२०८३ अशोज ५, सोमवार

बि.पि. कोइरालाको स्मृति दिवसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

साउन ६/ खबरकलम संवाददाता: नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव बि.पि. कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस अर्जुनचौपारी गाउँपालिकाद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

सो कार्यक्रम अर्जुनचौपारी गाउँपालिका वडा नं ३ र ४ को सिमानामा अवस्थित ऐतिहासिक एकानन्द गुफा तथा गौशाला परिसरमा आयोजना गरिएको थियो। वातावरण संरक्षण र हरियाली प्रवर्द्धनको उद्देश्यसहित गरिएको कार्यक्रममा करिब २०० वटा धुपी, कलकी, कपुर, रुद्राक्ष लगायतका बिरुवा रोपिएका छन्।

कार्यक्रममा गाउँपालिका भरिका करिब १०० जना सहभागी थिए। सहभागीहरूको सक्रिय सहभागिता र उत्साहजनक उपस्थितिले कार्यक्रमलाई सफल बनाएको आयोजकले जनाएका छन्। कार्यक्रममा शोभाकान्त काफ्ले, सपना गुरुङ, प्रेम पौडेल लगायतले आफ्नो भनाइ राखेका थिए ।

सिरुबारीसँगै अर्को आकर्षक ग्रामीण गन्तव्य, “देउराली सामुदायिक होमस्टे”

साउन ४/स्याङ्जा :नेपालकै मात्र नभई दक्षिण एसियाकै पहिलो ग्रामीण पर्यटन केन्द्र रहेको सिरुबारी सामुदायिक होमस्टेसँगै जोडिएको अर्को ग्रामीण पर्यटनको संभावना बोकेको स्थान हो, “देउराली सामुदायिक होमस्टे।”

स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका वडा नं १ सिरुबारीसँगै जोडिएर रहेको देउराली सामुदायिक होमस्टे समुद्री सतहबाट १८५० मिटर उचाइमा रहेको छ। पोखराबाट मात्र ४९ किमी टाढा रहेको र स्याङ्जा सदरमुकामबाट करिब १ घण्टामै पुग्न सकिने यस सामुदायिक होमस्टे मुख्यतः ब्राम्हण समुदायद्वारा सञ्चालित छ।

विसं २०७२ सालदेखि सञ्चालित यस होमस्टेमा ग्रामीण स्तरमा उत्पादन गरिएका शुद्ध खाना, वर्षे तथा हिउँदे उत्पादन गरिएको आलुको परिकारहरु, हरियो सागपात, स्थानीय जातकै काँक्राका परिकार सहित कोदो र मकैको पीठोबाट बनाइएको खाना पाइने देउराली सामुदायिक होमस्टेका अध्यक्ष चुडामणि पौडेलले जानकारी दिए। उनका अनुसार हाल ११ वटा घरमा सञ्चालन गरिएको होमस्टेमा २२ कोठा र ४४ वटा बेडहरु रहेका छन्। एकपटकमा ४४ जनाको क्षमता रहेको उक्त सामुदायिक होमस्टे पुग्न पुतलीबजारबाट सतौं दरौं हुँदै पनि पुग्न सकिन्छ भने हेलु अर्जुनचौपारी हुँदै पनि छोटो दुरीमै पुग्न सकिन्छ।

यस सामुदायिक होमस्टेबाट माछापुच्छ्रे धौलागिरी अन्नपूर्ण लगायतका हिमालको दृश्यावलोकन गर्न सकिने तथा अर्जुनचौपारी गाउँपालिकाको मात्र नभई गण्डकी प्रदेशकै प्रसिद्ध तीर्थस्थल डहरे देउराली समेत नजिकैबाट दर्शन गर्न तथा पुग्न सकिन्छ।

क्यानडाबाट फर्केर आफ्नै ठाउँमा समाज सेवामा तल्लीन युवा: भुषाल

भरतराज पोखरेल/असार ३१: देश–विदेशको मोह त्यागी, जन्मभूमिप्रतिको प्रेमलाई कर्मभूमिमा रूपान्तरण गर्ने युवाको परिचय हुन् विवेक भुषाल। प्रवासको जीवन छोडी, आफ्नै माटोमा केही गर्नुपर्छ भन्ने संकल्पसाथ क्यानडाबाट फर्किएका विवेक हाल Youths for Arjunchaupari क्लबको नेतृत्व गर्दै अर्जुनचौपारीको सामाजिक रूपान्तरणमा तल्लीन छन्।

