२०८३ अशोज ५, सोमवार

Covid-19 मा Home Isolation तथा Quarantine लाई कसरी सहज बनाउने?

जेठ १७: शोभाकान्त पौडेल:

सर्वप्रथम क्वारेन्टाइन र isolation भन्ने शब्दहरू बुझी राखौं।


क्वारेन्टाइन भन्नाले संक्रमित सँग वा संक्रमितका नजिक साथमा रहँदा आफूमा संक्रमणका लक्षणहरु देखिन्छन कि भनेर रोगको पहिलो लक्षण तथा चिह्न देखिने समयसम्म अलग बस्नुलाई बुझिन्छ ।
त्यसैगरी Home isolation भन्नाले covid19 ( सरुवा रोग ) पुष्टि भइसकेपछि अरुबाट छुट्टै रहने तरिका लागि बुझिन्छ , जसले गर्दा परिवारका सदस्य तथा समुदायलाई संक्रमण बाट जोगाउन सकिन्छ ।
यहाँ बुझ्नुपर्ने कुरा के भने quarantine बस्दा रोग पुष्टि भइसकेको हुँदैन भने isolation मा रोग पुष्टि भइसके पछि अरुलाई नसरोस् भन्नका लागि छुट्टै बस्ने गरिन्छ ।

क्वारेन्टाइनमा बस्दाबस्दै कोभिड-19 सँग मिल्ने लक्षण देखिएमा जस्तै रुघा लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने ,खोकी लाग्ने, छाती दुख्ने, सास फेर्न गाह्रो हुने, शरीर दुख्ने, स्वाद गन्ध हराउने, पखाला लाग्ने, शरिरमा बिबिरा आउने जस्ता लक्षण देखा परेमा सम्भव भएसम्म covid जाँच गर्नु पर्दछ ।त्यसको लागि नजिकको स्वास्थ्य चौकी, अस्पताल वा आफ्नो पालिकामा सम्पर्क गरी covid जाँचको लागि अनुरोध गर्नु पर्दछ । covid पता लगाउनको लागि ल्याबले Antigen test वा PCR परीक्षण गर्ने गर्दछ जसको लागि नाक वा घाँटीबाट स्वाब लिई प्रयोगशालामा परीक्षण गर्ने गरिन्छ । Antigen test बाट तत्काल नतिजा प्राप्त हुन्छ भने यो टेस्ट पालिकाहरुले स्थानीय क्षेत्रहरु गएर सम्भावित बिरामीहरूको स्वाब लिई तत्काल नतिजा दिने गरेका छन् । PCR Test भने सुविधासम्पन्न ल्याबोरेटोरीमा हुनेगर्दछ , जसको नतिजा केहि घण्टादेखि केहि दिन मा आउने गर्दछ ।

यदि आफूमा covid-19 सँग मिल्ने लक्षणहरु छन् तर यो टेस्ट गर्न सम्भव भएन भने घरमा नै isolation बसेर परिवारका सदस्य तथा अन्य व्यक्तिलाई सर्न बाट जोगाउनु पर्दछ ।
covid-19 को लागि घरमा isolation बस्दा निन्न अनुसार व्यवस्था मिलाउनु राम्रो हुन्छ ।

• अरुलाई सुरक्षित राख्ने। यसको लागि अत्यावश्यक स्वास्थ्यको कारणले बाहेक घरबाट बाहिर ननिस्किने । निस्कन पर्ने नै अवस्था भएमा माक्सको प्रयोग गर्ने, marks लगाउँदा surgical mask सम्भव भए कम्तीमा दुईवटा लगाउने तर कपडाको mask बाट भाइरस छिर्ने सक्ने सम्भावना भएको हुँदा यस्तो मास्क सकेसम्म लगाउनु हुँदैन ।

• कम्तीमा २ मिटरको दूरी कायम राख्ने ।

अरु नातेदार इष्टमित्र वा अन्य व्यक्तिहरुलाई आफ्नो घरमा नआउन भन्ने। हरेक मानिसहरूसँग कम्तीमा २ मिटरको दूरी कायम गर्ने, हरेक समय कोठामा हावा ओहोरदोहोर गर्ने व्यवस्था मिलाउने ।

परिवारमा धेरै सदस्यहरु सङ्क्रमित भएमा सबै सदस्यहरु एउटै कोठामा बस्न मिल्दछ तर कोठामा अप्ठ्यारो भएको हुनुहुँदैन । सकेसम्म हरेक व्यक्ति अलग अलग कोठामा एक्लै सुत्नु राम्रो हुन्छ । परिवारका संक्रमित र संक्रमण नभएका व्यक्तिको नजिक आउने पर्ने भयो भने 5 मिनेट भन्दा बढी सँगै नबस्ने, मास्कको प्रयोग गर्ने, कम्तीमा २ मिटरको दूरी कायम गर्ने गर्नुपर्दछ ।

  • सम्भव भएसम्म सङ्क्रमितले छुट्टै ट्वाइलेट को प्रयोग गर्ने गर्नुपर्दछ । यदि यो सम्भव भएन भने आफुले प्रयोग गरि सकेपछि सावन पानीले वा निसंक्रमण गर्ने अनेक केमिकलको प्रयोग गरी शौचालय वा bathrrom संक्रमण मुक्त बनाउनु पर्छ।
    *संक्रमित व्याक्तीको लागि छुट्टै खाने थाल, कचौरा, गिलास, चम्चा को व्यवस्था मिलाउनु पर्दछ।
  • आफ्नो सामनहरु अरुलाई प्रयोग गर्न नदिने, जस्तै तन्ना, blanket, सिरानी, दराज, काइँयो ।
    *सम्भव भए कपडा धुँदा तातो पानी साबुनको प्रयोग गर्ने, छुट्टै कपडा धुन, सुकाउन आवश्यक छैन ।
  • खोक्दा हाछ्युं गर्दा रुमाल वा tissu paper ले नाकमुख ढाक्ने, प्रयोग गरेका Tissue पेपर प्रयोग गरिसकेपछि छुट्टै Trash ब्यागमा राख्नु पर्दछ , जसलाई सुरक्षित रुपले नष्ट गर्नुपर्दछ ।
  • isolation मा बसेको ब्याक्तिले अनावश्यक रुपमा नाक मुख आँखा छुनु हुँदैन।
  • कम्तिमा 20 सेकेन्ड साबुन पानीले हात पाखुरा सम्म हुने गरी धुनु पर्दछ । खासगरी हात धुने काम खाना बनाउनु भन्दा अगाडि , खाना खानु अगाडि र खाएपछि पनि हुनुपर्दछ। कुनै औषधि खानुभन्दा अगाडी र खाएपछि पनि धुनु पर्दछ। ट्वाइलेट बाथरुमबाट आएपछि सिंगान फालेपछि, अनुहार छोएपछि यसैगरी २० सेकेन्ड‌सम्म साबुन पानीले मिचीमिची हात धुने गर्नुपर्दछ ।
  • संक्रमित व्यक्तिको बसेको भूमि पटक-पटक Disinfectant प्रयोग गरी सफा गर्नु राम्रो हुन्छ सम्भव भए chlorine को झोल वा सर्फ पानीले सफा गर्न सकिन्छ ।
  • आफूले प्रयोग गरेको tissu paper अन्य फाल्नुपर्ने सामानहरु बिर्को लाग्ने बाल्टी मा राख्ने र पछि सुरक्षित तरिकाले डिस्पोज गर्नुपर्दछ ।

आफ्नो स्वास्थ्यमा कसरी ख्याल राख्ने ??

