२०८३ अशोज ६, मङ्लबार

स्याङ्जामा देवीस्थान कप 5A साइड फुटसल सुरु

राम बहादुर रोकाहा/स्याङ्जा: स्याङ्जाको पुतलीबजार नगरपालिकामा 5A साइड फुटसल बुधबारदेखि सुरु भएको छ ।

पहिलो दिनको खेलमा बगैंचा ए´ले घुम्ती बि´लाई १ को विरुद्ध ५ गोलले पराजित गरेको थियो भने लाइटनिङ बोल्टलाई घुम्ती ए´ले ४ का विरुद्ध ६ गोलले पराजित गरेको थियो। स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद ´ भन्ने मुल नारासहित स्याङ्जाको देवीस्थान युवा क्लबले देवीस्थान कप 5A साइड फुटसल प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष नरेश गुरुङले जानकारी दिए ।
उनले उक्त प्रतियोगिता फागुन १९ गतेसम्म पुतलीबजार नगरपालिका-२ देवीस्थान खेलमैदानमा हुने बताए ।

फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई ४० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र र दिृतिय हुने टिमलाई २० हजार रुपैयाँसहित ट्रफी, मेडक र प्रमाणपत्र पुरस्कार स्वरुप प्रदान गरिने खेल संयोजक सोनु गुरुङले जानकारी दिए ।
संयोजक गुरुङले मेन अफ द म्याच, बेस्ट प्लेयर, बेस्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई पनि उत्कृष्ट पुरस्कार रहेको बताए ।

फिचर तस्विर रोचक मल्टिमिडियाले सौजन्य गरेको हो।

क्याड भीरकोटद्वारा आयोजित विद्यालय स्तरीय किक्रेट खेलमा कन्साइन्स मावि विजयी

फागुन १६/माधवप्रसाद रेग्मी: क्लष्टर फर एकेडेमिक डेभलपमेन्ट (क्याड) ले आयोजना गरेको विद्यालय स्तरीय किक्रेट खेलमा कन्साइन्स आवासीय मावि विजयी भएको छ। फाइनल खेलमा बालोदय आवासीय माविसँग टस हारेर पहिले फिल्डिङको निम्ता पाएको कन्साइन्सले ८ ओभरको खेलमा बालोदय आवासीय माविलाई 33-6 मा समेट्न सफल भयो।

निर्धारित रनलाई पछ्याउने क्रममा कन्साइन्स आवासीय माविले २.३ ओभरमा १ विकेट गुमाउँदै जित हात पार्न सफल भएको हो। जम्मा चारवटा विद्यालयबीच भएको खेलमा भू.पू.सैनिक आवासीय मा.वि र बुद्ध मेमोरियल आवासीय मावि प्रारम्भिक‌ चरणको खेलबाट नै बाहिरिएका थिए ।
क्याड संयोजक तथा कन्साइन्स आवासीय माविका प्रधानाध्यापक साजन परियारको अध्यक्षतामा सम्पन्न भएको खेलमा प्रमुख अतिथि PABSON केन्द्रीय सदस्य तथा बालोदय आवासीय माविका प्रधानाध्यापक अमृत अर्याल, विशिष्ट अतिथि कन्साइन्स आवासीय माविका शेयर सदस्य तथा भवन निर्माण तथा मर्मत समिति संयोजक शिव प्रसाद रेग्मी र अतिथिहरु सम्बन्धित विद्यालयका प्रधानाध्यापक र खेल शिक्षक उपस्थित थिए।

कार्यक्रमको संचालन कन्साइन्स आवासीय माविका सहायक प्रधानाध्यापक माधव प्रसाद रेग्मीले गरेका थिए भने स्वागत मन्तव्य कन्साइन्स आवासीय माविकै तिला कुमारी रेग्मीले दिएकी थिइन्। खेलमा उत्कृष्ट ब्याट्सम्यान बालोदय आवासीय माविका रोशन अधिकारी, उत्कृष्ट बलर कन्साइन्स आवासीय माविका अभय बिके, उत्कृष्ट खेलाडी कन्साइन्स आवासीय माविकै अविरल पोख्ररेल भए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिले कन्साइन्स आवासीय विद्यालय खेलकुद र पढाईमा जिल्लाकै अब्बल रहेको कुरा बताएका थिए।

