२०८३ अशोज ६, मङ्लबार

स्याङ्जामा पनि सानिमा बैंकको शाखा विस्तार

मंसिर १४/रामबहादुर रोका: स्याङ्जा सदरमुकाममा बुधवार सानिमा बैंकले आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका-१ स्थित बैंकरोडमा सानिमा बैंकले आफ्नो १३३ औं शाखाको रुपमा स्याङ्जा पुतलीबजार शाखा विस्तार गरी बैंकिङ सेवा दिन शुरु गरेको हो । नेपालकै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, बैंकका संचालक रमेश कुमार पोखरेल र प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा पुतलीबजार शाखाको समुद्घाटन गरेका थिए ।

उक्त समुद्घाटन समारोहमा वरिष्ठ कलाकार श्रेष्ठले बैंकले थप एक नयाँ शाखा विस्तार गरी बैंकिङ सेवाको शुरु गरि स्याङ्जाबासीलाई सेवा सुविधा प्रवाह गरेकोमा बैंकलाई यस शाखाको सफलताको सुभकामना व्यक्त गरेका थिए । उनले हरिवंश आचार्यको आज विशेष कारणले उपस्थित हुन नसकेतापनि उनीसङ्गै भएको अनुभूति गर्दै आफूहरुको ४३ औं वर्षको सहयात्रालाई स्मरण गरेका थिए ।


त्यस्तै, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बैंकका ग्राहक साथै सरोकारवाला सम्पूर्णलाई साथ, सहयोग तथा सद्भावका लागि उक्त समारोहमा कृतज्ञता व्यक्त गरे ।

दोस्रो स्याङ्जा आँधीखोला महोत्सव स्याङ्जा मालेबगरमा हुँदै

मंसिर ११/रामबहादुर रोका: स्याङ्जाको श्रवण कुमार खेलमैदान (मालेबगर)मा दोस्रो स्याङ्जा आँधीखोला महोत्सव हुने भएको छ ।


स्याङ्जाको सदरमुकाम पुतलीबजार नगरपालिका-१ स्थित स्याङ्जा चेम्बर अफ कमर्सको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा ‘कृषि, पर्यटन, उद्योग, र व्यवसाय विकास हाम्रो सान, दोस्रो स्याङ्जा आँधीखोला महोत्सवको अभियान’ भन्ने मुल नारा सहित स्याङ्जा चेम्बर अफ कमर्सले यहि २०८० पौष १२ देखि २२ गतेसम्म प्रदेश स्तरिय दोस्रो स्याङ्जा आँधीखोला महोत्सव गर्ने गरी मिति सार्वजनिक गरिएको हो ।
स्याङ्जाको गरिमा बोकेको आँधीखोलाको काखमा हुने महोत्सवमा सम्बन्धित पालिकाहरु, प्रशासन लगायतका निकायसंग सहकार्य गरिएको स्याङ्जा चेम्बर अफ कमर्सका अध्यक्ष लोकनाथ रेग्मीले बताउनुभयो । उक्त महोत्सवमा स्थानीय तथा स्वदेशी कृषि तथा औद्योगिक उत्पादनको प्रवर्द्धन एवम् संस्कृतिको जगेर्ना गर्न र विभिन्न सांस्कृतिक कार्यक्रमहरुले विशिष्ट पहिचान बनाउँदै महोत्सवलाई नेपालकै उत्कृष्ट महोत्सवको रुपमा स्थापित गर्न हर तवरले लागि पर्ने अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।


अध्यक्ष रेग्मीले जिल्लाको आर्थिक तथा सामाजिक उत्थान गर्न सुचना प्रविधी प्रदर्शन, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन, संस्कृतिको जगेर्ना, कृषिको व्यवसायिकरण गर्ने उदेश्यले नै नेपाल चेम्बर अफ कमर्स र स्याङ्जा चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा तथा विभिन्न संघसंगठनको सहयोग र सहभागितामा आयोजित महोत्सवबाट आम्दानी रकमलाई सामाजिक उत्तरदायित्व अन्तर्गत समाजसेवा लगायतमा खर्च गर्ने बताउनुभयो ।