Isolation मा बस्दा स्वास्थ्यमा एकदमै ध्यान पुर्याउन जरुरत पर्दछ।

• जसको लागि घरमै बस्नु पर्दछ।
• प्रशस्त पानी तथा झोलिलो पदार्थ पिउनु पर्दछ।

  • isolation बस्दा स्वास्थ्य आहार लिनु पर्दछ जसमा भिटामिन मिनिरल फाइबर र प्रोटीन को साथै एन्टिअक्सिडेन्ट हरु भरिपूर्ण हुनुपर्दछ ।
  • दिनमा 2-3 लिटर सफा पानी पिउनुपर्दछ ।
  • स्वास्थ्य जीवनशैली अपनाउनु पर्दछ, जसमा व्यायाम गर्ने, ध्यान गर्ने, पर्याप्त निदाउने जस्ता स्वास्थ्य जीवनशैली अपनाउनु पर्दछ ।
  • प्रशस्त ननभेज खाना हरु खानुपर्दछ । माछा, मासु ,अण्डा, दुध प्रशस्त खानुपर्दछ ।( cobid 19 भएपछि फोक्सो तथा अन्य अंगहरुलाई पारेको क्षति तत्काल राम्रो गर्नको लागि प्रोटिनको उच्च आवश्यक हुने हुँदा यस्ता खानेकुराहरु खानुपर्दछ ।
  • हाम्रो घर गाँउमा हुने भटमास दुध, पनिर, गेडागुडी, दाल, ओखर बदम ,काजु जस्ता खाद्यपदार्थ प्रशस्त खानुपर्दछ ।
  • खानामा मकै गहुँ जौ जस्ता fiber भएका खानाहरु बढाउनुपर्छ ।
  • अम्बा, स्याउ, केरा ,अंगुर, मेवा जस्ता फलफूल दैनिक खानामा समावेश गर्नुपर्दछ।
  • हरिया ताजा फलफूलहरू प्रशस्त खानुपर्दछ ।
  • धेरै नुनिला तथा गुलियो खाने पदार्थहरु अत्यन्त कम खानुपर्दछ। विभिन्न अध्ययन अनुसन्धानले शरीरमा सुगरको मात्रा बढी हुँदा रोग निको हुने सम्भावना कम देखाएको छ ।
  • covid-19 भएको बेलामा मानसिक स्वास्थ्यमा असर पर्न सक्ने हुनाले सकेसम्म आफुलाई रमाइलो लाग्ने पुस्तकहरु पढ्ने, गीतहरू सुन्ने, उपन्यास कबिताहरु पढ्ने गर्नुपर्दछ।
  • परिवारका सदस्यहरुसँग छलफल गर्ने ,इष्टमित्र शुभचिन्तकहरूसँग आफ्ना कुराहरु राख्दा आफू खुसी हुन सकिन्छ ।
  • रक्सी चुरोट गाँजा जस्ता लागुपदार्थबाट आफूलाई जोगाउनु पर्दछ।
  • पर्याप्त आराम गर्नुपर्दछ ।
  • घरमा कडा कामहरु गर्नु हुँदैन। गरिरहेको भए रोक्नुपर्दछ। यस्तो बेला शरीरलाई आरामको एकदमै जरुरत पर्ने गर्दछ ।
  • खतराका कुनै लक्षणहरु देखियो भने तत्कालै स्वास्थ्यकर्मी, अस्पताल वा पालिकामा खबर गरी अस्पताल जाने व्यवस्था मिलाउनु पर्दछ।
    “covid-19 मा खतराका लक्षणहरू निम्न हुने गर्दछन्”

*श्वास फेर्न कठिनाई हुनु ।
*छाती दुख्ने ,छाती भारी हुने , लगातार छाती दुख्ने ।
*नयाँ कन्फ्युजन हुने( समय ठाउँ र मान्छे सम्वन्धित) ।
*बिउझिन गारो हुने ।
*अनुहार तथा ओठ निलो हुने ।

माथि भने जस्ता केही वा सबै लक्षण पाइएमा तुरुन्त मेडिकल केयरको आवश्यक पर्ने हुनाले अस्पताल जानको लागि सहयोग लिनुपर्दछ ।

Isolation मा बस्दा निम्नलिखित सामानहरु भएको covid 19 care kit साथमा राख्नुपर्दछ ।

*ज्वरो आएमा नाप्नको लागि थर्मोमिटर ।
*हात धुने साबुन ।
*sanitaizer ।
*भूइँ तथा अन्य सामान सरसफाइ गर्न क्लोरिन वा सर्फ जस्ता सफाई सामग्री ।
*मास्क 1 प्याकेट ।
*Gloves केही जोडा ।
*Tissu papers
*Trash bag
*पारासिटामोल ( ज्वरो आएमा ६,६ घण्टाको फरकमा दिनको 4 पटक सम्म खान सकिन्छ)
*Pulse Oximeter ( रगतमा स्याचुरेटेड अक्सिजनको मात्रा हेर्नको लागि जुन ९२ % प्रतिशतभन्दा कम भएमा अक्सिजनको जरुरत पर्न सक्दछ । यस्तोबेलामा तुरुन्त अस्पताल जानु पर्दछ । )

Isolation मा बस्दा अप्ठ्यारो हुन पनि सक्दछ, यस्तो अवस्थामा निम्नलिखित व्यक्ति तथा संस्थाका नम्बरहरु राख्नुपर्दछ।

*नजिकको स्वास्थ्यकर्मीको सम्पर्क नम्बर ।
*नजिकका एम्बुलेन्स हरुका सम्पर्क नम्बरहरु ।
*अन्य emergency सम्पर्क नम्बरहरु जसमा परिवारका सदस्यहरूको mobile number
*आफूलाई सहयोग गर्ने साथीहरूको mobile नम्बरहरु ।
*पालिका स्वास्थ्य शाखाको फोन नम्बर ।
*नजिकको स्वास्थ्य चौकी अस्पताल का फोन नम्बर हरु ।

Isolation कति समय बस्ने ??

सामान्यतया isolation दुई हप्ता बस्ने गरिन्छ। दुई हप्ताभन्दा बढी isolation बस्न जरुरत छैन , पहिलो लक्षण देखिएको 10 दिनपछि virus सर्न नसक्ने विभिन्न अनुसन्धानहरुले देखाएको छ। Isolation बसेको दुई हप्ता भएपछि corona virus छ छैन भनेर पुन PCR Test गर्न आवश्यक नहुने कुरा विभिन्न भाइरोलोजिस्ट हरुले बताउँदै आएका छन् ।
Isolation बाट तपाई स्वास्थ्यलाभ गरी निस्केपछि पनि 6 फिटको
सामाजिक दुरी कायम राख्ने, हरेक समय mask प्रयोग गर्ने, अनावश्यक भीडभाड भएको ठाउँमा नजाने साबुन पानीले मिचीमिची हात धुने जस्ता कार्यहरु गर्दै रहनुपर्दछ ।

याद गरौं, covid-19 भएका करिब 90 प्रतिशत विरामीहरु सजिलै निको हुने गर्दछन् भने केही प्रतिशतलाई अक्सिजन दिएर अस्पतालमा उपचार गर्नुपर्दछ ।अत्यन्त थोरै व्यक्तिहरु मात्र कोभिडको कारणले critical अवस्थामा पुग्ने गर्दछन्। तसर्थ तपाई हामीलाई सजिलै covid निको हुने सम्भावना हुन्छ ।

