खबरकलम डेस्क/माघ १७: स्याङ्जा जिल्लाको विरुवा गाउँपालिकामा सुँगुर, बंगुर तथा बँदेल प्रजातिका पशुको व्यापार तथा ओसारपसारमा प्रतिबन्ध लगाइएको छ।
विरुवा गाउँपालिकाले एक सूचना जारी गर्दै तनहुँ जिल्लाका विभिन्न ठाउँहरूमा सुँगुर, बंगुर तथा बँदेल प्रजातिका जनावरमा लाग्ने अफ्रिकन स्वाइन फिबर फैलिएको र संभावित जोखिमबाट बच्न पालिकाभर यी प्रजातिका पशुको व्यापार बन्द गरिएको जनाएको हो।
पालिकाले सुँगुर बंगुर तथा बँदेलको मासु, यी जनावरसँगको लसपस, र्याल, मलमुत्र, दानापानी, खोर लगायत खोरमा काम गर्दा प्रयोग गरिने सामग्रीबाट समेत रोग फैलन सक्ने जनाउँदै कहिँकतै यस्ता पशुमा रोगको संकेत देखिएमा आफ्नो पालिकामा सम्पर्क गर्न वा पशु चिकित्सक डा. प्रवेश गौतमलाई ९८६५००८५६१ मा सिधा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।
खबरकलम डेस्क/माघ १७: अर्जुनचौपारी गाउँपालिकाले ओठ तथा तालु फाटेका बिरामीको निशुल्क उपचारार्थ स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।
बि एण्ड बि अस्पतालको आयोजना र अर्जुनचौपारी गाउँपालिकाको समन्वयमा अर्जुनचौपारी गाउँपालिकाभित्र बसोवास गरिरहेका ओठ तथा तालु फाटेका बिरामीको निशुल्क स्क्रिनिङ तथा उपचार गर्ने गरी यही माघ २६ गते स्वास्थ्य शिविर आयोजना गर्न लागिएको हो।
अर्जुनचौपारी गाउँपालिकाको वडा नं २ स्थित अर्जुनचौपारी स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर आयोजना गरी जन्मजात ओठ तथा तालुमा समस्या भएका बिरामीको थप उपचारार्थ बि एण्ड बि अस्पताल काठमाडौंमा पठाउने र त्यहाँ उपचारका सम्पूर्ण प्रक्रिया निशुल्क हुने अर्जुनचौपारी गाउँपालिकाले जनाएको छ।
अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष शर्माका अनुसार बिरामीको काठमाडौं आउने जाने खर्च, बिरामी कुरुवाको काठमाडौँ बसाइको क्रममा हुने सम्पूर्ण खर्चहरु, बिरामीको सर्जरी तथा औषधि समेत निशुल्क उपलब्ध गराइने छ।
माघ १६/स्याङ्जा: स्याङ्जाको भीरकोट नगरपालिका स्थित शुभलक्ष्मी सहकारी संस्थाले दहथुम माविको ७२ औं वार्षिकोत्सवको अवसर पारेर न्यानो पोशाक वितरण गरेको छ।
दहथुम माविको ७२ औं वार्षिक उत्सवका अवसरमा अध्यक्ष भक्तबहादुर केसी सहितको संचालक समितिको टोलीले २० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई जाडोको न्यानो कपडा वितरण गरेको हो। सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्य गरिएको सहकारीले जनाएको छ।
सहकारीका प्रबन्धक लेखबहादुर केसी किरणले आर्थिक, सामाजिक, सांस्कृतिक उन्नयन र प्रगतिको लागि काम गरिरहेको जानकारी गर्दै संस्थाले एक घर एक सदस्य नीति लिई सदस्यता व्यापक रुपमा विस्तार गर्ने लक्ष्य राखी अगाडी बढेको र सदस्यताको लागि आग्रह पनि गरे।
उक्त पोशाक वितरण कार्यक्रममा संस्थाको तर्फबाट अध्यक्ष लगायत सचिव पुष्पा अधिकारी, कोषाध्यक्ष भगवान केसी, संचालक सदस्य अर्जुनकुमार श्रेष्ठ,पूर्ण बहादुर के सी र व्यवस्थापक श्री लेख बहादुर के सी उपस्थित थिए। सो कार्यक्रममा अभिभावक करिब १३० जना , शिक्षक करिब २० जना र विद्यार्थी करिब ३०० गरी करिब ४५० जनाको उपस्थिति रहेको थियो ।
राम बहादुर रोकाहा/स्याङ्जा : शहीद दिवसको अवसर पारेर पहिलो पाइला नेपाल स्याङ्जा शाखाले दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।
