कम्तीमा पनि एकपटक अर्जुनचौपारी गाउँपालिका आउन लोभ्याउने गरी काम गरिरहेको उनले बताए। हिजोको अर्जुनचौपारी र आजको अर्जुनचौपारीमा धेरै फरक भैसकेको बताउँदै उनले आफ्नो प्राथमिकता शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकास सहित सुशासन र भ्रष्टाचारमुक्त समाज रहेको र सोही अनुसार संस्थागत रुपमै आफू चलेको उनले बताए। प्रकाश तिवारीमा होइन अब अर्जुनचौपारी गाउँपालिकामा गर्व गर्न सक्ने वातावरणको सृजना गर्नु आफ्नो एकमात्र ध्येय रहेको उनको उद्घोष थियो।

विशिष्ठ अतिथिको रुपमा उपस्थित अर्जुनचौपारी गाउँपालिकाका सहकारी तथा योजना शाखा प्रमुख दीपक थापा क्षेत्रीले सहकारीसम्बन्धी कानूनमा भएका नीतिगत र कानूनी व्यवस्था उल्लेख गर्दै सहकारीले हालसम्म गरेको कार्यविवरण सन्तोषजनक रहेकोमा खुशी व्यक्त गरे। यो सहकारी उत्पादनसँग जोडिएकोले कफी मात्र नभई सुन्तला किसानलाई समेत जोडेर सेवाप्रवाह गर्न उनले सुझाव समेत दिए।‌

विश्व हिन्दु युवासंघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले समेत अतिथिको रुपमा बोल्दै सहकारीको प्रगतिको कामना गरे। उनले आफू सिटीईभिटीमा कार्यरत रहेको र यसअन्तर्गत सञ्चालन हुने तालिममा सहकारीलाई समेत जोड्न इच्छुक रहेको बताउँदै सीपबाटै आत्मनिर्भर हुने बाटोमा सबैलाई लाग्न उनले अनुरोध गरे।

सहकारीका संस्थापक अध्यक्ष तथा हालका सल्लाहकार संयोजक फणिनारायण अर्यालले स्थापनाकालमा १० वटा सहकारी मिलेर कफी संघ बनाउनुपर्ने प्रावधानका कारण कफी सहकारी नामाकरण गरिएको तर, हाल यस सहकारीले किसानलाई आवश्यक पर्ने सम्पूर्ण कुराहरुलाई प्राथमिकतामा राखेर काम गरेको जानकारी दिए। नाम कफी सहकारी भएपनि किसानका हरेक आवश्यकतामा यो सहकारी सहयात्री बनेर रहिरहने उनले उल्लेख गरे।

वार्षिक साधारणसभामा अध्यक्षको प्रतिवेदन पेश गर्दै अध्यक्ष पिताम्बर अर्यालले आगामी आर्थिक वर्षमा सहकारीले गर्न लागेका कार्यक्रमका योजनाहरु समेत प्रस्तुत गरेका थिए। उनले प्रस्तुत गरेका नीति तथा कार्यक्रमहरुमध्ये मुख्यतः कार्यसम्पादनका आधारमा कार्यसमिति, उपसमिति र कर्मचारीको मूल्याङ्कन गरिने, एक घर एक सदस्य बनाउने अभियानलाई निरन्तरता, कृषि सामग्रीमा ५०-१००% सम्मको अनुदान दिने, किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको आधारमा किसानलाई पुरष्कृत गर्ने, किसानलाई भ्रमण लैजाने लगायतका कुरा उल्लेख थिए।

स्वागत मन्तब्य संस्थाको तर्फबाट उपाध्यक्ष केशवप्रसाद ढकालले दिएका थिए भने सञ्चालन संस्थाका सचिव ओमबहादुर जिटीले गरेका थिए। लेखा समितिको प्रतिवेदन संस्थाका लेखा समिति संयोजक पुण्यप्रसाद रिजालले प्रस्तुत गरेका थिए। शेयरधनीको तर्फबाट शुभकामना मन्तव्य तीर्थ हमालले दिएकी थिइन्।

यस थापाथोक कफी उत्पादक सहकारी संस्था लिमिटेडमा हालसम्म शेयर पुँजी रु २६,६९,००० रहेको र शेयर धनी २७५ जना ( महिला १४९ र पुरुष १२६ जना) रहेका छन्। कुल निक्षेप रकम रु ७७,६४,८४५ र ऋण लगानी रु १,०४,०२,०८५ रहेको छ।

संस्थाको १५ औं साधारणसभाको अवसरमा आफ्नो संस्थामार्फत कारोबार गर्ने वचतकर्तामध्ये उत्कृष्टलाई पुरष्कृत तथा सम्मानित गरेको छ। सम्मानित हुनेहरुमा उत्कृष्ट ज्येष्ठ नागरिक वचतकर्ता यवलाल अर्याल, उत्कृष्ट अपाङ्ग बचतकर्ता गोविन्द अर्याल, उत्कृष्ट मुद्धति वचतकर्ता सुशिला तिवारी, उत्कृष्ट कफी उत्पादक पूर्णकला अर्याल, उत्कृष्ट सुन्तला बँगैचा व्यवस्थापन भरत पौडेल रहेका छन्। यसैगरी उत्कृष्ट नियमित वचतकर्ता फुलमाया रोका, उत्कृष्ट बालवचतकर्ता सारिका केसी रहेका छन्।

संस्थाले यसै वर्षदेखि रासायनिक मलको विक्री वितरण समेत सुरु गरेको छ।

Share Post on Social media