उक्त महोत्सवमा कृषि, पर्यटन, उद्योग व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्याउने साथै संस्कृतिको जगेर्ना गर्दै आन्तरिक बजार सवलीकरणका लागि व्यवसायिक उत्पादन तथा निकासी योग्य वस्तुमा जोड दिने संस्थाका वरिष्ठ उपाध्यक्ष श्री गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँले कृषि जन्य लघु, घरेलु तथा साना उद्योगहरु प्रवर्द्धनका लागि आवश्यक ज्ञान, उद्यमशिलता र प्रविधी हस्तान्तरण गर्न, हस्तकलाका सामानहरु जनसमक्ष परिचित गराई व्यवसाय विस्तार एवं प्रवर्द्धनमा महोत्सवले सेवा पुर्याउने विश्वास लिएको बताउनुभयो ।


सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका कोषाध्यक्ष रमेश गोदारले आयोजित महोत्सवलाई सफल बनाउन सबैले आआफ्नो स्थानबाट लागिपर्ने बताउनुभयो । त्यसैगरी महोत्सव सफल पार्न विशेष भुमिका दर्शकहरुकै रहने हुँदा महोत्सवमा दर्शकहरुलाई सहज व्यवस्थापन हुनुपर्नेमा पत्रकार रोशन लामिछानेले जोड दिनुभयो । उक्त सम्मेलनमा पत्रकार युवराज पौडेल लगायतले सल्लाह, सुझाव तथा गुनासो राख्नुभएको थियो ।


उक्त महोत्सवमा कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, पन्चेबाजा प्रतियोगिता, नृत्य प्रतियोगिता, राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको विषेश साँस्कृतिक प्रस्तुति, भलिबल प्रतियोगिता, विभिन्न जातजातिका सांस्कृतिक भेषभुषाहरुको प्रदर्शनी लगायत विभिन्न प्रदर्शनी एवम् प्रतियोगिताहरु हुने संस्थाका महासचिव रिखिराम पौडेलले बताउनुभयो । स्याङ्जा चेम्बर अफ कमर्सका अध्यक्ष लोकनाथ रेग्मीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा संस्थाका वरिष्ठ उपाध्यक्ष श्री गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन महासचिव रिखिराम पौडेलले गर्नुभएको थियो ।

दुई स्याङ्जाली साहित्यकारका साहित्यिक कृतिको लोकार्पण

नारायण कोइराला/९ मसिंर २०८०, शनिवार: स्याङ्जाली साहित्यकार शम्भु अर्याल र मिलन समीरका दुई साहित्यिक कृतिको एकैसाथ लोकार्पण गरिएको छ। साहित्यकार अर्यालको “मौन आवाज” र समिरको “मिलन समीर र मिलन समिरहरू ” वालिङमा आयोजित एक कार्यक्रमकाबिच लोकार्पण गरिएको हो। दुबै साहित्यिक कृतिको लोकार्पण साहित्यकारहरू श्री ओम श्रेष्ठ “रोदन” , विवश पोख्रेल र दुवै श्रष्ठाका आमाहरूले संयुक्त रूपमा गर्नुभएको थियो।

सर्जक शम्भु अर्यालको आत्मपरक निबन्ध संग्रह “मौन आवाज” माथि साहित्यकार अनन्त अर्यालले समिक्षात्मक टिप्पणी गर्नुभएको थियो। ३३ वटा निजात्मक र आत्मपरक शैलीका निबन्धहरू समेटीएको “मौन आवाज” कृतिमा समाजको यथार्थता, मानवता र आत्मपरकता पाइने साहित्यकार एवं समीक्षक अर्यालले बताए। समीक्षक कुमार रानाले मिलन समीरको नविनतम काव्य कृति ” मिलन समीर र मिलन समीरहरू ” कृतिमाथि समीक्षा गर्नुभएको थियो। यथार्थवादी कवि समीरका कविताहरूमा देश र समाजको वर्तमान परिवेशप्रति गुनासा, व्यथा , विद्रोह र व्यङ्ग्य , समाजको प्रश्न संस्कृती सँगसँगै असल समाज, देश बनोस् भन्ने आसय व्यक्त समेत उहाँले व्यक्त गर्नुभयो।