स्याङ्जाको पुतलीबजार नगरपालिका -१ शहीद चोकमा देश परिवर्तनका लागि प्राण आहुति दिएका शहीदहरुलाई सम्झँदै सम्मानका साथ पहिलो पाइला नेपाल स्याङ्जा शाखाद्वारा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको हो । राणा शासन विरुद्ध क्रान्ति गरेकोमा शहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिइएको थियो।
हरेक वर्षको माघ १६ गते शहीदहरुको सम्मानमा शहीद दिवस मनाइने गरिन्छ । उक्त कार्यक्रममा प्रजातन्त्र स्थापनाका लागि रगतको बलिदान दिएका शहीदहरुको सम्झनामा एक मिनेटको मौन धारण गरिएको शाखाका उपाध्यक्ष पवन मरासिनीले बताए । उनले शहीहरुले जुन सपना बोकेर आफ्नो प्राणको आहुति दिएका थिए, ती सपनाहरू सबै मिलेर सफल पार्नुपर्ने बताए । पहिलो पाइला नेपाल स्याङ्जा शाखाका सभापति सन्ध्या लामिछानेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन शाखाका सह-सचिव गोपि सुवेदीले गरेका थिए ।
स्याङ्जामा निस्वार्थ भावनाले सामाजिक सेवामा अग्रणी रहेको पहिलो पाइला नेपाल स्याङ्जा शाखाले शैक्षिक सामाग्री वितरण, सरसफाइका कार्यक्रम, विषम परिस्थितिमा फुड बैंकको स्थापना, न्यानो कपडा तथा विद्यार्थीहरुलाई भविष्य बोक्ने झोला वितरण लगायत सामाजिक कार्यक्रम गर्दै आएको छ ।
जीवन अर्याल/माघ १६: स्याङ्जाको विरुवा गाउँपालिकाले गाउँपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको छ । विरुवा गाँउपालिकाको १४ औं गाउँसभाको अवसरमा उक्त लोगो सार्वजनिक गरिएको हो।
गाउँपालिकाको ऐतिहासिक धार्मिक, पुरातात्विक महत्वका क्षेत्रहरू समेटेर विरुवा गाउँपालिका वडा नम्बर ५ का जीवन वाग्लेले लोगो तयार पारेका हुन्। लोगो तयार गर्नेलाई विरुवा गाउँपालिकाले नगद पुरस्कार सहित सम्मान गर्ने भनी सूचना निकालेअनुसार वाग्लेले तयार गरेको लोगो छनौटमा परेको हो।
उनले तयार पारेको प्रतीक चिन्ह लोगोको माथिल्लो भागमा गाउँपालिकाको नाम र तल्लो भागको रिवनमा गाउँपालिकाको ठेगानासँगै धान र गहुँको बाला रहेको छ।
गाउँपालिकामा उपलब्ध सबै स्रोत, कृषि , पर्यटन लगायतका स्थानीय सामग्रीहरू प्रष्ट समेटिने गरी तयार पारिएको लोगो प्रतिनिधिमूलक ढंगबाट गाउँ सभाबाट पारीत भएपछि औपचारीक रुपमा उक्त प्रतीक चिन्ह कार्यन्वयनमा आएको छ।
यसअघि नै स्याङ्जाका विभिन्न पालिकाहरुले आफ्नो लोगो सार्वजनिक गरी कार्यान्वयनमा ल्याइसकेका छन्।
माघ १६/वालिङ: वालिङ महोत्सव सुरु हुन अब २ दिन मात्र बाँकी हुँदा केही दिनदेखि देखिएको प्रमुख अतिथिको विवाद पनि मिलाइएको छ। वालिङ महोत्सव सुरु हुनै लाग्दा देखिएको बेथिति अन्ततः दुई छुट्टाछुट्टै अतिथि बनाउने कुरासँगै अन्त्य भएको हो।
केही दिनदेखि विवाद र चर्चामा रहेको प्रमुख अतिथिको विवादलाई काङ्ग्रेस र एमाले पक्ष बसेर टुङ्गोमा पुर्याएका हुन् । छलफलको निष्कर्ष अनुसार उद्घाटनमा काङ्ग्रेस पक्षले प्रमुख अतिथि पाउने निर्णय भएपनि कसलाई बनाउने भन्ने वहसका बीच गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई बनाउने एक खालको तयारी गरिएको छ। क्षेत्र नं. २ बाट निर्वाचित भएर हाल नेपाल सरकारका कानून मन्त्री समेत रहेका धनराज गुरुङ भने यो महोत्सवमा प्रमुख अतिथिको रुपमा पत्याइएनन्।