लेखक पुतलीबजार नगरपालिका अन्तर्गत स्वास्थ्य संस्थामा कार्यरत छन्। लेखकले स्वास्थ्य शिक्षा तथा प्रवर्द्धनमा Dr MGR Medical University बाट post Graduate Diploma तथा शिक्षा (स्वास्थ्य शिक्षा) मा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका हुन् ।

नेविसंघ स्याङ्जा काठमाडौँद्वारा स्वास्थ्य सामग्री वितरण

जेठ १५/स्याङ्जा: गणतन्त्र दिवसको अवसरमा ने.वि.संघ स्याङ्जा काठमाण्डौं सम्पर्क समितिद्वारा स्वास्थ्य सामग्री वितरण गरिएको छ।

गह्रौ प्राथमिक स्वास्थ्य केन्द्र वालिङ, भीरकोट नगर अस्पताल हेलु, गल्याङ नगर अस्पताल, वडा प्रहरी कार्यालय वालिङ , सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी, वालिङ मोड प्रहरी बिट, गल्याङ प्रहरी बिट, बाँयटारी प्रहरी बिट, रामबाच्छा प्रहरी बिट, कृषि बयरघारी प्रहरी बिट लगायत लाई ४,५०० मास्क, ६० लि. सेनिटाईजर र २० थान अक्सिमिटर वितरण गरिएको सरोज पौडेलले जानकारी दिए।

स्याङ्जामा फेरी थपियो निषेधाज्ञा

जेठ १४/स्याङ्जा: जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आउँदो जेठ २५ सम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

जेठ १५ गते सम्मका लागि जारी गरिएको निशेधाज्ञालाई बढाएर जेठ २५ गते सम्म पुर्याइएकोे जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।


सो अवधिमा राजश्व संकलन, विपद् व्यवस्थापन र सरकारी कामकाजका लागि बाहेक बैंकिङ्ग सेवा समेत पूर्ण रुपमा बन्द गरिने भएको छ । बैकिङ्ग सेवा बन्द भएपनि एटिएम सेवा भने सुचारु राखिने छ ।
औषधीजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिएका छन्। अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत प्रशासनले आग्रह गरेको छ ।

विष्णु पुरीको यात्रा

जेठ १३

एक हातमा पासपोर्ट लिएर म पनि लामै लाइनमा थिएँ।

हरियो पासपोर्टको बाहिरी आवरणमा नेपाल लेखिएको थिएन। त्यो खाली थियो। हरियो आवारणको बीचमा नदीका दुई किनार जस्तै लामा र सेता धर्साहरु थिए।

“यो स्वर्ग जाने बाटो हो।” सानैमा मान्छे मर्दा लासको अघिअघि लैजाने लम्बेतान सेतो कपडा देखाउँदै हजुरबाले भनेको कुरा मैले झल्याँस्स सम्झिएँ।

कतै म पनि स्वर्गमा त छैन? मैले आफैंलाई चिमोटेँ। कताकता दुखेको महसुस भयो। अनि ढुक्क भएँ।

स्वर्ग भन्ने ठाउँ पाउन कहाँ सजिलो छ र? स्वर्ग पुग्न धेरै सत्कर्म गर्नुपर्छ। मैले त सत्कर्म गरेकै केही थिइन।

पालैपालो सबैले आ-आफ्नो नाम लेखिएका ढड्डाहरु खोले। त्यहाँ फेरी सबैले आफ्नो नाम लेखे। हस्ताक्षर गरे। र, हस्ताक्षर गरिसकेपछि एउटा लाइन दुई लाइनमा बाँडियो।

एक जीवनको लाइन। अर्को मृत्युको लाइन। मृत्युको लाइन धेरै लामो थियो। त्यो लाइनमा अनेकन मानिसहरु उभिएका थिए। हलिउड बलिउडका हिरोहरु थिए। रसलमेनियाका रेस्लरहरु। विश्वसुन्दरी, सुन्दर सुन्दर नायिकाहरु। व्यापारी, उद्योगी। नेताहरु सबै त्यै लाइनमा थिए। यी सबै दृश्य हेर्दाहेर्दै मेरो पालो आयो।

तिम्रो नाम के हो? हातमा दण्ड लिएका भगवानका दूत जस्तै देखिनेले मलाई सोधे।

प्रेम मैले अड्किएको स्वरमा भनेँ।

तिम्रो त नामै प्रेम रहेछ। कुन लाइनमा बस्छौ? फेरि ती दूतले मलाई प्रश्न गरे।

पाए त प्रेमकै लाइनमा बस्छु।

प्रेमको लाइनमा बस्ने के काम गरेका छौ?

च्यापुमा बुढी औंला अड्याउँदै मैले माथितिर हेरेँ। यसपटक माथितिर आकाश थिएन। आकाश देखिने ठाउँमा ठूलाठूला दरबारहरु जस्तै देखिने सुनका घरहरु थिए। प्रत्येक घरका बीचमा अग्लाअग्ला रुखहरु थिए। ती रुखमा लटरम्म फलेका फलफुलहरु पनि थिए। लहराइरहेका रुखसँगै सुनैसुन लगाएजस्ता केही मानिसहरु पनि देखिन्थे।

चराहरु उडेको उड्यै। गुँड नै नभएजस्तो। रुखमा बस्नै नपरे जस्तो। थकाई नै नलागे जस्तो। न्युटनको गुरुत्वाकर्षण सम्बन्धी नियम नै फेल हुने जस्तो, कस्तो अचम्मको ठाउँ। शंख बजेको बज्यै। घण्टी बजेको बज्यै। नारायण नारायण मात्रै भजेको आवाज छ। दु:ख छैन। पीडा छैन। भोक छैन। शोक र सुर्ता पनि छैन। यो आनन्दको ठाउँ हो। यो धर्मीहरुको धाम हो। जो कोही यहाँ कहाँ आउन पाउँछ र??

पहेँलै सुनका धर्साहरु टल्केको धोति लगाएर एक बुढा पण्डित म तिरै आए। उनका दाह्री थिए मेराजस्तै बाक्ला। तर, ती दाह्री काला थिएनन्, सेता थिए। सेताम्मे दाह्री। आँखीभौं भने काला न काला।

तिमी को हौ? उनले फेरी त्यही प्रश्न दोहोर्याएर सोधे।

म प्रेम। मैले दोहोर्याएर उही उत्तर दिएँ।

अनि तपाइँ??

म अजामिल।

अजामिल??? म सोचमग्न भएँ। केही पहिले इभिनिङ वाक गर्दा मैले नारायण पोख्रेलले वाचन गरेको भागवत पुराण सुनेको थिएँ।

लकडाउन भयो। पोहोर साल। खाने र सुत्ने। उठ्ने र खाने मात्र गरियो। भुँडी बढ्यो। भुँडी यति बढ्यो कि निहुरिन पनि गाह्रो भो। सिधा हेर्दा खुट्टा नदेखिने। भ्यात्त बढेको पेट मात्र देखिने। श्रीमती पनि रिसाइन्। यत्रो पेट बना’र!

