२०८३ अशोज ६, मङ्लबार

अर्जुनचौपारीमा दरौँखोलालाई हराउँदै सम्झना विजेता

राम बहादुर रोकाहा/चैत्र १८: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-१ बजारस्थित खेलमैदानमा दरौँखोला युवा परिवारले आयोजना गरेको वडा क्लब स्तरीय भलिबल प्रतियोगितामा आयोजक दरौँखोला युवा क्लबलाई हराउँदै सम्झना युवा क्लब विजेता भएको छ ।


सम्झना युवा क्लबले गण्डकी प्रदेश भलिबलका सदस्य हिमाल सुनारी र जीवन विक सहभागी दरौँखोला युवा क्लब ए´लाई ३-२ को सेटमा हराएर विजेता भएको हो । सम्झना युवा क्लबले दरौँखोलालाई २२-२५, २५-१९, २५-१७, २३-२५ र १५-९ अंकले पराजित गरेको हो । सम्झना युवा क्लबमा गण्डकी प्रदेश भलिबलका पुर्व कप्तान तथा टिपटप हेल्प नेपाल भलिबलका सदस्य सन्जु बिक्रम शाह र टिपटप हेल्प नेपाल भलिबलका सदस्य चिरन खड्का सहभागी थिए । यस्तै, राष्ट्रिय भलिबल नेपालका कप्तान मान बहादुर श्रेष्ठ र सदस्य धन बहादुर भट्ट सहभागी अग्रदिप युवा क्लबले २५-१६, २५-१७ र २५-२० अंकले ३-० को सोझो सेटमा आयोजकलाई हराउँदै तेस्रो स्थान हासिल गरेको हो ।
उक्त भलिबल प्रतियोगिताका शिल्ड, मेडल र प्रमाणपत्रसहित विजेता सम्झना युवा क्लबले नगद एक लाख २१ हजार १११ रुपैयाँ, उपविजेता आयोजक दरौँखोला युवा क्लब ए´ले ८१ हजार १११ रुपैयाँ, तृतीय अग्रदिप युवा क्लबले ४१ हजार १११ र सान्त्वना हुने आयोजकबि´ले ११ हजार १११ रुपैयाँ पुरस्कार हात पारेको हो ।


विभिन्न विधा अन्तर्गत बेस्ट प्लेयर सन्जु बिक्रम शाह, बेस्ट स्पाइकर मान बहादुर श्रेष्ठ, बेस्ट सर्भर धन बहादुर भट्ट, बेस्ट सेटर गौरभ गुरुङ, बेस्ट ब्लकर चिरन खड्का, बेस्ट डिफेन्डर अनिश सुनार, बेस्ट कुइकर हिमाल सुनारी, अनुशासित प्लेयर जीवन विक र बेस्ट कोच अमर गुरुङलाई नगदसहित पुरस्कृत गरिएको हो । फागु पुर्णिमाको अवसरमा आयोजित चैत्र ११ गतेबाट सुरु भएको भलिबल प्रतियोगितामा १९ टिमको सहभागी रहेको थियो । प्रतियोगितामा राष्ट्रिय तथा प्रदेश स्तरीय खेलाडीहरुको घम्साघम्सी भएको थियो ।

अर्जुनचौपारीमा राष्ट्रिय तथा प्रदेश स्तरीय खेलाडीहरुको घम्साघम्सी, सम्झना फाइनलमा

राम बहादुर रोकाहा/चैत्र १७: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-१ बजारस्थित खेलमैदानमा दरौँखोला युवा परिवारले आयोजना गरेको वडा क्लब स्तरीय भलिबल प्रतियोगितामा अग्रदिप युवा क्लबलाई हराउँदै सम्झना युवा क्लब फाइनलमा प्रवेश गरेको छ ।


