२०८३ अशोज ५, सोमवार

बढ्दो बसाइँसराइको मारमा विद्यालय, भीरकोटका ९ विद्यालयको तह समायोजन

खबरकलम संवाददाता /स्याङ्जा:  बढ्दो बसाइँसराइ र बजार केन्द्रित रहनसहनका कारण देशको अधिकांश विद्यालयमा विद्यार्थी कम भैरहेको अवस्थामा स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकामा समेत यसको प्रत्यक्ष असर देखिएको छ।

भीरकोट नगरपालिकाका विभिन्न वडामा रहेका विद्यालयहरु विद्यार्थी अभावमा तह घटुवा र समसयोजनको संघारमा पुगेका छन्। भीरकोट नगरपालिकामा रहेका नौ वटा आधारभूत विद्यालयलाई समायोजन गरी बाल विकास केन्द्र मात्रै कायम गरिएको छ । जसमा वडा नं. ३ मा रहेको २ वटा, ७ का २ वटा र वडा नं. ८ का ५ वटा विद्यालय समायोजन गरिएको हो। वडा नं. ३ का जनविकास आधारभूत विद्यालय(रोजिखोला) र बटुकभैरव आधारभूत विद्यालय(बजारानी), वडा नं. ७ का बाघ भैरवी आधारभूत विद्यालय(चिउरीखर्क) र कालिका आधारभूत विद्यालय(खिलुङ) समायोजनमा परेका हुन् ।

यस्तै, समायोजनमा पर्नेमा वडा नं. ८ का अमर आधारभूत विद्यालय(पखेरे), प्रगतिशील आधारभूत विद्यालय (शालिकोश),रत्न देवीस्थान आधारभूत विद्यालय(खोरबार), सरस्वती आधारभूत विद्यालय(चिलाउनेखार्क) र देउराली भन्ज्याङ आधारभूत विद्यालय (सिरूखर्क) रहेका छन् ।

वडा नं. १ मा रहेको रानीरह आधारभूत विद्यालयलाई सोही वडाको  लक्ष्मी आधारभूत विद्यालय (गजौंदी) मा समायोजन गरिएको छ ।वडा नं. ९ को भविष्य निर्माण आधारभूत विद्यालयलाई कक्षा घटुवा गरी १-३ कायम गरिएको छ ।

भीरकोटबाट अधिकांश विद्यार्थी वालिङ नगरपालिकास्थित विद्यालयमा अध्ययन गर्नका लागि जाने गरेका छन्।

सेवा, प्रेम र मानवताको प्रेरणादायी सन्देशसहित बृहत रक्तदान कार्यक्रम सम्पन्न

खबरकलम संवाददाता /स्याङ्जा: “रगत नालीमा होइन, नाडीमा बगा‌‌औं” बाबा हरदेव सिंह महाराजको भनाइलाई स्मरण गर्दै तथा सन्त निरंकारी मिसनद्वारा बाबा गुरुवचन सिंहजी महाराजको पावन स्मृतिमा नेपालसहित विश्वभर मानव एकता दिवस मनाइएको छ। स्याङ्जाको भीरकोट नगरपालिका – १ स्थित सन्त निरंकारी मण्डल नेपाल शाखा बयरघारीको सत्संग भवनमा रक्तदान कार्यक्रमको आयोजना गरी मानव एकता दिवस सत्संग कार्यक्रम मनाइएको हो । यस कार्यक्रमले सम्पूर्ण मानव जातिलाई एकता, सेवा र सद्भावको अमूल्य सन्देश दिइएको छ।

कार्यक्रमको अध्यक्षता स्थानीय मुखी श्री भीमबहादुर थापाले गरेका थिए भने प्रमुख अतिथि भीरकोट नगरपालिकाका नगरप्रमुख श्री गोविन्द कुमार कर्मचार्य रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथि नगर प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष दीपेन्द्र केसी , निवर्तमान मुखी यामबहादुर खत्री , निवर्तमान तथा संस्थापक उपनगर प्रमुख सीमा केसी कर्मचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष क्याप्टन मिनबहादुर के सी, नेपाली कांग्रेस भीरकोट सभापति याम प्रसाद अधिकारी लक्ष्मण लगायत अतिथिमा विभिन्न विभिन्न संघसंस्थाका बुद्धिजीवी , समाजसेवीहरू सहभागी थिए।

उक्त कार्यक्रममा नगरप्रमुख कर्माचार्यले रक्तदानको महत्व र रक्तदान गर्नाले स्वास्थ्यमा हुने फाइदा र समाजमा हुने लाभबारे विषयमा आफ्नो मन्तव्य राखेका थिए । सो कार्यक्रमलाई भव्य तथा सभ्यताका साथ सम्पन्न गर्नका लागि प्राविधिक सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखा तथा दहथुम शाखा, भीरकोट जेसिस पिसयुथ क्लब, लायन्स क्लब अफ भीरकोट लगायत सम्पूर्ण स्थानीय संघ संस्थाको साथ सहयोग र मार्गदर्शनका लागि तथा उक्त कार्यक्रमलाई शान्तिमय वातावरणमा सम्पन्न गर्नका लागि शान्ति र सुरक्षाको व्यवस्था गरिदिने दहथुम प्रहरी चौकीलाई समेत उनले आभार प्रकट गरे। सो कार्यक्रममा ८२ पिन्ट रगत सङ्कलन गरिएको तथा रक्तदान गर्नेमा ४८ जना पुरुष र ३४ जना महिला रहेको जानकारी कृष्णबहादुर गोदारले दिए।