यसैगरी स्थानेश्वर अर्याल स्मृति साहित्यिक पुरस्कारद्वारा मोरङका साहित्यकार विवश पोख्रेललाई पुरस्कृत गरिएको छ। वालिङ प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको “कृति लोकार्पण , विमर्श एवम् स्रष्टा सम्मान तथा विशेष काव्य वाचन समारोहमा” बसन्ती अधिकारी , स्मारिका अर्याल, सुदिप सुवेदी, लक्ष्मी रेग्मी खनाल, कला पाठक, दिलिप तिवारी, सिजन अर्याल, उदय अतित , नारायण विश्वकर्मा “आक्रोश” लगायतका स्रष्टाहरूले काव्य रचनाहरू वाचन गर्नुभएको थियो।

कालिका मावि झापाकोटले सुरु गर्यो व्यवशायिक आलु खेति

मंसिर ७/खबरकलम संवाददाता: विद्यार्थीलाई सिक्दै कमाउँदै गराउने अभियान अन्तर्गत कालिका मावि झापाकोटले व्यवशायिक आलु खेति अभियान सुरु गरेको छ।

सात रोपनी जग्गा १० वर्षका लागि लिजमा लिएर व्यवशायिक आलु खेति गर्न सुरु गरिएको जानकारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनप्रसाद कोइरालाले जानकारी दिए। उनी आफै पनि युवा उद्यमी र कृषक भएकाले विद्यालयमा विद्यार्थीहरूलाई कृषि कार्यमा जोड्न यो अभियानलाई सुरु गरिएको भनाइ उनको छ। विद्यार्थीलाई उत्पादनसँग जोड्ने र प्रयोगात्मक कार्यका लागि उक्त जमिनको प्रयोग गर्ने अध्यक्ष कोइरालाले बताए।

उनले विद्यार्थी र शिक्षक लाई विद्यालयमा संचालित अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तर्गत उत्पादन कार्य सञ्चालन गर्न लागेको र यसले विद्यालयलाई अतिरिक्त आर्थिक लाभ हुने र यसले विद्यार्थी अभिभावक तथा सरोकारवाला सबैलाई फाइदा हुने बताए।

कार्यक्रम लाई निरन्तरता दिदै आगामी दिनमा राम्रो नर्सरी स्थापना गरी मौसमी तथा बेमौसमी तरकारी खेतीका लागि विरुवा उत्पादन गरी बिक्रीवितरण समेत गर्ने लक्ष्य राखेको कोइरालाले बताए। उनले यसअघि पनि विद्यार्थी र शिक्षकलाई सुन कागतीका विरुवा वितरण गरेका थिए।

स्याङ्जामा कर सप्ताह,” खिलुङ कालिका कन्सट्रक्सन उत्कृष्ट करदाता, सुवास उत्कृष्ट कर्मचारी”

जीवन अर्याल/स्याङ्जा: करदाता सेवा कार्यालय स्याङ्जाले विभिन्न कार्यक्रम गरी १२ औं कर सप्ताह समारोह सम्पन्न गरेको छ। 

जिल्ला समन्वय समितिको सभाहलमा आज करदाता सेवा कार्यालय स्याङ्जाले उत्कृष्ट करदातालाई सम्मान, उत्कृष्ट कर्मचारीलाई पुरस्कृत तथा करसम्बन्धी वृत्तचित्र निर्माताहरुलाई सम्मान सहित वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न गरेको हो। 

प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्मा विशिष्ट अतिथि रहेका थिए। विभिन्न पालिकाका जनप्रतिनिधि, लेखा अधिकृतहरु, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक, उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, नेपाल च्याम्बर अफ कमर्स स्याङ्जा प्रतिनिधि, पत्रकार, शिक्षक, विद्यार्थी समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा करसम्बन्धी जानकारी दिने वृत्तचित्र निर्माताहरुलाई सम्मान समेत गरिएको थियो।  रोशनी केसीको समूह करसम्बन्धी भिडियो चित्र बनाए बापत सम्मानित भएका थिए। 

