२०८३ अशोज ६, मङ्लबार

जाजरकोट जाँदै गरेको बस दुर्घटनाग्रस्त, ५ को मृत्यु ३२ घाइते

मंसिर १२/खबरकलम संवाददाता: नेपालगञ्जबाट जाजरकोटका लागि छुटेको रात्री बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

नेपालगञ्जबाट छुटेको ना ६ ख २७५७ नम्बरको बस गए राति २ बजेतिर जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

दुर्घटनामा परेर २७ जना घाइते भएका छन्। बसमा ३२ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी रहेको र मृतकको सनाखत समेत नभएको प्रहरीको भनाइ छ।

स्याङ्जा काँग्रेस सभापतिमा थापा विजयी

मंसिर ११/स्याङ्जा: नेपाली कांग्रेसको स्याङ्जा जिल्ला सभापतिमा संविधान सभा सदस्य राजु थापा विजयी भएका छन्।


राजु थापाले १११७ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी तथा गण्डकी प्रदेश सभा सांसद् भागवत प्रकाश मल्ललाई ३२ मतले पराजित गरे। भागवत प्रकाश मल्लले १०८५ मत ल्याए।

यस्तै उपसभापतिका सबैभन्दा बढि मतले केदार काफ्ले विजयी भऐका छन् भने सचिवमा गुरु भट्टराई निर्वाचित भएका छन् ।

