स्याङ्जा विरुवाका उत्कृष्ट कृषकहरूलाई १ लाख नगद पुरस्कार सहित सम्मान

माघ ७/एनपी कोइराला, स्याङ्जा: स्याङ्जाको विरुवा गाउँपालिकाले पालिकाभित्रका उत्कृष्ट २ जना कृषकहरूलाई जनही १ लाख नगद पुरस्कार सहित सम्मान गरेको छ। यही शुक्रबार आयोजित १२ औं गाउँसभामा एकीकृत कृषि तथा पशुपालन फर्मका संचालक ओम बहादुर थापा र मौसम एग्रो फर्मका संचालक दिनेश रानालाई नगद पुरस्कारसहित सम्मान गरिएको हो।

थापाले कृषि तर्फको उत्कृष्ट पुरस्कार पाएका हुन् भने रानाले पशुपालन तर्फको उत्कृष्ट पुरस्कार पाएका हुन्।कृषितर्फ उत्कृष्ट हुनुभएका थापाले विगत ३ वर्षदेखी व्यवसायिक कृषि गर्दै आएका छन्। उनले सञ्चालन गरेको एकीकृत पशुपालन फर्ममा तरकारी खेतीका लागि स्थाई र अस्थायी प्रकृतिका गरी करिब एक दर्जन प्लास्टिक टनेलहरु रहेका छ्न्। मह उत्पादनमा आत्मनिर्भर भैसकेको विरुवा गाउँपालिकामा उनको फर्ममा मात्रै २९ वटा मौरीका घारहरू छ्न्। यसैगरी पशुपालनतर्फ उत्कृष्ट भएका दिनेश रानाको बाख्रा फर्म छ। उनको मौसम एग्रो फर्ममा ७९ वटा बाख्रा छ्न्। उनले पनि विगत ३ वर्षदेखि पशुपालन गर्दै आएका छन्।

पालिकाको एक मात्र समृद्धिको आधार व्यवसायिक कृषि भएकाले कृषकलाई प्रोत्साहन गर्न नगद पुरस्कार सहित सम्मान गरिएको पालिकका प्रमुख प्रशासकीय अधिकृत अनन्तराज न्यौपानेले बताए। “समृद्ध विरूवाबासी, सुखी विरूवाबासी” नाराको व्यवहारिक कार्यान्वयनतर्फ पालिका अग्रसर रहेको गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले बताए। युवाहरूलाई कृषि व्यवसायतर्फ आकर्षित गर्न कृषि तथा पशुपालन व्यवसायमा आबद्ध पालिका भित्रका उत्कृष्ट किसानहरूलाई गाउँ सभामा पुरस्कृत गरिएको उनको भनाइ छ।

उक्त सभामा पालिकाले आफूलाई चाहिने विविध ऐन तथा नियमावली समेत बनाएर पारित गरेको छ। विनियोजन ऐन, आर्थिक ऐन, गाउँ प्रहरी ऐन, प्रज्ञा प्रतिष्ठान ऐन, बालिबलिकाको अधिकार सम्बन्धि ऐन, प्रशासकीय कार्यविधी ऐन ,कार्यविभाजन नियमावली लगायतका एक दर्जन भन्दा बढी ऐन, नियमावली र प्रतिवेदन सर्वसम्मत पारित गर्दै पालिकाको १२ औं गाउँ सभा सम्पन्न भएको छ।

Share Post on Social media