उत्कृष्ट करदाताको रुपमा बोल्दै खिलुङ कालिका कन्सट्रक्सन प्रालिका तर्फबाट प्रबन्ध सञ्चालक दीपक अर्यालले राज्यलाई कर तिर्न पाउँदा र जिल्लाकै उत्कृष्ट करदाता बन्न पाउँदा खुशी लागेको र कर शिक्षालाई हरेक करदातासम्म पुर्याउन आग्रह समेत गरे। उनले आफ्नो संस्थालाई उत्कृष्ट करदाताको स्थानमा पुर्याउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरेका थिए।

“देशको विकासमा करको भूमिका” शीर्षकमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल त्रिभुवन आदर्श मावि स्याङ्जाका क्रमश: ओजस्वी केसी, आयुष्मा ढकाल र जिनिशा केसीलाई सम्मान सहित पुरस्कार समेत उक्त कार्यक्रममा प्रदान गरिएको थियो। 

उक्त कार्यक्रममा बोल्दै च्याम्बर अफ कमर्स स्याङ्जाका राजु अधिकारी र उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्र मान श्रेष्ठले जरिवाना रहित करको दायरा बनाउन र करप्रणालीमा हुने झण्झट हटाउन आग्रह गरेका थिए। उद्योगी व्यवसायीलाई आर्थिक रुपले सम्पन्न बनाउन सक्ने वातावरण भएमात्र कर प्रणाली व्यवस्थित हुने उनीहरुको भनाइ थियो। 

आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले प्रविधिको प्रयोग गर्दै घरमै बसेर पनि करसम्बन्धी काम गर्न सकिने जानकारी गराउँदै करदातालाई कर तिर्न र उक्त कर पनि समयमै तिर्न सक्ने बनाउनका लागि करमा जरिवानाको व्यवस्था भएको बताए। करदाता नै देशनिर्माणका सच्चा पहरेदार भएको बताउँदै कर अधिकृत शर्माले अर्थतन्त्र जटिल अवस्थाबाट गुज्रिरहेको कारणले करदातालाई करप्रति, राज्यप्रति इमान्दार बन्न अनुरोध समेत गरे। 

प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले आज सम्पन्न कार्यक्रमबाट आफूले नागरिकको बुझाइमा राज्य र यसका संभावना तथा कमजोरी नजिकबाट जान्ने वातावरण पाएको बताए। सम्पूर्ण जिल्लावासी करदातालाई व्यवशायिक सफलता र उन्नयनको शुभकामना दिँदै प्रजिअ घिमिरेले करप्रणाली बलियो, राज्यलाई लक्ष्य प्राप्ति र नागरिकलाई कर सुरक्षा व्यवस्थाको प्रत्याभूति हुनुपर्नेमा जोड दिए। 

उत्कृष्ट कर्मचारी सुवास शर्मा मरासिनी

करदाता सेवा कार्यालय स्याङ्जाका कर अधिकृत विजय भुषालको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रम ममता पंगेनीले सञ्चालन गरेकी थिइन्। जिल्ला कर अधिकृतको रुपमा विजय भुषाल जिल्लामा आएपछि करदाता सेवा कार्यालय स्याङ्जाले कर सचेतना एवम् अन्तर्क्रिया कार्यक्रम विभिन्न पालिकाहरुमा गरिरहेको छ। 

नागरिकलाई कर र कर तिर्दा हुने यसका फाइदाबारे जानकारी दिएर राजस्व छली र चुहावटबाट जोगाउन आफ्नो जिम्मेवारी पूरा गर्न सक्रिय भएर लाग्ने भनाइ कर अधिकृत विजय भुषालको छ। उनले बजार अनुगमन, पान वितरण र व्यवशाय दर्ता प्रकृयालाई पनि तदारुकताका साथ अघि बढाइरहेका छन्।

स्याङ्जा सहयोग समाजको पाँचौ विश्व सम्मेलन एवं आठौं अधिवेशन स्याङ्जामा हुँदै

राम बहादुर रोकाहा/मङ्सिर ०६ : स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको पाँचौ विश्व सम्मेलन तथा आठौं अधिवेशन स्याङ्जा जिल्लाको सदरमुकाम स्याङ्जामा हुने भएको छ।

आज आयोजित पत्रकार सम्मेलनमा स्याङ्जाको सदरमुकाम पुतलीबजार नगरपालिका-१ स्थित जिल्ला समन्वय समितिको सभाहलमा यही मङ्सिर ९ गते विश्व सम्मेलन तथा अधिवेशन हुने स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्यालले जानकारी दिनुभयो ।

