२०८३ अशोज ५, सोमवार

लागूऔषध सहित काफ्ले र विक्रम पक्राउ

चैत १६/स्याङ्जा: लागूऔषध सहित दुई जनालाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ ।

यही चैत १४ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले विशेस सूचनाको आधारमा जिल्ला स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. १ ट्याक्सी चोकमा बुटवलबाट पोखरातर्फ गैरहेको ग. १ ख. ६०८२ नं. को बसमा चेकचाज गर्ने क्रममा स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिका वडा नं. ३ सिमलचौर वस्ने २२ वर्षीय किस्मत काफ्ले के.सी. तथा उदयपुर गाईघाट न.पा. ७ वस्ने २४ वर्षीय विक्रम सुनार पक्राउ परेको जानकारी जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी राजेन्द्र अधिकारीले दिएका छन्।

उनीहरुको साथबाट डाईजेपान २५ एम्पुल , नुर्फिन २५ एम्पुल , फिनरागन २५ एम्पुल , जम्मा ७५ एम्पुल बरामत गरिएको प्रहरीले जनाएको छ ।

ओलीद्वारा नेपाल-रावललाई निलम्बन

चैत १६/काठमाडौं : प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका छन्।

पार्टीका सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै पार्टी विधान २०४९ को धारा ४९ ख अनुसार ६ महिनाका लागि निलम्बन गरिएको हो।नेपाल र रावललाई सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले उनीहरूलाई निलम्बन गरेका छन्।

पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका हुन्। 

सच्चिने अन्तिम अवसर भन्दै ओलीले कारबाही गरेको जनाएका छन् ।

सहचालक फालेको आरोपमा चालक पक्राउ

चैत्र १६/स्याङ्जा : स्याङ्जामा ट्याक्टरबाट खसेर घाइते भएका सहचालकलाई कालीगण्डकी नदीमा फालेको आरोपमा चालक पक्राउ परेका छन् ।

बालुवा लिएर फर्किँदा चैत ५ गते सहचालक गणेश गाहालाई गल्याङ नगरपालिकाको साँखरबाट कालीगण्डकीमा जिउँदै फालेको अभियोगमा लु अ अ फ १०१२ नम्बरको ट्याक्टरका चालक अमित परियार पक्राउ परेका हुन् ।

श्रीमती र छोरीसहित भारततर्फ भाग्न लागेको अवस्थामा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको टोलीले रुपन्देही वेलहिया नाकाबाट चैत १३ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र अधिकारीले जानकारी दिए । परियारलाई चैत १६ गते अदालत उपस्थित गराई अनुसन्धानका लागि अनुमति लिएको उनले बताए ।

उनीबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

सर्वसाधारण माथि गोली बर्साउँदै म्यान्मारको सेना

चैत्र १५ / एजेन्सी : म्यानमारमा शनिबार सुरक्षाकर्मीको गोली लागेर पाँच वर्षका बच्चासहित ११४ नागरिकको ज्यान गएको छ।

सेनाले कु गरी सत्ता हातमा लिएपछि सर्वसाधारणमाथि गरेको ज्याजतिबाट यति धेरैको ज्यान पहिलोपटक गएको हो । नोभेम्बरमा भएको चुनावमा धाँधली भएको भन्दै नयाँ चुनाव गराउँछु भनेर सत्ता लिएको सेनाले चलाएको गोली लागेर अहिलेसम्म ४४० जनाले ज्यान गुमाएका छन्।

शनिबार म्यानमारमा सैनिक बल स्थापना दिवस थियो। त्यही दिन सुरक्षाकर्मीले यंगुन, मण्डालयलगायतका शहरमा प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली चलाएका हुन्। 

सेनाको यस कदमको बिरोधमा विश्वका मुलुकहरुले खासै चासोको साथ आवाज उठाएका छैनन् । 

कुकुरको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाईयो

चैत्र १३/स्याङ्जा: तोलाकान्त बगाले:

स्याङ्जाको वालिङमा आज एकदिन सामुदायिक तथा घरमा पालिएका कुकुरहरुलाई बन्ध्याकरण तथा खोप लगाईएको छ । वालिङ नगरपालिकाको आयोजनामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाको प्राविधिक सहयोग तथा लियो क्लब अफ वालिङ सिटीको सहयोगमा एकदिने निशुल्क रेविज रोग नियन्त्रणका लागि कुकुरहरुको बन्ध्याकरण तथा खोप लगाईएको हो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बजारमा छाडा कुकुरको संख्या बढ्दै जाँदा होहल्ला हुने र कुकुरको टोकाईले रेबिज रोगको संक्रमण हुनसक्ने खतरा भएकाले कुकुरलाई स्थायी बन्ध्याकरणकासाथै रेबिज विरुद्धको सुई लगाईएको बताउनुभयो ।

“रेबिज रोग कुकुरबाट मान्छेमा सर्ने भएकाले यसको रोकथामका लागि सामुदायिक कुकुरलाई नियन्त्रणमा लिएर खोप तथा स्थायी बन्ध्याकरण गरिएको छ” नगर प्रमुख खाँणले भन्नुभयो ।

कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले कुकुरहरुको नियन्त्रण र सही ब्यवस्थापनका लागि बन्ध्याकरण शिविर सञ्चालन गरिएको बताउँदै प्राविधिक सहयोगका लागि भेटेरिनरी अस्पताल लगायत शिविरलाई सफल पार्न सहयोग गर्ने संघ संस्था क्लब तथा ब्यक्तिहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका प्रमुख डा. बज्रकिशोर ठाकुरले पशुबाट मान्छेमा सर्ने रोगको नियन्त्रणका लागि खोप तथा बन्ध्याकरण शिविर सञ्चालन गरिएको बताउँदै आगामी दिनमा पनि नगरपालिकासित सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा वालिङ नगरपालिका पशु सेवा शाखाका डा. बसन्त अधिकारीले शिविरमा सामुदायिक कुकुर तथा घरमा पालिएका कुकुरहरुलाई शिविर स्थलमा ल्याई सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

रोग लागिसकेपछि पछुताउनुभन्दा पनि रोग लाग्नै नदिनु वेश हुने भएकाले आफ्नो स्वास्थ्यप्रति सबै सचेत हुन पनि उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले नगरपालिकाले नगरका प्रत्येक १४ वटै वडामा यस खालका शिविरहरु सञ्चालन गर्ने बताउनुभयो । वालिङका नागरिकहरुको स्वास्थ्यमा पहुँच पु¥याउनका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउँदै स्वास्थ्यसम्बन्धी आँफू पनि सचेत रहन र अरुलाई पनि सचेत बनाउन सबैले सहयोग गर्नु आवश्यक रहेको धारणा ब्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई, कार्यपालिका सदस्य यूगमाया पंगेनीले गाउँ गाउँमा आएको स्वास्थ्य शिविरबाट आफ्नो स्वास्थ्य अवस्थाकाबारेमा परीक्षण गराई समयमै सुरक्षित रहन आग्रह गर्नुभयो ।

वडा नं. २ का वडा अध्यक्ष पोतप्रसाद लम्सालको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन वडा सचिव चेतनप्रसाद अर्यालले गर्नुभएको थियो ।

तरुण दलले आमसभा गर्दै, गगन थापा प्रमुख वक्ता

चैत ५/स्याङ्जा: नेपाल तरुण दल भीरकोट स्याङ्जाले आमसभा, कार्यकर्ता भेला तथा चियापान कार्यक्रम गर्ने भएको छ।

कांग्रेस निकट नेपाल तरुण दल भीरकोेटले पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्न लागेको जानकारी तरुण दल भीरकोेटका अध्यक्ष राजकुमार गुरुङले दिएका छन्।

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत समेतको उपस्थिति हुने उक्त कार्यक्रममा प्रजातन्त्रमा विश्वास गर्ने सम्पूर्णलाई उपस्थितिको अनुरोध गर्दै लोकतन्त्रलाई बलियो पार्न एकजुट हुन अनुरोध समेत गर्दछौं।

बदलिएको राजनीतिक परिवेशमा आगामी दिनमा कसरी अघि बढ्ने विषयमा रणनीति बनाउन तथा अन्तर्क्रिया गर्न भेला आयोजना गरिएको गुरुङले जानकारी गराए।

भीरकोट जेसिजको दोश्रो बोर्ड बैठक तथा शुभकामना कार्यक्रम सम्पन्न

फागुन २९/स्याङ्जा: भीरकाेट जेसीजकाे दाेस्राे बाेर्ड बैठक एवं स्थापना दिवस अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

अध्यक्ष जेसी प्रशुन मगरकाे अध्यक्षतामा बसेकाे उक्त कार्यक्रमकाे प्रमुख अतिथि भीरकाेट जेसीजकाे संस्थापक अध्यक्ष जेसी गुरु प्रसाद गुरूङ (उमेश) , नि.अध्यक्ष मिना खाणँ ,बाेर्डकाे सम्पुर्ण जेसीज साथिहरू र सदस्यज्यूहरूकाे उपस्थितिमा भएकाे थियाे ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य कार्यकारिणी उपाध्यक्ष जेसी भरत खडका ज्यूले , सञ्चालन महासचिव जेसी कृष्ण प्रसाद पाैडेल ज्यूले र धन्यवाद मन्तव्य उपाध्यक्ष जेसी सिर्जना गाैतम ज्यूले गर्नु भएकाे थियाे । उक्त बैठकमा विभिन्न महत्त्वपूर्ण बिषयमा निर्णय सगै स्थापना दिवस कार्यक्रम सम्पन्न भएकाे थियाे ।

अनेरास्ववियु भीरकोट नगर अधिवेशन सम्पन्न

फागुन २९/स्याङ्जा: अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन भीरकोट नगरपालिकाको नगर अधिवेशन आज सम्पन्न भएको छ।