यता समापनको प्रमुख अतिथि पाएको एमालेले भने प्रमुख अतिथिको टुङ्गो लगाएको छ। पूर्वमन्त्री पद्मा अर्यालले समापनको प्रमुख अतिथिको रुपमा उपस्थित हुने छन्।
महोत्सवमा प्रमुख अतिथिको विवाद भएपनि सहयोगी संघसंस्था, आमा समूह, युवा क्लब, उद्योगी व्यापारीहरुको भने भरपर्दो सक्रियता देखिएकाले महोत्सव तयारी अन्तिम चरणमा पुगिसकेको छ।
माघ १४/राम बहादुर रोकाहा: स्याङ्जामा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार नगरपालिका-८ काहुलेकी ५० वर्षीय चन्द्र कुमारी सुनार रहेकी छन् । आइतबार दिउँसो घाँस बोकेर घर फर्कने क्रममा घाँसले बिजुलीको पोलमा छुँदा करेन्ट लागेर घटनास्थलमै सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
पोस्टमार्टमका लागि शव जिल्ला अस्पताल स्याङ्जामा पठाइएको र घटना बारे आवश्यक अनुसन्धान भइरहेको डिएसपी रानाले बताए ।
माघ १२/स्याङ्जा: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका र देशको पहिलो ग्रामीण पर्यटकीय स्थल सिरुवारी जोड्ने गरी घट्टेखोलामा पक्की पुल शिलन्यास गरिएको छ।
आज एक कार्यक्रमका बीच संघीय सांसद् राजु थापा र अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले संयुक्त रुपमा उक्त पुलको शिलान्यास गरेका हुन्।
१० मिटर लम्बाई र साढे पाँच मिटर चौडाई कायम हुने गरी निर्माण गर्न लागिएको उक्त पुल हुने अँगेरे-भँगेरे निर्माण सेवा अर्जुन चौपारीले १ करोड १६ लाख ५४ हजार ६९ रुपियाँ ४५ पैसामा निर्माण गर्न लागेको हो।
पुल सङ्घीय सरकारको ५० लाख र अर्जुनचौपारी गाउँपालिकाको बाँकी वजेटमा निर्माण हुन लागेको हो । निर्माण कम्पनीसँग एक वर्षमा काम सक्ने गरी यही पुस १२ गते सम्झौता गरिएको थियो ।
स्मरण रहोस्, यही खोलामा पक्की पुल नहुँदा चार वर्ष पहिले सहरेखोला पुल शिलान्यासमा उपस्थित भएका तत्कालीन भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको गाडी समेत खोलाले बगाएको थियो।
यस पुलको निर्माण पश्चात अर्जुनचौपारी गाउँपालिका र आँधीखोला गाउँपालिकालाई जोड्न सहज हुनेछ।
राम बहादुर रोकाहा/स्याङ्जा: नेपाली काङ्ग्रेसका केन्द्रीय सभापति शेर बहादुर देउवाले कुनैपनि पार्टीको एकल बहुमत नआउने भएकाले नै गठबन्धन गर्न बाध्यता रहेको बताउनुभएको छ।
स्याङ्जाको पुतलीबजारमा नेपाली काङ्ग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले नेपालको संविधान अनुसार कुनैपनि पार्टीको एकल बहुमत नआउने भएकाले नै गठबन्धन गर्न बाध्यता रहेको बताउनुभएको हो । उहाँले संविधानमा समानुपातिक समावेशी सिद्धान्त लागू हुँदै गएकाले पनि पार्टीको एकल बहुमत आउन सक्ने अवस्था नरहेको हुँदा बहुमत पुर्याउन कुनै न कुनै पार्टीसँग गठबन्धन गर्न बाध्यता भएको बताउनुभयो । अहिले नेकपा माओवादी केन्द्र लगायत अन्य पार्टीहरुसँग नेपाली काङ्ग्रेसले गठबन्धन गरेको उहाँको भनाई थियो।
सभापति देउवाले आफुले स्याङ्जामा पाइला टेक्दा नेपाली काङ्ग्रेसको इतिहासमा नै यो ठाउँ क्रान्तिकारी ठाउँ भएको स्मरण गरेको बताउनुभयो । उहाँले स्याङ्जा जिल्लालाई थप बलियो बनाउन नेताकार्यकर्ताहरुलाई सोही कार्यक्रममा निर्देशन दिनुभएको थियो । जनताले चाहेको जस्तो नभएतापनि नेपालमा बहुदलीय व्यवस्था आएपछि विकासमा देशले धेरै परिवर्तन पाएकोमा उहाँको दावी थियो । उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता क्षेत्रमा विकास भएको बताउँदै वैदेशिक रोजगारमा जाँदा ख्याल गर्नुपर्ने, महिला अधिकारहरुलाई बढाउँदै जानेमा जोड दिनुभयो ।