अध्यक्ष अर्यालले अधिवेशनको उद्घाटन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले गर्ने बताउनुभयो । उक्त विश्व सम्मेलनमा कुल ४३ देशका प्रतिनिधि तथा पर्यवेक्षकहरु गरि ३४२ जनाको सहभागिता रहने र कार्यक्रम भौतिक तथा भर्चुअल दुवै माध्यमबाट गर्ने अध्यक्ष टुकराज अर्यालले जानकारी दिनुभयो। उहाँले संस्थाको रु. १ करोड अक्षयकोष स्थापना भएको र समिती तथा विभिन्न देशमा रहेका राष्ट्रिय समितिहरुको योगदानले हालसम्म जिल्लामा ठुला विपत्तिहरुमा , समस्या समाधान एवं विभिन्न राहत, सहयोगमा करिब रु. ८ करोड रकम सहयोग गरिसकेको बताउनुभयो।‌

कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले आफ्नो जन्मभुमिबाट टाढा रहेतापनी विश्वको कुना-कुनामा रहेर जन्मथलोको समस्या समाधान, सांस्कृतिक विकास, आर्थिक तथा सामाजिक विकासमा समाजले सहयोग गरेको कुरालाई प्रशंसा गर्दै सदैव निरन्तरता दिन आग्रह गर्नुभयो । सोही कार्यक्रममा पत्रकार महासंघ स्याङ्जाका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा , कोषाध्यक्ष एक बहादुर गोदार(रमेश) प्रेस युनियन स्याङ्जाका पुर्व अध्यक्ष प्रदिप कोइराला लगायतले जिज्ञासा एवम् सुझावहरु राख्नुभएको थियो । उक्त अधिवेशन निर्वाचनको अधिवेशन पनि रहेकाले निर्वाचन समितिका संयोजक खेम काफ्ले तथा सदस्य योगेन्द्र थापाले निर्वाचन सम्बन्धी जानकारी गराउँदै निर्वाचन प्रक्रिया शुरु भइसकेको बताउनुभयो।

उक्त अधिवेशनले आगामी कार्यकाल सन् २०२३-२५ का लागि अध्यक्ष सहित ३१ सदस्यीय नयाँ नेतृत्वको चयन गर्ने सोही पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्यालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलन कार्यक्रमको संचालन संस्थाका महासचिव मुक्ती सुवेदीले गर्नुभएको थियो ।

सयपत्री फूल खेती गरी पढ्दै कमाउँदै मिर्मीका विद्यार्थीहरु

कार्तिक २६/स्याङ्जा: स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका स्थित मिर्मी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले आफ्नो पढाईका अतिरिक्त सयपत्री फूल खेती गरेर वर्षेनी पढाई खर्च पुर्याउँदै आएका छन्। 

२ वर्षदेखि मिर्मी बहुमुखी क्याम्पसको परिसरमै सयपत्री फूल खेती गरेर अतिरिक्त आम्दानी गर्दै आएको मिर्मी बहुमुखी क्याम्पस स्ववियु सभापति समेत रहेकी स्नातक तेश्रो वर्षमा अध्ययनरत विद्यार्थी मुना न्यौपानेले बताइन्। 

गत साल पनि फूल खेतीबाट १५-२०,००० रुपैयाँ आम्दानी गरेकी उनले यो पटक अझै धेरै सयपत्री फूल खेती गरिएको बताइन्। सयपत्री फूल खेती कार्यमा क्याम्पस प्रशासन समेतले सहयोग गरिरहेको विद्यार्थी न्यौपानेको भनाइ छ। 

नियमित खर्च व्यवस्थापनमा मात्र नभई अतिरिक्त खर्चमा समेत यो सयपत्री फूलको आम्दानीले सहयोग गरिरहेको, विद्यार्थी पढ्दै गरेको अवस्थामै आर्थिक पाटोसँग जोडिएको र पढ्दै कमाउँदै सिद्धान्तमा जोडिएकाले परिवारमा समेत आर्थिक बोझ नपर्ने मुना न्यौपानेले बताइन्। 

