सिद्धार्थ राजमार्गको छेवैमा चटपट बेचेर ४० हजार मासिक आम्दानी
जीवन अर्याल/स्याङ्जा: सिद्धार्थ राजमार्गको स्याङ्जा – वालिङ सडकखण्ड अन्तर्गत जैसिडाँडा नजिकै एउटा प्रतिक्षालय छ। प्रतिक्षालय जंगलकै बीचमा भएका कारण हत्तपत्त त्यहाँ सवारीसाधन रोकिँदैनन्।
प्रतिक्षालयसँगै जोडिएको छ, एक चौतारी। चौतारीमा बर, पीपल र समीका रुखहरु हुर्किरहेका छन्। हुर्किरहेका रुखसँगै कसैका सपनाहरु पनि हुर्किरहेका छन् त्यहाँ।
आफ्ना सपनाहरुलाई साकार पार्न एकाबिहानै घरको काम सकेर सामानको भारी बोक्छन् र ओरालो लाग्छन् दुई सासु बुहारी। ३८ वर्षकी कमला हिताङ र २० वर्षकी कुमारी हिताङ त्यतिधेरै पढेका छैनन्। तर, उनीहरु आफ्नो जीवन राम्रै तरिकाले चलाउन सक्षम बनेका छन्। सासु बुहारी मिलेर बिहान व्यापार गर्न सामान बोकी झर्छन्। दिनभर यात्रु कुर्छन्। छोटोमोटो व्यापार गर्छन्। फेरी साँझ उसैगरी सामान बोक्छन्। र, उकालो लाग्छन्।
पुतलीबजार नगरपालिका वडा नं १० घडेरी भन्ने स्थानमा उनीहरुको घर हो। घरमा बलियो आम्दानीको स्रोत केही छैन। कमला हिताङका श्रीमान सामान्य मिस्त्रीको काम गर्छन् र पनि प्रयाप्त आम्दानी हुँदैन। छोरा फर्निचरमा हेल्परको काम गर्छन्। हेल्परको काम बापत आएको पैसाले घरखर्चमा सामान्य सहयोग गर्छन् उनी पनि।
बाबुछोराको कामबाट मात्र आएको पैसाले घरखर्च नचलेपछि सासु बुहारीले सल्लाह गरे,”अब राजमार्ग छेउमा सुन्तला बेचौँ।” पहिलो वर्ष उनीहरुले सुन्तला बेचे। सुन्तलाको किनबेच हुने समयसम्म सुन्तला बेच्दा राम्रै आम्दानी पनि भयो। केही दिन त उनीहरुलाई लाज पनि लाग्यो। समाजले के भन्ला भनेर डर पनि लाग्यो। तर, जब सुन्तला किन्ने ग्राहक थपिँदै गए, उनीहरुको डर हराउँदै गयो। माघ लागेपछि सुन्तला सकिए।
माघमा सुन्तला त सकिए तर, उनीहरुको अभाव सकिएन। पैसाको समस्या सकिएन। यसैले उनीहरुले फेरी योजना बनाए, “चटपट बेच्ने!” र, सासु बुहारी मिलेरै २०७९ साल भदौबाट सिद्धार्थ राजमार्गको छेवैमा रहेको प्रतिक्षालयमा चटपट बेच्न सुरु गरे।
सिद्धार्थ राजमार्गको छेवैमा रहेको प्रतिक्षालयमा चटपट बेच्दाबेच्दै कमला हिताङलाई लाग्यो, “सँगै फलफूल तथा खुर्सानी पनि बेचौँ।” उनलाई बुहारीले सघाइन्। बुहारीले चटपट बेच्दा कमला फलफूल र खुर्सानी बेच्छिन्। पानी बेच्छिन्। चाउचाउ बिस्कुट पनि बेच्छिन्।
गर्मी मौसमका बेला काँक्रो बढी बिक्ने बुहारी कुमारी हिताङ बताउँछिन्। गाउँमा फलेको स्थानीय अकबरे खुर्सानीको पनि राम्रो कारोबार हुने उनको भनाइ छ। एक मानाको १०० रुपैयाँमा बेच्ने उनले दिनमा १०-१५ मानासम्म खुर्सानी बिक्ने गरेको बताइन्। पानी परेको बेला भने व्यापार नहुने उनको भनाइ छ।
हाम्रो पसलमा खान आउने ग्राहक नै मोटरसाइकल र स्कुटरमा यात्रु हुन्। कुमारी हिताङको भनाइ हो। चटपट धेरै जनाले मीठो मानेर खाइदिँदा आफूलाई खुशी लाग्ने र यही पेसामा धानिन मन हुने उनको भनाइ थियो।
“मैले नपढेपनि दु:ख गरेर छोरीलाई बोर्डिङ्ग स्कूल पढाएकी छु।” आमा कमला हिताङले भनिन्। बोर्डिङ्ग स्कूल पढाउने खर्च त्यही चटपट बेचेर आएको उनको भनाइ छ। महिनाको ३५-५०००० सम्म कमाइ गर्न विदेश जानु नपर्ने तथा यहीँ रहँदा समेत बेरोजगार बस्नु नपर्ने कमला हिताङको भनाइ छ। ६ जनाको परिवार धानेकी उनले अचेल मासिक बचत पनि सुरु गरेकी छन्।
आफ्नो काम गर्न डर र लाज नहुने भन्दै उनले जागिर र दुई चार पैसा कमाउन विदेशमा जानु नपर्ने सुझाइन्। व्यवशाय सानो ठूलो हुँदैन। आफ्नो सीप र लगानी अनुसारको यो चटपट व्यापारमा सन्तुष्ट देखिएकी उनले थपिन्, ” चालीस हजार कमाउन जागिर खसन र विदेश जान पर्दैन।”
पुतलीबजार नगरपालिकाको करेन्डाँडामा प्रतिक्षालयमा चटपट बेच्न थालेकी उनलाई नगरपालिकाले दु:ख नदिओस् भन्ने चाहना छ। “अन्त त बाटोमा थापेका पसल र ठेला फालिदिन्छन् भन्ने सुनेकी छु। हाम्रो त्यस्तो नहोस्।” उनले बताइन्।
श्रम गर्न चाहने बेरोजगार युवाहरुलाई उनको शैली र अभ्यास काम लाग्न सक्छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्