उनको अगुवाइमा क्लबले पहिलोपटक आयोजना गरेको फुटबल प्रतियोगिता केवल खेलकुद मात्र होइन, स्थानीय पर्यटन र युवा ऊर्जाको सशक्त प्रदर्शनको प्रतीक बन्न पुग्यो। शैक्षिक उत्प्रेरणा कार्यक्रमदेखि वातावरण संरक्षणसम्म, प्रत्येक अभियानमा विवेकको सक्रिय उपस्थिति र सशक्त समन्वय देखिन्छ।

“देशलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ। परिवर्तनको आशा राजधानीमा मात्र होइन, गाउँको कुनामा बसेर पनि गर्न सकिन्छ भन्ने सन्देश दिन चाहन्छु,” विवेक भन्छन्, “म विश्वास गर्छु, युवाले हात हाल्ने हो भने जुनसुकै ठाउँलाई पनि उज्यालो बनाउन सकिन्छ।”

उनको नेतृत्वमा गाउँपालिकाको सहकार्यमा वृक्षारोपण, सरसफाई, शैक्षिक तालिम र सामुदायिक समन्वयका कार्यक्रमहरू प्रभावशाली ढंगले सम्पन्न हुँदै आएका छन्।

Youths for Arjunchaupari क्लब मात्र होइन, अर्जुनचौपारीकै युवा चेतनाको प्रतीक बनेका विवेक भुषालले देखाएको समर्पण आजको पुस्ताका लागि उदाहरणीय छ।

गाउँ सफा राख्ने अभियान सहयोगार्थ कोखेमा डस्टवीन हस्तान्तरण

असार २८/खबरकलम संवाददाता: वालिङ नगरपालिका वडा नं.१४ को सिंगो कोखे गाउँभरीको धाराहरू र विभिन्न सार्वजनिक स्थानहरूमा डस्टबिन राख्न फलामको स्ट्यान्ड हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

गाउँ हरियाली र सफा राख्ने उदेश्यले उक्त कार्यक्रम मिलन संयोग युवा क्लबको आयोजनामा उक्त अभियान सम्पन्न भएको हो।

कार्यक्रमका अवसरमा क्लबका अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले वडा नं. १४ का अध्यक्ष बोधराज कुँवर (राजु )ले सामाजिक कार्यमा विशेष चासो देखाउँदै क्लबसँग सहकार्य गर्दै आएकोमा प्रशंसा व्यक्त गरे। यस अभियान अन्तर्गत सार्वजनिक स्थानहरूमा सरसफाइलाई प्रोत्साहन गर्न फलामको स्ट्यान्डसहित डस्टबिनहरू राखिनेछ। वडाध्यक्ष कुँवरले क्लबलाई धन्यवाद दिंदै भने, “समाज परिवर्तनको अभियानमा युवाहरूको योगदान महत्वपूर्ण हुन्छ, र यस्तो सहकार्यले वडाको विकासमा थप मद्दत पुग्नेछ।”

कार्यक्रममा स्थानीय युवा, समाजसेवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

एसईई पछिको भविष्य के मा? प्राविधिक शिक्षाले नै स्वरोजगार बनाउँछ : पौडेल

असार २८/नवराज पौडेल: केही दिन अगाडि मात्र SEE को परीक्षाफल प्रकाशित भएको छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष नतिजा राम्रो आएको छ। विद्यार्थी र अभिभावक दुवैमा यतिबेला अन्योल सिर्जना भएको हुन्छ। आफ्नो बाबु नानीलाई कुन विषय पढाउने र कहाँ पढाउने भनेर कौतुहलता हुनु पनि स्वभाविक नै हो। हाम्रो देशको वर्तमान अवस्था हेर्ने हो भने सरकारले दुई प्रकारको शिक्षा पद्दति अपनाएको छ : सामान्य शिक्षा र प्राविधिक शिक्षा।

सामान्य शिक्षातर्फ मानविकी,शिक्षा,व्यवस्थापन संकाय पर्दछन् भने प्राविधिक शिक्षातर्फ इञ्जिनियरिङ, स्वास्थ्यसम्बन्धी कार्यक्रम (फार्मेसी,नर्सिङ,ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट), कृषि बाली, कृषि पशु विज्ञान जस्ता विषय पर्दछन्। सामान्य शिक्षा पढेको मानिससँग तुलनात्मक रूपमा कम हुन्छ सीप भने प्राविधिक शिक्षा पढेको मानिस ज्यादा र प्रयोगमुखी सीप हुन्छ। जसको हातमा सीप हुन्छ उसले सजिलैसँग रोजगारको अवसर प्राप्त गर्दछ। SEE पछिको उच्च शिक्षा विद्यार्थी भाईबहिनीहरुले प्राविधिक शिक्षा नै पढ्दा उत्तम हुन्छ।