स्मरणीय कुरा त के छ भने, कालीगण्डकी गाउँपालिका आफैले पालिकाका विभिन्न स्थानमा गरी करिब ७० रोपनी जग्गामा सयपत्री फूलको खेती गर्दै आएको छ। कालीगण्डकी गाउँपालिकाले फूल खेतीमा समेत अनुदान दिएर किसानलाई फूलखेतीमा आकर्षित तथा आत्मनिर्भर बनाउने कुरामा अग्रसर रहेको जानकारी कालीगण्डकी गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले जानकारी दिए।

अर्जुनचौपारीमा कर सचेतना एवम् अन्तर्क्रिया कार्यक्रम सम्पन्न

कार्तिक २१/स्याङ्जा: करदाता सेवा कार्यालय स्याङ्जाको आयोजना र अर्जुनचौपारी गाउँपालिकाको समन्वयमा कर सचेतना एवम् अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

अर्जुनचौपारी गाउँपालिकाको वडा नं १ स्थित सभाहलमा आज उक्त कर सचेतना कार्यक्रम सञ्चालन गर्दै अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष शर्मा, करदाता सेवा कार्यालय स्याङ्जाका प्रमुख विजय सुवेदी, अर्जुनचौपारी गाउँपालिका वडा नं १ का वडाध्यक्ष रणबहादुर थापाले व्यवशाय दर्ता गर्नुका फाइदाहरुबारे सहजीकरण गरेका थिए।

उक्त कर सचेतना कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका स्थानीय व्यवशायी तथा उद्यमी गरी करिब ४० जनाको सहभागिता रहेको थियो।

त्रिवि मार्फत कालीगण्डकी गाउँपालिकामा कृषि र पशुपालन सम्बन्धी परामर्श कार्यशाला गोष्ठी सम्पन्न

खबरकलम संवाददाता/स्याङ्जा:

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि र पशु बिज्ञान अध्ययन संस्थान कीर्तिपुर, कालीगण्डकी गाउँपालिका स्यांग्जा र विदेशी सहयोगी संस्था ANSO को संयुक्त सहकार्यमा कालीगण्डकी गाउँपालिकामा कृषि र पशुपालन सम्बन्धि १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। गत शुक्रबार उक्त कार्यशाला सम्पन्न भएको हो।

स्थानीय सरकार संचालन ऐन २०७४ ले कृषि, पशुपालन र सहकारी सम्बन्धमा स्थानीय तहलाई प्रदान गरेका काम, कर्तब्य, अधिकार तथा क्षेत्राधिकार सम्बन्धमा , उक्त ऐन बमोजिम कृषि र पशुपालन सम्बन्धमा कालीगण्डकी गाउँपालिकामा भएका गतिबिधि हरु बारे जनप्रतिनिधि तथा कर्मचारीहरु द्वारा प्रयोगात्मक स्वमुल्यांकन भएको, उक्त नतिजामा कालीगण्डकी गाउँपालिकामा सबैजसो कामहरु सुरुवात भएको, धेरै कामहरु पुर्ण कार्यान्वयन भैसकेका तथा कतिपय कार्यहरु कार्यन्वयनको चरणमा रहेको देखिएको जानकारी उक्त कार्यक्रम मार्फत दिइएको थियो।

उक्त गोष्ठीमा भएका सहमति तथा घोषणाहरुमा कृषि र पशु बिज्ञान अध्ययन संस्थान कीर्तिपुरले कालीगण्डकी गाउँपालिका
भित्र उत्पादित अदुवा- बेसार हरुको प्रशोधन, प्याकेजिङ्ग, ब्राण्डिङ्ग तथा बजारीकरणमा सहयोग गर्ने, कालीगण्डकी गाउँपालिकाका पहिचान बन्न सक्ने रैथाने बालीहरुको पहिचान प्रमाणीकरण तथा प्याटेण्ट अधिकारका लागि जिन बैंकमा सूचिकृत गर्नका लागि सहयोग प्रक्रिया अगाडी बढाउने घोषणा, स्थानीय कच्चा श्रोतको सदुपयोग गर्दै कालीगण्डकी गाउँपालिका भित्रका बिभिन्न पशुहरुका लागि आवश्यक पर्ने पोषणयुक्त गुणस्तरिय पशु पोषण सामग्री निर्माणमा अनुसन्धान तथा सहयोग गर्ने रहेका छन्।‌

