भीरकोट युवा आवाजको अनिसा सहयोग कार्यक्रम अन्तर्गत हेल्प डेस्क संचालन सम्पन्न

कार्तिक २५/खबरकलम संवाददाता: २०७७ सालमा स्थापना गरिएको स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाको युवाहरुको संजाल भीरकोट युवा आवाजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत अनिसा सहयोग कार्यक्रम सम्पन्न गरेको छ।

क्यान्सर रोगबाट पीडित अनिसा अर्यालको उपचारको सहयोगार्थ भीरकोट युवा आवाजले पहिलो चरणमा राहत तथा सहयोग संकलन गर्ने कार्यक्रम सम्पन्न गरेको थियो।

विभिन्न सहयोगी तथा देशविदेशका दाताहरुबाट प्राप्त भएको सहयोग रकम नगरपालिका मार्फत सम्बन्धित व्यक्तिलाई दिने व्यवस्था मिलाइएको जानकारी युवा आवाजका अध्यक्ष सुनिल अर्यालले दिए।

पहिलो चरणको कार्यक्रम सकिएपछि थप सहयोगको आवश्यकता महसुस गर्दै भीरकोट युवा आवाजले भीरकोट नगरपालिकाका विभिन्न तीन ठाउँमा हेल्प डेस्क अभियान चलाएको थियो। भीरकोट नगरपालिकाको वडा नं ५ सुन्दरबजार (बगरेबजार) , भीरकोटकै केन्द्र बयरघारी तथा वडा नं १ हेलुबजारमा डेस्क राखी सहयोग रकम संकलन गरिएको प्रमोद खनालले खबरकलमलाई जानकारी गराएका छन्।

भीरकोट नगरपालिकाकी २० वर्षीया अनिसा अर्याल अहिले क्यान्सर रोगसँग जुधिरहेकी छन् र, उनको काठमाडौँमा उपचार भईरहेको छ।

पहिलो चरणमा उठेको रकम रु १,५६,७७४ (एक लाख छपन्न हजार सात सय चौरहत्तर) भीरकोट नगरपालिकाका नगर प्रमूख छायाराम खनालको उपस्थितिमा संस्थाका अध्यक्ष सुनिल अर्याललाई हस्तान्तरण गरिएको र उक्त रकम आजै अनिशाको बुवा शेर बहादुर अर्याल क्षेत्रीको बैंक खातामा पठाइएको थियो।

तीन ठाउँमा हेल्प डेस्क राखी संकलन गरिएको रकम करिब पचास हजार रहेको र छिट्टै हस्तान्तरण गरिने भीरकोट युवा आवाजले जनाएको छ।

Share Post on Social media