छोराछोरी पनि बेलाबेला मैतिर आएर मेरै पेटमा छुँदै मलाई गिज्याए। हाम्रा बाबाको दमाहा पेट। दाइने हातले पूर्व पश्चिम पेट कन्याउँदै म लजाएँ। अब दौडन्छु र पेट घटाउँछु।

लकडाउनको २ महिनासम्म हराएकी गर्लफ्रेन्डको एक्कासी फोन आयो।

के गर्दैछौ? उनले सोधिन्।

बस्दै। भुँडी‌ बढाउँदै। म पेट कन्याउँदै हाँसेँ। मेरो हाँसोमा उनको पनि मुस्कान मिसियो।

बढ्नुपर्ने त तिम्रो हो। तर, पेट मेरो बढ्यो। एक पिन्च दिएँ।

छ्या#### बोल्दाबोल्दै उनको फोन काटियो। या नेटवर्क गयो। या उनले रिसाएरै फोन काटिन्।

श्रीमतीले थाहा पाए मोबाइल फुटाउँछिन्। या त मेरा गाला फुट्छन्। भो कलब्याक नगर्ने। मैले फोन टेबलमा राखेँ। घुटुक्क एकचोटी थुक निलेँ। फलामको गेट घ्यार्र लतार्दै बाहिर निस्केँ।

ह्वाउँ-ह्वाउँ साइरन बजाउँदै एम्बुलेन्स आयो। लकडाउनभर एम्बुलेन्स यताउता धेरै दौडियो। बाटो सुनसान भएकाले एम्बुलेन्सको गति सीमित थिएन। मनलाग्दी दौडिन्थ्यो। मान्छे देखेपछि एम्बुलेन्सको साइरन अटोमेटिक बज्थ्यो।

शिरपाउ प्लाष्टिकको सेतै लुगा लगाएको एक ड्राइभर छ। कसैसँग बोल्दैन। अघिल्लो सीटमा उ एक्लै छ। उसको पछि निलो मास्कले मुख टालेका केही मान्छेहरु टाउको कुच्चाउँदै अडिएर बसेका छन्।

गोली जस्तै दौडिएर आएको एम्बुलेन्स अस्पतालमा घ्याच्च रोकियो। मैले खुट्टाका औँलामा बल लगाएर कुर्कुच्चा उचालेँ। ज्यान थोरै तन्काएर त्यै रोकिएको एम्बुलेन्स हेरेँ।

ला##### आज नि कोरोना लागेका मान्छे बोकेर आ’को रैछ।

एम्बुलेन्सको ड्राइभर झर्यो। आफ्नो सीटैनेरको ढोका ढ्याप्प लगायो। आधा राउण्ड हिँडेर पछिल्तिर पुग्यो। पछाडिको ढोका अलक्क खोल्यो। अनि छोइएला कि झैँ गरी थोरै तर्किएर अर्को छेउ पुग्यो।

निन्याउरो मुख बनाउँदै हातमा जेब्रा झोला बोकेर केही मानिस झरे। एक हातमा जेब्रा झोला। अर्को हातमा कालो बटारिएको म्याटको रोल। पाइला लतार्दै अस्पतालतिर सोझिए। अस्पतालको भित्ताले ती सबैको हिँडाई छेक्यो। बिस्तारै मान्छे पनि छेकिए।

कोरोना पोजिटिभ भएर आइसोलेसन बस्न आएका। आइसोलेसन होइन। जेल बस्न आएका। केही बेरमै विज्ञप्ति आयो। आज यति हजार मान्छे कोरोना संक्रमित। आईसोलेन लगिँदै। तर, त्यतिबेलासम्म कोरोना भाइरसले नेपालमा कसैलाई मारिसकेको थिएन।

म भित्र पसेँ। चिया बनाऊ। हाकिमी पारा अपनाएँ। श्रीमतीले चिया बनाएर टेबलमा राखिदिइन्। ठूलो कपको चिया मैले आफूतिर तानेँ। एक सुर्को के लगाएको थिएँ। चिनी आएको रैनछ।

चिनी त ल्याएकै थिएँ भो। आउने गरी हाल्दा के जान्छ? मेरा निधारमा पाँच वटा धर्साहरु परे। दौडिँदै छोरोले चम्चामा आधाआधी चिनी ल्यायो। कपको वल्लो पल्लो छेउ टिकटिक हुने गरी मैले चिनी फिटेँ।

उम्। बल्ल मजा आयो। ठडिएका दाह्री मुसार्दै म बेडमा पल्टिएँ।

त्यही साँझ म इभिनिङ वाक गर्न बाटोमा निस्किएँ। मुखमा मास्क, हातमा मोबाइल र हातको मोबाइलदेखि कानसम्म तनक्क तन्किएका इयरफोनका लहरा हल्लाउँदै म हाइवेमा हानिएँ।

हाइवे खालि थियो। हाइवेका छातिमा केही थान सुकेका पातहरु अडिएका थिए। घरि-घरि चलेको हावाले ती सुकेका पातलाई उडाउँदै यताउता सार्थ्यो। कैले ती पातहरु हाइवेको घाँटीसम्म पुग्थे। फेरि कैले हावाको मन्द वेगमा मडारिँदै हाइवेको नितम्बनेर पुगी टक्क अडिन्थे।

हाइवेको छातीमा यताउता गरिरहेका पातको छातिमा टेक्दै म दौडँदै थिएँ। एकसुरले कानमा भागवत पुराणको प्रवचन बजिरहेको थियो।

अजामिल नामको ब्राम्हण। नाममात्रको ब्राम्हण। पूजापाठ, जपतप केही छैन। विहानको घामले नितम्बको कुनामा लठ्ठी हान्दा पनि नउठ्ने। धर्मकर्म त परैको कुरा। ईश्वरको नाउँमा “ई” सम्म नभन्ने।

जंगलमा बस्ने। गिठ्ठा भ्याकुर खोज्ने खाने। सामाजिक संस्कार केही नभएको। मान्छे आए-गएको रुचाउँदै नरुचाउने। बहुतै जंगली। पोखरेलको प्रवचन गैरहेको थियो।

उनका नारायण नामका छोरा थिए। कान्छा छोरा। बुढेसकालमा पाएका छोरा सायद साह्रै मायालाग्दै हुन्छन् क्यार। तर, ती अजामिलले जीवनभर आफ्नै कान्छा छोरालाई बोलाउँदा पनि नारायण भनेनन्।

अजामिल बिरामी परे। अब उनको अन्तिम अवस्था भयो। थाहा पाउने वरपर कुटी बनाई बसेका सबै बोलाउन आए। मनपर्दा खाना, फलफुलहरु खुवाए। भजन कीर्तन सुनाए। तर, अजामिल बुढाले मर्न परे भगवानको नाम जपेनन्।

उनका आँखा लोलाए। शरीर गल्दै गयो। मुटुको चाल र नाडी सुस्तरी चल्न थाले। उनी बिस्तारामा लम्पसार परे। “मर्ने बेलामा हरियो काँक्रो” त्यै पनि केही भन्छन् कि भन्दै मानिसहरुले भगवानको नाम जपाउने अनेकौं उपाय रचे। तर, उनले हरियो भने हरिको नाउँ आउने पीरले काँचै पो भनिरहे।

बडो डरलाग्दा यमराजका दूतहरु उनलाई लिन आइरहेको देखे। उनी डराएर आत्तिँदै कान्छा छोरालाई बोलाए।

” अन्त्य नारायण स्मृति: ” उनले भगवानको नाम जपे। वैकुण्ठबाट सर्र हावामा उडेर विष्णुका दूतहरु उनलाई लिन आए। जीवनभर कहिल्यै भगवानको नाम नलिएका अजामिल त मर्ने बेला भगवानको नाम जप्दा वैकुण्ठ गए।

के जीवनमा पूण्य गर्नेहरु परमधाम नजालान् त? अवश्यमेव:

त्यै बेला फोन आयो। मेरो अनुहारमा पसिना तप्किरहेका थिए।

कहाँ छौ?