कृषि र पशु बिज्ञान अध्ययन संस्थानका प्रकाशन तथा अनुसन्धान निर्देशक डा. हुमा न्यौपानेको अध्यक्षता रहेको उक्त कार्यशालामा कालीगण्डकी गाउँपालिका उपाध्यक्ष सावित्रा कोइराला प्रमुख अतिथिको रुपमा उपस्थित थिइन्।

कृषि र पशु बिज्ञान अध्ययन संस्थानका कृषि प्रसार निर्देशनालय निर्देशक महेश जैशी, लमजुङ्ग कृषि क्याम्पस प्रमुख डा. नारायण न्यौपाने, लमजुङ्ग कृषि क्याम्पस विद्यार्थी कल्याण प्रमुख डा अर्जुन आचार्य प्रशिक्षक रहेको कार्यशालामा कालीगण्डकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका कर्मचारीहरुको उपस्थिति थियो।

उक्त कार्यशालाको संचालन कृषि अधिकृत अनुप पौडेलले गरेका थिए। गतवर्ष पनि यिनै संस्थाहरुको सहकार्यमा कालीगण्डकी गाउँपालिका भित्रका २५० कृषकहरुलाई कृषि र पशुपालन सम्बन्धी विभिन्न ९ वटा क्षेत्रहरुमा तालिम कार्यक्रम संचालन भएको थियो।

विपन्न परिवारलाई घर बनाइदिँदै चापाकोट नगरपालिका

कार्तिक २०/ सुनिल न्यौपाने: चापाकोट नगरपालिकाले अति विपन्न परिवारका लागि घर बनाइदिने भएको छ । नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अति विपन्न परिवारका लागि निःशुल्क रूपमा घर निर्माण गरी हस्तान्तरण गर्ने योजना कार्यान्वयनमा ल्याउन लागेको हो।

चापाकोट नगरपालिकाभित्र रहेका १० वटै वडामा पहिचान गरिएका अति विपन्न परिवारका लागि निःशुल्क घर निर्माण गर्ने योजनाअनुसार काम अघि बढेको चापाकोट नगरप्रमुख देवबहादुर खाण(ईश्वर)ले बताए । चालु आर्थिक वर्षमा ५ घर निर्माण गर्ने योजनाअनुसार काम सुरु गरिएको उनले बताए । सबै वडामा कम्तीमा एक अति विपन्न परिवारलाई समेट्ने गरी परिवार छनोट गरी काम अघि बढाइएको उनले जानकारी दिए ।

‘सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत अति विपन्न परिवारका लागि घर निर्माण गर्न लागिएको हो । हामीले सबै वडामा अतिविपन्न परिवार छनोट गरेका छौँ, सोहीअनुसार टिनले छाएको पक्की घर निर्माण गरी हस्तान्तरण गर्ने योजना रहेको छ’, नगरप्रमुख खाणले भने, ‘अतिविपन्न परिवारलाई राज्यले हेर्छ भन्ने अनुभूति दिलाउन यो कार्यक्रमले सहयोग पुग्ने छ, त्यस्ता परिवार सुरक्षितरूपमा घरमा बस्नसमेत पाउनेछन् ।’

नगरपालिकाले पहिलो चरणमा ५ घर निर्माण गर्ने योजना बनाएको छ । यसअनुसार पहिलो चरणमा वडा न.७ की सीता दर्जी वडा न. ४ का रोमन विक र केश बहादुर दमै वडा न.१० की माया भट्टराई र दिवस विकको घर बनाइदिने नगरपालिकाले जनाएको छ।साथै अन्य चरणमा सबै वडामा एक–एकवटा अतिविपन्न परिवारका लागि घर निर्माण हुनेछ ।

चापकोट नगरपालिकाले चालु आर्थिक वर्षमा नगरपालिकाबाट विनियोजित बजेटबाट घर निर्माणको सबै काम पूरा गरेर अति विपन्न परिवारलाई हस्तान्तरण गर्ने बताएको छ।