खबरकलम संवाददाता /गल्याङ: राष्ट्रिय शिक्षा दिवस २०८३ को अवसरमा गल्याङ नगरपालिकामा विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको छ।
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न शैक्षिक तथा खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान गरिएको हो।
कार्यक्रममा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने ७६ जना विद्यार्थी, कक्षा १२ मा उत्कृष्ट ५ जना तथा खेलकुदतर्फ उत्कृष्ट २ जना विद्यार्थीलाई सम्मान गरिएको थियो। त्यसैगरी दीर्घ सेवा सम्मान प्राप्त गर्ने १० जना तथा बढुवा भएका २० जना शिक्षकलाई समेत सम्मान गरिएको थियो।
कक्षा ५ तर्फ उत्कृष्ट २० जना विद्यार्थीलाई सम्मान गरिएको कार्यक्रममा शैक्षिक उपलब्धिका आधारमा शिक्षक तथा प्रधानाध्यापकहरूलाई पनि सम्मान गरिएको थियो।
SEE परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्ने शैक्षिक वर्ष २०८१ र २०८२ का १३२ जना विषयगत शिक्षक तथा सर्वोत्कृष्ट नतिजा ल्याउने २६ जना विषयगत शिक्षकलाई सम्मान गरिएको थियो। साथै ४ जना प्रधानाध्यापक, ६ जना शिक्षक, ४ जना बालविकास शिक्षक तथा उत्कृष्ट विद्यालयलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रमले शैक्षिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई प्रोत्साहन गर्नुका साथै शिक्षाको गुणस्तर अभिवृद्धि र उत्कृष्ट नतिजाका लागि थप प्रेरणा प्रदान गरेको छ।
खबरकलम संवाददाता /स्याङ्जा: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरमा तीन-दिवसीय विशेष महाअनुष्ठान सम्पन्न भएको छ। भागवत पारायाण पण्डित गिरिराज पौडेलको कथा वाचनसँगै अनुष्ठानमा नवग्रहका लागि ५ लाख ४४ हजारभन्दा बढी मन्त्रको लक्षजपसहित हवन सम्पन्न गरिएको हो।
नवग्रहमा क्षमा पूजासहित इतिहासमै दुर्लभ मानिएको अथर्ववेदीय नवग्रह महासाम्राज्य कल्पअनुसार महाअनुष्ठान गरिएको हो । हवनकुण्डमा नौ प्रकारका अन्न, शुद्ध घिउ, तिल, जौ, मह तथा विशेष जडीबुटीयुक्त नवधान्य र द्रव्यको आहुति दिइएको थियो भने भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण दिवगंत भएकाहरुको सम्झनामा क्षमा पूजा तथा मानव जीवनमा देखिने सम्पूर्ण ग्रहदोष शान्ति र सर्वसिद्धि प्राप्तिको कामनासहित महाअनुष्ठान गरिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए।
उनका अनुसार यो सामान्य पूजा वा हवन मात्र नभई कृष्ण यजुर्वेद र अथर्ववेदको ‘नक्षत्र कल्प’मा उल्लेखित दुर्लभ महासाम्राज्य विधानअनुसार गरिएको अनुष्ठान हो। हजारौँ वर्षअघि महर्षिहरूले गोप्य राखेको उक्त विधिअनुसार अनुष्ठान गरिएको उनको भनाइ छ।
महाअनुष्ठानका क्रममा अघोर पूजा तथा तान्त्रिक विधिअनुसार कुभिन्डो, नरिवल, कागती, उखु र जायफलको सात्त्विक बलिसमेत दिइएको थियो । तीन दिनसम्म चलेको अनुष्ठानमा करिब २५ हजार भक्तजनले मन्दिरमा पुगेर पूजा तथा आराधना गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले जानकारी दिए। उनका अनुसार तीन दिनसम्म करिब एक लाख साठी हजार रुपैयाँ आम्दानी गरिएको छ।
