२०८३ अशोज ५, सोमवार

अर्जुनचौपारी गाउँपालिका अध्यक्ष तिवारी प्रदेश समन्वय परिषद् सदस्यमा मनोनित

फागुन १६/स्याङ्जा: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी गण्डकी प्रदेश समन्वय परिषद् सदस्यमा मनोनित भएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश पोखराले आज एक सूचना जारी गर्दै तिवारीलाई मनोनयन गरिएको जनाएको छ।

अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारी विकासप्रेमी नेताको रुपमा चिनिन्छन्। गाउँपालिका अध्यक्षमा निर्वाचित भएसँगै गाउँपालिकामा विभिन्न क्षेत्र र विधामा उनले सुधार अभियान सुरुवात गरेका छन्।

विरुवा गाउँपालिकामा खाद्य सुरक्षा तथा निर्देशक समितिको बैठक सम्पन्न

फागुन १/स्याङ्जा: विरुवा गाउँपालिकामा खाद्य सुरक्षा तथा निर्देशक समितिको बैठक सम्पन्न भएको छ।

विरुवा गाउँपालिका अध्यक्ष सूर्य कुँवरको अध्यक्षतामा बसेको बैठकमा विरुवा गाउँपालिका उपाध्यक्ष भगवती शर्मा, पशुपन्छी तथा मत्स्य विकास निर्दशनालय गण्डकी प्रदेशका निर्देशक डा. मन बहादुर पुन, कृषि विकास निर्दशनालय गण्डकी प्रदेशका निर्देशक श्री बासुदेव रेग्मी, शिक्षा विकास निर्देशनालयका निर्देशक तिलक प्रसाद सिलवाल, कृषि ऊर्जा तथा जलस्रोत मन्त्रालयका वास फोकल पर्सन ई. टेकन पण्डित, कार्यपालिका सदस्य ज्यूहरु, गाउँपालिका कार्यालयका शाखा प्रमुखहरू, सुआहारा परियोजनाका वरिष्ठ अधिकृत श्री दिनेशराज ओझा, स्वास्थ्य संस्थाका प्रमुखहरू लगायत अन्य स्वास्थ्यकर्मीहरुको विशेष उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा स्वास्थ्य शाखा, शिक्षा शाखा, कृषि शाखा, पशुपंछी शाखा र खानेपानी शाखाको तर्फबाट पोषण तथा खाद्य सुरक्षा सम्बन्धी सम्पादित कार्यक्रम, उपलब्धि र भावी रणनीति सम्बन्धी कार्यपत्र प्रस्तुत भएको थियो ।

स्याङ्जाको विद्यालयमा विद्यार्थीले मनाए खाद्य महोत्सव

सागर न्यौपाने/स्याङ्जा: स्याङ्जा जिल्लाको एक विद्यालयका विद्यार्थीले खाद्य परिकारको महोत्सव आयोजना गरेका छन् विद्यार्थीको काम पढ्ने मात्र हो भन्ने सोचलाई बदल्दै उनीहरुले खाद्य परिकारको महोत्सव आयोजना गरेर अभिभावकलाई आफैले बनाएका खाद्य परिकार खुवाएका हुन् । विद्यालयले लोपोन्मुख स्थानीय परिकार बनाउन सिकाउनुका साथै बजारीकण गर्न समेत सिकाएको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ७ स्थित नेपाल राष्ट्र माध्यमिक विद्यालयका ६ देखि १२ कक्षासम्मका विद्यार्थीले व्यवहारिक शिक्षा अन्तर्गत विद्यालय परिसरमा खाद्य परिकार महोत्सव गरी आफ्नो क्षमता प्रदर्शन गरेका हुन् । लाेप हुँदै गएका परम्परागत खानेकुरा बनाउने तरिका सिक्न पाउँदा निकै खुशी लागेको कक्षा १२ मा अध्ययनरत विद्यार्थी कला पाठक बताउँछिन्।

विद्यार्थीहरु आफैंले बनाएका १६ किसिमका खाद्य परिकारको ९ वटा स्टल राखेर प्रदर्शनी गरिएको थियो । महोत्सवमा कोदोको सेल रोटी, मकैको सेल, वन तरुल, मम, गाजरको हलुवा, खिर, सिस्नोको सुप र पकौडा लगायतका विभिन्न परिकारका स्टलहरु राखिएका थिए । स्थानीय पाठ्यक्रम अनुसार विद्यालयले महोत्सव आयोजना गरेका हुन् । यसले भविष्यमा विद्यार्थीलाई स्थानीय परिकार बनाउन र बजारीकण गर्ने सीपको विकास हुने नेपाल राष्ट्र माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेश शर्माले बताए।

