अर्जुनचौपारीमा आयोजित रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, पञ्चकन्या मावि प्रथम
खबरकलम संवाददाता/स्याङ्जा: अर्जुनचौपारी गाउँपालिकाद्वारा आयोजना गरिएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न गरिएको छ।
३ दिनसम्म चलेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अर्जुनचौपारी गाउँपालिकाभरका ३३ वटा आधारभूत तथा माध्यमिक विद्यालयका विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
कुल ५० वटा स्वर्ण, ५० रजत र ५० वटै काँस्य पदकका लागि प्रतिष्पर्धा भएको उक्त खेलमा ९०० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो। कुल २२ स्वर्ण ८ रजत र ४ काँस्य गरी ३४ पदकसहित पञ्चकन्या मावि प्रथम, ९ स्वर्ण ९ रजत र ९ काँस्य पदकसहित घण्टे मावि दोस्रो, र ४ स्वर्ण, ५ रजत र ४ काँस्य पदकसहित अर्जुनचौपारी चिल्ड्रेन एकेडेमी तेस्रो र, ४ स्वर्ण, ४ रजत र १० काँस्य पदकसहित अमरज्योति मावि सान्त्वना भएका छन्।
यसैगरी शैक्षिक महोत्सव अन्तर्गत शैक्षिक प्रगति मूल्यांकन घण्टे मावि सर्वोत्कृष्ट स्थान हासिल गरी नगद रु १ लाख सहित पुरष्कृत भएको छ। जन मावि रापाकोट उत्कृष्ट बन्दै नगद रु ५००००, आधारभूत तहमा गणेश आवि र गाउँफर्क आवि (१-५) सर्वोत्कृष्ट बन्दै ५०-५० हजार, सूर्योदय आवि आरुचौर (१-३) ५०००० नगद सहित सम्मानित भएका छन्।
मंसिर ६ देखि ८ सम्म अर्जुनचौपारी स्थित खेलमैदानमा आयोजना गरिएको रनिङ शिल्ड प्रतियोगिता आज एक समापन समारोह आयोजना गरी सम्पन्न गरिएको हो। समापन समारोहमा प्रमुख अतिथिको रुपमा स्याङ्जा जिल्ला क्षेत्र नम्बर १ का संघीय सांसद् राजु थापा उपस्थित थिए। नेकपा माओवादी केन्द्र स्याङ्जा इन्चार्ज शैलेन्द्र घिमिरे विशिष्ट अतिथिको रुपमा उपस्थित थिए। उनले अर्जुनचौपारी गाउँपालिका बनाउने कठिन अभियानमा लडेर पालिका बनाउने सार्थकता पूरा गरेको र अब आन्तरिक रुपमा पालिका सम्बृद्ध बन्ने अभियानका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने कुरामा जोड दिए। प्रमुख अतिथि राजु थापाले सुधार गर्नुपर्ने मुख्य क्षेत्र नै शिक्षा क्षेत्र भएकाले शिक्षाको सुधार नै हरेक कुराको सुधार हो भन्ने कुरामा जोड दिए।
उनले भोलिको पुस्ताको सुखद भविष्यको लागि यही पुस्ताबाट त्याग समर्पण र कर्म गर्नुपर्ने भएकाले हरेक बसलबालिकाको मनस्थितिमा राष्ट्रिय भावनाको विकास गराउन विद्यालयलाई अनुरोध समेत गरे। खेलकुदमा भविष्य रहेको भन्दै खेलमा लाग्न समेत उनले विद्यार्थीलाई अनुरोध गरे।
अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले यो खेलकुद महोत्सवको ३ दिनमा मैदानमा देखिएको प्रेम र टिमवर्क सदाबहार रहनुपर्ने कुरामा जोड दिए। विद्यार्थीको तर्फबाट सुस्मिता शर्मा पौडेलले बोल्दै पालिकाले गरेको योगदान र बालबालिकाको हक अधिकार स्थापित गर्न गरेको भूमिकाको प्रशंसा गरिन्।
समापन समारोहको अध्यक्षता अध्यक्ष प्रकाश तिवारीले गरेका थिए भने सञ्चालन लालबहादुर केसीले गरेका थिए।
आफ्नो प्रतिक्रिया दिनुहोस्