कृषि तथा नर्सरी व्यवस्थापन तालिम सम्पन्न

असोज २४/खबरकलम संवाददाता: वालिङ नगरपालिका वडा नम्वर ९ र १३ मा नर्सरी व्यवस्थापन तथा तरकारी खेती सम्वन्धी तालिम सम्पन्न भएको छ ।


युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत कृषकहरुलाई प्रशिक्षण प्रदान गरिएको हो ।


स्थलगत रुपमा नै गरिएको प्रशिक्षण कार्यक्रममा समुहको लागि सामुहिक रुपमा नर्सरी समेत राखिएको छ ।
नर्सरी मार्फत गाँउका कृषकहरुलाई बिरुवा बितरण गरी उत्पादन बढाउने लक्ष्य रहेको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिनुभयो। वालिङ नगरपालिकाका १४ वटै वडाका कृषक तथा कोरोना प्रभावितहरुलाई दीगो रुपमा आम्दानी तर्फ लैजाने परियोजनाको मुख्य उद्देश्य रहेको अध्यक्ष गैह्रेले जानकारी दिनुभयो ।


वडा नं १३ को कटौजेमा भएको कार्यक्रममा दियालो संस्थाका सहसचिव सीता गैह्रे, समाजसेवी बालानन्द डुम्रे,अगुवा कृषक गणेश डुम्रे,टिकाराम घर्ती र शुक्र बहादुर जिटी लगायतले बोलेका थिए ।
त्यस्तै वडा नम्वर ९ को कार्यक्रममा दियालो युएनडिपी नेपालका फिल्ड अधिकृत गंगाधर खनाल (राजु),सुर्काैदी कृषि सहकारीका अध्यक्ष कृष्ण प्रसाद पंगेनी लगायतले बोलेका थिए ।


वडा नम्वर १३ मा भएको कार्यक्रममा ३८ जना अगुवा कृषकहरुको सहभागिता रहेको थियो त्यस्तै वडा नम्वर ९ मा भएको कार्यक्रममा ३० जना अगुवा कृषकहरुको सहभागिता रहेको थियो ।
दुबै वडामा भएका कार्यक्रममा कृषि प्राबिधिक शोभाकान्त पाण्डे र बिष्णु प्रसाद न्यौपानेले प्रशिक्षण दिनुभएको थियो ।


कार्यक्रम अन्तर्गत नगरका १४ वटै वडामा नर्सरीको स्थापना गर्ने काम भईरहेको दियालो संस्थाले जनाएको छ ।

Share Post on Social media