२०८३ अशोज ६, मङ्लबार

कालीगण्डकी नदीको स्टिमरमा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता सञ्चालन हुँदै

जीवन अर्याल/जेठ १०: स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकामा कालीगण्डकी गाउँपालिका तथा गण्डकी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा प्रदेशस्तरीय अन्तर जिल्ला महिला/पुरुष बुद्धिचाल प्रतियोगिता सञ्चालन हुने भएको छ।

आज स्याङ्जाको वालिङमा पत्रकार भेटघाट कार्यक्रम गरी आयोजकहरुले उक्त जानकारी दिएका हुन्। गण्डकी प्रदेश बुद्धिचाल संघका अध्यक्ष युवराज भण्डारीका अनुसार कालीगण्डकी गाउँपालिकास्थित कालीगण्डकी नदीको धार्मिक महत्वको जगेर्ना गर्ने तथा कालीगण्डकी गाउँपालिकाको आन्तरिक र बाह्य पर्यटन विकास तथा प्रवर्द्धनका लागि नदीमै स्टिमरमा प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए।

३० मिनेटको र्यापिड रेटिङ खेलको रुपमा ७ जना राष्ट्रिय आर्वेटरको प्रत्यक्ष निगरानीमा उक्त प्रतियोगिता यही जेठ १२ र १३ गते आयोजना गर्न लागिएको हो।‌ आयोजकका अनुसार खेलाडीको बिमा गराइएको, प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरूको खाना, आवास र आतेजाते भाडा खर्च समेत व्यवस्था गरिएको जसबापत दैनिक रु १२०० रुपैयाँ प्रदान गरिने छ।

गण्डकी प्रदेशका ११ जिल्लाबाट १,१ वटा टिम र आयोजक कालीगण्डकी गाउँपालिकाको समेत एक टीम गरी कुल १२ टिमबीच उक्त बुद्धिचाल प्रतियोगितामा प्रतिस्पर्धा हुने छ। खेलाडीबाट कुनै पनि किसिमको शुल्क नउठाइएको तर कालीगण्डकी गाउँपालिकाले रु ३ लाख र गण्डकी प्रदेश खेलकुद परिषद्ले रु ३ लाख गरी जम्मा ६ लाख रुपियाँ आर्थिक व्यवस्थापन गरिएको आयोजकले जनाएका छन्।

प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद रु ७०००, ५०००, र ३००० सहित सम्मानपत्र तथा एक वर्षसम्म देशका जुनसुकै स्थानमा बुद्धिचाल प्रतियोगिता सञ्चालन भएपनि संघको तर्फबाट आर्थिक व्यवस्थापन सहित खेलमा सहभागिताको व्यवस्था गरिएको जानकारी भण्डारीले दिए।

उक्त पत्रकार सम्मेलनमा बुद्धिचाल संघका प्रतिनिधिहरु, कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत सहित विभिन्न ४० जना व्यक्तिहरुको उपस्थिति रहेको थियो।

प्रतियोगिता जेठ १२ र १३ गते कालीगण्डकी गाउँपालिकामा हुने छ।

अर्जुनचौपारी गाउँपालिकाद्वारा आयोजित पोषणसम्बन्धी अन्तर विद्यालय स्तरीय वक्तृत्वकला सम्पन्न

खबरकलम डेस्क/स्याङ्जा: अर्जुनचौपारी गाउँपालिकाद्वारा आयोजित पोषणसम्बन्धी अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा आधारभुत तह (६-८) मा “मानव जीवनमा पोषणको महत्व” शीर्षकमा श्री पन्चकन्या मा.वि. कि सुप्रीया क्षेत्री प्रथम भएकी छिन्।‌

