२०८३ अशोज ५, सोमवार

स्याङ्जामा पुनः थपियो निषेधाज्ञा, असार २५ सम्म लागू हुने

असार १५/स्याङ्जा:
राम बहादुर रोकाहा
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आउँदो असार २५ गते सम्मका लागि निषेधाज्ञा थप गरेको छ ।


जिल्लामा गत बैशाख २१ गतदेखिे निषेधाज्ञा शुरु भएको र असार १५ गते सम्मका लागि जारी गरिएको निषेधाज्ञालाई बढाएर असार २५ गतेसम्म पुर्याइएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ भने अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत प्रशासनले आग्रह गरेको छ ।


देशमै कोरोनाको दोस्रो लहर भित्रीएसङ्गै अछुतो नरहेको स्याङ्जामा पनि दोस्रो लहरको कोरोना संक्रमणका कारण थप गरिएको निषेधाज्ञाको समयमा सबै प्रकारका तालिम,गोष्ठी , सभा , भिडभाड हुने स्थलहरु , मेला महोत्सव र खेलकुद प्रतियोगिताहरु निशेध गर्ने एवं सिनेमा हल , पार्टी प्यालेस , होटेल तथा रेस्टुरेन्ट(टेक अवे सेवा संचालन गर्न सकिने) , नाचघर, फुटसल , क्लब , जिमखाना,ब्युटी पार्लर , शैलुनबाट प्रदान गरिने सेवाहरु पूर्ण रुपमा बन्द गरिने भएको छ भने अन्य व्यवसायहरुले स्वास्थ्य सुरक्षा अपनाएर बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै खुल्ला राखिने तर औषधि एवं स्वास्थ्यसामाग्रीका पसलहरु २४ सै घन्टा खुल्ला रहने निर्णय भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो ।


लकडाउनको मोडालिटी परिवर्तन गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सम्पुर्ण सरकारी कार्यालयहरु संचालन गर्ने र सहकारी एवं गैरसरकारी संस्थाहरुले आफ्नो कार्यालयबाट मात्रै सेवा प्रदान गर्ने गरि संचालन गर्ने साथै बैंक तथा वित्तीय संस्थाका सेवाहरु पनि स्वास्थ्य सुरक्षा अपनाई पुर्ण रुपमा संचालन गर्न पाइने भएको छ । यस जिल्लाभर मात्र संचालन गर्न पाइने गरि निजि तथा सार्वजनिक सवारीसाधनहरुलाई जोर-बिजोर प्रणालीअनुसार जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका मात्र संचालन गर्ने गराउने र सार्वजनिक सवारीसाधनले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पुर्ण रुपमा पालना गर्दै सिट क्षमताको ५० प्रतिशतभन्दा बढी यात्रु राख्न नपाइने निर्णय थप गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
साथै यस जिल्लाबाट अन्य जिल्ला जाने सवारीसाधनले भने जिल्ला प्रशासन कार्यालयको अनुमतिपत्र लिएर मात्र जानुपर्ने स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभएको छ।

चट्याङले स्याङ्जामा एकको मृत्यु

असार ११/राम बहादुर रोकाहा: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका -२ घडेरीमा आज बिहान परेको चट्याङ लागेर एक किशोरको मृत्यु भएको हो ।


आफ्नो घरको बिस्तारा सुतिरहेका पुर्ण बहादुर गुरुङका १५ वर्षीय छोरा रोहित गुरुङको बिहान ५:३० बजे परेको चट्याङका कारण उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता एवं सुचना अधिकारी डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।


मोबाइल चार्जमा राखेर सुतेका उनी बिहान परेको चट्याङबाट करेन्ट लागेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ । उनले चार्ज गरेको मोबाइल पुर्ण रुपमा क्षतिग्रस्त भएको छ भने चार्जर पनि जलेको अवस्थामा भएको प्रहरीको भनाई छ ।
उक्त घटनास्थलमा प्रहरी अधिकारीसहितको टोलि गइ घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

भीरकोट नगर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

असार ९/स्याङ्जा: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकामा अवस्थित भीरकपट नगर अस्पताल (तत्कालीन कालिका सामुदायिक अस्पताल) लाई गोर्खा वेलफेयर ट्रष्टले स्वास्थ्य सामग्री सहयोग गरेको छ।

कालिका सामुदायिक स्वास्थ्य सेवा संस्थाद्वारा संचालित स्याङ्जाको भीरकोट – १ हेलु स्थित भीरकोट नगर अस्पताललाई गोर्खा वेल्फेयर ट्रस्ट पश्चिम क्षेत्रीय कार्यालय पोखराबाट कोभिड- १९ नियन्त्रण र रोकथामका लागि पठाइएको पिपिई, मास्क, सेनिटाइजर, ग्लब्स, गम बुट लगाएत २२ प्रकारका करिब ४ लाख बराबरको स्वास्थ्य सामग्री आज अस्पताल प्रशासनको रोहवरमा गोर्खा वेल्फेयर ट्रष्टका रिटायर मेजर वीर वहादुर गुरुङले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मुक्ति बगालेलाई हस्तान्तरण गरेका छन् ।