महोत्सवमा विद्यार्थी, शिक्षक र अभिभावक आमा समूह तथा युवा क्लबको बाक्लो उपस्थिति थियो । महोत्सवमा खाद्य परिकार बिक्रीबाट संकलित भएकाे रकम विद्यार्थीको हितमा लगानी गरिने भएकाे छ । शैक्षिक सुधार कार्यक्रमसँगै स्थानीय उत्पादन, ज्ञान, सीप र कला संस्कृति झल्काउने कार्यक्रममा अगाडि बढाउन गल्याङ नगरपालिका र आफू सधैं प्रतिवद्ध रहेको गल्याङ नगरपालिकाका मेयर गुरुप्रसाद भट्टराईले बताउनुभयो ।

नेपाल राष्ट्र माध्यमिक विद्यालयले लोपोन्मुख स्थानीय परिकार बनाउन सिकाउनुका साथै बजारीकरण गर्न पनि सिकाएको छ । जसले विद्यार्थीलाई व्यवहारिक शिक्षा दिनुका साथै उनीहरुलाई आत्मनिर्भर बन्न समेत सिकाएको छ ।

भीरकोटमा १ दिने आँखा तथा प्रसुती रोगसम्बन्धी शिविर सञ्चालन हुने

नारायण प्रसाद कोइराला/माघ २६: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकामा १ दिने स्वास्थ्य शिविर संचालन हुने भएको छ ।

संन्त निरकारी मण्डल शाखा कार्यालय भीरकोटको आयोजना र मणिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोगमा भीरकोट नगरपालिकामा एक दिने स्वास्थ्य शिविर संचालन हुने भएको हो।

मणिपाल शिक्षण अस्पताल पोखराका अनुभवी विशेषज्ञ डाक्टरको टोलीद्वारा निरंकारी मण्डलको कार्यालय बयरघारीमा फागुन १ गते सोमबार आँखा तथा प्रसुती रोग सम्बन्धी १ दिने शिविर सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष याम बहादुर खत्रीले जानकारी दिए। उक्त दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म शिविर संचालन हुने बताइएको छ। अध्यक्ष खत्रीले भीरकोटबासी जनसमुदायलाई स्वास्थ्य शिविरमा उपस्थित भाइ स्वास्थ्य उपचार सेवा लिन आग्रह गरेका छ्न्। थप उपचार आवश्यक पर्ने बिरामीलाई मणिपाल अस्पताल पोखराले सहुलियतपूर्ण उपचार सेवा प्रदान गर्ने आयोजकले जनाएको छ।

विश्व हिन्दू युवा संघ स्याङ्जाद्वारा गौ संरक्षण एवम् गौ महत्त्व विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

माघ २१/स्याङ्जा: विश्व हिन्दू युवा संघ स्याङ्जाद्वारा गौ संरक्षण एवम् गौ महत्त्व विषयक अन्तरक्रिया कार्यक्रम भीरकोट ८ मा सम्पन्न गरिएको छ।

विश्व हिन्दु युवा संघ स्याङ्जाका जिल्ला अध्यक्ष नवराज पौडेलले अध्यक्षता गरेको कार्यक्रमको प्रमुख अतिथि भीरकोट नगरपालिकाका निवर्तमान मेयर छायाराम खनाल, विशिष्ठ अतिथिमा भीरकोट नगरपालिका उपमेयर भगबती रेग्मी अर्याल, नगर प्रवक्ता एवम् वडा नं १ का वडाध्यक्ष दीपेन्द्र केसी, विश्व हिन्दु महासंघ भीरकोटका अध्यक्ष एवम् भीरकोट ८ का वडाध्यक्ष नन्दलाल खनाल, विश्व हिन्दु युवा संघका केन्द्रीय सदस्य एवम् वालिङ -११ का वडाध्यक्ष डण्डपानी पंगेनी, विश्व हिन्दू युवा संघ स्याङ्जाका प्रवक्ता हरी रेग्मी, जिल्ला सदस्य बबिन पाठक,स्थानीय आमा समुह ,गौशालाका अध्यक्ष, बौद्धिक वर्ग लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि छायाराम खनालले गाईको महत्त्वको बारेमा चर्चा गरेका थिए। उनले गाईको धार्मिक रुपमा मात्र नभई गाईको धेरै ठाउँमा उपयोगिता रहेको कुरा बताउँदै गाईको मुत्रले धेरै रोगको निवारण गर्ने र यसको दूधको धेरै नै महत्त्व भएको हुनाले आफ्नो गाउँ बनाउन सबै जना लाग्नु पर्ने र गौशलाको लागि खट्न अनुरोध गरे।