यसैगरी अर्जुनचौपारी चिल्ड्रेन एकेडेमीकी सुलता थापा मगर द्वितीय, घण्टे माविकी छात्रा निर्मला गुरुङ तृतीय हुन सफल भएकी छन्। माध्यमिक तह (९-१२)मा “पोषणमैत्री पालिका निर्माणमा विद्यार्थीको भूमिका” शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा घण्टे मा.वि. का छात्र प्रविन बिक प्रथम, जन माविका छात्र अनिस चापागाइँ द्वितीय तथा अर्जुनचौपारी चिल्ड्रेन एकेडेमीका छात्र सचिन जिसीले तृतिय स्थान प्राप्त गरेका छन्।‌

अर्जुनचौपारी गाउँपालिकाले हिजोमात्र अन्तर वडास्तरीय पोषणसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको थियो।

कर कार्यालय स्याङ्जाको वित्तीय साक्षरता एवं सचेतामुलक कार्यक्रम सम्पन्न

राम बहादुर रोकाहा/जेठ ९: करदाता सेवा कार्यालय स्याङ्जाले वित्तीय साक्षरता एवं कर सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलबार पुतलीबजार नगरपालिका सदरमुकाम स्थित शहिदचोकमा गरिमा विकास बैंक, स्याङ्जा चेम्बर अफ कमर्श र त्रिभुवन आदर्श नमुना मा.वि.को समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले कर सचेतनालाई प्राथमिकता दिएर कर दायरा फराकिलो बनाउँदै अगाडि लैजानुपर्नेमा जोड दिएका थिए । उनले करका विषयमा हरेक नागरिकलाई स्थानीय तहमा गई जानकार गराउन समेत आग्रह गरेका थिए ।

त्यस्तै, करदाता कार्यालय स्याङ्जाका प्रमुख विजय भुसालले व्यवसायी र उपभोक्ता दुवै सचेत र जिम्मेवार हुनुपर्ने बताउँदै कारोबार गर्दा वैधानिकता अपनाउन आग्रह गरेका थिए । कर कार्यालय व्यवसायीलाई लुट्न नभई वैधानिकता प्रदान गर्न आएको उनको भनाइ थियो । उनले उपभोक्तालाई व्यवसायीबाट सेवा लिदै गर्दा उक्त व्यवसाय दर्ता भए/नभएको, सामान उपभोग गर्न लाएक भए/नभएको तथा उपभोग्य मिति गुज्रिएको छ/छैन भन्ने कुरामा ख्याल गर्नुपर्ने बताएका थिए ।

उनले व्यवसायी तथा नागरिकले जिम्मेवार भएर कर तिरे मात्र देशको विकास र समृद्धि सम्भव हुने बताएका थिए । कार्यालय प्रमुख भुसालका अनुसार यही असार मसान्तसम्म कार्यालयले करिब ६८ करोड राजस्व उठाउने लक्ष्य राखेको बताएका थिए ।

शहिदचोकबाट सुरु भएको प्रभातफेरी हुलाकरोड, ट्राफिकचोक, अभियानपथ, ठाडोलाइन हुँदै शहिदचोकमा पुगेर कार्यक्रममा परिणत भएको थियो । उक्त कार्यक्रममा सचेतनामुलक प्लेकार्ड, ब्यानर र नृत्य समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष महादेव श्रेष्ठ, स्याङ्जा चेम्बर अब कमर्शका अध्यक्ष लोकनाथ रेग्मी, गरिमा विकास बैंक क्षेत्रीय कार्यालय वालिङ्का प्रमुख लेखनाथ भट्टराई र जिल्ला उपभोक्ता मन्च स्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनी लगायतले मन्तव्य राखेका थिए । करदाता कार्यालय स्याङ्जाका प्रमुख विजय भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन स्याङ्जा चेम्बर अफ कमर्शका महासचिव रिखिराम पौडेलले गरेका थिए ।

अर्जुनचौपारीमा अन्तर वडास्तरीय पोषणसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

जेठ ९/स्याङ्जा : अर्जुनचौपारी गाउँपालिकाद्वारा आयोजित पोषणसम्बन्धी अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम अन्तर्गत वडास्तरीय हाजिरीजवाफ प्रतियोगितामा सम्पन्न भएको छ।