बाटोमा। बाटोमा के गर्दै? यो लकडाउनको बेला।

नाच्दै। अरु त के गर्नु?

कत्ति रिसाउन सकेको!

किन नरिसाउनु त। लकडाउन भएको कत्ति भो। के एक म्यासेज एक कल आयो?

तिम्लाई नमिल्ला भनेर नि।

किन नमिल्ने? फोन उठाएर बोल्न नमिले नि काट्न त मिल्थ्यो नि।

सरी डियर। उनी झुकिन्।

ल ठीक छ। फेरी बोलौँला। फोन काटेर फरक्क म फर्किएँ। अजामिलले वैकुण्ठ पुग्ने भर्याङका कति खुट्किला चढे। मलाई पत्तो भएन। म भने हाइवेको ओरालो झरेर कोठामा आएँ।

यसरी भएन। कुकरको बिर्कोलाई कुकरमै ढोक्काउँदै श्रीमती पड्किइन्।

के गरौँ त? पस्केको भात आफूतिर तान्दै मैले सोधेँ।

विदेश जानु! दुईचार पैसा कमाइन्छ‌। एक दुई जोर राम्रो लुगा लाउन पाइएला। मीठो खान पाइएला। घर बनाउन सकिएला। दुईचार पैसा भएपनि बैंकमा जम्मा होला।

तिम्रो कुरा नि ठीक हो। ऐलै जाम् त? म जुरुक्क उठेँ‌। हातबाट केही भातका सिताहरु भूइँमा खसे।

ऐलै जान त कसले भन्या छ? दुई साल त विदेशमा भीसा इस्यु होला जस्तो छैन।
तयारी गर्दै गर्नु न।

हुन्छ। मैले केही डल्ला साबुन, केही पत्ता स्याम्फु, केही जोर लुगा, एक टावेल, दुई जोर जुत्ता झोलामा हालेँ।

भयो श्रीमती ज्यु? म हाँसे।

श्रीमती पनि हाँसिन्। जिन्दगी रमाएरै जिउन जान्नुपर्छ।

मसँग पासपोर्ट थिएन। मैले पासपोर्ट बनाउनुपर्ने थियो। केही महिनापछि पासपोर्ट बनाउन प्रशासन कार्यालय गएँ। पासपोर्ट साइजको फोटो खिचेँ। बटारिएका राउडी स्टाइलका जुँगा सहितको फोटो आयो। प्रशासन कार्यालय गएर फाराम भरेँ। राजस्व तिर्न लामो लाइन बसेँ बैंकमा। बल्लतल्ल पालो आयो। पाँच हजार तिरेँ। एकमहिना पछि लिन प्रशासन कार्यालय नै जानू!

ख्वार्र रातो कलम राजस्व रसिदमा दौडाउँदै काउन्टरकी एक महिलाले भनिन्। निधारनेर आएको कपाल झ्वाट्ट टाउको झड्कारेर माथिसम्म पुर्याइन्। निलो सर्टमाथि लपक्क बसेको आइडी कार्डको फिता तनक्क तान्दै मिलाइन्।

ढ्याप ढ्याप पार्दै एउटा स्टामप्याडले राजस्व रसिदको गालामा बेस्मारी चड्काइन्। स्टामप्याडको थप्पडको डाम रसिदको गालामा रातै बस्यो। उनले त्यो रसिद मलाई दिइन्।

मैले रसिद समाउँदै पट्याएर गोजीमा हालेँ। मेरो पालो सकियो। फेरी उनको उक्त क्रियाकलाप दोहोरिईरह्यो।

उनको हातबाट दिनमा कति रसिदले कुटाई खान्छन् होला? कति रसिदको गालामा छाप पर्छ होला? देब्रे हातले दाइने गाला मुसार्दै म लाइनबाट पछि हटेँ। बैंकबाट बाहिरिएँ।

सिँढीका खुट्किला गन्दै तल झरेँ। बाइक स्टार्ट गर्दै हुर्र हुइँकिएँ।

मनमनै सोचेँ। कोरोना भाइरसको महामारी अन्त्य भयो भने त एकलट विदेशिन्छु। महिनामा लाख कमाउँछु। सुनका लाप्सा लाएर हिन्छु। तीनतले घर बनाउँछु।

बाटोको खाल्डोले मेरो दिवास्वप्ना क्षणभरमै उडाइदियो।

के हजार सपनाहरु सजाएर विदेश उडेका हजारौं नेपालीले आफ्नो सपना पूरा गरेका छन्?

मेरो मानसपटलमा एक्कासी “बोल माया….” गीत गुन्जियो। मन अमिलो भयो।

रातो बाकस, उजाडिएको सपना। टुटेको घर। कहिल्यै नफर्किने गरी टाढिएको भरोसा। $$$$$$$$

सन्नाटाले मनको कुना कुनासम्म हिर्कायो। म कतिबेला घर पुगेँ पत्तै भएन।

डियर आज त अल्लि बढी कुरा गर्ने है। उनको टेक्स्ट आयो मोबाइलमा। मैले हतारहतार फोन साइलेन्ट गरेँ।

जिन्दगीमा कुनै सम्बन्ध र कुनै घाउ यस्ता हुन्छन्, जो देखाउन मिल्दैन। महसुस मात्र गर्न सकिन्छ।

उनको मेरो सम्बन्ध पनि यस्तै थियो। न देखाउन मिल्ने। न सुनाउन मिल्ने।

अप्ठ्यारो ठाउँमा आएको पिलोजस्तै दुख्दै मैले मोबाइलको ब्राइटनेस कम गरेँ।

आज मलाई त्यति सन्चो छैन। मैले सानो म्यासेज फेसबुकमा छोडेँ।

बहाना नबनाउ। उनको रिप्लाई आयो।

बहाना होइन। बाध्यता हो। चाहना र बाध्यतामा गुडाउनुपरेका सम्बन्धबारे मलाई सोध्नु। म उपन्यास बनाउँला।

ठीकै छ। गुडनाइट।

मैले नमस्ते इमोजी पठाएँ। उनले हेरिन्। तर, रिप्लाई गरिनन्। म्यासेज आउला भनी कुरिबसेको भुसुक्कै निदाएछु।

ब्युँझिएपछि एकपल्ट फेसबुक खोल्न मन लाग्यो। खोलेँ।

“समवन ह्याज इग्नोर्ड मी” स्टोरी रहेछ।

मलाई पनि लेखुँ-लेखुँ लाग्यो। पखेटा काटिएको चरी उड्न उड्न खोज्छ। तर, उड्न सक्दैन। हात बाँधिएको मान्छे दौडन-दौडन खोज्छ। तर, दौडन सक्दैन।

त्यही रात मोबाइलमा सिस्टमको म्यासेज आयो। पासपोर्ट लिन सकिने व्यहोराको।

अनि मलाई निद्रा परेन। कहिले उज्यालो होला र लिन दगुरौँला भनी छटपटी भयो। त्यो रात मैले पाँच अंखोरा पानी पिएछु।

एक महिनापछि आउन लागेको पासपोर्ट। पासपोर्टमा प्रिन्टेड मेरा राउडी जुँगा कतिबेला हेर्दै मुसारुँ भैरह्यो। जिन्दगीमा घडीको सुई चल्दै नचलेको त्यै दिन हो।

