२०८३ अशोज ५, सोमवार

शिवरात्रीको अवसरमा नवग्रह मन्दिरमा अन्तर विद्यालयस्तरीय भजन प्रतियोगिता सम्पन्न 

खबरकलम संवाददाता: महाशिवरात्रिको अवसरमा नेपालकै पहिलो नवग्रह मन्दिर अर्जुनचौपारीमा आयोजना गरिएको अन्तर विद्यालयस्तरीय भजन प्रतियोगिता सम्पन्न भएको छ। 

नवग्रह मन्दिरधाम अर्जुनचौपारी जलबराहमा आज आयोजना गरिएको अन्तर विद्यालयस्तरीय भजन प्रतियोगितामा रामनदी गुरुकुल विद्यालयले प्रथम स्थान हासिल गरेको छ। यसैगरी अमरज्योति मावि लामडाँडाले दोस्रो स्थान र अर्जुनचौपारी चिल्ड्रेन एकेडेमीले तृतीय स्थान प्राप्त गरेका छन्। प्रथम हुनेले नगद रु  २५०००, दोस्रो हुनेले रु १५००० र तेस्रो हुनेले रु १०००० नगद पुरस्कार प्राप्त गरे। 

भजन प्रतियोगितासँगै आज ख्यातिप्राप्त कलाकार पशुपति शर्मा र घनश्याम रिजालको जोडीको उपस्थितिमा भजन कन्सर्ट समेत आयोजना गरिएको थियो भने शिव ताण्डव डिजे साँझ समेत सम्पन्न गरिएको थियो। 

वृद्धवृद्धालाई मात्र नभई युवा तथा बालबालिकालाई समेत अध्यात्म मार्फत समाज सुधारमा सकारात्मक प्रभाव बढाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए। आपसी सद्भाव, भातृत्व, संस्कृतिको संरक्षण तथा आध्यात्मिक जागरणमा यो उत्सव महत्त्वपूर्ण बन्ने उनको भनाइ थियो। 

महाशिवरात्रिको अवसरमा आज हजारौं भक्तजनले नवग्रह मन्दिरको दर्शन तथा पूजाआजा गरेका थिए। हरेक शनिबार नवग्रह मन्दिरमा विधिपूर्वक पूजाआजा गरिँदै आएको छ।

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

खबरकलम संवाददाता: प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘गुरुआमा’ को औपचारिक प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले सामाजिक सञ्जाल फेसबुकमा चलचित्रको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

शिक्षक पेशाको गरिमा, त्याग र समाज निर्माणमा उनीहरूको भूमिकालाई केन्द्रमा राखेर निर्माण गरिएको यस चलचित्र वैदेशाख २०८३ वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको हो ।

नयाँ वर्ष २०८३ को अवसर पारेर चलचित्रको प्रदर्शन मिति तोकिएको निर्माता तथा निर्देशक सुनारले जानकारी दिए । सोनी फिल्मस प्रा.लिको ब्यानरमा निर्माण भएको चलचित्रमा कथा तथा निर्देशन प्रेम सोनी सुनारले नै सम्हालेका छन् । उनले नेपाली समाजमा शिक्षकले खेलेको अदृश्य तर अत्यन्त महत्वपूर्ण भूमिकालाई कलात्मक ढंगले पर्दामा उतार्ने प्रयास गरेको बताएका छन्। निर्माता सुनारले भने ‘यो चलचित्र केवल मनोरञ्जनका लागि निर्माण गरिएको होईन, विद्यार्थी, शिक्षक, अभिभावक र समाजिक जीवनको महत्वपूर्ण पाठ हो ।’

चलचित्रमा मिथिला शर्मा, वुद्धि तामाङ, प्रेम सोनी सुनार, सुशिल पोखरेल, धुर्व कोईराला र टिका सानुको मुख्य भूमिका छ । अतिथि कलाकारका रूपमा गौरी मल्ल र पूजा शर्माको विशेष उपस्थिति छ, जसले कथालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