हिजो सम्पन्न उक्त कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका वडा नं १ देखि वडा नं ६ का विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो। जसमा वडा नं १ अन्तर्गत अर्जुन चौपारी चिल्ड्रेन एकेडेमी प्रथम,शितला इङ्लिस बोर्डिङ स्कुल अर्जुनचौपारी द्वितीय, पञ्चकन्या मा .वि. तृतीय भएका छन्।

वडा नं २ स्थित रानीचरी आ.वि. केवरे प्रथम, अमरज्योति मा.वि. द्वितीय र शिद्ध आ.वि. तृतीय भएका छन्।
त्यसैगरी वडा नं ३ अन्तर्गत सरस्वती आ.वि. प्रथम, श्री गणेश आ.वि. द्वितीय र चण्डिडाँडा आ.वि. तृतीयय भएका छन् । वडा नं ४ अन्तर्गत आदर्श आ.वि. प्रथम, श्री जन मा.वि. द्वितीय र लाकुरी आ.वि. तृतीय भएका छन् ।

त्यसैगरी वडा नं ५ अन्तर्गत घण्टे मा.वि. प्रथम, देविस्थान आ.वि. द्वितीय, बुद्ध आ.वि. तृतीय भएका छन् ।
साथै वडा नं ६ अन्तर्गत गाउँफर्क आ.वि. प्रथम, दरौं मा.वि. द्वितीय र राष्ट्रिय आ.वि तृतीय भएका छन् ।

अर्जुनचौपारी गाउँपालिकाले हालै मात्र पालिकाभरकस विद्यालयमस अध्ययनरत विद्यार्थीहरुको निशुल्क रक्त समूह पहिचान कार्यक्रम सम्पन्न गरेको छ।

अर्जुनचौपारीमा निशुल्क बाल स्वास्थ्य शिविर सम्पन्न, ३११ बालबालिका लाभान्वित

खबरकलम डेस्क/जेठ ५: अर्जुनचौपारी गाउँपालिकाको आयोजनामा आज सञ्चालित निशुल्क बाल स्वास्थ्य शिविरमा ३११ जना बालबालिकालाई निशुल्क स्वास्थ सेवा प्रदान गरिएको छ।‌

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) का वरिष्ठ बाल रोग विशेषज्ञ डा. रामचन्द्र बास्तोला , वरिष्ठ दन्त रोग विशेषज्ञ डा. भावना सिग्देल र A& B इन्टरनेशनल हस्पिटलका मेडिकल अधिकृत डा . अभिषेक रमण पराजुली को उपस्थितिमा ३११ जना बालबालिकाको नि:शुल्क स्वास्थ्य जाँच एवं दाँतको स्क्रिनिङ्ग सेवा प्रवाह गरिएको अर्जुनचौपारी गाउँपालिकाले जनाएको छ।

उक्त शिविरमा दाँतसम्बन्धी रोगका ११८ जना बालबालिकालाई परीक्षण गरिएको तथा बालरोगका १९३ जना बालबालिकालाई परीक्षण गरी आवश्यक परामर्श तथा चिकित्सकीय सेवा उपलव्ध गराइएको हो।‌

अर्जुनचौपारी गाउँपालिकाले यसअघि पनि विभिन्न रोगको चेकजाँच, परामर्श तथा उपचारका लागि शिविर सञ्चालन गरेको थियो।

स्याङ्जा प्रहरीद्वारा ट्राफिक सप्ताह -२०८१ सम्पन्न

राम बहादुर रोकाहा/जेठ १: सवारी दुर्घटना न्यूनीकरणका लागि जनसचेतना जगाउने उद्देश्यका साथ स्याङ्जामा संचालन भएको ट्राफिक सप्ताह कार्यक्रम हिजोदेखी सकिएको छ ।