खबरकलम संवाददाता /स्याङ्जा: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको नेपालकै पहिलो नवग्रह धाममा तीन दिनसम्म विशेष धार्मिक अनुष्ठान हुने भएको छ । देशकै पहिलो नवग्रह मन्दिरका रूपमा चिनिँदै आएको धाममा भाद्र २७, २८ र २९ गते क्षमा पूजा तथा अथर्ववेदीय नवग्रह महासाम्राज्य कल्प महाअनुष्ठानको तयारी गरिएको हो ।
भोटेकोशीमा आएको बाढीपहिरोमा परी ज्यान गुमाएका तथा सम्पर्कविहीन नागरिकको शान्तिको कामना गर्दै क्षमा पूजा तथा मानव जीवनमा देखिने ग्रहदोष शान्ति र सर्वसिद्धिका लागि महाअनुष्ठान गर्न लागिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए ।
‘ग्रह शान्त भए जीवन शान्त हुन्छ’ भन्ने मूल भावनाका साथ आयोजना हुने अनुष्ठान सामान्य पूजा वा हवनमा मात्र सीमित नरहने आयोजकको दाबी छ । कृष्ण यजुर्वेद र अथर्ववेदको ‘नक्षत्र कल्प’मा उल्लेखित विधानअनुसार महाअनुष्ठान गरिने अध्यक्ष तिवारीले बताए ।
उनका अनुसार कलियुगको शास्त्रोक्त विधानअनुसार पाँच लाख ४४ हजारभन्दा बढी मन्त्रको लक्षजप गरिनेछ । वैदिक ब्राह्मणद्वारा सूर्यका लागि सात हजार, चन्द्रका लागि ११ हजार, मङ्गलका लागि १० हजार, बुधका लागि नौ हजार, गुरुका लागि १९ हजार, शुक्रका लागि १६ हजार, शनिका लागि २३ हजार, राहुका लागि १८ हजार र केतुका लागि १७ हजार मन्त्रजप गरिनेछ । त्यसपछि निर्धारित विधिअनुसार त्यसको चार गुणा जप पूरा गरिने आयोजकले जनाएको छ ।
जपपछि नवग्रहका लागि तोकिएका वनस्पति तथा समिधाबाट हवन गरिनेछ । सूर्यका लागि आँक, चन्द्रका लागि पलाश, मङ्गलका लागि खदिर र शनिका लागि शमीसहित ग्रहअनुसारका सामग्री प्रयोग गरिने नवग्रह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले बताए ।
हवनकुण्डमा नौ प्रकारका अन्न, शुद्ध घिउ, तिल, जौ, मह तथा जडीबुटीयुक्त नवधान्य र अन्य द्रव्यको आहुति दिने तयारी छ । नवग्रहसँग सम्बन्धित अधिदेवता र प्रत्यधिदेवताका लागि पनि विशेष तर्पण तथा आहुति गरिने आयोजकले जनाएको छ । सूर्यका लागि शिव, चन्द्रका लागि पार्वती र बुधका लागि विष्णुसहित सम्बन्धित देवताको पूजा गरिनेछ ।
मध्यरातमा अघोर पूजा
महाअनुष्ठानको मुख्य आकर्षणका रूपमा भदौ २८ गते मध्यराति १२ बजे अघोर पूजा तथा तान्त्रिक विधिअनुसार सात्त्विक बलि दिने कार्यक्रम राखिएको छ । आयोजकका अनुसार कुभिन्डो, नरिवल, कागती, उखु र जायफलको सात्त्विक बलि दिइनेछ ।
मन्त्रको अखण्ड गुञ्जनबीच गरिने उक्त विधिले यजमान तथा दर्शनार्थीमा रहेको ग्रहदोष, अदृश्य बाधा र संकट हट्ने धार्मिक विश्वास रहेको आयोजकले बताएका छन् ।
तीन दिनसम्म सञ्चालन हुने महाअनुष्ठानमा करिब ५० हजार भक्तजन सहभागी हुने अनुमान गरिएको छ । हरेक वर्ष गणेश चतुर्थीको अवसरमा धार्मिक कार्यक्रम हुँदै आए पनि नवग्रह मन्दिर निर्माणपछि पहिलोपटक यस प्रकारको महाअनुष्ठान गर्न लागिएको हो ।
मन्दिर नवभूज आकारमा निर्माण गरिएको छ । आकाशतर्फ फर्किएको २७ फिट अग्लो मन्दिरमा सौर्यमण्डल तथा ब्रह्माण्डको प्रतिमासमेत राखिएको छ । महाअनुष्ठानमा सहभागी हुने भक्तजनले उक्त संरचना तथा प्रतिमा प्रत्यक्ष अवलोकन गर्न पाउने आयोजकले जनाएको छ ।
माधवप्रसाद रेग्मी/स्याङ्जा: जुनियर रेडक्रस सर्कल त्रिभुवन आदर्श माध्यमिक विद्यालयद्वारा आयोजना गरिएको जिल्लास्तरीय अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ।
