२०८३ अशोज ६, मङ्लबार

थापाथोक कफी उत्पादक सहकारी संस्था लिमिटेडको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न

कार्तिक २६/स्याङ्जा: थापाथोक कफी उत्पादक सहकारी संस्था लिमिटेडको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

अर्जुनचौपारी गाउँपालिका वडा नं १ मा प्रमुख कार्यालय रहने गरी स्थापित उक्त कृषि सहकारीले अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न गरेको हो।

सहकारीको साधारणसभामा बोल्दै पालिका अध्यक्ष प्रकाश तिवारीले पालिकामा कुनैपनि आधारमा विभेद नगरिने र कृषि उत्पादन मार्फत गाउँपालिकालाई संबृद्धिको पथमा लैजान कृषिमा आधारित अनुदानमा जोड दिइने कुरा बताएका थिए। गाउँपालिकाले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरी ८१ वटा योजना गाउँपालिकाको विकासको निम्ति ल्याइएको जानकारी समेत दिएका थिए।

साधारण सभामा बोल्दै पूर्व अर्जुनचौपारी गाविस अध्यक्ष तथा जिल्लाकै अग्रणी किसान फणिनारायण अर्यालले सहकारीले उत्पादनमा जोड दिनुपर्ने र उत्पादनमा आधारित योजनालाई आफूले समेत आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

साधारण सभामा थापाथोक कफी उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष पिताम्बर अर्यालले अध्यक्षको प्रतिवेदन पेश गरेका थिए भने लेखा समिति संयोजक पुन्यप्रसाद रिजालले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

अर्जुनचौपारी गाउँपालिका वडा नं १ का वडाध्यक्ष रनबहादुर थापा, विभिन्न सहकारीका व्यवस्थापक अतिथि रहेको उक्त साधारणसभामा सञ्चालन सहकारीका सचिव ओमबहादुर जिटीले गरेका थिए भने स्वागत मन्तव्य दुर्गा पोखरेल अर्यालले दिएकी थिइन्।

विसं २०६५ मा ४९ जना सदस्यहरुले रु १० लाख ३५ हजार रकम जम्मा गरी स्थापना भएको उक्त सहकारीको हाल कुल शेयर पुँजी २४ लाख १४ हजार रहेको तथा कुल शेयरधनी संख्या २४७ जना रहेका छन्। हाल ९३ लाख ९० हजार ३६८ रुपैयाँ लगानीमा रहेको उक्त साधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ।

स्याङ्जामा चितुवाको आक्रमणबाट तीन घाईते

वालिङ, २५ कात्तिक ।
चितुवाको आक्रमणबाट स्याङ्जामा तीन जना घाईते भएका छन् ।

स्याङ्जाको वालिङ नगरपालिका वडा नं १४ कफ्लेटीमा चितुवाको आक्रमणबाट आज बिहान ९ः१५ बजेको समयमा दुई महिला र एक पुरुष घाईते भएका हुन् । वालिङ नगरपालिका वडा नं १४ का वडाध्यक्ष बोधराज कुँवरले वालिङ १२ का किसान न्यौपाने, वालिङ १४ की तुलसा पराजुली र लक्ष्मी पराजुली घाईते भएको जानकारी दिए।

खेतमा काम गरिरहेको अवस्थामा न्यौपानेलाई घाईते बनाएर भागेको चितुवा स्थानीय चण्डीप्रसाद पराजुलीको घरमा पसेको र घरभित्र जाँदा तुलसा पराजुली र लक्ष्मी पराजुली समेत घाईते भएको बुझिएको छ। घाईते भएकी तुलसाको अनुहारमा गहिरो चोट लागेको छ। किसान न्यौपानेको छाति तथा पाखुरामा चोट छ भने लक्ष्मीको पाखुरामा चोट लागेको छ । घाईते भएका तीन जनालाई उपचारकालागि गह्रौँ प्राथमिक अस्पताल वालिङमा प्राथमिक उपचारपश्चात थप उपचारकालागि गण्डकी मेडिकल कलेज पोखरा पठाईएको अस्पतालका बरिष्ठ ल्याब अधिकृत ईश्वर कोईरालाले जानकारी दिए।

भक्षक चितुवालाई अहिले घरभित्र थुनेर राखिएको छ। उक्त ठाउँमा स्थानीयवासी, प्रहरी र ईलाका बन कार्यालय वालिङबाट टोली पुगेको छ । चितुवालाई नियन्त्रणमा लिने तयारी गरिएको छ ।

मुक्तिनाथ बिकास बैंकद्वारा काजकिरिया राहत खर्च वितरण

कार्तिक २५/स्याङ्जा: राम बहादुर रोकाहा


मुक्तिनाथ विकास बैंक लिमिटेड अर्जुनचौपारी शाखा कार्यालयले बैंकको लघुवित्त कार्यक्रममा आवद्ध सदस्यको परिवारलाई काजकिरिया राहत खर्च वितरण गरेको छ।

“जनता बैंकमा होइन , बैंक जनतामा जानुपर्छ” भन्ने मुल नाराका साथ आधुनिक बैंकिङ , लघुवित्त र सीमित बैंकिङ्ग कार्यक्रम एकैसाथ संचालन गर्ने नेपालकै पहिलो बैंक मुक्तिनाथ विकास बैंक लिमिटेड स्याङ्जा अर्जुनचौपारी शाखा कार्यालयको लघुवित्त डेस्कको लघुवित्त कार्यक्रमकी सदस्य अर्जुनचौपारी गाउँपालिका-१ सिमलचौर निवासी याम कुमारी बिष्टका श्रीमान शेर बहादुर बिष्ट क्षेत्रीको गत असार ३० गतेका दिन असामयिक निधन भएको थियो ।