मदन परियारको “पिरैले सुकाउँछ ज्यान” बोलको गीत सार्वजनिक

फागुन १६/ राम बहादुर रोकाहा : मदन परियार र माया प्राधेको स्वरमा रहेको `पिरैले सुकाउँछ ज्यान´ बोलको गीत `माया प्राधे´ युट्युब च्यानलबाट भिडियो सहित सार्वजनिक गरिएको छ ।

दुई हप्ता अगाडि मात्र सार्वजनिक भएको उक्त गीतको शब्द कोरेका श्रीकृष्ण बम मल्ल आफैंले गीतमा संगीत समेत भरेका छन् भने एरेन्ज साहस शाक्यले गरेका छन् ।

सागर लम्साल(बले) र जुना विश्वकर्माले अभिनय गरेको उक्त भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् । छोटो समयमै धेरैले गीत राम्रो बनेको प्रतिक्रिया आएको र प्रारम्भिक समयमै लाखौं दर्शक स्रोताले मन पराईदिनुभएको साथै सबैले गीतको रेस्पोन्स राम्रो दिनुभएको गायक मदन परियारले बताए । नवराज उप्रेतीले छायांकन गर्नुभएको भिडियोको सम्पादन मनोज कार्कीले गर्नुभएको हो ।

गीत हेर्न यहाँ क्लिक गर्नुहोस्।

विरुवा गाउँपालिकाले एकदिने मेला आयोजना गर्दै, स्थानीय उत्पादनलाई प्राथमिकता

फागुन १३/खबरकलम डेस्क: स्थानीय कला, संस्कृति, साहित्य, कृषि, पर्यटन, सेवा, सीप तथा उद्यमशीलताको प्रवर्धनका लागि विरुवा गाउँपालिकाले एकदिने प्रदर्शनी मेला आयोजना गर्ने भएको छ।

विरुवा गाउँपालिकाको विरुवा बजारमा फागुन २४ गते बिहीबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मेला तथा प्रदर्शनी आयोजना गर्न लागेको हो। स्थानीय कृषक, उत्पादक, कलाकर्मी, सेवाप्रदायक , उद्यमी तथा व्यावसायीलाई उक्त मेलामा सहभागी भई प्रदर्शनी सफल बनाउन विरुवा गाउँपालिकाले अनुरोध गरेको छ।

उक्त मेला तथा प्रदर्शनीमा भाग लिन इच्छुक कृषक, उत्पादक, कलाकर्मी, सेवाप्रदायक, उद्यमी तथा व्यावसायीलाई फागुन २२ सम्ममा मेलामा आफूले प्रदर्शनी गर्ने आफ्नो विस्तृत प्रकृतिको विवरण सहित नाम दर्ता खुला गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले जानकारी दिए। उनका अनुसार हरेक विधामा उत्कृष्ट हुनेलाई प्रत्येक विधाको रु ५००० नगद पुरस्कार सहित सम्मान गरिनेछ।

भीरकोटमा माटो परीक्षण तथा घुम्ती शिविर कार्यक्रम सुरु

जीवन अर्याल/फागुन ९: भीरकोट नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका किसानलाई कृषि कार्यमा सहजीकरण गर्नका निमित्त माटोको नमुना संकलन तथा परीक्षण गर्ने गरी घुम्ती कार्यक्रम सुरु गरेको छ।

नगरपालिकाको कृषि शाखाले आजबाट माटोको नमुना संकलन तथा परीक्षण गर्ने गरी दोश्रो चरणको घुम्ती कार्यक्रम सुरु गरिएको जनाएको छ।