सर्वोच्च अदालतको आदेशसँगै २१ मन्त्री पदमुक्त

असार ८/काठमाडौं: सर्वोच्च अदालतले पछिल्लो पटक विस्तार गरिएको मन्त्रीमण्डल असंवैधानिक भएको ठहर गर्दै नियुक्ति बदर गरिदिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद् विस्तार र मन्त्री नियुक्लाई बदर गरिदिएको हो।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद विस्तार बदर गर्ने अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

योसँगै वर्तमान मन्त्रिपरिषदका २० जना मन्त्री पदमुक्त भएका छन् ।

नेकपा एमाले भीरकोटले मेयर समक्ष ध्यानाकर्षण पत्र बुझायो

असार ८/खबरकलम संवाददाता: नेपाल कम्युनिष्ट पार्टी एमाले भीरकोट कमिटीले भीरकोट नगरपालिका समक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफूले पेश गरेका योजना कार्यान्वयन गर्न बजेटको माग गरेको छ।

आज एक ज्ञापनपत्र बुझाउँदै समग्र भीरकोट नगरपालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक विकास गर्न नगरपालिकाको ध्यानाकर्षण गर्दै उसले बजेटको प्राथमिकतामा आफ्ना कार्यक्रम पनि पार्न अनुरोध गरेको हो।

भीरकोट नगरपालिका क्षेत्रभित्र रहेका विभिन्न सम्पदाहरुको संरक्षण तथा पुनर्निर्माण गर्न, आँधीखोला संरक्षण गर्न, खेलमैदान बनाएर खेलकुदको विकास गर्न, बालउद्यान तथा पार्क बनाउन, खानेपानी आयोजनाको निर्माण गर्न, ग्रामीण सडकको स्तरोन्नति गर्न लगायतका कार्यक्रम समेट्न अनुरोध गरिएको नेकपा एमाले भीरकोटका अध्यक्ष विश्वनाथ अर्यालले जानकारी दिए।

नेकपा एमाले भीरकोटका अध्यक्ष विश्वनाथ अर्याल, प्रदेश कमिटी सदस्य हर्क बहादुर गुरुङ, नेकपा एमाले भीरकोट सचिव गोकुल अधिकारी, राष्ट्रिय युवा संघ भीरकोट अध्यक्ष जुमाल अलि लगायतले नगरपालिका प्रमुख छायाराम खनाललाई ज्ञापन पत्र बुझाउँदै सके कार्यक्रम कार्यान्वयन गर्न बजेटको व्यवस्था गर्न र नसके कम्तीमा पनि केन्द्रीय तथा प्रदेश सरकारको बजेटबाट कार्यक्रम हुने गरी अनुमति दिन र स्वीकृत प्रदान गर्न अनुरोध गरिएको जनाएका छन्।

पहिरोको कारण दुई दिनदेखि सडक अवरुद्ध, एकतर्फी खुलाउने प्रयास जारी

असार ७/राम बहादुर रोकाहा: केही दिन अगाडिको अविरल वर्षाको कारणले गएको पहिरोले हेलु-अर्जुनचौपारी सडकखण्ड अवरुद्ध भएको हो।


केहिदिन अघिको वर्षाले गलाएको जमिनमा गएको पहिरोले उक्त सडकखण्ड अवरुद्ध बनाउँदा पैदलमार्ग साथै अत्यावश्यक कामको लागि चल्ने यातायातका साधनहरुलाई अप्ठ्यारो परेको हो । विगत दुईदिनदेखि अवरुद्ध भएको बाटोमा सानो डोजरले पहिरो फाल्न नसक्ने भएकोले ठूलो चेन-डोजर प्रयोग गरि पहिरो फाल्ने कार्य भइरहेको छ ।


पहिरोले अवरुद्ध भएको हेलु-अर्जुनचौपारी सडकखण्ड संचालनमा नआएसम्म एम्बुलेन्स लगायतका अत्यावश्यक यातायातका साधनहरुलाई अर्जुनचौपारी रैते हुँदै पुतलीबजार नगरपालिका वडा नम्बर-१३ स्थित वडहरेको सडकखण्डलाई बाइपास बनाई विकल्प रोज्न सम्पुर्णलाई जानकारी गराउँदछौं।

जिप दुर्घटना हुँदा दुईको मृत्यु, ६ घाइते

असार २/राम बहादुर रोकाहा: स्याङ्जाको भिरकोट नगरपालिकामा बिहान जिप अनियंत्रित भइ दुर्घटना हुँदा थप एक सहित दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