उपमेयर अर्यालले पनि गाईलाई हामीले लक्ष्मीको रुपमा पुज्ने र यसको धेरै नै महत्त्व रहेको कुरा बताएकी थिइन्। कार्यक्रममा विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले गाई संसारको माता रहेको र गाईको आयुर्वेदमा ३६ हजार सूत्र भएको यसलाई हामीले चिन्नु पर्ने कुरा बताए। गौशाला र संरक्षण गर्न विश्व हिन्दू युवा संघ सधैं लागि पर्ने कुरा बताउँदै उनले अब छिट्टै नै गौ संरक्षणका लागि आफूहरु जिल्लाव्यापी रुपमा लाग्ने कुरामा जोड दिए।

उक्त कार्यक्रममा निवर्तमान मेयर खनाललाई विश्व हिन्दू युवा संघ स्याङ्जाले गौ संरक्षण आफू मेयर हुँदा र अहिले पनि गरेको कामप्रति सम्मान गरिएको थियो। कार्यक्रमको स्वागत मन्तव्य हरी रेग्मीले दिएका थिए भने कार्यकमको सञ्चालन विश्व हिन्दु महासंघ भीरकोट उपाध्यक्ष विष्णु काफ्लेले गरेकी थिइन्।

अति विपन्न परिवारका लागि सहारा बन्दै अर्जुनचौपारी गाउँपालिका र दलित उत्थान केन्द्र

माघ २१/दीपक सुनार: अर्जुनचौपारी गाउँपालिका र दलित उत्थान केन्द्रको समन्वयमा सञ्चालन गरिएको कार्यक्रम अति विपन्न परिवारका लागि सहारा बन्दै गएको छ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको दलित उत्थान केन्द्रले सहारा भरोसा नभएका अतिविपन्न परिवार, वृ्द्ध एकल महिला, तथा अभिभावक गुमाएका बालबालिकाको हकहित र शिक्षाका लागि सहयोगगार्थ रकम संकलन अभियान सञ्चालन गरी अर्जुनचौपारी गाउँपालिकाको विशेष सहयोगमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ। यसै अभियान अन्तर्गत अर्जुनचौपारी गाउँपालिका वडा न.४ की बृद्ध एकल महिला तथा दम रोगको बिरामी पूर्णकुमारी बि कको घर, शौचालय निर्माण तथा सो घरमा बिजुली जडान कार्य अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

यसै बीचमा वडा न.४ सुनारटोलमा रहेकी सहारा भरोसा नभएकी एकल महिला विष्णुमाया सुनारको घरमा समेत विद्युत जडान गरिएको छ। कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाकी उपाध्यक्ष सपना गुरुङ वडा न ४ का वडाध्यक्ष भुवन सिंह गुरुङ प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्ले लगायत समाजसेवीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा पालिका अध्यक्ष प्रकाश तिवारीले दलित उत्थान केन्द्रले गरेको कामको उच्च मूल्यांकन गर्दै पालिकाले गरिब तथा विपन्न वर्ग उत्थानको लागि निशुल्क एम्बुलेन्स सेवा जनप्रतिनिधिको सेवासुविधा कटौती गरी कल्याणकारी कोष स्थापना गर्ने, अभिभावक गुमाएका टुहुरा बालबच्चाका लागि शिक्षा स्वास्थ्यको जिम्मा लिने तथा जस्तोसुकै सहयोग गर्ने वाचा गरेका छन्।

दलित उत्थान केन्द्र अर्जुनचौपारीका अध्यक्ष दिपक विश्वकर्माले हालसम्मको प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए भने कुमार सुनारले गरेका थिए।