एकीकृत कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा माटोको नमुना संकलन तथा परीक्षण कसरी गर्ने भन्ने विषयमा घुम्ती शिविर सम्पन्न भएको जानकारी गराउँदै आजबाट भीरकोट नगरपालिकाका हरेक वडाहरुमा माटोको परीक्षण गर्ने, माटोमा भएको नाइट्रोजन फस्फोरस र पोटासियमको मात्रा पत्ता लगाउने, पोटासियमको मात्रा कम, मध्यम वा बढी भएको अवस्थामा सोही अनुसारको खेति बाली लगाउन सल्लाह दिने गरी दोश्रो चरणको घुम्ती कार्यक्रम सुरु गरिएको भीरकोट नगरपालिकाका कृषि अधिकृत कमल काफ्लेले खबरकलमलाई जानकारी दिए।

उनका अनुसार माटोको PH स्केल समेत परीक्षण गरी माटोमा भएको अम्लीयपना समेत पत्ता लगाउने , क्षारीयपना वा तटस्थता समेत पत्ता लगाउने र सोही अनुसार माटोमा अम्लीयपना भएको अवस्थामा कृषि चुनको प्रयोग गर्ने, क्षारीयपना बढी भएको अवस्थामा जिप्सम प्रयोग गर्न समेत सिफारिस गर्ने र माटो परीक्षणको नतिजा अनुसार कुन बाली लगाउँदा खाद्यतत्व बढी मात्रामा प्राप्त हुन्छ सोही अनुसार तरकारी, खाद्यान्न, सुन्तला, कागती लगायतका तरकारी तथा फलफुल खेती गर्न किसानलाई सुझाव दिने उक्त घुम्ती कार्यक्रमको उदेश्य रहेको अधिकृत काफ्लेले बताए।

उनका अनुसार दोश्रो चरणको कार्यक्रम आजबाट भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार कर्माचार्यको प्रमुख आतिथ्यतामा भीरकोट नगरपालिका वडा नं ९ सिर्कोटबाट सुरु गरिएको छ। आज परीक्षण गरिएको माटोको २८ वटा नमुनामा अम्लीयपना ज्यादा पाइएको र किसानलाई कृषि चुन प्रयोग गर्न सुझाइएको छ।

नेविसंघ भीरकोटको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न, सम्झना अधिकारी प्रथम

फागुन ७/नारायण प्रसाद कोइराला: नेपाल विद्यार्थी संघ भीरकोटले ७३ औं प्रजातन्त्र दिवसका अवसरमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ।

भीरकोट नगरपालिका वडा नं छ स्थित भाग्योदय माविमा आज एक कार्यक्रमका बीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको हो। भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख कर्माचार्यले प्रजातन्त्रको उदयपछि शिक्षा क्षेत्रमा आमुल परिवर्तन भएको धारणा राखे।

नेपाली काँग्रेसका प्रदेश सचिव अमृत अर्याल, जिल्ला सदस्य तोयानाथ अर्याल, इन्दिरा केसी, भीरकोट नगरपालिका उपप्रमुख भगवती अर्याल, नेपाली कांग्रेस भीरकोट सभापति यामप्रसाद अधिकारी, भीरकोट नगरपालिका वडा नं ७ का वडाध्यक्ष ताराप्रसाद अर्याल, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य हेमप्रकाश गुरुङ, ध्रुवबन्धु पंगेनी, आदर्श मल्ल लगायतका अतिथिहरुले वक्ताको रुपमा सहभागिता जनाएका थिए।

यसैगरी क्षेत्रीय प्रतिनिधि क्षेत्रबहादुर थापा, नेविसंघ स्याङ्जा जिल्ला अध्यक्ष गौरव प्रधान, त्रिभुवन आदर्श बहुमुखी क्याम्पस स्ववियु सभापति सविन रेग्मी, नेपाल शिक्षक संघ स्याङ्जाका तर्फबाट रेशम रेग्मी, रेशम खनाल लगायतले आफ्नो धारणा राखेका थिए।

नेविसंघ भीरकोटका सभापति मुनाल गोदारको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन नेविसंघ भीरकोट सहसचिव गोपाल अधिकारीले गरेका थिए।