नेपालको परिपेक्ष्यमा हेर्ने हो भने SEE पछिको प्राविधिक शिक्षा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) ले सञ्चालन गर्दै आएको छ। देशभरीमा सिटीईभिटीका ६६ ओटा आंगिक संस्थाहरू छन भने स्याङ्जामा आँधीखोला बहुप्राबिधिक शिक्षालय वालिङ -१३ र किसान बहुप्राबिधीक शिक्षालय चापाकोटमा रहेका छन्। आँधीखोला बहुप्राबिधिक शिक्षालय वालिङ -१३ मा डिप्लोमा इन इन्फरमेसन टेक्नोलोजी र डीप्लोमा इन सिभिल इञ्जिनीयरिङ गरेर दुई विषयको अध्यापन हुने गरेकाे छ। शिक्षालयमा दक्ष प्रशिक्षक , व्यवस्थित वर्कशप, ड्रोइङ ल्याब, कम्प्युटर ल्याब ,व्यवस्थित पुस्तकालय,शान्त वातावरण रहेको छ। अहिलेको २१ औं शताब्दीमा प्राविधिक शिक्षा बिना मानिसको जीवन अधुरो हुन्छ। अहिले झन् विश्व नै प्रविधिले गर्दा एउटै छानो मुनि रहेको बेलामा प्राविधिक विषयको झन महत्व बढेको छ। प्राविधिक शिक्षा हासिल गरे पछि विद्यार्थीले सजिलै संग रोजगारको अवसर प्राप्त गर्दछन्।

यसका साथै आफ्नै व्यवसाय,विभिन्न सरकारी तथा गैरसरकारी संस्था,विभिन्न निर्माण कम्पनी, आइटी कम्पनी,नेपाल सरकारको पाँचौं तह लगायतको क्षेत्रमा रोजगारको अवसर प्राप्त गर्दछन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT)ले मध्यम वर्गीय परिवार र मध्यम वर्गीय विद्यार्थीलाई लक्षित गरी प्राविधिक शिक्षा प्रदान गर्दै आएकोछ। त्यसकारण पनि सम्पूर्ण अभिभाबक विद्यार्थी भाइबहिनीहरुमा अब प्रविधिको युग हो त्यसैले प्राविधिक विषय अध्ययन गर्न अनुरोध गर्दछु।आँधीखोला बहुप्राबिधिक शिक्षालय स्याङ्जाको मध्य भागमा अवस्थित रहेको र यहाँ आएर आफूले पढन चाहेको विषय अध्ययन गर्न सक्नु हुनेछ। वालिङ नगरपालिकाद्वारा प्रत्येक वडाबाट २/२ जना विद्यार्थीलाई नि:शुल्क पढाउने व्यवस्था गरेको छ र यो अवसरलाई सदुपयोग गर्न अनुरोध गर्दछु ।

(नबराज पाैडेल आँधीखोला बहुप्राविधीक शिक्षालय वालिङ -१३ का प्रोग्राम कोडिनेटर हुनुहुन्छ)

भीरकोट नगरपालिकाद्वारा आयोजित ५ दिने ICT तालिम सम्पन्न, २५ जना शिक्षक लाभान्वित

असार २३/खबरकलम संवाददाता: भीरकोट नगरपालिकाले आफ्नो पालिकाका माध्यमिक तथा आधारभूत विद्यालयमा कार्यरत सूचना अधिकारी तथा ICT स्रोत शिक्षकलाई लक्षित गरी सञ्चालन गरेको ५ दिने ICT तालिम आज सम्पन्न भएको छ।

भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कर्माचार्यले आज समापन कार्यक्रममा बोल्दै शिक्षकलाई प्रदान गरिएको यस तालिमले प्रविधिमैत्री शिक्षण मार्फत भीरकोटको शैक्षिक अवस्था सुधार गर्न कोसेढुङ्गा सावित हुने बताए। भर्खरै मात्र प्रकाशित भएको एसईई परीक्षाको नतिजामा जिल्लामा भीरकोट नगरपालिकाले दोस्रो स्थान हासिल गर्न सफल भएको बताउँदै उनले सम्पूर्ण शिक्षकलाई आभार प्रकट गरे।