`सेफ ड्राइभ, लङ लाइफ´ भन्ने मुल नारासहित जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको आयोजनामा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना जगाउने उद्देश्यले प्रदेश स्तरीय ट्राफिक सप्ताह -२०८१ मंगलबारदेखी सुरु भएको थियो ।

ट्राफिक सप्ताह समिक्षा तथा समापन समारोहका प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक शालिग्राम शर्माले सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक र प्रहरीले चालेका केही संस्थागत र नीतिगत व्यवस्थाका साथै सचेतनाका लागि गरिएका कार्यक्रमहरुको बारेमा जानकारी दिएका थिए ।

गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा र स्याङ्जा जिल्लाका ११ पालिकाहरुको संयुक्त समन्वयमा सम्पन्न भएको सप्ताह अवधीभर गरिएका जनसचेतनामुलक कार्यक्रमहरुले मानव जीवन रक्षाका लागि सेवा प्रवाहमा थप टेवा पुग्ने प्रहरी उपरीक्षक शर्माले बताए ।

उनले वैशाख २५ गतेदेखि सुरु भएको उक्त कार्यक्रमबाट एक साताभित्र प्रत्यक्ष रुपमा ३२ हजार जना बढी सर्वसाधारणहरु लाभान्वित भएको बताउँदै सडक तथा सवारी दुर्घटना न्युनिकरणका लागी ट्राफिक सप्ताह सफलताका साथ सम्पन्न भएको बताए ।

सप्ताहव्यापी जनसचेतना कार्यक्रम अन्तर्गत विद्यार्थी, पैदलयात्री र चालकहरुलाई ट्राफिक सचेतना, ट्राफिक नियम तथा जेब्राक्रस बारेमा प्रशिक्षण प्रदान, पर्चा पम्प्लेटहरु वितरण, पैदल यात्रा गर्दा फुटपाथ प्रयोग लगायतका विषयमा जानकारी गराइएको ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक केशर बहादुर मल्लले जानकारी दिए ।

सोही कार्यक्रममा ट्राफिक सप्ताहमा प्रत्यक्ष रुपमा सहयोग पुर्याउने संघसंस्था एवं व्यक्तिहरुलाई कदर पत्र प्रदान गरिएको थियो भने सवारी दुर्घटनामा मृत्यु भएकाहरुप्रती श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन समेत गरिएको थियो ।

स्याङ्जाका प्रहरी प्रमुख शालिग्राम शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले शुभकामना ब्यक्त गरेका थिए भने प्रहरी निरीक्षक पावल सिंह लामाले कार्यक्रम सञ्चालन गरेका थिए ।

विश्व हिन्दु युवा संघ स्याङ्जाको क्यालेन्डर बिमोचन तथा “गाई र माईको महत्त्व “बिषयक कार्यक्रम सम्पन्न

नवराज पौडेल/वालिङ : विश्व हिन्दु युवा संघ स्याङ्जा द्वारा २०८१ सालको भित्तेपात्रो बिमोचन तथा गाई र माईको महत्त्व बिषयक कार्यक्रम वालिङ्को केदारनाथ मन्दिरमा समपन्न भएको छ।

कार्यक्रमको अध्यक्षता विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नबराज पौडेलले गर्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि भीरकोट नगर पालिका वार्ड न १ का अध्यक्ष एबम नगर प्रवक्ता एवं विश्व हिन्दु युवा संघका सल्लाहकार दीपेन्द्र केसी , विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य पण्डित नेत्र प्रसाद पराजुली, वालिङ ११ का वार्ड अध्यक्ष एब विश्व हिन्दु युवा संघका केन्द्रीय सदस्य डण्डपानी पङ्गेनी (डण्डु) ,गुप्त प्रसाद गैह्रे, विश्व हिन्दु महासंघ वालिङका अध्यक्ष सिताराम अधिकारी , जिल्ला सह प्रबक्ता कुशल बस्याल ,जिल्ला सदस्य राजन रेग्मी , रामचन्द्र अर्याल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि दिपेन्द्र केसीले गाई र माईको छुट्टै किसिमको महत्त्व रहेको कुरा बताउनु भएको थियो। गाईलाई विश्वको माताको रुपमा मान्नु पर्ने कुरामा जोड दिनुभएको थियो। उहाँले नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र बनाउन सबै लाग्नु पर्ने कुरामा जोड दिनु भएको थियो। विश्व हिन्दु युवा संघ स्याङ्जाले उदाहरणीय कार्य गरेकोमा प्रसङ्गसा गर्नु भएको थियो।