सम्झना युवा क्लबले राष्ट्रिय भलिबल नेपालका कप्तान मान बहादुर श्रेष्ठ र सदस्य धन बहादुर भट्ट सहभागी अग्रदिप युवा क्लबलाई ३-० को सोझो सेटमा हराएर फाइनलमा प्रवेश गरेको हो । गण्डकी प्रदेश भलिबलका पुर्व कप्तान तथा टिपटप हेल्प नेपाल भलिबलका सदस्य सन्जु बिक्रम शाही र टिपटप हेल्प नेपाल भलिबलका सदस्य चिरन खड्का सहभागी सम्झना युवा क्लबले अग्रदिपलाई २५-१४, २५-१९ र २५-२३ अंकले पराजित गरेको हो । यस्तै, गण्डकी प्रदेश भलिबलका सदस्य हिमाल सुनारी र जीवन विक सहभागी आयोजक ए´ले सोझो सेटमा आयोजकबि´लाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।


भलिबल प्रतियोगितामा शिल्ड, मेडल र प्रमाणपत्रसहित विजेताले नगद एक लाख २१ हजार १११ रुपैयाँ, उपविजेताले ८१ हजार १११ रुपैयाँ, तृतीयले ४१ हजार १११ र सान्त्वना हुने टिमले ११ हजार १११ रुपैयाँ पुरस्कार हात पार्नेछन् ।
बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट ब्लकर, बेस्ट डिफेन्डर, बेस्ट कुइकर र बेस्ट अनुशासित प्लेयर गरि विभिन्न सात विधामा पनि खेलाडीहरुलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । फागु पुर्णिमाको अवसरमा आयोजित चैत्र ११ गतेबाट सुरु भएको भलिबल प्रतियोगितामा १९ टिमको सहभागी रहेको छ । प्रतियोगितामा राष्ट्रिय तथा प्रदेश स्तरीय खेलाडीहरुको घम्साघम्सी रहेको छ ।

अर्जुनचौपारीमा राष्ट्रिय भलिबलका कप्तान श्रेष्ठलाई सम्मान,अग्रदिप युवा क्लबबाट खेल खेल्ने

राम बहादुर रोकाहा/स्याङ्जा: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले नेपाल राष्ट्रिय भलिबल टिमका कप्तान मान बहादुर श्रेष्ठ र सदस्य धन बहादुर भट्ट(डिबि)लाई सम्मान गरेको छ । उनीहरुलाई मायाको चिनोसहित दोसल्ला ओडाएर सम्मान गरिएको हो ।


अर्जुनचौपारी-१ दरौँखोला बजारस्थित दरौँखोला युवा परिवारले फागु पुर्णिमाको अवसरमा आयोजित वडा क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन आएका राष्ट्रिय खेलाडीहरुलाई पालिकाले सम्मान गरेको हो । उनीहरुले अर्जुनचौपारी-२ को अग्रदिप युवा क्लबबाट आफ्नो खेल खेल्नेछन् ।

अध्यक्ष प्रकाश तिवारीले राष्ट्रिय टिमका खेलाडीहरुलाई पालिकामा सम्मान गर्न पाउँदा पालिका खुसी व्यक्त गरे । उनले खेलाडीहरु देशका गहना भएको बताए । राष्ट्रिय खेलाडीहरुको खेलबाट आफ्नो पालिकामा भएका खेलाडीहरुले केही सिक्ने अवसर जुटेको अध्यक्ष तिवारीले बताए । कप्तान श्रेष्ठले गाउँमा रहेका खेलप्रेमी खेलाडीले आफू खेल खेल्न आउँदा केही सिक्ने/सिकाउने अवसर रहेको बताए । उनले आफूहरु पैसाको लागि भन्दा पनि आफूहरुको खेल हेरेर केही सिकुन् भन्ने उद्देश्यले खेल खेल्न आएको बताए ।

माओवादी निकट सहकारी केन्द्र नेपालको प्रथम स्याङ्जा जिल्ला भेला सम्पन्न

मिनप्रसाद कोइराला/स्याङ्जा: नेकपा माओवादी केन्द्र निकट सहकारी केन्द्र नेपालको प्रथम स्याङ्जा जिल्ला भेला सम्पन्न भएको छ।

जिल्ला सहकारी संघ स्याङ्जाका सचिव तथा सहकारी केन्द्र गण्डकी प्रदेश कमिटीका सदस्य मिनप्रसाद कोइराला “प्रतिक” को अध्यक्षतामा सम्पन्न उक्त भेलाले नारायणसिंह थापाको संयोजकत्वमा एक्काइस सदस्यीय तदर्थ समिति गठन गरेको छ।