क्षेत्रीय प्रतिनिधि रोकाले जिल्ला सदस्य पदको उम्मेदवारी फिर्ता लिए

मंसिर ९/स्याङ्जा: राम बहादुर रोकाहा , नेपाली काङ्ग्रेसको चलिरहेको अधिवेशन अन्तर्गत भोलि हुने चुनावको अघिल्लो दिन आज स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं १ मा रमेश रोकाहाले आफ्नो जिल्ला सदस्य पदको उम्मेदवारी फिर्ता लिएका छन् ।
नेपाली काङ्ग्रेसलाई बल होइन , विचारको धारमा बहिस्कार होइन अङ्गालेर समृद्धिको बाटोमा डोहोर्याउन चाहने क्षेत्रीय प्रतिनिधि रमेश रोकाहाले अग्रजहरुलाई स्थान दिँदै जिल्ला सदस्य पदमा रहेको उम्मेदवारीलाई आफ्ना फिर्ता लिएको घोषणा गरेका हुन् ।
स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिका वडा नं. -६ कुन्चेबारी घर भएका रोकाहा विगत करिब डेढ दशकदेखी विवेक , सामर्थ्य , समय र श्रोतसाधनले भ्याएसम्म नै विभिन्न परिप्रेक्षमा राजनीति र आवद्ध पार्टीका गतिविधिहरुमा निरन्तर सरिक हुँदै आएका थिए ।
यसै बिच पार्टीको चालू १४ औं महाधिवेशनमा राजनैतिक पृष्ठभुमि र संस्कारबाट चलायमान युवा वर्गहरुको उल्लेखनीय सहभागीता हुनुपर्ने र अनेकन असामाजिक , अराजनीतिक गतिविधिहरुका विरुद्ध आवाज बुलन्द पार्नुपर्ने मान्यताका साथ जिल्ला सदस्य पदको उम्मेदवारी घोषणा गरेका रोकाहाले आज आफ्नो उम्मेदवारी फिर्ता लिएको अवगत गराएका छन् ।
रोकाहाले आफ्नो जिल्ला सदस्य पदमा रहेको उम्मेदवारी फिर्ता लिएको कारणसहितको संक्षिप्त्त व्यहोरा यश प्रकार रहेको छ :-
जिल्ला सदस्य पदमा रहेको उम्मेदवारी फिर्ता गरेको कारणसहितको संक्षिप्त्त व्यहोरा सम्पुर्ण आदरणीय सुभचिन्तक ज्युहरुमा……
बिगत करिब डेढ दशकदेखी विवेक, सामर्थ्य, समय र श्रोतसाधनले भ्याएसम्म नै निरन्तर विभिन्न परिप्रेक्षमा राजनीति र आवद्ध पार्टीका गतिविधिमा सरिक हुँदै आएको छु। यस बिच अवधीमा पार्टीप्रतिको कर्तब्य निर्वाह गर्दै समानान्तर रुपमा पार्टी, समाज, नेतृत्व र समुदाय भित्रका बिकृती एवं बिसङ्गतीका सवालमा आफ्नो आवाज बुलन्द पार्ने कर्म पनि निरन्तर रह्यो। कार्यकर्ताको मनमा रहेपनी यस्तै स्वस्थ आलोचनात्मक शैलिका कारण नेता, नेतृत्वका नजरमा केही धेरैथोरै बिझाइदै आइएको र कत्तिपनि बिचलित नभएको पनि सत्य हो।
पार्टीको चालू चौधौं महाधिवेशनमा राजनैतिक पृष्ठभुमि र सस्कारबाट चलायमान युवा वर्गहरुको उल्लेख सहभागीता हुनुपर्छ र यस्ताखाले अनेकन असामाजिक, अराजनीतिक गतिविधिका विरुद्ध आवाज बुलन्द पार्नुपर्छ भन्ने मान्यताका साथ जिल्ला सदस्य पदमा मैले पनि आफ्नो उम्मेदवारी घोषणा गरेको थिए। अभिभावकविहिन बनेको वार्डको परिप्रेक्ष्यमा महाधिवेशनमा केही प्राथमिक उदेश्यहरु थिए जुन् उदेश्यहरु वार्डका अग्रज युवाहरुको बिजयसङ्गै हाललाई पुर्ती भएका छन् र यो मानेमा अर्जुनचौपारी पालिका सफल भएको छ।
इच्छाशक्ति र दर्शन भएर मात्र राजनीतिमा दरिलो नभईने, टिम नभई चुनाब नजितीने, टिममा देखिँदा आधुनिक सतिप्रथाको मतियार भइने र रचनात्मक भुमिकामा रहदा नेतृत्वको नजरमा नपरिने वातावरणको बिकास भएको, वार्डले हाल पार्टिको राम्रो नेतृत्व पाएको, उहाँहरुको कार्यसम्पादन हेर्न बाकी नै रहेको,बिजेता अग्रजहरुसङ्ग सहकार्य गरि न्युनतम राजनैतिक सुद्धताका लागि सहयात्री बन्नु पहिलो दायित्व रहेको महशुस भइ परिवार, अग्रज, निकट सुभचिन्तक, वार्ड नम्बर ६ सभापति हुँदै जिल्ला तहसम्मका आदरणीय नेतृत्वसङ्ग विमर्श गर्दा हाल मैले उम्मेदवारी फिर्ता गर्दा तर्कसङ्गत देखिने भएको हुँदा जिल्ला सदस्य पदमा रहेको मेरो उम्मेदवारी फिर्ता भएको व्यहोरा सम्पुर्ण आदरणीय सुभचिन्तक ज्युहरुमा सादर अवगत गराउन चाहन्छु ।
पालिकाबाट सोही पदमा ३ जनाको उम्मेदवारी परेको, सर्वसम्मतको वातावरण नबनेकोले मेरो उम्मेदवारी फिर्तापछी बाकी अग्रजद्वय पुर्व पालिका सभापती बोधनारायण रेग्मी र ५ नम्बर पार्टी सभापती मामा हरि प्रसाद पौडेल ज्युलाइ सहमतिको वातावरण बनाउनका लागि सादर अपिल गर्दछु। आगामी दिनमा थप राजनैतिक योग्यता तथा श्रोतसाधनको उपलब्धि हासिल गरि पार्टीमा मृत बैचारिक बिमर्श, बिधि बिधानको गतिशिलताको सस्कारको पुनरागमन भएछ भने आवश्यकता बमोजिम यहाँहरुको साथ, सहयोग, रचनात्मक सुझाब र आशिर्वाद सिरोपर गरेर अर्कोपटक मैदानमा उत्रनेछु।

अत्यधिक बहुमत सहित महाधिवेशन प्रतिनिधिको चुनाव मल्लले जिते

मंसिर ७/स्याङ्जा: स्याङ्जाको कांग्रेसका एकमात्र प्रत्यक्ष गण्डकी प्रदेशका सांसद एवं सचेतक भागवतप्रकाश मल्लले अत्यधिक बहुमत ल्याई महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन्।