कुल २४ जना प्रतियोगी विद्यार्थी भएको उक्त वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान दहथुम माविकी सम्झना अधिकारीले प्राप्त गरिन्। यसैगरी द्वितीय स्थानमा भानुभक्त माविकी मञ्जुश्री अधिकारी, तृतीय स्थान पूर्णामृत भवानी माविका पोषकान्त लुइँटेल तथा सान्त्वना बालोदय माविकी विनिशा खनालले प्राप्त गरेका थिए।

साख जोगाउने कसरतमा वालिङ, बनायो ५१ सदस्यीय सल्लाहकार समिति

फागुन ७/खबरकलम समाचार डेस्क: पछिल्लो समय जनप्रतिनिधि बीचकै मनमुटाबका कारण बिग्रँदै गएको आफ्नो शाख जोगाउन तथा नागरिकमा फैलिएको वितृष्णालाई कम गर्न वालिङ नगरपालिकाले निवर्तमान नगरप्रमुखको संयोजकत्वमा ५१ सदस्यीय सल्लाहकार समिति निर्माण गरेको छ।

नेपालकै स्मार्ट सिटीको मोडेलमा अघि बढिरहेको वालिङ नगरपालिकाले निवर्तमान नगरप्रमुख दिलिप खाँणको संयोजकत्वमा ५१ सदस्यीय सल्लाहकार समिति निर्माण गरेको हो।

स्मार्ट सिटीको २० वर्षे दीर्घकालीन नीति र गुरुयोजना बनाएरै अघि बढेको नगरपालिकाले निवर्तमान नगरप्रमुख दिलिपप्रताप खाँणको संयोजकत्वमा सल्लाहकार समिति बनाएर समानुपातिक सहभागिताको सुनिश्चितता गर्न नगरपालिका प्रतिवद्ध रहेको उदाहरण पेश गरेको छ।

समितिमा विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तिहरु तथा विज्ञहरुलाई समेटिएको छ। राजनीतिमा सक्रिय नेतृत्वदेखि व्यापारी उद्योगपति, सेवानिवृत्त कर्मचारी, पत्रकार लगायतका सामाजिक व्यक्तिहरु उक्त सल्लाहकार समितिमा अटाएका हुन्। यही माघ २९ गते बसेको नगरकार्यपालिकाको वैठकले ५१ सदस्यीय सल्लाहकार समिति बनाउने निर्णय गरेको र उक्त सल्लाहकार समिति विशुद्ध वालिङको हित, विकास र समृद्धिको बाटोमा सल्लाह सुझाव तथा अभिभावकत्वको निम्ति रहने जानकारी वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए।

दिलिपप्रताप खाँण नगरप्रमुख रहेका बखत वालिङ नगरपालिकाले स्मार्ट सिटीका लागि दीर्घकालीन योजना बनाएको र यसको कार्यान्वयन गर्ने प्रयोजनार्थ विज्ञहरुको समिति आवश्यक रहेको नगरप्रमुख खाँणले खबरकलमलाई जानकारी दिए।

वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले जानकारी दिएअनुसार सल्लाहकार समितिका सदस्यहरुमा लालचन्द्र गैह्रे, अग्नि काफ्ले, विष्णुबहादुर द्वारे, शोभाकान्त पौडेल, बावुराम रेग्मी, आनन्द काफ्ले, डा.दिनेश काफ्ले, डा.अच्युतशरण अर्याल, डा.दर्शनकुमार गुरुङ, डा.दिनेश वि.क., डा.लेखनाथ शर्मा पाठक, डा.राजन शर्मा, प्रा.डा.दिपक सुवेदी, डा.पवमान सुवेदी, उमाकान्त पराजुली, निलकण्ठ काफ्ले, त्रिलोचन पंगेनी, कमल जिटी, मेघ आले, डोलराज शर्मा पंगेनी, रीना राना, लेखनाथ बगाले, जीवनारायण काफ्ले, जलेश्वर पाण्डे,लेखनाथ पाण्डे, दीपक पाण्डे, राजेन्द्र प्रसाद पाण्डे, कल्पना बस्याल, लक्ष्मीकान्त रेग्मी, ई. विष्णुप्रसाद काफ्ले, टेकप्रसाद लुईटेल, तोयनारायण पौडेल, दामोदर कोईराला, पिताम्बर तिवारी, माधव आचार्य, अमृत श्रेष्ठ, नारायण श्रेष्ठ, जगन्नाथ तिवारी, भुवन काफ्ले, शालिक सुवेदी, देविप्रसाद बगाले, द्रोणराज काफ्ले, लोकनाथ रेग्मी, नारायण भण्डारी, ध्रुव शर्मा पंगेनी, दिनेश तिवारी (दिनकर), डा. गिरीधारी शर्मा, तारा सुवेदी, सागर बगाले र अनन्तराज डुम्रे रहेका छन्।

पछिल्लो समय नगरप्रमुख कृष्ण खाँण र नगर उपप्रमुख कविता तिवारीबीच सामन्जस्यपूर्ण सम्बन्ध बन्न सकेको छैन। यस अवस्थामा निर्माण गरिएको सल्लाहकार समितिले नगरपालिकालाई आवश्यक सल्लाह सुझाव तथा अभिभावकत्व प्रदान गर्नेछ।

स्याङ्जामा देवीस्थान कप 5A साइड फुटसल हुने

फागुन ५/रामबहादुर रोका: स्याङ्जाको पुतलीबजार नगरपालिकामा 5A साइड फुटसल हुने भएको छ ।

स्याङ्जाको देवीस्थान युवा क्लबले `स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद ´ भन्ने मुल नारासहित देवीस्थान कप 5A साइड फुटसल प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष नरेश गुरुङले जानकारी दिए ।

उनले उक्त प्रतियोगिता फागुन १६ गतेदेखि १९ गतेसम्म पुतलीबजार नगरपालिका-२ देवीस्थान खेलमैदानमा हुने बताए। फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई ४० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र र द्वितीय हुने टिमलाई २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार स्वरुप प्रदान गरिने खेल संयोजक सोनु गुरुङले जानकारी दिए । उनले मेन अफ द म्याच, बेस्ट प्लेयर, बेस्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई पनि उत्कृष्ट पुरस्कार रहेको बताए ।

गाउँमै खुलेको स्वास्थ्य केन्द्रबाट स्थानीय लाभान्वित,१६ महिनामा ६ हजारको स्वास्थ्य जाँच

फागुन ३/जीवन अर्याल: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ स्थित सिस्नेपानीमा स्थापना गरिएको स्वास्थ्य सेवा केन्द्रबाट यस क्षेत्रका स्थानीय प्रत्यक्ष रुपमा लाभान्वित भएका छन्।

लामो समयदेखि यस क्षेत्रका स्थानीयले पाएको सास्तीलाई ध्यानमा राख्दै अर्जुनचौपारी गाउँपालिकाले टोल-टोलमै आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने उदेश्यका साथ १६ महिना अघि आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेको हो। स्वास्थ्य केन्द्र स्थापना भएसँगै यस क्षेत्रका स्थानीयलाई सामान्य बिरामी भएपनि स्याङ्जा र पोखरा पुग्नुपर्ने बाध्यता हटेको हो।

पुतलीबजार नगरपालिकाको वडा नं १३, भीरकोट नगरपालिकाको वडा नं ७ र अर्जुनचौपारी गाउँपालिकाको वडा नं १ का बासिन्दाहरु प्रत्यक्षरुपमा स्वास्थ्य सेवा लिन यस स्वास्थ्य केन्द्रमा आउने गरेको जानकारी उक्त स्वास्थ्य केन्द्रमा कार्यरत अहेव सृजना बरालले जानकारी दिइन्। उनका अनुसार उक्त स्वास्थ्य केन्द्रबाट हाल नेपाल सरकारले वितरण गर्ने औषधिमध्ये करिब ७० प्रकारका औषधिहरू निशुल्क वितरण गरिने, गर्भवती जाँच, मानसिक विरामीलाई काउन्सिलिङ, नियमित स्वास्थ्य जाँच, ज्येष्ठ नागरिक बिरामीलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने जस्ता स्वास्थ्य सेवाहरु प्रवाह गरिरहेको उनको भनाइ थियो।