यस्तै धार्मिक गुरु पण्डित नेत्र प्रसाद पराजुलिले सबैभन्दा ठूलो भनेको स्वधर्म हो र सनातन धर्म संस्कृतिको जगेर्नाको लागि हामी सबै लाग्नुपर्ने कुरा बताउनुभएको थियो। कार्यक्रममा वालिङ ११ का वार्ड अध्यक्ष डण्डु पङेनी, सिताराम अधिकारी लगायतले आफ्ना कुराहरु राख्नुभएको थियो।

विश्व हिन्दु युवा संघ स्याङ्जाले स्याङ्जामा नैतिक शिक्षा लागू,संस्कृत पुस्तकालय स्थापना,संस्कृत भाषा कक्षा सन्चालन, पृथ्वी जयन्तीमा सार्वजनिक बिदा, धार्मिक जागरण , धार्मिक पर्यटकीय स्थलहरुको प्रचार प्रसार लगायतका कार्यहरु गरेको छ।

सुन्तला सुपरजोन स्याङ्जाको अध्यक्षमा बोधराज अर्याल निर्वाचित

राम बहादुर रोकाहा/वैशाख ३१: प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई अन्तर्गत सुन्तला सुपरजोन संचालन समन्वय समिति, स्याङ्जाको अध्यक्षमा बोधराज अर्याल निर्वाचित भएका छन् ।

वैशाख २९ गते सम्पन्न चौथो अधिवेशनले अर्यालको अध्यक्षतामा नौ सदस्यीय समिति निर्वाचित भएको हो । समितिको सदस्यमा तिरमाया गुरुङ, शालिग्राम अर्याल, लक्ष्मीप्रसाद बराल, हिमकला शर्मा, सुरेन्द्रप्रसाद रेग्मी, दिलबहादुर राना, हुमनाथ लामिछाने र खिमा शर्मा निर्वाचित भएको हो भने अन्य पदाधिकारीहरु अध्यक्ष अर्यालले बनाउनेछन् ।

समन्वय समितिको चौथो अधिवेशनमा ३५२ मत मध्ये २४३ मत खसेकोमा बोधराज अर्यालले १९० मत, मुक्ति अधिकारीले ३६ मत, लेखनारायण कोइरालाले दुई मत प्राप्त गरेका थिए भने १५ मत बदर भएको थियो ।

यद्यपि एक समूहले निर्वाचन वहिष्कार समेत गरेको थियो।

अर्जुनचौपारी गाउँपालिकाका विद्यार्थीको निशुल्क रक्त समूह पहिचान कार्यक्रम सुरु

खबरकलम डेस्क /वैशाख ३०: अर्जुनचौपारी गाउँपालिकाले आफ्नो पालिकाभरका विद्यालयमा अध्यापनरत शिक्षक र अध्ययनरत विद्यार्थीको निशुल्क रक्त समूह पहिचान गर्ने कार्यक्रम थालनी गरेको छ।

अर्जुनचौपारी गाउँपालिकाले आफ्नै आन्तरिक स्रोत व्यवस्थापन गरी विद्यार्थी र शिक्षकहरुको ब्लड ग्रुप पहिचान गर्ने गरी कार्यक्रम सुरुवात गरेको हो।