यति आतुरी त कहिल्यै प्रेमिकाको कपाल मुसार्न पनि भएन।

लाइनैलाइन।

जे कुरामा पनि लाइन लगाउनुपर्ने देश त यै नेपाल होला। ट्वाइलेटमा लाइन। अफिसमा लाइन। बैंकमा लाइन। चुनावमा भोट हाल्न लाइन। भत्ता लिन बुढाबुढीको लाइन। दरखास्त फाराम भर्न युवायुवतीको लाइन। पासपोर्ट बनाउन बेरोजगारहरुको लाइन। बाटोमा गाडीको लाइन। अस्पतालमा बिरामीको लाइन। चौकीमा अपराधीको लाइन। जंगलमा तस्करको लाइन। अदालतमा भ्रष्ट्रहरुको लाइन। जग्गामा दलालको लाइन। घाटमा मूर्दाहरुको लाइन। एयरपोर्टमा राता बाकसका लाइन।

यो देशमा लाइन नहुने एक ठाउँ जेब्रा क्रस मात्रै रहेछ। किनकी जेब्रा क्रसमा हिड्ने मान्छे नै नहुने रहेछन्।

लाइन बसेर पासपोर्ट लिएँ। बाहिरी कभर हरियो थियो। अरु हेर्नै भ्याइन। वरिपरिका मान्छे मैलाई हेरेर हाँसे जस्तो लाग्यो। पासपोर्ट कालो झोलामा हालेँ र बेतोडले घरतिर हुइँकिएँ।

यी पासपोर्ट। श्रीमतीलाई पासपोर्ट देखाएँ।

उनले पासपोर्टको अगाडि हेरिनन्। सिधै पछिल्लो पाना फर्काइन्। आफ्नो नाम छ छैन हेरिन्।

किन राख्थ्यो? उनको रिसाएको आवाज निस्की त हाल्यो।

ज्या### बिर्सेछु। आखिर त्यहाँ नाम किनै पो चाहियो? त्यहाँ श्रीमतीको नाम थिएन। बाको नाम थियो।

सृष्टिको सुरुमा यो विश्वमा भगवान विष्णु मात्रै थिए रे। पानीमा निदाई बसेका! त्यै भ’र बाकै नाम राख्दिएँ।

पासपोर्ट नेपाल भनी रैनछ त। श्रीमतीले बाहिरी पानो बल्ल मलाई पनि देखाइन्। मैले पनि हेरेँ। नयाँ डिजाइन होला। हामी दुवैको एकै स्वर निस्कियो।

त्यो रात म सुतेँ। पासपोर्ट सिरानीमै राखेर।

नाइल र अमेजनभन्दा लामा र ठूला नदीहरु तर्न मान्छे संघर्ष गरिरहेका थिए। कति नदीमा झ्याप्पै हाम फाल्थे। नदीसँगै बगेर कता हो कता पुग्थे। पौडन जानेकाहरु पौडे जस्तै गर्थे। थाकेर तिनीहरु पनि नदीमै गाडिन्थे।

नदीको किनारमा बसेर मैले यी सबै दृश्य हेरिरहेको थिएँ। यो बैतर्नी नदी हो। सहजै पार गरेर जान सकिन्न।

पछिबाट कसैले सुनायो।

के यो नदीमा पुल हुँदैन?

पुल हुन्छ। तर, धेरै लामो हुन्छ। उस्तै परे एक महिनासम्म पनि पुल तरेर पारी जान सकिन्न। हल्लिन्छ। फरक्कै फर्कन पनि सक्छ। पापीहरु त यो पुलबाट सिधै खोलामा हुत्तिन्छन्।

म त एक नंबरको पापी हुँ। लुकीछिपी प्रेम गरेको छु। लुकी-लुकी गर्लफ्रेन्डसँग डेट गरेको छु।

ल हिँड। सँगैजाम्। एक जना बुढा बा ले मेरो हात च्याप्प समाते। मेरो सास आए जस्तै भयो।

केही दिन भो। महापुराण लगाएको। बाले हरि भजन गुन्गुनाए। बा को पछिपछि मैले पनि हति भजन जपेँ।

तीन दिनसम्म लगातार हिँडेपछि बल्ल पुल तरियो। अब त थकाई लाग्यो। बसौँ।

बा बस्न मानेनन्। यहाँ बसियो भने पछि आउनेले जित्छ। स्वर्ग छिर्ने ढोका बन्द हुन्छ। बा रोकिएनन्। बुढेसकालमा पनि उनको जोश मेरो भन्दा तकडा थियो।

हामी दुईजना लुरुलुरु हिँड्यौँ। पुल तरेर केही सम्मो बाटो हिँडेपछि फेरी खुट्टै फर्काउने ओरालो आयो।

त्यो तल देखिएको गंगा नदी हो। महादेवको जटा भएर बग्ने नदी। यो बाटो सुरक्षित मात्र हिँड्ने तल पुग्छन्। दौडिए गंगामा मिसिन्छन्।

यो ओरालो कसरी दौडनु? जिन्दगीको ओरालो यतिसम्म तल पुग्दो रहेछ।

दुई दिनको ओरालो बाटो हिँडेपछि भीमकाय पहाड आयो। सुमेरु पर्वत। त्यो पर्वत पुग्न धेरै नदी पार गर्नुपर्ने रहेछ।

तेलको नदी। रगतको नदी। पीपको नदी। सिँगानको नदी। पिसाबको नदी। आँसुको नदी। पसिनाको नदी। थुकको नदी।

यो नदी पार गरेपछि १४२० किमी हिड्नुपर्छ। बल्ल अर्को एक फलामे ढोका आउँछ। त्यो ढोकामा जो पनि छिर्न मिल्छ। त्यो ढोकाबाट थप १००० किमी हिँडेपछि त्यसपछि, एक बाटो आउँछ, पहाडसम्म पुग्ने।

त्यहाँसम्म पुग्न सर्पको बाटो। गोहीको बाटो। बाघको बाटो। भालुको बाटो पार गर्नुपर्छ। यी सबै बाटो हिँडेपछि अनि अर्को बाटो आउँछ आगोको बाटो।

यो‌ आगोको बाटोमा खारिएर हिँडेपछि बल्ल सुमेरु पर्वत पुग्न सकिन्छ। बा ले बोल्दै हिडिरहे। लाग्छ, उनी स्वर्गबाट मैलाई लिन आएका हुन्। यी सबै कुरा मेरै लागि भनिरहेका छन्।

हामी हिँडेको हिँड्यै गरियो। बाटोमा कुण्डै-कुण्ड थिए। कुनै तातो तेलका कुण्ड। कुनै पीपका कुण्ड। कुनै दु:खका कुण्ड। कुनै धोकाका कुण्ड।

मान्छे नै मान्छे चिच्याएका आवाजले भरिएको नरकको बाटो हिँडेर स्वर्ग पुग्न खोज्नु फलामका चिउरा चियासँग चपाउनु बराबर थियो।

पापको भकारी कस्तो हुन्छ? मैले त्यो कुण्डै-कुण्डमा देखेँ। जो कहिल्यै नभरिने खालको थियो।

सुमेरु पर्वतको छेउनेर पुग्दा बा हराए। मैले यताउता हेरें। कतै देखिन। मनमनै सोचेँ, ” मैले हरि नाम जपेर यहाँसम्म बा को साथ पाएँ।”

भगवानको नाम जप्नुपर्ने यै दु:खको सागर पार गर्नको लागि रहेछ।

यो यात्रामा निस्केको नौ दिन भैसकेको थियो।

कहाँबाट आएको? सुमेरु पर्वतको द्वारपालले सोधे।

नेपालबाट। मैले भनेँ।

ए। उसो भए यो गेटमा छिर्ने! उनले एउटा सानो गेट देखाए।

त्यो अर्को गेटबाट जान मिल्दैन? मैले सोधेँ।

नियम मिचुवाहरु त्यो गेटबाट जानै मिल्दैन। हस्। म लुरुलुरु खियाले मक्किएको सानो गेटभित्र पसेँ।