बृहत रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको थियो भने त्यसपश्चात मानव एकता दिवस सत्संग कार्यक्रम आयोजना गरिएको थियो जसमा ३०० जना भन्दा बढी श्रद्धालु भक्तहरु सहभागी थिए। उक्त सत्संग कार्यक्रममा बाग्लुङ पोखरा लगायत विभिन्न जिल्लाबाट भक्त श्रद्धालुहरू आएका थिए।

दारेगौँडामा आयोजित भलिबल प्रतियोगितामा ढापुक विजयी

रामबहादुर रोका/खबरकलम डटकम: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ दारेगौंडामा आयोजित खुला वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि भीरकोट नगरपालिका–८ ढापुक भलिबल टिमले जितेको छ ।

नयाँ वर्ष २०८३ को अवसरमा गुप्तेश्वर युवा क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा ढापुकले आयोजकको टिमलाई २–० को सोझो सेटले पराजित गर्दै उपाधि हासिल गरेको हो । खेलमा ढापुकले २५–१५ र २५–१४ को सेटमा जित निकालेको थियो ।

उपाधिसँगै विजेता ढापुकले नगद ६१ हजार १ सय ११ रुयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको आयोजक टिमले ४१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

तृतीय स्थान अर्जुनचौपारी गाउँपालिका–५ आरुचौर भलिबल टिमले हासिल गर्दै २१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो भने सान्त्वना स्थानमा रहेको भीरकोट नगरपालिका–७ तिलाहर भलिबल टिमलाई ११ हजार रुपैयाँ प्रदान गरिएको क्लबका अध्यक्ष हिमेश परियारले बताए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी ढापुकका ओमन गुरुङ घोषित भए । उत्कृष्ट मिडल ब्लकर ढापुकका अमृत सुनार, उत्कृष्ट सेटर ढापुकका मिलन गुरुङ, उत्कृष्ट स्पाइकर आरुचौरका प्रवेश अधिकारी क्षेत्री र उत्कृष्ट लिब्रो आयोजकका निरण परियार घोषित भएका छन् ।

विजेतालाई स्थानीय समाजसेवी टुकराज अर्यालले पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण गर्दै अर्यालले खेलकुद केवल जित–हारको प्रतिस्पर्धामा सीमित नरहेको बतार । उनले खेलले युवामा अनुशासन, आत्मविश्वास र हारपछि फेरि उठ्ने साहस सिकाउने उल्लेख गर्दै समाजलाई एकताबद्ध बनाउने माध्यमका रूपमा खेलकुदको भूमिका महत्वपूर्ण रहेको धारणा राखे ।

उनले प्रतियोगितामा सहभागी खेलाडीहरूले मैदानमा देखाएको मेहनत, अनुशासन र खेलभावना सबैका लागि प्रेरणादायी बनेको बताए । सीमित स्रोतसाधन र विभिन्न चुनौतीका बीच पनि युवाहरूले देखाएको समर्पण, लगनशीलता र जिम्मेवारी प्रशंसनीय रहेको उनको भनाइ थियो ।

अर्यालले आज मैदानमा बगेको पसिना केवल उपाधिका लागि नभई सफल भविष्य निर्माणको आधारसमेत भएको उल्लेख गरे । मेहनती, अनुशासित र सपनालाई यथार्थमा बदल्न सक्ने युवा नै समाज र राष्ट्रको वास्तविक शक्ति भएको उनले बताए ।

उनले विजेता टिमलाई बधाई दिँदै प्रतियोगितामा सहभागी सबै टिमप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा पनि समाजलाई सकारात्मक सन्देश दिने यस्ता रचनात्मक तथा एकताबद्ध गर्ने कार्यक्रमहरू निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिए ।

वैशाख १ गतेबाट सञ्चालन गरिएको प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो ।

कार्यक्रममा विजय गौतम , देवी आचार्य लगायतका कलाकारले सांगीतिक मनोरञ्जन प्रदान गरेका थिए भने मोडल तथा डान्सर मन्जिता सुवासले नृत्य प्रस्तुत गरेकी थिइन्।

रास्वपा अर्जुनचौपारीको वडा अधिवेशन सम्पन्न, सापकोटा वडा नं ५ का अध्यक्ष चयन

खबरकलम संवाददाता/स्याङ्जा: राष्ट्रिय स्वतन्त्र पार्टी, अर्जुनचौपारी गाउँपालिका वडा नं. ५ को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ।

आज सम्पन्न भएको अधिवेशनले ११ सदस्यीय वडा समिति चयन भएको छ। जसमा
१. अध्यक्ष — टंक प्रसाद सापकोटा
२. उपाध्यक्ष — डिल्ली प्रसाद सिग्देल
३. सचिव — अमृत प्रसाद खनाल
४. सह–सचिव — भीम बहादुर क्षेत्री
५. सदस्य — निर्मला पौडेल ढकाल
६. सदस्य — आशा बिक
७. सदस्य — मुस्कान सुनार
८. सदस्य — टंक प्रसाद खनाल
९. सदस्य — ऋषिराम खनाल
१०. सदस्य — भीम बहादुर अधिकारी क्षेत्री
११. सदस्य — गंगा प्रसाद सुनार रहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी अर्जुनचौपारीका संरक्षक टुकराज अर्याल, रास्वपा अर्जुनचौपारी गाउँ कमिटी सभापति कमलकान्त अर्याल, रास्वपा युवा तथा खेलकुद विभाग गण्डकी प्रदेश सदस्य डिल्ली कोइराला लगायतका व्यक्तिहरुको उक्त कार्यक्रममा उपस्थिति रहेको थियो।