रवि थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियु केन्द्रीय सदस्य नरेश रोकाया थिए। विशिष्ट अतिथि नेकपा एमालेका भीरकोट अध्यक्ष विश्वनाथ अर्याल तथा नेकपा एमाले क्षेत्र नं १ स्याङ्जा अध्यक्ष विश्व पौडेल रहेका थिए।

करिब २५० जनाको उपस्थितिमा सम्पन्न भएको उक्त अधिवेशनले रवि थापाको अध्यक्षतामा ३१ सदस्यीय नगर समिति गठन गरेको जानकारी सागर थापाले खबरकलमलाई गराएका छन्।

सुर्योदय सहकारीद्वारा बित्तीय साक्षरता कार्यक्रम सञ्चालन

फागुन २२/स्याङ्जा: युवराज अर्याल
सुर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्याङ्जाको आयोजनामा पुतलीबजार नगरपालिका वडा ११ र भिरकोट नगरपालिका वडा नम्बर १ का सदस्यहरु लाई १ दिने बित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।


भिरकोट नगरपालिका वडा नम्बर १ हेलुमा अवस्थित कन्साईन्स अंग्रेजी आवाशीय बिद्यालयमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष हुम बहादुर कुमाल, शिक्षा समितिका सदस्य सुवास मल्ल र बचत प्रमुख मोती प्रसाद मरासिनीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा भगवती अर्याल, भवानी क्षेत्री ढकाल र डाँसीनारारण पौडेलले राख्नुभएका प्रश्न र जिज्ञासालाई संस्थाका अध्यक्ष हुम बहादुर कुमालले प्रष्ट पार्नुभयो, आफ्ना सदस्यहरुलाई आत्मनिर्भर बनाउन संस्थाले बिभिन्न तालीम, बित्तिय साक्षरता लगायतका कार्यक्रम बेला बेलामा सञ्चालन गरिरहने जानकारी पनि दिनुभयो । उहाँले संस्था अहिले जिल्लाका ४ वटा स्थानीय निकायसम्म पुगिसकेको र छिट्टै ११ वटै स्थानीय तहमा सेवा केन्द्र सञ्चालन गरिने जानकारी पनि दिनुभयो ।


झण्डै ४० जना सदस्यहरु सहभागी उक्त कार्यक्रमको अध्यक्षता केन्द्रीय कार्यालयका अध्यक्ष हुम बहादुर कुमालले गर्नुभएको थियो भने सञ्चालन मोती प्रसाद मरासिनीले गर्नुभएको थियो ।

भीरकोट नगरपालिका गण्डकी प्रदेशको दोश्रो बालमैत्री स्थानीय निकाय घोषित

फागुन २२/स्याङ्जा: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका स्याङ्जा जिल्लाको पहिलो बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्ने निकाय घोषित भएको छ।

आज एक कार्यक्रमका बीच भीरकोट नगरपालिकालाई गण्डकी प्रदेशको दोश्रो, स्याङ्जा जिल्लाको पहिलो तथा समग्र देशकै सातौँ बालमैत्री नगरपालिका घोषणा गरिएको हो।

भव्य कार्यक्रमको आयोजना गरी आज नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिएको जानकारी भीरकोट नगरपालिकाका मेयर छायाराम खनालले दिएका छन्।

उक्त कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन रहेका थिए। भने विशिष्ट अतिथिको रुपमा माननीय संघीय सांसद नारायण मरासिनी, प्रदेश सांसाद मेखलाल श्रेष्ठ, प्रदेश विधायन सभाका संयोजक मोहन रेग्मी लगायतका विशिष्ट व्यक्तित्वहरु रहेका थिए।

उक्त कार्यक्रममा बोल्दै मेयर छायाराम खनालले भीरकोट नगरपालिका भित्र बसोबास गर्ने सम्पूर्ण बालबालिकालाई सुखी र स्वस्थ बनाउने प्रतिबद्धता जनाएका थिए। पोषण कार्यक्रम सञ्चालन गरी स्वस्थ बच्चालाई स्वागत गर्ने कार्यक्रम सफलताका साथ अघि बढाइएको उनको भनाइ थियो।

भीरकोट नगरपालिकाका समाजसेवी, उद्योगी, संचारकर्मी, सरोकारवाला, आमा समूह, बाल समूह, शिक्षक विद्यार्थी लगायत हजारौँको संख्यामा उपस्थित जनसमुदायले बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्ने साझा प्रतिबद्धता जनाएका छन्।

तथापि, भीरकोट नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्दै गर्दा धेरै व्यवस्थापकीय कमजोरी देखिएका थिए। पर्याप्त मात्रामा मानिस बस्ने कुर्सी नहुनु, चर्को घामको कारण विद्यार्थी लगायतमा समस्या देखिनु, साउन्ड सिस्टम राम्रो नहुनु लगायतका कमजोरी भएपनि भीरकोट नगरपालिका स्याङ्जा जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्ने निकाय हुनुले यस क्षेत्रको गरिमा बढेको छ।

सुखी र संबृद्ध भीरकोट नगरपालिका सदैव बन्न सकोस्। खबरकलम डटकमको शुभकामना।