रुपन्देहीमा पनि सुरु भयो फुड बैँक

राम बहादुर गुरुङ/भदौ २४: “हुनेले दिएर जानु , नहुनेले लिएर जानु” भन्दै देवदहमा क्रियाशील विभिन्न क्लबहरुले खाद्यान्न संकलन अर्थात फुड बैंक कार्यक्रम सञ्चालन गरेका छन् ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारी फैलिएको र बन्दाबन्दीका कारण कैंयौं गरिखाने समुदायले काम गरेर पनि खान नपाएकोले कसैको घरमा चुलो ननिभोस् भन्दै भएकाहरुले नभएकालाई सहयोग गर्ने हेतुले लायन्स क्लब अफ देवदह, लायन्स क्लब अफ देवदह प्रोफेशलन युथ, लियो क्लब अफ देवदह, लियो क्लब अफ लर्ड बुद्ध, रोट्याक्ट क्लब अफ तिलोत्तमा देवदह र सामाजिक सेवा समूह फाउण्डेशन नेपालले संयुक्त रुपमा उक्त कार्यक्रम सञ्चालन गरेको लायन्स क्लब अफ देवदहका अध्यक्ष लायन राम बहादुर गुरुङले जानकारी गराउनुभयो। त्यसै गरी लायन्स क्लब अफ देवदह प्रोफेशनल युथका अध्यक्ष लायन दिपेश बिक्रम मल्लले आफु बाँचौं र अरुलाई बचाऔं भन्दै मानवीय सेवामा जुटेकोले सबैको सहयोगको अपेक्षा राख्दै दीन दुःखीहरुको सेवामा सहभागी हुन यस क्षेत्रका समाजसेवी, राजनीतिज्ञ, व्यवसायी, जनप्रतिनिधि एवं पेशाकर्मी सबैलाई आवहान गर्नुभयो । सामाजिक सेवा फाउण्डेशनका अध्यक्ष रबि रेग्मीले संकलित खाद्यान्न लक्षित समुदायको घर दैलोमा नै गएर बितरण गर्ने बताउनुभयो । त्यसैगरी रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहका अध्यक्ष अर्जुन गुरुङले समुदायबाट लिएर समुदायलाई नै दिने यस पवित्र कार्यमा क्लबहरु केवल माध्यम मात्र भएकाले यो हामी सबैको साझा कार्यक्रमको रुपमा लिइदिन सबैमा हार्दिक अनुरोध गर्नुभयो ।

त्यसैगरी लियो क्लब अफ देवदह र लियो क्लब अफ लर्ड बुद्धका अध्यक्ष लियो श्रद्धा केसी र लियो सन्दिप तिवारीले युवाहरु समाजसेवामा समर्पित भइ समाज परिवर्तनमा लागेको भन्दै हामीले नै समाजको लागि केही गर्नु पर्छ भनेर यस्तो कार्यक्रमको आयोजना गरेको बताउनुभयो । यस कार्यक्रमबाट कम्तिमा पनि एक हजार परिवारलाई सहयोग गर्ने अभियान्ता बिमल तिवारीले जानकारी दिनुभयो ।

Share Post on Social media