हालसम्म आफ्नो ब्लड ग्रुप पहिचान नगरेका शिक्षक र विद्यार्थीहरूलाई आपतकालीन अवस्थामा आफ्नो रगतको समूह थाहा पाउन तथा उमेर पुगेका व्यक्तिहरुले अन्य व्यक्तिलाई समेत रक्तदान गर्न सहजीकरण गर्ने गरी यस कार्यक्रम थालनी गरिएको अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष शर्माले जानकारी दिए।

उनका अनुसार आजबाट प्रारम्भ भएको रक्त समूह पहिचान कार्यक्रम पालिकाका सम्पूर्ण विद्यालयमा गरिने र सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरुलाई समेटिने गरी निरन्तरता दिइने छ।

आज अर्जुनचौपारी गाउँपालिकाको वडा नं १ स्थित पञ्चकन्या माविका १९० जना विद्यार्थी, वडा नं ४ स्थित जन माविमा अध्ययनरत १५२ जना विद्यार्थी र वडा नं ६ स्थित जनविकास आविमा अध्ययनरत ४२ जना विद्यार्थीमा रक्त समूह पहिचान सम्पन्न भएको छ।

पालिकास्तरबाट विद्यालयमा रक्त समूह पहिचान कार्यक्रम गरिएको संभवतः स्याङ्जा जिल्लामै पहिलोपटक हो।

नेपाल राष्ट्रिय शिक्षक संगठन पुतलीबजारको सम्मान कार्यक्रम सम्पन्न

राम बहादुर रोकाहा/वैशाख २९:नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कमिटी पुतलीबजारले सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीता कुमारी सुन्दास एवं नियुक्त प्रधानाध्यापक र बढुवा शिक्षकहरुलाई सम्मान गरिएको थियो ।

पुतलीबजार नगरपालिका -१ मदन आश्रित स्मृति भवनमा नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कमिटी पुतलीबजारको आयोजनामा २०८१ को क्यालेन्डर विमोचन तथा सम्मान कार्यक्रम सहित संगठन सुदृढीकरण र गुणस्तर अभिवृद्धिका लागि नगर स्तरीय अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीता कुमारी सुन्दासले शिक्षा क्षेत्रको विकासमा यस संगठनको योगदान महत्त्वपूर्ण रहेको कुरा व्यक्त गरेकी थिइन् भने नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका इन्चार्ज यम बहादुर कुवरले गौरवमय विगत भएको उक्त संगठन नै शिक्षकहरुको हितमा समर्पित एकमात्र संस्था रहेको बताउँदै शिक्षकहरूले शैक्षिक गुणस्तर अभिवृद्धिमा तनमनले लाग्नुपर्ने कुरामा जोड दिए ।

उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य सिमा कुमारी क्षेत्री, राष्ट्रिय परिषद सदस्य नारायण प्रसाद मरासिनी, नेकपा एमाले जिल्ला अध्यक्ष सुर्यप्रसाद गैरे(पारस), नगर अध्यक्ष भरत गोदार, संगठनका पूर्व सचिव बलराम दोरङ्गा, सचिव हिरा गाहा लगायतकाले मन्तव्य राखेका थिए ।

यसैगरी, कार्यक्रममा प्रधानाध्यापक पदमा नियुक्त भएका बलराम दिरङ्गा र सोम बहादुर रानालाई सम्मान गरिएको साथै शिक्षण पेशामा रहेर बढुवा भएका शिक्षक गङ्गाराम पौडेल, ईश्वरी वाग्ले, मोतीप्रसाद अधिकारी र टिकाराम ढकाललाई सम्मान गरिएको संगठनका नगर अध्यक्ष बि.पि. पोख्रेलले जानकारी दिए ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष बि.पि. पोख्रेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समितिका उपाध्यक्ष श्याम कुमार थापाले स्वागत मन्तव्य राखेका थिए भने उपाध्यक्ष देवी कार्कीले संचालन गरेकी थिइन् ।