सदस्य चित्र रानाको सञ्चालन तथा सहकारी विभागका केन्द्रीय सदस्य तथा राष्ट्रिय सहकारी बैंकका लेखा समिति सदस्य चन्द्रा ढकाल पराजुलीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको उक्त भेलालाइं जिल्ला बचत संघका सदस्य नारायण सिंह थापाले स्वागत गरेका थिए।

स्याङ्जामा क्रियापुत्री समेत एसईई परीक्षामा सहभागी

खबरकलम डेस्क/स्याङ्जा : आजबाट सुरु भएको एसईई परीक्षामा स्याङ्जा जिल्लाबाट दुई जना क्रियापुत्री सहभागी भएका छन्।

स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं ४ को केन्द्रमा सञ्चालित परीक्षामा दुई दाजुभाइले आफ्नो बुबाको मृत्यु भएको चौथो दिनको काजक्रिया गरेकै अवस्थामा सम्मिलित भएका हुन्।

स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट फेदीखोला गाउँपालिका वडा नं ४ घर भई सिद्धार्थ मावि फेदीखोलामा अध्ययनरत सङ्गम क्षेत्री र सौगात क्षेत्री उक्त परीक्षामा सहभागी भएको जनाइएको छ।

नैतिक शिक्षा विषय अनिवार्य गर्न विश्व हिन्दु युवा संघ स्याङ्जाको अपिल

खबरकलम डेस्क/स्याङ्जा : विश्व हिन्दु युवा संघ स्याङ्जाले विद्यालय तहमा नैतिक शिक्षा अनिवार्य रुपमा लागू गर्न अनुरोध गरेको छ।‌

विश्व हिन्दु युवा संघ स्याङ्जाले जिल्लाभित्र रहेर विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको यस संस्थाले स्थापनाकाल देखि नै धर्म ,संस्कृतिको जगेर्ना साथै सनातन धर्मको संरक्षणको लागि विभिन्न पहल गर्दै आएको छ।

संघले सबै पालिकालाई नैतिक शिक्षा आगामी शैक्षिक सत्रबाट लागू हुने गरी पाठ्यक्रमका समावेश गर्न अनुरोध गरेको हो।‌ ज्ञापनपत्रमा पछिल्लो समय समाजमा विभिन्न खालका नराम्रा कार्यहरु समाजमा बढ्दै गएको र यसको न्यूनीकरणको लागि नैतिक शिक्षा आवश्यक रहेको कुरा विश्व हिन्दु युवा संघ स्याङ्जा जिल्ला अध्यक्ष नवराज पौडेलले जानकारी दिएका छन्। स्याङ्जा र गण्डकी प्रदेशभित्रका पालिकाहरुमा नैतिक शिक्षा विषय आवश्यक रहेको भन्दै ज्ञापनपत्र पठाइएको कुरा उनले जानकारी दिए।‌

उनका अनुसार विश्व हिन्दु युवा संघ स्याङ्जाले स्याङ्जामा संस्कृत भाषा कक्षा सन्चालन, संस्कृत पुस्तकालय स्थापना, पृथ्वी जयन्तीको अवसरमा स्याङ्जामा सार्वजनिक बिदा गराउन पहल,नैतिक शिक्षा लागू गराउन पहल र स्याङ्जाका केही पालिकाले आगामी शैक्षिक सत्रबाट नैतिक शिक्षा बिषय लागू गराउने प्रतिबद्धता जनाएका छन्।

३ वर्ष अघिदेखि संघले नैतिक शिक्षा विषय लागू गराउन पहल गरेको छ ।

अर्जुनचौपारीमा वडा स्तरीय क्लब भलिबल प्रतियोगिता सुरु

राम बहादुर रोकाहा/स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारीमा फागूपूर्णिमाको अवसरमा आयोजित वडा स्तरीय क्लब भलिबल प्रतियोगिता सुरु भएको छ ।