रोष्टर प्रशिक्षक श्रीकृष्ण आचार्य, प्रशिक्षकहरु सुरेश पंगेनी, वसन्त बस्नेत, विष्णुबहादुर भट्टराईले आर्टिफिसियल इन्ट्लिजेन्स (एआई) को प्रयोग, माइक्रोसफ्ट अफिस प्याकेज अन्तर्गत वर्ड, एक्सल, पावरपोइन्ट, आईईएमआईएस लगायतका एप्लिकेसन सफ्टवेयरको बारेमा जानकारी प्रदान गरेका थिए।

सहभागी शिक्षकका तर्फबाट भोजबहादुर थापाले पावर पोइन्ट मार्फत प्रविधिमैत्री शिक्षणको महत्वबारे प्रकाश पारेका थिए भने प्रकाश न्यौपानेले एक्सल मार्फत नतिजा बनाउने र विद्यार्थीको निरन्तर मूल्याङ्कन गर्ने विसषयमा सहजीकरण गरेका थिए। जीवन अर्यालले साइबर सेक्युरिटी तथा उत्प्रेरणाको विषयमा सहजीकरण गरेको उक्त कार्यक्रममा शिक्षा शाखा प्रमुख उपसचिव विष्णुप्रसाद कोइरालाले शिक्षालाई प्रविधिमा जोड्नको लागि निरन्तर रुपमा तालिम आयोजना गर्ने र शिक्षकको सहभागिता बढाउने कुरामा प्रतिबद्धता जनाएका थिए।

समापन कार्यक्रममा शिक्षकको तर्फबाट मनिषा कोइराला र जीवन अर्यालले तालिमको समग्र अवस्थाबारे प्रकाश पारेका थिए भने बिनोद सारुले तालिम अवधिभर शिक्षकलाई बासुरी बजाएर मनोरञ्जन प्रदान गरेका थिए भने शिक्षक दिलिप तिवारीले गजल सुनाएर साहित्यिक प्रस्तुति दिएका थिए। हरेक दिन कार्यक्रम संयोजक, प्रतिवेदन प्रस्तुतकर्ता तथा मनोरञ्जनकर्ताको जिम्मेवारी फरक फरक शिक्षकलाई प्रदान गरी तालिमलाई थप समावेशी समेत बनाइएको थियो।

आजको कार्यक्रमको सञ्चालन शिक्षा शाखा भीरकोटका प्रास विष्णु भट्टराईले गरेका थिए।

विद्यार्थीसँग मिलन समीर कार्यक्रम सम्पन्न

असार २०/वालिङ: युवा कवि तथा सिर्जनशील साहित्यिक अभियन्ता मिलन समीरसँग केन्द्रित रहेर गरिएको ” सिर्जनशील संवाद ” को पहिलो शृङ्खला ” विद्यार्थीसङ्ग मिलन समीर ” कार्यक्रम सम्पन्न भएको छ । वालिङस्थित साइन भिलेज इन्टरनेशनल एकेडेमीमा शुक्रबार (असार २० गते) कार्यक्रम गरिएको हो ।

साइन भिलेज इन्टरनेशनल एकेडेमीले आयोजना गरेको ” सिर्जनशील संवाद ” को पहिलो शृङ्खला ” विद्यार्थीसङ्ग मिलन समीर ” कार्यक्रमको सहजीकरण कक्षा १० कि छात्रा सिमरन खड्काले गरेकी थिइन् ।