उनले कुल ८५२ मत ल्याई महाधिवेशन प्रतिनिधिको चुनाव जितेका हुन्। उनी स्याङ्जा जिल्लाका काँग्रेस सभापतिका उम्मेदवार समेत हुन्।‌

कांग्रेस स्याङ्जा क्षेत्र नं १ मा रेग्मी विजयी

मंसिर ७/स्याङ्जा:नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत स्याङजा निर्वाचन क्षेत्र नम्बर १ मा तुलसीराम रेग्मी विजयी भएका छन् । रेग्मीले कुल १०१२ मतमा ६३९ मत प्राप्त गरी विजयी भएका हुन् ।

क्षेत्रीय सभापतिमा विजयी रेग्मीले प्रतिदोन्दीहरु ओमबहादुर भट्ट क्षेत्री र दुर्गा प्रसाद पौडेललाई भारी मतले पछि पार्दै विजयी भएका हुन् । निर्वाचन समितिले दिएको जानकारी अनुसार भट्ट क्षेत्रीले ३१४ मत प्राप्त गरेका छन् भने पौडेलले २६ मत प्राप्त गरेका हुन् ।

कुल मतदाता १०२९ रहेको निर्वाचन क्षेत्र नम्बर १ मा १०१२ मत खसेको थियो । भट्ट क्षेत्री वर्तमान संस्थापन पक्ष भनेर चिनिन्छन भने रेग्मी राजु थापा पक्ष भनेर परिचित छन् । पौडेल कांग्रेस भित्रका स्वतन्त्र क्षेत्रीय सभापतिका उमेद्वार रहेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को वालिङ ७ को वडा अधिवेशन सम्पन्न

मंसिर ४/वालिङ: नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को वालिङ ७ को वडा अधिवेशन सम्पन्न भएको छ। आज सम्पन्न अधिवेशनमा अध्यक्ष निर बहादुर आलेसहित २९ सदस्यीय वडा कमिटी चयन गरिएको हो।

उक्त कमिटीमा उपाध्यक्ष बेलबहादुर आले, सचिव इन्द्रकला डुम्रे, सहसचिव बालकुमारी सार्की सहित पाँच जना कोषाध्यक्ष र अन्य सदस्य रहने व्यवस्था गरिएको छ।

अधिवेशन पश्चात नेकपा एमाले भीरकोटको प्रथम नगर वैठक सम्पन्न

मंसिर ४/स्याङ्जा: नेकपा एमाले भीरकोटको प्रथम नगर वैठक सम्पन्न भएको छ ।

नेकपा एमाले भीरकोट नगरकमिटीका अध्यक्ष विश्वनाथ अर्यालको अध्यक्षतामा भएको उक्त वैठकमा नवनिर्वाचित पदाधिकारीलाई बधाई दिने तथा सपथग्रहण गराउने कार्यक्रम समेत गरिएको हो। सपथग्रहण पश्चात सबै पदाधिकारीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।

उक्त सपथग्रहण तथा बधाई कार्यक्रममा स्वागत मन्तव्य कमिटीको उपाध्यक्ष मिठू अधिकारीले दिएकी थिइन् भने नेकपा एमाले जिल्ला कमिटी सदस्य तिल बहादुर गुरुङ ज्वाला, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम् महाधिवेशन प्रतिनिधि सन्तोष केसी, गण्डकी प्रदेश कमिटी सदस्यद्वय दुर्गादत्त भुषाल र हर्कबहादुर गुरुङ लगायत शुभकामना मन्तव्य राखेका थिए।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष उदय श्रेष्ठले नेकपा एमाले स्याङ्जामा विगत भन्दा धेरै बलियो भएको बताउँदै अझ भीरकोट नेकपा एमाले किल्ला बन्दै गएको बताएका थिए।

निर्वाचित कमिटीलाई प्रमाण पत्र वितरण गरिएको उक्त कार्यक्रममा अध्यक्षमण्डल निर्वाचन समिति, वहस नोट समिति र स्वयंसेवक प्रमुखलाई प्रशंसापत्र प्रदान गर्नुको साथै सम्पूर्ण कमिटी सदस्यलाई डायरी समेत वितरण गरिएको थियोे।