दरौँखोला युवा परिवारले हरेक वर्ष जस्तै यस वर्ष पनि आयोजना गरिएको प्रतियोगिता एक हप्तासम्म चल्ने क्लबका अध्यक्ष किरण काफ्लेले बताए । उनले अर्जुनचौपारी -१ बजारस्थित दरौँखोलाको खेलमैदानमा हुने प्रतियोगिता पोल सिस्टममा खेलाइने र वडाभित्रको क्लबभन्दा बाहिरका दुईजना खेलाडीहरु समावेश गर्न पाइने जानकारी दिए ।

अन्तर वडा क्लब स्तरीय प्रतियोगिता अन्तर्गत यस क्षेत्रकै सर्वाधिक राशिको प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष काफ्लेले बताए । चैत्र १७ गतेसम्म चल्ने भलिबल प्रतियोगितामा शिल्ड, मेडल र प्रमाणपत्रसहित विजेताले नगद एक लाख २१ हजार १११ रुपैयाँ, उपविजेताले ८१ हजार १११ रुपैयाँ, तृतीयले ४१ हजार १११ र सान्त्वना हुने टिमले ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्ने खेल संयोजक खिम गुरुङले जानकारी दिए ।

उनले वेस्ट प्लेयर, वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट ब्लकर, वेस्ट डिफेन्डर, वेस्ट कुइकर र वेस्ट अनुशासित प्लेयर गरी विभिन्न सात विधामा पनि खेलाडीहरुलाई पुरस्कृत गरिने बताए ।
भलिबल प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा अर्थ तथा विकास समितिका सभापति प्रदेश सभासद भोजराज अर्यालले खेलका माध्यमबाट देशलाई चिनाउन सकिने तथा मानिसलाई सकारात्मक बाटोतर्फ डोर्‍याउन खेलको माध्यमले महत्त्वपूर्ण भुमिका निभाउने बताए ।

उनले यो ठाउँ साथै खेलमैदानको विकास निर्माणका लागि प्रदेश सरकारसँग आफू लड्ने बताए । उक्त प्रतियोगितामा स्याङ्जा, पर्वत र पाल्पा जिल्लाका गरी २५ क्लबको सहभागिता रहने बताइएको छ ।

आठौं दिपन स्मृति टि-१० क्रिकेट प्रतियोगिताको फाइनलमा स्याङ्जा क्रिकेट क्लब विजयी

माधवप्रसाद रेग्मी/खबरकलम डटकम: हेलु लामाचौर युवा क्लबद्वारा मिति २०८०/१२/०८ देखि संचालन गरेको आठौं दिपन स्मृति टि-१० क्रिकेट प्रतियोगितामा स्याङ्जा क्रिकेट क्लब विजयी भएको छ।

आज सम्पन्न भएको फाइनलमा टस जितेर फिल्डिङ रोजेको स्याङ्जा क्रिकेट क्लबले हेलु लामाचौर युवा क्लबलाई निर्धारित १० ओभरमा ६ विकेटको क्षतिमा ७१ रनमा रोक्न सफल भयो । उत्कृष्ट ब्याटिङ गरेका साजन गुरूङले सर्वाधिक ४७ रन जोडे।

दोस्रो इनिङ्समा जितको लागि ७२ रनलाई पछ्याउदै गरेको स्याङ्जा क्रिकेट क्लबले १९.३ ओभरमा ७२ रन बनाउँदै फाईनल खेल जित्न सफल भएको हो । विजयी स्याङ्जा क्रिकेट क्लबले रू. २५,१२८/- धनराशी सहित मेडल र ट्रफी प्राप्त गरेको छ भने दोस्रो स्थान हासिल गरेको हेलु लामाचौर युवा क्लबले रू. १५,१२८/- धनराशी सहित मेडल र ट्रफी प्राप्त गरेको छ ।