सिर्जनशील संवादको क्रममा पाठ्यपुस्तकदेखि बाहिरका पुस्तकको अध्ययनको महत्व, सिर्जनशील लेखन भनेको के हो ? सिर्जनशील लेखनको महत्त्व र अभ्यास, मिलन समीर नामको अन्तर्कथा, विद्यार्थी जीवनमा पाठ्यपुस्तकसङ्ग सम्बन्धित कविता, कथा, निबन्ध, संवाद र दैनिकी जस्ता विविध विधा लेखन- अभ्यासको माध्यमबाट हुने साहित्यको विकासदेखि लिएर साहित्यिक लेखनको सुधारसङ्गै निखारतासङ्ग सम्बन्धित रहेर सिर्जनशील संवाद गरिएको थियोे । विद्यालयका सहायक प्रधानाध्यापक गौरव सुवेदीले विद्यार्थीहरुलाई अग्रज पुस्ताको जीवन्त अनुभव र अनुभुतिसङ्ग साक्षात्कार गराएर जीवनप्रति सदैव सकारात्मक सोचको विकास गर्दै सिर्जनशील सिकाइलाई दीगो बनाउनका लागि हरेक महिनाको तेस्रो शुक्रबार नियमितरूपमा आयोजना गरिने योजनासहित ” सिर्जनशील संवाद ” शृङ्खलात्मक कार्यक्रमको शुरूवात गरिएको र आगामी दिनमा समाजका विविध क्षेत्रमा क्रियाशील उदाहरणीय अग्रज व्यक्तित्वहरुलाई विद्यालयमा निमन्त्रणा गरेर विद्यार्थीहरुको माझमा ” सिर्जनशील संवाद ” को शृङ्खलालाई अगाडि बढाइने जानकारी दिए । स्मरण रहोस्, यस्तो किसिमको ” सिर्जनशील संवाद ” कार्यक्रम स्याङ्जाको इतिहासमा पहिलोपटक आयोजना गरिएको हो ।

करादीखोला, स्याङ्जामा जन्मिएका मिलन समीर युवा पुस्ताका सशक्त कविको रूपमा स्थापित छन् । समीर स्याङ्जाको साहित्यिक जगतमा सिर्जनशील साहित्यिक अभियन्ताको रूपमा परिचित छन् । स्याङ्जाको व्यापारिक केन्द्रको रूपमा रहेको वालिङ बजार समीरकै विशेष अग्रसरतामा पछिल्लो समय साहित्यिक केन्द्रको रूपमा स्थापित हुँदै गएको साहित्यिक जानकारहरु बताउँछन् ।

उनका हालसम्म गाउँमा साइरन बजेपछि ( कविता सङ्ग्रह- २०६९ ), प्रिय दुश्मन ( शृङ्खला कविता- २०७९ ), मिलन समीर र मिलन समीरहरु ( शृङ्खला कविताहरु- २०८० ) र मिलनमन्त्र ( मायालु मुक्तकहरु- २०८० ) लगायतका पुस्तकहरु प्रकाशित भइसकेका छन् भने समीरसूत्र ( प्रेमिल गजलहरु ) प्रेसमा गएको छ । गल्याङ प्रज्ञा प्रतिष्ठानको संस्थापक सचिव, वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको संस्थापक संयोजक, नेपाली लेखक संघको केन्द्रीय सचिवको रूपमा नेपाली भाषा- साहित्यको स्तरोन्नतिको सन्दर्भमा विशेष क्रियाशील हुँदै आएका समीर स्थानीयदेखि लिएर राष्ट्रियस्तरका थुप्रै सम्मान / पुरस्कारद्वारा सम्मानित / पुरस्कृत भइसकेका छन् ।

स्याङ्जा सहयोग समाज युरोपको दोश्रो युरोप भेला २०२५ भव्य रूपमा सम्पन्न

असार २०/एमपी अर्याल: स्याङ्जा सहयोग समाज युरोपको आयोजनामा “भातृत्व, भाइचारा र सद्भावको राज, युरोपमा स्याङ्जाली एकताको आवाज” भन्ने नाराका साथ दोश्रो युरोप भेला २०२५ बेल्जियममा भव्य र सफल रूपमा सम्पन्न भएको छ।

युरोपभर छरिएर रहेका स्याङ्जालीहरूलाई एउटै मञ्चमा उभ्याउँदै, अन्तर्राष्ट्रिय स्तरमा सशक्त उपस्थिति जनाएको यो भेलाले आपसी एकता, सद्भाव र सहकार्यलाई थप मजबुत बनाएको छ।क्षेत्रीय संयोजक अर्जुन अर्यालको अध्यक्षतामा सुरु भएको पहिलो दिनको कार्यक्रममा विभिन्न महत्वपूर्ण प्रस्तावहरूमाथि गम्भीर छलफल समेत सम्पन्न भएको जानकारी एमपी अर्यालले दिनुभयो। प्रमुख अतिथिका रूपमा अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष बिरेन्द्रजङ के.सी.को उपस्थिति थियो भने मूल आयोजक समितिकी इन्दिरा खनालले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा अमेरिका, दुबई, फ्रान्स, पोर्चुगल, स्पेन, नेदरल्याण्ड, बेलायत र बेल्जियमका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन भेलाका सचिव उदयराज पाण्डेले गर्नुभएको थियो भने उक्त भेलाबाट निम्नलिखित निर्णयहरु समेत भएका छन्।

