साउदी अरबले कफला प्रणाली हटाउँदै,श्रमिकलाई फाइदा

कार्तिक १४/अन्तर्राष्ट्रिय: विश्व श्रम बजारमा एउटा महत्त्वपूर्ण देश साउदी अरबमा”कफला प्रणाली” हटाइने भएको छ।

कफला प्रणाली हटाउने कार्य थालनी भएसँगै त्यहाँ कार्यरत थुप्रै श्रमिकहरुको लागि यो खुशीको खबर भएको छ। देश छोडेर गएपछि राहदानी समेत रोजगारदाता कम्पनीलाई बुझाउनुपर्ने, न्युनतम ज्यालामा काम गर्नुपर्ने, तोकेको काम तोकिएको ठाउँमा गएर गर्नुपर्ने, श्रमशोषण हुने, महिला श्रमिकको हकमा भने यौनदुराचार नै भोग्नुपर्ने जस्तो अवस्थामा कफला प्रणाली हटेसँगै उनीहरुको मुहारमा खुशी छाउन लागेको हो।

कफला प्रणाली हटेपछि रोजगारीका नयाँ अवसर सृजना हुने, कामदारले आफूले चाहेको काम चाहेको कम्पनीमा गर्न पाउने, पासपोर्ट तथा अन्य आधिकारिक कागजात आफूसँग राख्न पाउने, सीप अनुसारको कार्य गर्न मिल्ने तथा तलब र अन्य सुविधा पनि सोहीअनुसार हुनेछ।

साउदी अरब जस्तो कठोर कानून भएको देशले श्रमिकको हितमा ऐन बनाएर लागू गर्न खोज्नुले अन्तर्राष्ट्रिय श्रम बजारमा यसको महत्व झनै आकाशिने छ।

साउदी अरब नेपाली कामदारको लागि एक मुख्य आकर्षण केन्द्र हो। विशेषगरी अदक्ष र अर्धदक्ष कामदारहरु नेपालबाट साउदी अरबमा काम गर्न जाने गरेका छन्।

Share Post on Social media