श्रीमानको निधनपश्चात् निजलाई बैंकले काजकिरिया राहत खर्च बापत चौध हजार पाँच सय रुपैयाँ(रु.१४,५००) प्रदान गरिएको बैंकको शाखा कार्यालय प्रमुख निर्मल मरासिनीले जानकारी दिनुभयो। उक्त रकमको चेक निजका घरपरिवारका अन्य सदस्यहरु , आफन्तहरु , स्थानीय बुद्धिजीवी , भद्रभलाद्मीहरुको उपस्थितिमा सोही वडाकी वडा सदस्य विष्णु कुमारी क्षेत्रीको रोहवरमा हस्तान्तरण गरिएको शाखा प्रमुख मरासिनीले बताउनुभयो।

उक्त कार्यक्रममा सोही वडाकी वडासदस्य क्षेत्रीले बैंकको “जनता बैंकमा होइन,बैंक जनतामा जानुपर्छ” भन्ने मुल नारालाई साँच्चिकै सार्थकता दिएको र बैंकले नाफामुखीभन्दा पनि सामाजिक कार्य गर्दै अर्जुनचौपारी गाउँबासीको सुखदुःख दुबैमा साथ दिँदै आएको कुरा जनाउँदै अब आउने दिनमा बैंकले सफलता तथा सामाजिक कार्यलाई निरन्तरता दिनेछ भन्ने अपेक्षा सहित सुभकामना व्यक्त गर्नुभएको थियो ।

त्यस्तै सोही कार्यक्रममा मुक्तिनाथ विकास बैंक स्याङ्जा अर्जुनचौपारी शाखा कार्यालयका प्रमुख निर्मल मरासिनीले बैंकका सामाजिक उत्तरदायित्व अन्तर्गतका सेवासुविधा तथा समग्र समसामयिक घटनाका बारेमा जानकारी गराएका थिए, भने कार्यक्रम सोही शाखा कार्यालयका कर्मचारी अन्जु रोकाले संचालन गरेकी थिइन् ।

फरार प्रतिवादी धमाधम पक्राउ गर्दै स्याङ्जा प्रहरी

कार्तिक २३/स्याङ्जा: जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फरार प्रतिवादी समात्ने अभियान तिब्र पारेको छ। जसअन्तर्गत सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी आज पक्राउ परेका छन्।


पाल्पा जिल्ला रम्भा गाउँपालिका-२ का ३८ वर्षीय राजकुमार दर्जीलाई सम्मानित स्याङ्जा जिल्ला अदालतले सवारी ज्यान मुद्दामा गत वर्ष कार्तिक ३० गतेका दिन १ वर्ष ५ महिना २१ दिन कैद तोकिएको र उनी फरार भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलिले सजाय तोकिएपश्चात फरार रहेका निजलाई यही कार्तिक २१ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए।


डिएसपी खनालले निजलाई थप आवश्यक कारबाहीका लागि मंगलबार जिल्ला अदालत स्याङ्जामा पेश गरी सजाय बमोजिम कैद भुक्तानको लागि स्याङ्जा जिल्ला कारागार पठाइएको जानकारी दिए।

“यो गठबन्धन सातुको डल्लो हो,पानी सुकेपछि फासफुस हुन्छ” ओली।

कार्तिक २१/स्याङ्जा: नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनलाई सातुको डल्लोको संज्ञा दिएका छन्।

आज स्याङ्जा एमालेले स्याङ्जा जिल्लाको सदरमुकाममा गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले गठबन्धनप्रति लक्षित गर्दै हालको गठबन्धन देश र जनताको हितमा नभएको बताए। पाँचथरी कुराहरु एकठाउँमा मिसाउँदा कस्तो खिचडी बन्छ? र, त्यो खिचडी खाँदा त्यसले के असर पार्छ? भन्दै ओलीले यो गठबन्धनरुपी पिलोलाई जसरी भएपनि निचोरेर फाल्न आग्रह गरे।

सभालाई सम्बोधन गर्दै उनले आफूले नेकपा एमालेको निम्ति भोट नमाग्ने तर नागरिकलाई सचेत भएर बिबेक पुर्याएर मत हाल्नैपर्ने ठाउँमा मत हाल्न अनुरोध गरे।

उनले स्याङ्जा जिल्लाको दुई तीनवटा बुथमा काँग्रेसले अरुलाई काँग्रेस बाहेक अन्य पार्टीमा भोट हाल्न नउिन बुथ नै कब्जा गर्ने गरेको कुरा निकाल्दै प्रहरी र प्रशासन समेतलाई निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउन सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरे।

उक्त चुनावी सभामा स्याङ्जा जिल्लाबाट प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरु पद्मा अर्याल, नारायण मरासिनी, सुधिर पौडेल, मोहन रेग्मी, सिता सुन्दास, बुद्धिमान श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए।

केपी शर्मा ओली स्याङ्जा आउँदै

कार्तिक १५/स्याङ्जा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्याङ्जा आउने भएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जिल्ला निर्वाचन परिचालन कमिटी, स्याङ्जाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न कार्तिक २० गते अध्यक्ष ओली स्याङ्जा आउन लागेको स्याङ्जा जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे पारसले जानकारी दिए।