चलचित्रमा उत्तम केसी, राधिका हमाल, बालचन्द्र बराल, गिरीप्रसाद पुन, उषा कार्की, पदम थापा, केपी बागदश, टंक मरासीनी, जस्मिन मगर, सदिक्षा शर्मा, आदर्श गहतराज, अर्नब घिमिरे, सफल पौडेल, विश्वास नेपाल, कमला परियारको अभिनय छ । निर्माण पक्षका अनुसार चलचित्रले शिक्षक–विद्यार्थी सम्बन्ध, त्याग, संघर्ष र सम्मानका कथाहरूलाई मार्मिक ढंगले प्रस्तुत गर्नेछ ।

शिक्षा क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तु, अनुभवी कलाकारको सहभागिता र सशक्त सन्देशका कारण ‘गुरुआमा’ अहिले नै दर्शकमाझ प्रतिक्षित चलचित्रका रूपमा हेरिएको छ ।

महाशिवरात्रीको अवसरमा नवग्रह मन्दिरमा खुला भजन प्रतियोगिता हुने

खबरकलम संवाददाता/स्याङ्जा: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरमा महाशिवरात्रीको अवसरमा जिल्लामै पहिलो पटक अन्तरविद्यालय भजन प्रतियोगिता आयोजना गरिने भएको छ।

अर्जुनचौपारी गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत फागुन ३ गते बिहान १० बजेदेखि ‘प्रथम स्याङ्जा अन्तर विद्यालयस्तरीय भजन प्रतियोगिता’ सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा उजागर गर्दै मौलिक संस्कार, संस्कृति र आध्यात्मिक चेतनाको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए ।

प्रतियोगितामा स्याङ्जा जिल्लाभित्रका सामुदायिक तथा निजी विद्यालयले सहभागिता जनाउन सक्नेछन् । प्रस्तुत गरिने भजनमा अर्जुनचौपारी र स्याङ्जाको धार्मिक पर्यटन, स्थानीय मौलिकता, आध्यात्मिक भाव र नैतिक सन्देश झल्किनुपर्ने गाउँपालिकाको भनाइ छ । परम्परागत भजन–कीर्तनलाई प्राथमिकता दिइनेछ ।

प्रतियोगितामा प्रथम हुने समूहलाई २५ हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । विद्यार्थीहरूले भजनको गरिमा झल्किने मौलिक वा विद्यालयको औपचारिक पोशाक लगाउनुपर्नेछ । गाउँपालिकाले ‘मौलिक संस्कृति र आध्यात्मिक चेतनाको प्रवर्द्धनमा हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।

यसैबीच, महाशिवरात्रीको अवसरमा नवग्रह मन्दिरमा विशेष पूजा कार्यक्रम पनि आयोजना गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । गत वर्ष महाशिवरात्रीकै दिन प्राणप्रतिष्ठा सम्पन्न भएको मन्दिरमा यस वर्ष नौ लाख ९९ हजार ९९९ दीप प्रज्वलन समेत गरिने छ।

यसअघि पनि नवग्रह मन्दिरमा करोड बत्ती समेत प्रज्वलन गरी पूजाआजा गरिएको थियो। हरेक शनिबार देशका विभिन्न स्थानबाट श्रदालु भक्तजनहरूको बाक्लो उपस्थिति यस मन्दिरमा रहँदै आएको छ।

रास्वपा सभापति रवि लामिछाने भोलि स्याङ्जा आउँदै

खबरकलम संवाददाता /स्याङ्जा: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने स्याङ्जा आउने भएका छन्।

स्याङ्जा र पाल्पामा आयोजित चुनावी कार्यक्रममा सहभागी हुन सभापति लामिछाने स्याङ्जा आउने र सो पश्चात पाल्पा पुग्ने उनको तयारी छ। लामिछानेले स्याङ्जाको फेदीखोला, पुतलीबजार, भीरकोट, वालिङ, चापाकोट र गल्याङमा संक्षिप्त सम्बोधन गर्ने समेत तयारी गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी स्याङ्जाले जनाएको छ।
रास्वपा स्रोतका अनुसार भोलि बिहीबार दुई बजे वालिङ मोडमा सम्बोधन गर्ने कार्यक्रम रहेको रास्वपा वालिङ सभापति सुरेन्द्र काफ्लेले जानकारी दिए। उनी वालिङ, गल्याङ हुँदै चापाकोट जानेछन् र त्यसपश्चात पाल्पा पुग्नेछन्।

फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले आफ्नो उम्मेदवारी दिएका छन् भने चुनावी प्रचारप्रसारमा समेत लागिरहेका छन्।

भीरकोटमा IEMIS सम्बन्धी २ दिने कार्यशाला सम्पन्न

खबरकलम संवाददाता /स्याङ्जा: भीरकोट नगरपालिकाको आयोजनामा विद्यालयस्तरीय एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली IEMIS कार्यशाला सम्पन्न भएको छ।

मिति २०८२/१०/२७ र २८ गते भीरकोट नगरपालिकाको आयोजनामा नगरपालिकास्थित सामुदायिक तथा संस्थागत विद्यालयका IEMIS मा काम गर्ने शिक्षकहरुका लागि विद्यालयस्तरीय एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली Online Based IEMIS सम्बन्धी २ दिने अभिमुखीकरण कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ।

दुई दिनसम्म सञ्चालन गरिएको उक्त अभिमुखीकरण कार्यशालाले शैक्षिक विवरण प्रविष्टमा परेका समस्या र IEMIS का थप विशेषताहरुका बारेमा सहजीकरण मार्फत प्राविधिक सहायता प्रदान गरेको थियो।

उक्त कार्यशालामा भीरकोट नगरपालिकास्थित विद्यालयका करिब ४५ जना शिक्षकहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण भीरकोट नगरपालिकाका सहायक शिक्षा अधिकृत विष्णु भट्टराईले गरेका थिए।

आज समापन कार्यक्रममा बोल्दै उक्त कार्यशालाका अध्यक्ष तथा भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले शिक्षकको पेशागत विकास र समृद्धिका लागि नगरपालिका सदैव तत्पर रहेको बताउँदै भीरकोट नगरपालिकाको समग्र शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकलाई कर्तव्यनिष्ठ बन्न अनुरोध समेत गरे।

अर्जुनचौपारी गाउँपालिकामा प्रजनन स्वास्थ्य शिविर सम्पन्न, १००६ जनाले लिए सुविधा 

खबरकलम संवाददाता/स्याङ्जा: अर्जुनचौपारी गाउँपालिकाद्वारा आयोजना गरिएको प्रजनन स्वास्थ्य रुग्णताको स्क्रिनिङ शिविर सम्पन्न भएको छ। 

अर्जुनचौपारी गाउँपालिकाका ६ वटै वडामा फरक दिन र फरक स्थानमा आयोजना गरिएको उक्त शिविरमा १००६ जना महिलाहरुको प्रजनन स्वास्थ्यसम्बन्धी निशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो। 

अर्जुनचौपारी गाउँपालिकाले महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै गाउँपालिकाका सबै वडामा माघ १२ गतेदेखि माघ १८ गतेसम्म प्रजनन स्वास्थ्य सम्बन्धी निःशुल्क स्क्रिनिङ तथा उपचार सेवा सञ्चालन गरेको थियो। गाउँमै पुगेर समयमै जाँच र उपचारको व्यवस्था गरिँदा सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित भएको प्रजनन स्वास्थ्य परीक्षण गर्न आउने महिलाहरुको भनाई छ। महिलाको स्वास्थ्य सुरक्षित गर्न र गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन गाउँपालिका निरन्तर प्रतिबद्ध रहेको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए। 

“सुरक्षित नारी, समुन्नत अर्जुनचौपारी : समयमै जाँच र उपचार हाम्रो जिम्मेवारी” भन्ने मुल नाराका साथ उक्त शिविर सञ्चालन गरिएको थियो। उक्त शिविरमा स्वास्थ्य परीक्षणका क्रममा पाठेघरको मुखको संकास्पद क्यान्सर लक्षण देखिएका ९ जनालाई थप सहायताको निम्ति रिफर गरिएको थियो भने ३५ जनाको आङ खस्ने समस्या व्यवस्थापन गर्न रिङ पेसरी राखिएको थियो। 

यस्तै गरी स्तनमा समस्या देखिएका ३५ जना र पाठेघरमा मासु पलाएका ३२ जनालाई समेत थप उपचारका लागि रिफर गरिएको थियो।