२०८३ अशोज ५, सोमवार

स्याङ्जामा एकैदिन थपिए, २९ कोरोना संक्रमित

वैशाख १५/ स्याङ्जा: स्याङ्जा जिल्लामा एकैदिन आज २९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

आज थपिएका सबै जनाको एन्टिजेन परीक्षण राम्दी हेल्थ डेस्कमा गरिएको थियो। उक्त संक्रमित पछिल्लो समय हरिद्वार कुम्भ मेलाको समापनमा सहभागी भई आएका थिए।

सार्वजनिक सुनुवाइको भुक्तानी २ वर्ष पुग्दा पनि नपाएको सेवा प्रदायकको गुनासो

खबरकलम संवाददाता/वैशाख १५: सुशासन र आर्थिक पारदर्शिता कायम गर्नका लागि आयोजना हुने सार्वजनिक सुनुवाई कार्यक्रममा खर्च भएको रकम दुई वर्ष पुग्दा पनि भुक्तानी नदिइएको गुनासो प्राप्त भएको छ।

आर्थिक वर्ष २०७५/७६ मा बालोदय मा.वि सुन्दरबजारमा भीरकोट नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइमा टेन्ट सेवा उपलब्ध गराएबापतको भुक्तानी अझैसम्म नपाएको गुनासो सेवा प्रदायकले गरेका छ्न्। रेग्मी क्याटरिङ एण्ड टेन्ट हाउसका संचालक यादव रेग्मीले २ वर्ष बितिसक्दा पनि टेन्ट सेवा उपलब्ध गराएबापतको भुक्तानी नपाएको बताएका हुन्।

उक्त सार्वजनिक सुनुवाइको व्यवस्थापनको जिम्मा बागेश्वरी असल शासन (बास) स्याङ्जाले लिएको थियो। बास स्याङ्जाका अध्यक्ष चुत्र बहादुर महतले नगरपालिकाबाट भूक्तानी लिएको भएतापनि टेन्ट हाउसलाई लामो समयसम्म भूक्तानी नगरेका हुन्।

भीरकोट खबरका प्रधान सम्पादक समेत रहेका महतलाई यस विषयमा फोन सम्पर्क गर्ने प्रयास गर्दा फोन उठेन। असल शासन कायम गर्नका लागि खबरदारी गर्ने असल शासन क्लबले सार्वजनिक सुनुवाइमा भएको खर्चको भूक्तानी लामो समयसम्म नगर्नुले सुशासनको स्तर छर्लङ्ग पारेको छ।

असल शासन क्लबकै संयोजक समेत रहेका पत्रकारले समयमै भुक्तानी नगर्दा उनको कार्यशैलीमाथि यसले आशंका उब्जाएको छ।

जन्मदिनको अवसरमा पाठ्यसामग्री वितरण

वैशाख १५/ स्याङ्जा: नेकपा एमाले भीरकोट नगरपालिका अध्यक्ष विश्वनाथ अर्यालले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई पाठ्यसामग्री वितरण गरेका छन्।

रानीरह आधारभूत विद्यालय भीरकोट १ मा अध्ययनरत १४ जना विद्यार्थीलाई कपी तथा कलम बितरण गर्दै उनले आफ्नो जन्मदिन मनाएका हुन्।

युवाहरुबीच लोकप्रिय नेता उनी समाजसेवामा पनि उत्तिकै सक्रिय रहेका छन्।

तीन हजार बढी संक्रमित थपिए आजै नेपालमा

वैशाख १२/ काठमाडौं: आज नेपालमा ३००० बढी कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार २ सय ९२ पीसीआर परीक्षणबाट आइतबार ३ हजार ३२ जना संक्रमित फेला परेको हो । त्यस्तै ७ सय ८६ एन्टिजेन परीक्षणबाट ९० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन परीक्षणमा ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सुन्तला सुपरजोनको संयोजकमा तारा प्रसाद अर्याल चयन