कस्तो नेपालै जस्तो। जताततै भद्रगोल। लथालिङ्ग। सबै कुरा बिग्रेको जस्तो। छोडिएको घर जस्तै उदांगो। नेपाल बाहेक अर्को लोकमा पनि नेपाल रहेछ।

जताततै ब्यानर र भित्ते पेन्टिङ। यहाँ कमिसनमा कारोबार गरिन्छ। यहाँ राजस्व छली रसिद पाइन्छ। यहाँ खाता खोले कर तिर्नै पर्दैन। यहाँ सांसदको किनबेच हुन्छ।

यहाँ वकिल र न्यायाधीशको कोट पाइन्छ। लाइसेन्स बिक्रीमा छ। यहाँ न्याय प्रति केजी आलुसरह खरिदबिक्री गरिन्छ। यहाँ सरकार ढाल्न तालिम दिइन्छ। यहाँ अक्सिजनको सिलिन्डर तस्कर गरिन्छ। यस्तै-यस्तै।

म अल्लि अघि गएँ।

मध्यावधि निर्वाचनको लागि यहाँ सम्पर्क गरी उम्मेदवारी दर्ता गर्नुहोस्। जित पक्का हुनेछ। लेखिएको तुल र ब्यानर देखियो।

म अझै अघि गएँ।

यहाँ औषधि कमिसनमा पाइन्छ। देखियो।

म अझै अघि गएँ। यहाँ संसद् विघटन गर्न मिल्छ। भन्दै एक व्यक्ति चिच्याईरहेको सुनेँ।

तीन दिन हिँड्दा पनि यो कमिसनको गल्ली छिचोलिएन।

धेरै पर एक सानो जस्ताको बोर्डमा साना अक्षर देखिए। त्यहाँ लेखिएको थियो।

” कमिशन मार्ग भ्रमण गर्नुभएकोमा धन्यवाद”

बाह्रौं दिनको दिन म अजामिल ब्राम्हणकोमा पुगेँ। उनले मलाई हातमा एक चिर्कटो थमाए।

नहेर्नु! यो लगेर बस्, काउन्टरमा दिनु!

हस्। म आकाशमा उडेँ। हावाले मलाई अवरोध गरेन। तौल नै नभएको महसुस भयो।

म यो पृथ्वीलोकभन्दा धेरैमाथि पुगेँ। अलकापुरी। अमरापुरी। चम्पापुरी। विजयपुरी।धेरै पुरीहरु पार गर्दै म अझै अघि गएँ। ब्रम्हपुरी आयो। मैले फोटोमा देखेका ब्रम्हालाई देखेँ।

ठ्याक्कै चारवटा टाउका। लामा दाह्री। कमलको डाँठमा निदाईरहेका।

यो संसार सृष्टि गरिसकेपछि थकाई मार्न सुतेका ब्रम्हा अझै निदबाट उठेका छैनन्। कतैबाट आवाज सुनियो।

मैले ब्रम्हपुरी पार गर्दै विष्णुपुरीतिर हानिएँ।

बाटोमा विष्णुका दूतले रोके। पासपोर्ट छ?

छ। मैले हरियो पासपोर्ट देखाएँ।

उनले हेर्दै पासपोर्ट मैलाई फिर्ता दिए। नेपालबाट आउनेलाई विष्णुपुरीको भिसा मिल्दैन। उनले हप्काए।

किन हजुर?

मिल्दैन भनेपछि मिल्दैन। टिपेर फाल्दिम्?

मैले हात जोेडेँ। मात्र एकपल्टलाई हजुर। म विष्णुपुरी हेरेर मात्रै फर्किन्छु।

चुप्। पैलेपनि तँ जस्तै नेपालीले मलाई ठगे। एकपल्ट हजुर। भनी गएर ऐलेसम्म फर्की आएनन्। नेपालका प्रधानमन्त्रीले सबैलाई ओलिटिक्स सिकाएर पठाउँछन् क्या हो?

तपाइँलाई नेपालको प्रधानमन्त्रीबारे पनि थाहा छ?

किन थाहा नहुनु!

अघि तिमी कुन गल्ली हुँदै आयौ?

कमिसन गल्ली हजुर।

हो। त्यै कमिसन गल्ली भगवान विष्णुले नेपालको प्रधानमन्त्रीलाई छुट्याएर राखेको ठाउँ हो। तिम्रो देशका प्रधानमन्त्री कमिसन र कुर्सी नभई बस्नै नसक्ने रैछन्।

मलाई हाछ्युँ आयो। हाछ्युँ########

मास्क छैन? विष्णुका दूत कड्किए।

छैन हजुर। बाह्र दिनसम्म एउटै मास्क लगाई हिँड्दा फाट्यो।

कोरोना छ?

पिसिआर छ हजुर। मैले गोजीबाट पिसिआर गरेको रिपोर्ट देखाएँ।

आइसोलेसन बसेको होइन?

बसेको हो हजुर।

आइसोलेसनबाट कसरी भागेर यहाँ आइस् त?

के गर्नु हजुर! पिसिआर गरियो। सबैलाई कोरोना लाग्यो। नेपालबारे त तपाइँलाई थाहै छ हजुर। न बेड पाइन्छ। न अस्पतालमा भर्ना! न डाक्टरको उपचार मिल्छ। न औषधि। न अक्सिजन छ। न अक्सिजनको सिलिन्डर।

अक्सिजनको सिलिन्डर भनी वनमन्त्रीले एक सिलिन्डर उपहार पठाए। स्वास फेर्न गाह्रो भएर सिलिन्डर नाकमा सुईरो जोडे लगा’को। कार्बनडाइअक्साइड परेछ हजुर।

अनि त म त सिधै यहाँ आइपुगे नि हजुर।

अनि विष्णुपुरी नै कसरी आइस्?

आजको बाह्र दिन अघि बेलुका कोरोना पोजिटिभ भनी पोष्ट गर्याथेँ हजुर फेसबुकमा। गाउँ र समाजका सबैले छि:छि: दुरदुर गरे। कोरोनाको कहर एकातिर छि:छि: दुरदुर अर्कोतिर।

भजन लगाएर सुत्याथेँ।

अन्त्य नारायण स्मृति: हजुर। कोरोनाले सिधै यहाँ ल्याई पुर्याएछ।

फेरि पिसिआर गर्नु पर्दैन?