विद्यालयको सभाहलमा संचालन भएको उक्त कार्यक्रममा स्याङ्जा जिल्लाका विभिन्न स्थानीय तहबाट २३ विद्यालयहरू प्रतियोगितामा सम्मिलित रहेका थिए । विद्यालयका रेडक्रस अध्यक्ष ओस्कार रेग्मीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला रेडक्रसका सभापति दिनेश अर्याल, विशिष्ट अतिथिको रूपमा नगरपालिका शिक्षा अधिकृत शोभा बस्याल, अतिथिको रूपमा विद्यालय प्रधानाध्यापक प्रेम प्रसाद पौडेल हुनुहुन्थ्यो।
कार्यक्रममा प्रमुख अतिथिले स्याङ्जा जिल्लामा रेडक्रसले संचालन गरेका विभिन्न सामाजिक कार्यहरूको चर्चा गर्नुभयो। साथै विद्यालयका प्रधानाध्यापकले आफू विद्यालय अध्ययन गर्ने समयदेखि नै रेडक्रसले काम गरेको र त्यही विद्यालयमा अहिले प्रधानाध्यापक हुन पाएकोमा गर्व लागेको कुरा व्यक्त गर्नुभयो। ओम बिकास सिंजालीको संयोजकत्वमा ५ सदस्यीय कार्यसमिति बनाई प्रतियोगिता संचालन गरिएको थियो।
प्रतियोगितामा त्रिभुवन आदर्श माध्यमिक विद्यालय प्रथम, रोशनी आवासीय माध्यमिक विद्यालयले द्वितीय, भु.प. सैनिक आवासीय माध्यमिक विद्यालय बयरघारीले तृतीय स्थान र स्याङ्जा उच्च माध्यमिक विद्यालयले सान्त्वना स्थान प्राप्त गरेका छन् । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक लगायत अंग्रेजी शिक्षकहरूको उपस्थिति रहेको थियो।
खबरकलम संवाददाता /भदौ २१: भीरकोट नगरपालिका वडा नं १ बयरघारीस्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १४ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
भीरकोटस्थित क्षेत्री समाजको बहुउद्देश्यीय भवनमा आफ्ना सयौं शेयर सदस्यहरुको उपस्थितिमा आज सहकारीले १४ औं साधारणसभा सम्पन्न गरेको हो।
उक्त साधारणसभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, व्यवस्थापकको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको आर्थिक वर्ष २०८२/८३ को प्रतिवेदन परित गरिएको थियो भने सहकारीले नीति तथा कार्यक्रममा समावेश गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम, नयाँ लेखापरीक्षक नियुक्ति, शेयर लाभांश वितरण तथा संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धी कार्ययोजना समेत पारित गरिएको थियो।
कुल १ करोड ९६ लाख ५८ हजार ५ सय शेयर पुँजी रहेको उक्त सहकारीले बचत संकलन रु २२ करोड १० लाख ७६ हजार ६ सय ९१ संकलन गरेको छ भने रु १६ करोड ४७ लाखभन्दा बढी रकम ऋण प्रवाह गरेको छ। हालसम्म सहकारी संस्थाले कुल रु ६५ लाख ८७ हजार ३३६ रुपैयाँ बचत मुनाफा गरेको छ। संस्थाको प्रतिवेदन अनुसार १२ करोड ७४ लाखभन्दा बढी बैंक तथा नगद मौज्दात रहेको छ भने तरलता प्रतिशत ५७.६६ रहेको छ।
विसं २०७० सालमा दर्ता भई विधिवत् रूपमा सञ्चालनमा आएको सहकारी संस्थाका हाल २१११ जना शेयर सदस्य रहेका छन् भने ८ जना कर्मचारीले सेवा प्रदान गरिरहेका छन्।
आज सम्पन्न भएको साधारणसभा कार्यक्रममा जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेल प्रमुख अतिथि, भीरकोट नगरपालिकाका निवर्तमान प्रमुख छायाँराम खनाल विशिष्ट अतिथि रहेका थिए भने अन्य समाजसेवी तथा विद्वत व्यक्तिहरुको समेत उक्त कार्यक्रममा उपस्थिति रहेको थियो। संस्थाका अध्यक्ष भक्तबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सहकारी संस्थाका व्यवस्थापक लेखबहादुर केसी किरणले गरेका थिए।