हरेक महिनाको २१ गतेदेखि २५ गतेसम्म घरघरमै पुगेर ज्येष्ठ नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गरिएको जानकारी समेत अहेव बरालले दिइन्। अत्यावश्यक अवस्थामा अक्सिजन सेवा प्रदान गर्न एउटा अक्सिमिटर मेशिन समेत स्वास्थ्य केन्द्रमा राखिएको छ। बालबालिका र ज्येष्ठ नागरिकलाई नेबुलाइजर सेवा समेत उक्त सेवा केन्द्रबाट प्रदान गरिएको छ।

हालसम्म उक्त स्वास्थ्य सेवा केन्द्रबाट ६००० जनाभन्दा बढीले स्वास्थ्य सेवा लिइसकेका छन् भने माघ महिनामा मात्र ३६१ जनाले स्वास्थ्य सेवा लिएको उक्त स्वास्थ्य केन्द्रले जनाएको छ।

हाल उक्त स्वास्थ्य सेवा केन्द्रमा १ जना पोषण सहजकर्ता, १ जना अनमी, २ जना अहेव र १ जना सहयोगी सहित ५ जना कार्यरत छन्।

राष्ट्रिय लोक-संस्कृति पुरस्कार डा.तुलसी खनाललाई

माघ २८/धनगढी: ऐतिहासिक कैलाली जनपुस्तकालय धनगढीले प्रदान गर्ने साबित्री- कमल राष्ट्रिय लोकसंस्कृति पुरस्कार २०८० पोखराका साहित्यकार तथा संस्कृतिविद् डा.तुलसीराम खनाललाई प्रदान गरिने भएको छ।

कैलाली जनपुस्तकालय धनगढीको सनिबार धनगढीमा सम्पन्न सञ्चालक समितिको बैठकले प्रतिभा छनौट समितिको सिफारिसका आधारमा सो निर्णय गरेको हो।पुस्तकालयको ६७ औ वार्षिकोत्सवका अवसरमा आगामी फागुन सात गते आयोजना हुने समारोहमा सो पुरस्कारबाट डा.खनाललाई सम्मानित गरिने कैलाली जनपुस्तकालयका अध्यक्ष तथा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशीले बताए।

समाजसेवी साबित्री साहू र उहाँका पति कमलसिंह साहूले अक्षयकोष स्थापना गरि उक्त पुरस्कारको स्थापना गरेका हुन्। पुरस्कारको राशि नगद, दोसल्ला र अभिनन्दनपत्र रहेको छ। लोकसंस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई राष्ट्रिय स्तरमा सो पुरस्कारबाट सम्मानित गरिदै आएको अध्यक्ष डा.जोशीले बताए।

पुरस्कृत हुने प्रतिभा डा. खनालले लोकगीतमा विद्यावारिधि गर्नुका साथै लोकसंस्कृतिको खोज, अनुसन्धान तथा अन्वेषणमा लामोसमयदेखि विशेष योगदान पुर्याउदै आएका छन्। उनले नेपालका १०० भन्दा बढी जातजातिका जातीय संस्कृतिको अनुसन्धान गरेर सांस्कृतिक प्रोफाइल तयार गरेका छन् ।

डा. खनालले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड तथा विभिन्न स्थानीय तहहरूसङ्गको सहकार्यमा अनुसन्धानको काम गरिरहेका छन् । यसका साथै स्थानीय तहका पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणमा पनि उनको निरन्तर सक्रियता रही आएको छ ।

यो समाचार हाम्रा सहकर्मी नारायण प्रसाद कोइरालाले तयार पारेका हुन्।