भीरकोट नगरपालिका वडा नं १ का वडा सदस्य तथा खुमबहादुर खाँणको अध्यक्षतामा संचालन भएको समापन कार्यक्रममा प्रमुख अतिथि भीरकोट नगरपालिकाका नगर प्रवक्ता श्री दिपेन्द्र केसी रहेका थिए भने विशिष्ट अतिथिको रूपमा डिल्लीराम कोईराला, चण्डिका सापकोटा अर्याल, दहथुम प्रहरी चौकीका प्रमुख महेन्द्र भट्टराई, प्रकाशमान सिंह थापा, दया कुमार श्रेष्ठ, वुद्धिप्रसाद श्रेष्ठ, कन्साईन्स माविका प्रधानाध्यापक साजन परियार लगायतका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै विभिन्न वक्ताहरूले खेलकुदबाट युवाहरुले विभिन्न किसिमका अवसरहरू प्राप्त गर्नको लागि युवालाई देशमै रोजगारको व्यवस्था गरेर राख्न सकेमा खेलकुदले फड्को मार्न सक्ने कुरा व्यक्त गरे। समापन कार्यक्रमको संचालन माधव प्रसाद रेग्मीले गरेका थिए भने स्वागत मन्तव्य युवा क्लबका वरिष्ठ सल्लाहकार विनोद कार्कीले दिएका थिए।

अर्जुनचौपारीमा करेन्ट लागेर एक पुरुषको मृत्यु


राम बहादुर रोकाहा/स्याङ्जा: स्याङ्जाको अर्जुनचौपारीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।


मृत्यु हुनेमा अर्जुनचौपारी गाउँपालिका-६ भेडाबारीका ५२ वर्षीय हर्क बहादुर थापा गोदार रहेका छन् । नेपाल विद्युत प्राधिकरणको मेन लाइनको तार चुढेर बाटोमा लत्रिएको हुँदा पैदलयात्री थापा गोदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।


उनले घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको बताए ।

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन प्रतिवेदनमा अर्जुनचौपारी स्याङ्जाकै उत्कृष्ट, चापाकोट पुछारमा

जीवन अर्याल/चैत ९: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक आर्थिक वर्षमा प्रकाशन गर्ने स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (FRA report) प्रतिवेदनमा स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका जिल्लाकै उत्कृष्ट र समग्र गण्डकी प्रदेशको तेश्रो स्थानीय तह घोषित भएको छ।

आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन अनुसार अर्जुनचौपारी गाउँपालिकाले ८९.५ अंक प्राप्त गरी जिल्लाको प्रथम र प्रदेशको तेश्रो स्थान हासिल गरेको हो। स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन प्रतिवेदनमा उल्लेख भएका विभिन्न पाँचवटा दायरामा अर्जुनचौपारी गाउँपालिकाले उत्कृष्ट अंक ल्याउन सफल भएको छ।

योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा २१ अंक, कार्यन्वयन क्षमता तथा व्यवस्थापनमा २४.५, लेखाङ्कन तथा प्रतिवेदनमा १६, अनुगमन मूल्याङ्कन तथा लेखापरीक्षणमा १२ र राजस्व व्यवस्थापनमा १६ अंक प्राप्त गरी अर्जुनचौपारी गाउँपालिकाले उत्कृष्ट स्थान बनाएको छ।

के छ स्याङ्जा जिल्लाका अन्य पालिकाहरुको अवस्था?

स्मार्ट सिटीको मोडेलमा अघि बढिरहेको वालिङ नगरपालिकाले हालसम्म FRA प्रतिवेदन अद्यावधिक नगरेको पाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेवसाइटमा वालिङ नगरपालिकासँगै पुतलीबजार नगरपालिका, हरिनाश गाउँपालिका र आँधीखोला गाउँपालिकाको विवरण अद्यावधिक छैन।

कालीगण्डकी गाउँपालिकाले ७४.५ अंक प्राप्त गरी जिल्लाको दोश्रो, भीरकोट नगरपालिकाले ७१.५ अंक प्राप्त गरी जिल्लाको तेस्रो, विरुवा गाउँपालिकाले ७०.५ प्राप्त गरी जिल्लाको चौथो स्थान ओगटेका छन्। यसैगरी गल्याङ नगरपालिकाले ६८ अंक प्राप्त गरेको छ। फेदीखोला गाउँपालिकाले ६३.५ अंक प्राप्त गर्दा चापाकोट नगरपालिका भने पुछारमा रहेको छ।

चापाकोट नगरपालिकाले कुल २४ अंक प्राप्त गर्यो। चापाकोट नगरपालिका यसअघिका विभिन्न प्रतिवेदनमा उल्लेख भएका मूल्यांकनमा पुछारमा हुने गरेको थियो।