वैशाख ६/स्याङ्जा: प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुन्तला सुपरजोन स्याङ्जाको सञ्चालन समितिको अध्यक्षमा भीरकोट नगरपालिकाका सुन्तला व्यवसायी तारा प्रसाद अर्याल चयन भएका छन् ।

समितिको हालै सम्पन्न अधिबेशनले अर्याललाई संयोजकमा चयन गरेको हो । ९ सदस्यीय समितिको अन्य सदस्यमा तिरमाया गुरुङ, अन्नतराज मरासिनी, भिमा जि.टी., नविन आले, सुरेन्द्र रेग्मी, यामबहादुर के.सी., ज्ञानेश्वर चापागाईं र हिमकला शर्मा अर्याल चयन भएका छन् ।

समितिले परियोजनासँग सहकार्य गर्दै सुन्तला सुपरजोन लागु भएका पालिकामा सुन्तला व्यवसायीको हकहित र प्रवद्र्धनमा काम गर्दै आएको छ । समितिले सुन्तला व्यवसायीको क्षमता अभिबृद्धिमा समेत टेवा पुर्याउँदै किसानहरुको बृद्धि विकासमा सहयोग गर्दै आएको छ।

हालै नेतृत्वमा आएका अर्याल भीरकोट स्थित विन्ध्यवासिनी अर्गानिक कृषि फर्मका संचालक समेत हुन्।

सार्वजनिक शौचालय व्यवस्थापनमा उदाहरणीय बन्दै भीरकोट नगरपालिका

वैशाख ६/नारायण कोइराला: आफ्नै घरको शौचालयमा प्रवेश गरेको आभास दिलाउने गरी शौचालय व्यवस्थापन गरेर भीरकोट नगरपालिकाले उदाहरणीय काम गरेको छ।

सार्वजनिक शौचालय र व्यवसाय सँगै जोडेर संचालनमा ल्याउँदा शौचालयहरू सफा र व्यवस्थित बनेका हुन्।भीरकोट नगरपालिकाका सूचना अधिकारी रामप्रसाद खनालका अनुसार नगर भित्र ३ वटा शौचालयहरू छ्न् र शौचालयको सरसफाइमा पनि सम्बन्धित व्यवसायीहरूले गर्दै आएका छ्न्।

नगरपालिकाले निर्माण गरेका शौचालयहरू सिद्धार्थ राजमार्ग सँगै जोडिएका हुनाले सार्वजनिक यातायात प्रयोग गर्ने यात्रीहरू र पैदल यात्रा गर्ने नगरबासी दुबैले प्रयोग गर्न सहज छ।नगरपालिकाले निर्माण गरेका शौचालयहरू रानीरह रेस्टुरेन्ट ,डाँफे होटल र बयरघारीको नाइन्टी नाइन चोकमा छ्न्।

सार्वजनिक शौचालयको कारण आफ्नो व्यवसाय प्रवर्धनमा पनि सहयोग पुगेकोमा डाँफे होटलका संचालक हेमसिङ खड्का पनि खुसी छ्न्।रानीरह रेस्टुरेन्टका संचालक कमल के.सी पनि हेमसिङ खड्काको कुरामा सहमत छ्न्। नाइन्टी नाइन चोकमा भने शौचालय सँगै व्यवसायिक सटर पनि छ।व्यवसाय र सार्वजनिक शौचालयलाई सँगै जोडेर संचालनमा ल्याउँदा व्यवसाय प्रवर्दन र शौचालय व्यवस्थापनमा सहज हुने हुँदा स्याङ्जाका अरू पालिकाहरूले पनि भीरकोटको अनुशरण गर्नु आवश्यक छ।

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढायो

बैशाख ४/ काठमाडौं: स्वचालित मूल्य प्रणालीको नाउँमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।

शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो ।

गत चैत २२ गते पनि निगमले मूल्य बढाएको थियो । बारम्बार स्वचालित मूल्य प्रणालीको नाउँमा बढेको इन्धनको भाउमा बिरोधको कुनै आवाज बुलन्द हुन सकेको छैन।