आज सम्पन्न बैठकले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा ६ गाडी कार्यकर्ता राष्ट्रिय महाधिवेशनको लागि चितवन लाने तयारी गरेकोे छ भने कमिटीले नयाँ वर्षमा आफ्नो पहिलो मुखपत्र समेत प्रकाशन गर्ने निर्णय गरेको छ। यसका साथै अध्यक्ष र सचिवको संयुक्त दस्तखतमा बैंक खाता खोल्ने निर्णय गर्दै भने प्रदेश कमिटी सदस्यद्वय दुर्गादत्त भुषाल र हर्कबहादुर गुरुङ तथा महाधिवेशन प्रतिनिधि सन्तोष केसीलाई बधाई तथा सम्मान समेत गरेको छ।

अनेरास्ववियु स्याङ्जाको ३८ सदस्यीय जिल्ला कमिटी गठन सम्पन्न

मंसिर ३/स्याङ्जा: अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन स्याङ्जाको जिल्ला कमिटी गठन सम्पन्न भएको छ। आज सम्पन्न कार्यक्रममा विभिन्न पदाधिकारीको टुङ्गो लगाइएको जानकारी अनेरास्ववियु स्याङ्जाका नवनिर्वाचित सहसचिव सागर थापा डल्फिनले दिए।

साझा स्वास्थ्य संस्था नेपालका केन्द्रीय अध्यक्ष तथा नेकपा एमाले स्याङ्जा जिल्ला सचिवालय सदस्य र महाधिवेशन प्रतिनिधि सन्तोष केसीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथि नेकपा एमाले भीरकोट नगरपालिका अध्यक्ष विश्वनाथ अर्याल रहेका थिए।

आज गठित समितिको टिम यस प्रकार रहेको छ।

अध्यक्ष: सगुन राना
उपाध्यक्ष: कृष्ण जिसी
सचिव: नविन पौडेल
सहसचिव: दिनेश खनाल
सहसचिव: सागर थापा डल्फिन
सहसचिव: सरु न्यौपाने सहित ३८ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो।

चाडपर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

कार्तिक १८/स्याङ्जा: स्याङ्जा सदरमुकाम पुतलीबजारमा नेकपा एमाले पुतलीबजार समितिद्धारा आयोजित चियापान कार्यक्रम सदरमुकाम स्थित सिटी हलमा सम्पन्न भएको छ ।

विजयादशमी, शुभदीपावली, छठ, नेपाल सम्बत, ल्होसार तथा इद पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको हो।

पर्वहरुको शुभकामना व्यक्त गर्दै नेकपा एमालेकी केन्द्रीय सदस्य एवं पूर्व मन्त्री पद्मा अर्यालले नेपालीहरुका सबै चाडपर्व साझा पर्वका रुपमा मनाइदैं आएको बताईन् । उनले बिगतका दिनमा कुनै जातजातिले आ-आफ्ना चाडपर्व मनाउने गरेतापनि अहिले सबैले सबैका चाडपर्वलाई साझा रुपमा मनाउनु सुखद पक्ष रहेको बताईन् ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति स्याङ्जाकी संयोजक सीता सुन्दास, नेकपा जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे पारस, गण्डकी प्रदेश सदस्य एवं संघीय सांसद् नारायणप्रसाद मरासीनी, गण्डकी प्रदेश सांसद् मोहन रेग्मी, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रदेश सदस्यहरु सीमा क्षेत्री, रामबहादुर थापा, इस्लाम मिया, दिपक लम्साल र नेपाली कांग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना कुमारले सबै चाडपर्वहरुको शुभकामना व्यक्त गरेका थिए ।