पर्छ नि हजुर। अब त सरकारले गर्दिए पो पर्छ त।

ल जा! म प्रधानमन्त्रीलाई भन्दिन्छु।

विष्णुका दूतले विष्णुपुरीबाट प्रधानमन्त्रीको नंबर डायल गरे।

प्रधानमन्त्रीको उत्तर आयो। “म ऐले शितलनिवासमा व्यस्त छु! पछि सम्पर्क गर्नुहोला”

एक कोल्टे फेरेँ। म खाटको कुनोमा मोबाइल समाइरहेको थिएँ।

जीवन अर्याल (स्याङ्जा)

वालिङ र रामपुर नगरपालिका पछि म्याग्दे गाउँपालिकाले पनि माग्यो खोपको अनुमति

मंगलबार/जेठ ११: कोरोना भाइरसको दोस्रो लहरले आक्रान्त पारिरहेका बेला तनहुँको म्याग्दे गाउँपालिकाले पनि खोपको निम्ति स्वास्थ्य मन्त्रालयसँग अनुमति मागेको छ।

आफ्नो गाउँपालिका क्षेत्रमा खोपको अत्यधिक माग भएको र विना खोप कोरोना महामारी भयाभह भएर फैलने सक्ने आंकलनका साथ गाउँपालिकाले खोपको व्यवस्था गरिदिन या नभए खोप व्यवस्थापन गर्न अनुमति दिन स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको हो।

गल्याङमा १० जनाको परीक्षण गर्दा ८ जना कोरोना संक्रमित भेटिए, थप एकको मृत्यु

सागर न्यौपाने/गल्याङ ( वैशाख २२) :स्याङ्जाको गल्याङ नगरपालिकामा कोरोना संक्रमणको दर तिब्र गतिमा बढेको छ ।

गल्याङ नगरपालिकाले सञ्चालन गरेको गल्याङ नगर अस्पतालमा बुधबार गरिएको दश जनाको एण्टिजिन परीक्षणका क्रममा आठ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ ।

संक्रमित हुनेहरुमा सबै जना गल्याङ नगरपालिका वडा नम्बर तीनका चार पुरुष र चार महिला रहेका छन् । वडा नम्बर तीनका ३३, ५३, र ४५ वर्षका पुरुष रहेका छन् भने वर्ष ५३, ४५ र ४५ वर्षका महिला रहेका छन् । यसै गरी १५ वर्षका बालक र १० वर्षकी बालिका पनि कोरोना संक्रमित भएका छन् ।

उनीहरुमा गम्भीर लक्षण नदेखिएको गल्याङ नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

यो संगै गल्याङ नगरपालिकामा कोरोना संक्रमणको नयाँ भेरियण्ट संक्रमितको संख्या २३ पुगेको छ । गल्याङ नगरपालिकामा यस अघि छ महिला र नौ पुरुष गरी १५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

अहिलेसम्म वडा नम्बर ४, ५ र ६ बाहेकका सबै वडाहरुमा संक्रमितहरु भेटिएका छन् ।

नगरपालिका बाहिर काठमाडौंमा एक जना, पोखरामा तीन जना पाल्ल्पामा एक जना तथा बुटवलमा २ जना संक्रमितको उपचार भैरहेको छ ।

यस्तै नगरपालिकामा होम आइसोलेसनमा आठ जना, होम क्वारेण्टाइनमा तीन जना तथा संस्थागत क्वारेण्टाइनमा ६ जना बसिरहेका छन् ।

यसैबीच, नगरपालिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । वडा नम्बर ११ का ५० वर्षका एक पुरुषको पोखरामा उपचारको क्रममा निधन भएपछि कोरोना बाट गल्याङ नगरपालिकामा मृत्यु हुनेको संख्या दुई पुगेको हो ।

अवैध काठ बरामद

वैशाख २२/ स्याङ्जा: जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहतको इलाका प्रहरी कार्यालय चापाकोटले अवैध काठ बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय चापाकोटबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले चापाकोट नगरपालिका वडा नम्बर ५ हिलामराङ स्थित खोल्सामा अवैध रुपमा चिरान गरी राखेको सालको ४१ थान काठ बरामद गरी वन कार्यालय दामाचौरमा बुझाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताएका छन् ।

जनप्रतिनिधिको मनपरी, अहोरात्र खटिएका विद्युत कर्मचारी कुटे

वैशाख २१/स्याङ्जा: कालीगण्डकी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि र कर्मचारीबीच कुटाकुट भएको छ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्षले नेपाल विद्युत प्राधिकरण मिर्मी वितरण उपशाखाका कर्मचारीलाई कार्यालयभित्र नै प्रवेश गरी गुण्डाको शैलीमा कुटपिट गरेका हुन्।

कालीगण्डकी गाउँपालिकामा रहेको कालीगण्डकी अस्पतालले तिर्नुपर्ने बक्यौता विद्युत महसुलको विषयमा कुरा नमिल्दा अध्यक्ष सहितका जनप्रतिनिधि र अन्य अनाधिकृत व्यक्तिहरूको जमातले कर्मचारीलाई हात हालेको हो।

कोरोना महामारीको संकटको बेला अभिभावकत्व प्रदान गर्नुपर्ने जनप्रतिनिधिबाटै कर्मचारी कुटिनुपर्दा जनप्रतिनिधिको साँढेपन र मनपरी छर्लङ्ग हुन्छ।

भोलिबाट स्याङ्जा जिल्लाभर लागू हुने गरी निषेधाज्ञा

वैशाख २०/स्याङ्जा: जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्लाभर वैशाख २१ बाट लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ।

जिल्लामा कोरोनाको संक्रमण दर बढ्दै गएको र संक्रमण दर न्युनीकरण गर्ने भन्दै जिल्लामै निषेधाज्ञा लागू गर्न लागिएको हो । जिल्लामा कोरोना संक्रमण २ सय भन्दा बढीमा देखिएकाले आगामी मंगलबारबाट जिल्लामै निषेधाज्ञा लागू गर्न लागेको प्रशासन स्रोतले जानकारी दिएको छ।

पछिल्लो समय स्याङ्जा जिल्लाको वालिङ नगरपालिका कोरोना संक्रमितको हटस्पट बन्दै गएको छ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले यसअघि नै लागू हुने गरी वालिङ नगरपालिका, चापाकोट नगरपालिका र गल्याङ नगरपालिकालाई निषेधाज्ञा जारी गरी अत्यावश्यक बाहेक अन्य सबै सेवाहरु बन्द गरेको थियो।

स्याङ्जाको भीरकोटमा निशुल्क मास्क वितरण कार्य सुरु, स्याङ्जामै जनस्वास्थ्य विपदको घोषणा

रवि थापा: वैशाख १८/ स्याङ्जा: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकामा निशुल्क मास्क वितरण कार्यक्रम सुरु भएको छ।

भीरकोट नगरपालिकाको सक्रियता तथा भीरकोट उद्योग वाणिज्य संघको आयोजना र प्रायोजनमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

सरकारले अनिवार्य मास्क प्रयोग गर्न, अत्यावश्यक बाहेक अन्य अवस्थामा घर बाहिर ननिस्कन गरेको अनुरोध वेवास्ता गर्दै सर्वसाधारण बाहिर निस्कन थालेपछि स्थानीय व्यापारी र सरोकारवाला मिलेर मास्क वितरण कार्य सुरु गरेका हुन्।

भीरकोट मुकाम बयरघारी बजारको ९९ चोकबाट सुरु भएको मास्क वितरण कार्य नगरका अन्य स्थानहरूमा पनि विस्तार गर्दै लैजाने जानकारी भीरकोट नगरपालिकाका मेयर छायाराम खनालले गराएका छन्। पछिल्लो समय जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पनि “मास्क खोई?” अभियान जिल्लाभर तिव्र बनाएको छ।

साथै, स्याङ्जा जिल्लाकै वालिङ नगरपालिकाले आज रातिबाट लागू हुने गरी वैशाख २५ गते राति १२ बजे सम्मका लागि जनस्वास्थ्य विपदको घोषणा गरेको छ। अत्यावश्यक बाहेक अन्य सबै सेवाहरु बन्द गरिएको उक्त नगरपालिकाद्वारा जारी भएको विज्ञप्तिमा उल्लेख छ।

पछिल्लो समय स्याङ्जा जिल्लामा कोरोना संक्रमित धमाधम थपिन थालेपछि यहाँका ११ वटै स्थानीय निकायहरु सक्रिय बनेका छन्।