विश्वकै दोश्रो अग्लो बन्जी जम्पिङ नेपालमा सुरु

कार्तिक १५/रासस: विश्वकै दोश्रो अग्लो बन्जी जम्पिङ नेपालमा सुरु भएको छ।

साहसिक पर्यटन अन्तर्गत पर्ने बन्जी जम्पिङ नेपालमा भोटेकोशी नदी र पोखराको हेम्जामा पहिल्यै संचालनमा थिए।

कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले आजदेखि बञ्जीजम्प सञ्चालनमा ल्याएको छ। पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने ५०० मिटर पुलमा बञ्जी, स्वीङ र स्काइ साइक्लिङलगायत साहसिक खेल सञ्चालन भएका हुन्। 

शनिवार (आज) द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले आँफै हामफालेर बञ्जी जम्पको औपचारिक शुरुआत गरेका हुन्। पुलसँगै रिसोर्ट पनि सञ्चालनमा आएको छ। अन्य साहसिक खेलहरु पनि आजैदेखि शुरु भएको कार्कीले बताए। ५२५ मिटर लामो झोलुङ्गे पुलबीचमा कालीगण्डकी नदीको ठिकमाथि बञ्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ। खोलादेखि पुलको उचाई २२८ मिटर अर्थात् ७४८ फिट छ।

हाल विश्वकै अग्लो बञ्जी मकाउमा ७६४ फिट उचाइ र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाइमा छ। द क्लिफ प्रालिको यो परियोजनापछि स्विटरल्याण्डलाई पछि पार्दै विश्वकै दोस्रो अग्लो बञ्जीका रुपमा दर्ज गर्नेछ भने यहाँको स्वीङ विश्वकै अग्लो बनेको अध्यक्ष कार्कीले बताए। बञ्जी र स्वीङ दुबैको मूल्य सात हजार रुपैयाँ तोकिएको छ। औपाचरिक शुरुआतसँगै सर्वसाधारणले समेत यहाँ साहसिक खेलमा सहभागी हुन पाउने छन्।

Share Post on Social media