सम्मेलनमा सभापति देउवाले सत्ता सबैलाई आवश्यक रहेको र सत्ताको लागि मारामार गरी प्रतिस्पर्धा हुने गरेकाले नेताकार्यकर्तालाई जनतामा गएर संगठन बनाएर एकतावद्ध भएर अगाडि बढ्न निर्देशन दिनुभयो ।
माघ १०/स्याङ्जा: स्थानीय तह संस्थागत क्षमता स्व-मूल्यांकन नतिजामा अर्जुनचौपारी गाउँपालिका जिल्लाकै उत्कृष्ट घोषित भएको छ।
स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिको सबल र दुर्बल पक्षको पहिचान गर्न, विकास र सुशासनमा रहेका कमीकमजोरीको जानकारी दिन, आवधिक समीक्षाको लागि आधार प्राप्त गर्न र सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन नेपाल सरकारबाट स्वीकृत “ स्थानीय तह संस्थागत क्षमता स्व-मूल्यांकन कार्यविधि,२०७७ ” ले लागू गरेको LISA को आर्थिक वर्ष २०७९-८० को नतिजामा अर्जुनचौपारी गाउँपालिका जिल्लाको उत्कृष्ट भएको हो।
जम्मा १० वटा सूचकलाई आधार बनाएर गरिएको उक्त मूल्यांकनमा अर्जुनचौपारी गाउँपालिकाले औसत ९४ % नतिजा हासिल गरी उत्कृष्ट घोषित भएको हो। शासकीय प्रवन्धमा (८.५/९), संगठन तथा प्रशासनमा (८/८), वार्षिक बजेट तथा योजना व्यवस्थापनमा (९.५/११) , वित्तीय एवम् आर्थिक व्यवस्थापनमा (११/११), सार्वजनिक सेवा प्रवाहमा (१६/१६), न्यायिक कार्यसम्पादनमा (७/७), भौतिक पूर्वाधारमा (१०.५/१३), सामाजिक समावेशीकरणमा (१०/१०), वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा (७.५/९), सहकार्य र समन्वयमा (६/६) नतिजा ल्याउन सफल भएको हो I छ वटा सूचकमा अर्जुनचौपारी गाउँपालिकाले सतप्रतिशत अंक ल्याउन सफल भएको छ।
अन्य पालिकाको औसत नतिजा कति?
स्याङ्जा जिल्लाको सदरमुकाममा अवस्थित पुतलीबजार नगरपालिकाले औसत ६६.७५ प्रतिशत नतिजा ल्याउन सफल भएको छ । यसै गरी स्मार्टसिटीको पहिचान बनाएको वालिङ नगरपालिकाले औसतमा ८६.७५% नतिजा ल्याउन सफल भयो। संगठन तथा प्रशासन, सेवा प्रवाह र न्यायिक कार्यसम्पादन गरी तीनवटा सूचकमा शतप्रतिशत अंक ल्याएको वालिङले अन्य सातवटा सूचकमा भने औसत मात्रै अंक प्राप्त गर्यो ।
गल्याङ नगरपालिकाले वित्तीय एवम् आर्थिक व्यवस्थापन, न्यायिक कार्य सम्पादन तथा सामाजिक समावेशीकरणमा शतप्रतिशत अंक ल्याएको छ। गल्याङ नगरपालिकाको औसत अंक ८२.७५% रह्यो।
चापाकोट नगरपालिकाको भने दश वटै सूचकमा कुनैपनि अंक आएको छैन। विवरण अद्यावधिक नभएर उक्त वेभसाइटमा चापाकोट नगरपालिकाको विवरण समावेश गरिएको छैन। यसैगरी भीरकोट नगरपालिकाले न्यायिक कार्यसम्पादनमा मात्र शतप्रतिशत अंक प्राप्त गर्दै औसत ८२.७५% नतिजा प्राप्त गरेको छ। स्याङ्जा जिल्लाका पाँच वटा नगरपालिकामा वालिङ नगरपालिका उत्कृष्ट भयो भने नतिजाका आधारमा चापाकोट नगरपालिका पुछारमा रहेको छ।
यसैगरी गाउँपालिकाको सूचीमा आँधीखोला गाउँपालिकाले पाँचवटा सूचकमा शतप्रतिशत अंक प्राप्त गरी औसत ९०.२५% का साथ दोश्रो स्थानमा रहेको छ। अन्य गाउँपालिकाहरुमा फेदीखोला गाउँपालिकाले दुई सूचकमा शतप्रतिशत सहित औसत ८७.७५% का साथ तेश्रो, कालीगण्डकी गाउँपालिका ८५.२५% औसत सहित चौथो र विरुवा गाउँपालिका ७१.२५% सहित पाँचौ र कुनै पनि सूचकमा अद्यावधिक बिना हरिनाश गाउँपालिका पुछारमा रहेको छ।