त्यसैगरी कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य महेश पुरी, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा साझा स्वास्थ्य संस्था नेपालका केन्द्रीय अध्यक्ष सन्तोष केसी, तारा शर्मा, सामुदायिक रेडियोका अध्यक्ष अनन्तराज मरासीनी, पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, नेपाली कांग्रेस पुतलीबजार नगरसभापति सुरज अधिकारी, नेकपा एमाले बिरुवाका अध्यक्ष प्रकाश थापा, भीरकोट नगर अध्यक्ष विश्वनाथ अर्याल, च्याम्बर अफ कमर्शका केन्द्रीय सदस्य निर्मला लम्साल, उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, च्याम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष श्री गुरुङ, युवा संघका अध्यक्ष पारस सेन, युथफोर्स जिल्ला अध्यक्ष नृपल श्रेष्ठ र राष्ट्रिय युवा संघ जिल्ला कोषाध्यक्ष अशोक शर्मा लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

नेकपा एमाले पुतलीबजार नगर अध्यक्ष तथा युवा नेता भरत गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव अमृत नेपालीले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष सोबित क्षेत्रीले राखेका थिए ।

यसैगरी नेकपा एमाले फेदिखोला गाउँपालिका कमिटीले पनि पूर्ण बैठक तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।

साना किसान सहकारी संस्था लिमिटेड फेदिखोलाको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रदेश सभा सांसद् मिनप्रसाद गुरुङ सहित करिब १०० जनाको उपस्थिति रहेको थियो।

तिहारको अवसरमा वडास्तरीय भलिबल प्रतियोगिता सम्पन्न

कार्तिक १८/स्याङ्जा:

नेपालीहरुको चाडपर्व दशैं र तिहारको अवसरमा भीरकोट नगरपालिका वडा नं ७ तिलाहारस्थित खिलुङ कालिका युवा क्लबले वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न गरेको छ।

यही कार्तिक १२ गतेदेखि कार्तिक १७ गतेसम्म सञ्चालन भएको उक्त भलिबल प्रतियोगितामा कुल १७ टिम सहभागी भएका थिए।

खेलकुदको माध्यमबाट युवाहरुलाई एकजुट गर्ने र खेलको माध्यमबाट पनि जीवन निर्वाह गर्न सकिन्छ भन्ने सन्देशसहित आयोजना गरिएको उक्त प्रतियोगिता ‌भीरकोट‌ नगरपालिकाका मेयर छायाराम खनालले उद्घाटन गरेका थिए भने कार्यक्रमको समापन नेकपा एमाले स्याङ्जा जिल्ला सचिवालय सदस्य तथा साझा स्वास्थ्य संस्था नेपालका केन्द्रीय अध्यक्ष सन्तोष केसीले गरेका थिए।

करिब २०० जनाभन्दा बढी सहभागी भएको उक्त फाइनल प्रतियोगितामा नेकपा एमाले भीरकोट नगरपालिका अध्यक्ष विश्वनाथ अर्याल, राष्ट्रिय युवा संघ भीरकोटका संयोजक जुमाल अलि, नेपाली कांग्रेस भीरकोटका सचिव ताराप्रसाद अर्याल, उद्यमी रेखा बसेल, काँग्रेस भीरकोट वडा नं ७ का वार्डसभापति शालिकराम अर्याल लगायतका राजनैतिक दलका प्रतिनिधि, शिक्षक, कर्मचारी, समाजसेवी, पत्रकार तथा अन्य व्यक्तिको समेत उपस्थिति रहेको थियो।

उक्त फाइनल प्रतिस्पर्धामा आयोजक खिलुङ कालिका युवा क्लबको टोलीलाई २-० सेटमा पराजित गर्दै दरौँखोला युवा क्लब अर्जुनचौपारीले प्रथम पुरस्कार हात पारेको थियो। प्रथम पुरस्कारको सौजन्य नेकपा एमाले भीरकोट कमिटी रहेको खिलुङ कालिका युवा क्लबका अध्यक्ष तथा फाइनल कार्यक्रम संचालक पर्वत खाम्चाले जानकारी दिए।

प्रथम हुने टिमलाई नगत रु २५०००, शिल्ड मेडल र प्रमाणपत्र, दोश्रो हुने टिमलाई नगद रु १५०००, शिल्ड मेडल र प्रमाणपत्र, तेश्रो र सान्त्वना हुने टिमलाई समेत क्रमशः १०००० र ५००० रु नगद, शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लबले कनाएको छ।

उक्त कार्यक्रममा तिहार तथा छठको शुभकामना आदानप्रदान समेत गरिएको थियो।‌