१. अन्तर्राष्ट्रिय समन्वय समितिका दीर्घकालीन लक्ष्य र उद्देश्य अनुसारका कार्यक्रम, क्रियाकलाप र गतिविधिहरूलाई निरन्तरता दिने,

२. जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक उन्नयन, सुधार एवम् दक्षता अभिवृद्धिका लागि शैक्षिक कार्यक्रमहरू गर्ने निर्णय गरियो। साथै आवश्यकतानुसार अन्तर्राष्ट्रिय समितिसँग समन्वय गरी कार्यक्रम गर्ने,

३. युरोपमा रहेका विद्यमान एन.सी.सी. (NCC) लाई बढाएर ११ वटा एन.सी.सी. स्थापना गर्ने,

विद्यमान NCC हरू: बेल्जियम, पोर्चुगल, फ्रान्स, स्पेन, नेदरल्याण्ड, युके
प्रस्तावित NCC हरू:
• फिनल्याण्ड – सुशील पोखरेल
• हंगेरी – सागर कुँवर
• डेनमार्क – इन्द्र पनेरु
• जर्मनी – निलम सिंजाली मगर
• क्रोएसिया – आई.सी.सी. सचिव ओम पोखरेल

४. युरोपमा रहेका दोस्रो पुस्ताका सन्ततिहरूका लागि नेपाली भाषा, संस्कार, संस्कृति, परम्परा, चलचलन, भाषा, साहित्य लगायत विविध क्रियाकलापलाई परिचित गराउन, सिकाउन, जानकारी दिन अन्तर्राष्ट्रिय समन्वय समितिका सचिव श्री एम. पी. आर्याललाई संयोजकमा चयन गर्ने साथै युरोपभर सञ्चालित विभिन्न नेपाली पाठशालाहरूसँग आवश्यक समन्वय गरी कक्षा सञ्चालन गरिने वातावरण निर्माण गर्ने,

५. भातृत्व, भाइचारा र सद्भावलाई निरन्तर दिन हरेक कार्यक्रममा विभिन्न एन.सी.सी. हरूको आतिथ्यता र युरोप समाजको आयोजनामा भेलाहरूलाई निरन्तरता दिने,

संस्थाका राजेन्द्र शर्माको बाँसुरीको धुनले माहोल भावानात्मक बनाएको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय समन्वय समितिका सचिव एम.पी. आर्यालले कविता, मुक्तक तथा साहित्यिक प्रस्तुति समेत दिनुभएको थियो भने कला पंगेनी, रबिन पराजुली, सञ्जय थापा मगर, प्रिन्सी खनाल लगायतका कलाकारको प्रस्तुति समेत उक्त कार्यक्रममा रहेको थियो।

भीरकोटमा कार्यरत शिक्षक (सूच‌ना अधिकारी) लाई ५ दिने ICT तालिमको सुरुवात

असार १९/खबरकलम संवाददाता: भीरकोट नगरपालिकाले आफ्नो पालिकाका माध्यमिक तथा आधारभूत विद्यालयमा कार्यरत सूचना अधिकारी तथा IT स्रोत शिक्षकलाई लक्षित गरी ५ दिने ICT तालिमको सुरुवात गरेको छ।

आज २०८२/०३/१९ गते भीरकोट नगरपालिकाको आयोजनामा आधारभूत तथा माध्यामिक तहका विद्यालयका सूचना अधिकारी एवंम IT स्रोत शिक्षकको लागि ५ दिने ICT सम्बन्धी क्षमता विकास तालिम उद्घाटन भएको हो।

तालिमको उद्घाटन गर्दै भीरकोट नगरपालिकाकी उपप्रमुख भगवती अर्यालले शिक्षाको ज्योति फैलाउने शिक्षकहरु प्रविधिमा समेत निपूर्ण भए समाजमा थप सकरात्मक प्रभाव बन्ने र सिकाइ गुणस्तर कायम रहने कुरा व्यक्त गर्दै तसलिमको सफलताको शुभकामना दिइन्।

भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा तालिम उद्घाटन कार्यक्रमका अध्यक्ष उदयबहादुर पराजुलीले ICT तालिमबाट प्राप्त हुने ज्ञान जीवनकै अभिन्न सिकाइ हुने बताउँदै तालिम अवधिभर सिकेका कुराहरु विद्यालयमा लागू गर्न सुझाव दिए। तालिमबारे प्रकाश पार्दै भीरकोट शिक्षा प्रमुख विष्णुप्रसाद कोइरालाले तसलिममा सहभागी शिक्षक नै IT स्पेसलिष्ट शिक्षक बनेर विद्यालयमा जानुपर्ने बताए। उक्त तालिम उद्घाटन कार्यक्रममा भीरकोट नगरपालिकाका सूचना अधिकारी जब्बरअलि मिया, प्रशासन प्रमुख सिताराम खनाल, योजना शाखा प्रमुख यामप्रसाद रेग्मी, आईटी अफिसर सुरेश पंगेनी, रोजगार संयोजक वसन्त बस्नेत लगायको उपस्थिति थियो।

तालिममा शिक्षक तालिम केन्द्र, तनहुँका रोष्टर शिक्षक श्रीकृष्ण आचार्य र नगरपालिकाका प्रशिक्षकहरुद्वारा AI को प्रयोग तथा अन्य Software को प्रयोग सम्बन्धी प्रशिक्षण हुनेछ । जसले शिक्षकहरुलाई विद्यालयमा शिक्षण सिकाई तथा अन्य प्रशासनिक कार्यमा समेत यस तालिमले सहयोगी भूमिका खेल्नेछ।

तालिम पूर्णत: प्रयोगात्मक रहने र विद्यालय शिक्षाका लागि अपरिहार्य विषयमा केन्द्रित रही प्रदान गरिने कार्यक्रम सञ्चालक प्रास विष्णु भट्टराईले जानकारी दिए। आजबाट सुरु भएको उक्त तसलिममा २५ जना शिक्षकको सहभागिता रहेको छ।

हाम्रो खुशी पाठ्यक्रम दृष्टिकोण निर्माण कार्यशाला’ कास्कीकाे लुम्लेमा सुरू

असार १८/खबरकलम संवाददाता: स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकाले ‘हाम्रो खुशी पाठ्यक्रम दृष्टिकोण निर्माण कार्यशाला’ आजबाट सुरु गरेको छ। कास्कीको लुम्लेमा कार्यशालाको उद्घाटन समारोहमा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य खगराज अधिकारी, मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारी, राष्ट्रिय गाउँपालिका महासंघका महासचिव तथा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा लगायत अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेकाे थियाे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुँदै प्रदेश सभा सदस्य खगराज अधिकारीले सामुदायिक शिक्षामा विद्यार्थीहरुको समग्र खुशी र सन्तुलित विकासका लागि स्थानीय तहबाट यस्ता पहलहरू अत्यन्तै सराहनीय रहेको बताउनु भयाे । उहाँले विद्यार्थीहरूको जीवनमुखी शिक्षा र मानसिक स्वास्थ्य अभिवृद्धि गर्ने खालका कार्यक्रमहरू आवश्यक रहेको उल्लेख गर्नुभयाे । कार्यक्रममा मध्यविन्दु नगर प्रमुख भिमलाल अधिकारीले विद्यार्थीहरुलाई सकारात्मक सोच, जीवन मुल्य र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न यस्ता प्रशिक्षणहरु महत्वपूर्ण हुने बताउनु भयाे । मध्यविन्दु नगरपालिकामा सञ्चालित हाम्राे खुसी पाठ्यक्रमले विधार्थीमा सकारात्मक प्रभाव पारेकाले याे विषय बहुउपयाेगी रहेकाे उहाँले बताउनु भयाे । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले गाउँपालिकाले शिक्षा क्षेत्रमा नयाँ नवप्रवर्तन र परिवर्तनकारी अभियान स्वरूप ‘हाम्रो खुशी पाठ्यक्रम’ ल्याएको जानकारी गराउनु भयाे। उहाँले कार्यशालाबाट प्राप्त सुझाव, सल्लाह र योजनालाई मूर्त रुप दिई पालिकाभित्रको विद्यालय तहमा कार्यान्वयन गरिने प्रतिवद्धता जनाउनु भयाे ।


पाँच दिनसम्म सञ्चालन हुने कार्यशालामा शिक्षा क्षेत्रमा क्रियाशील शिक्षक, विद्यालय प्रशासन र स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता रहेकाे छ ।