अर्जुनचौपारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, क्रिकेट खेलाडी सम्मानित

खबरकलम संवाददाता /मंसिर ६: अर्जुनचौपारी गाउँपालिकामा आजबाट दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। मंसिर ८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको आज उद्घाटन गरिएको हो।

मंसिर ८ गतेसम्म सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा खेलकुद महोत्सवमा अर्जुनचौपारी गाउँपालिकाका ३३ विद्यालयका नौ सय विद्यार्थीको सहभागिता रहेको छ। ४५ स्वर्ण, ४५ रजत र ४५ काँस्य पदकको लागि प्रतिस्पर्धा हुने प्रतियोगितामा कक्षा १ देखि १२ सम्मका विद्यार्थीको सहभागिता रहेको छ ।

खेलकुद महोत्सवमा कक्षा १ देखि ५ सम्म चम्चा दौड, म्युजिकल चियर, एकल नृत्य पतियागिता रहेको छ । यस्तै कक्षा ६ देखि १२ सम्म दौड, हाइजम्प, लड्ढजम्प, त्रिपल जम्प, भलिबल, कबड्डी, डोरी तान्ने खेल रहेका छन् ।
साथै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहको अवसरमा अर्जुनचौपारी गाउँपलिकाले कात्तिक १९ गतेदेखि २९ गते सम्म युएईमा सञ्चालित यू–१९ विश्वकप क्रिकेट छनोटमा उपाधि जितेका स्याङ्जाका तीन खेलाडीलाई सम्मान समेत गरेको छ । गाउँपालिकाले पुतलीबजार नगरपालिका १ की ज्योत्सिना मरासिनी, १३ की सीमाना केसी र कुसुम गोदारलाई जनही १५ हजार रुपियाँ नगद, सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको हो भने क्यान स्याङ्जाका अध्यक्ष दिवाकर थापालाई सम्मानपत्रले सम्मान गरिएको हो ।

अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारी, उपाध्यक्ष सपना गुरुङ, प्रकाशकीय अधिकृत कौशल पाण्डेले खेलाडी तथा स्याङ्जा जिल्ला क्रिकेट संघका अध्यक्षलाई सम्समन गरेका हुन्। सम्मान गर्दै अध्यक्ष तिवारीले खेलाडी देशको गहना भएकाले सबैले खेल र खेलाडीको सम्मान गर्नुपर्ने बताए।

Share Post on Social media