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ स्याङ्जा शाखाको अधिवेशन सम्पन्न

स्याङ्जा:
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ स्याङ्जा शाखाको १२ औं साधारण सभा तथा छैटौँ जिल्ला अधिवेशन वालिङमा सम्पन्न भएको छ।


वालिङ स्थित अम्मर होटलमा महासंघका गण्डकी प्रदेश कोषाध्यक्ष रामचन्द्र नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभा कार्यक्रमका सभापति एवं महासंघका निवर्तमान जिल्ला अध्यक्ष किसान श्रेष्ठले कार्यकालको समीक्षा तथा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष युवराज गौतमले आयव्यय विवरण सार्वजनिक गर्नुभएको थियो।


साधारणसभा पश्चात भएको छैटौं अधिवेशनले आगामी ३ वर्षका लागि चुडामणि लुइँटेल (रामु) को अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । कार्यसमितीको प्रथप उपाध्यक्ष युवराज गौतम, द्वितिय उपाध्यक्ष ध्रुव खनाल, सचिव दर्वेन्द्र देव खनाल, कोषाध्यक्ष धन बहादुर अधिकारी र सह सचिवमा युवराज अर्याल चयन हुनुभएको छ ।

स्याङ्जामा करेन्ट लागेर एकको मृत्यु

चैत २९/स्याङ्जा: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

आँधीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर भीरकोट नगरपालिका वडा नं १ लामाचौर निवासी ३४ वर्षीय विवेक खाँणको शनिबार मृत्यु भएको हो।

आँधीखोलामा मेनलाईनबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ ।

एक पालिका एक कोल्ड रुमको अभियानमा सरकारः मन्त्री अर्याल

खबरकलम संवाददाता: चैत्र २७

कृषि तथ पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले सरकार उत्पादनको आधारमा एक पालिका एक कोल्ड निर्माण गर्ने तयारीमा रहेको बताउनुभएको छ ।

शुक्रबार श्री नमुना साना किसान कृषि सहकारी सस्थाले गरेको पैचो कार्यक्रममा बोल्दै मन्त्री अर्यालले उत्पादनको आधारमा प्रत्यक पालिकामा कोल्ड रुम निर्माण गर्ने सरकारको योजना रहेको बताउनु भएको हो । सरकारले कृषि क्षेत्रमा फड्को मार्न विभिन्न किसिमको कृषिक लक्ष्यीत कार्यक्रम ल्याएकोले सामुहिक रुपमा कृषि क्षेत्रमा लाग्न कृषकलाइ मन्त्री अर्यालले आग्रह समेत गर्नु भएको थियो । ।
कार्यक्रममा बेल्दै मन्त्री अर्यालले उद्यमी गर्न चाहाने जोकोहीलाई पनि सरकारले प्राविधिक सहयोग देखि अन्य अनुदानका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको भन्दै व्यवसायिक खेति प्रणालीमा लाग्नुपर्ने उहाँको भनाइ थियो । विभिन्न स्थानहरुमा संकलन केन्द्र स्थापना गरी कृषकका कृषि उपजको बजारीकरणका लागी सरकारले समन्वय गर्ने बताउदै पायक पर्ने स्थानमा संकलन केन्द्रको स्थापना र एक पालिका एक कोल्ड रुपको स्थापनाले कृषि उपजको बजारीकरणका लागी समस्या हट्ने मन्त्री अर्यालको भनाइ थियो ।

कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सुरक्षित जनता आवास कार्यक्रम अन्र्तगत खरका छाना विस्थापित कार्यक्रमले जनता खुसी भएको बताउदै आगामी आर्थिक वर्षभित्र सबै नागरिकलाइ टिनको छाना मुनी ल्याउने सरकारको लक्ष्य रहेको मन्त्री अर्यालको भनाइ थियो । सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थकता दिनका लागी जनतालक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको भन्दै मन्त्री अर्यालले नागरिकका आधारभुत आवश्यता परिपुर्तिका लागी सरकार भरपुर प्रयासरत रहेको बताउनुभयो ।