बानेथोकबाट बयारघारी आउँदै गरेको ग १ ज ४९४० नम्बरको जिप
आज बिहान करिब १० बजे दुर्बुङठाटीस्थित भित्री कच्ची सडकखण्डमा दुर्घटना हुँदा ७ जना घाईते भएका थिए ।घाईतेमध्ये एक जनाको भीरकोट नगर अस्पताल(कालिका सामुदायिक अस्पताल) हेलुमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै दुर्घटनामा परी घाईते भएकालाई प्राथमिक उपचार गरी थप उपचारको लागि पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो ।
नामावली :-
१) भीरकोट न।पा।-३ का ३६ वर्षीय गणेशजंग अधिकारी (मृत्यु हुने)
२) ३० वर्षीय विकास थापा (जिप चालक)
३) ४० वर्षीय रेशम परियार,
४) ४६ वर्षीया प्रतिमा परियार,
५) ४८ वर्षीय रुकबहादुर परियार (पोखरामा उपचारका क्रममा निधन)
६) २८ वर्षीय सोनी श्रेष्ठ
७) २४ वर्षीय दिनेश परियार

भूकम्प पीडित परिवारलाई नगद सहित खाद्यान्न सहयोग

जेठ ३१/राम बहादुर रोकाहा: पहिलो पाइला नेपाल पोखरा शाखाले भुकम्पबाट पिडित कास्की माछापुच्छ्रे गाउँपालिका स्थित लाहाचोक निवासी भरत अधिकारीको परिवारलाई ६५ हजार नगदसहित खाद्यान्न सहयोग गरेको छ ।


भुकम्पले ग्रस्त भएका अधिकारीको परिवारलाई पहिलो पाइलाका सदस्यहरुले संकलन गरि रु.६५ हजार आर्थिक सहयोग र तत्कालका लागि पुग्ने गरि रु. ५ हजार बराबरको खाद्यान्न सहयोग गरेको पहिलो पाइला नेपाल पोखरा शाखाका उपाध्यक्ष रञ्जित दनैले जानकारी दिनुभयो ।


कास्कीको माछापुच्छ्रे गाउँपालिका-४ , लाहाचोक स्थित तिनघरे निवासी भरत अधिकारी हाल आफैं सुस्त मनस्थितीको शिकार भइ, केही गर्न नसक्ने अवस्थामा पुगेका छन् । उनको सानै उमेरमा बाबुको स्वर्गारोहण भइ टुहुरा भएका अधिकारी पढाईमा अब्बल हुँदाहुँदै पनि ७ कक्षामा पढ्दापढ्दै भारत देश पलायन भएर आफ्नो वैवाहिक जिवनपश्चात् भारतमा नै रहदै गर्दा घरायसी समस्या सहन नसक्दा बिरामी भएका उनी अहिले औषधि उपचारपछि सुस्त मनस्थितीका साथ जीवन व्यतित् गरिरहेका छन् ।


तीन सन्तान , वृद्ध अवस्थाकि आमा सबैको रेखदेख, पालानपोषण र बालबच्चाको शिक्षादिक्षाको अभिभारा अधिकारीकि श्रीमतीको काधमा थपिएको थियो। उनले गर्ने दैनिक ज्यालादारीले घर खर्चो टार्न धौधौ रहेको र केही दिन अघि मात्र आएको भुकम्पले बस्ने बास नै भत्काइदिएपछि झन समस्या थप भएको उक्त सहयोगी संस्थाका उपाध्यक्ष दनैले जानकारी दिए ।


यो कोरोनाको महामारीको अवस्थामा पनि युवा पिडिले समाज परिवर्तनको बाटोमा अगाडि बढ्दै गरेको संस्था पहिलो पाइला नेपाल पोखरा शाखाले भुकम्पले भत्किएको अधिकारीको घरको पुनर्निर्माणका लागि आर्थिक सहयोग संकलन गरि सोही वडाका वडा अध्यक्ष श्री पूर्ण तेज शाही र जिल्ला समन्वयका सदस्य श्री विष्णु पौडेलको उपस्थितिमा उक्त संकलित नगद रु ६५,००० ( पैसैठ्ठी हजार ) आर्थिक सहयोग र केहि समयलाई पुग्ने गरी खाद्यान्न सामाग्री वितरण गरेको हो ।

स्याङ्जामा फेरी थपियो निषेधाज्ञा,असार ७ सम्म लम्बियो

जेठ ३०/स्याङ्जा: कोरोना भाइरसका कारण फैलिएको महामारीका कारण जारी गरिएको निषेधाज्ञा लम्बिने क्रम जारी छ।

कोरोना संक्रमण कम नभएको भन्दै देशभर लकडाउन जारी छ भने स्याङ्जामा पनि असार ७ गते राती १२ बजेसम्मका लागि लागू हुने गरी निषेधाज्ञा थपिएको छ।

प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख भएअनुसार स्याङ्जामा निषेधाज्ञा २०७८ साल असार ७ गते राती १२ बजेसम्म कायम रहनेछ।

जेठ ३१ गते सम्मका लागि जारी गरिएको निषेधाज्ञालाई बढाएर असार ०७ गतेसम्म पुर्याइएकोे जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।

अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत प्रशासनले आग्रह गरेको छ । जिल्लामा गत बैशाख २१ गतदेखिे निषेधाज्ञा शुरु भएको हो।


सो अवधिमा राजश्व संकलन, विपद् व्यवस्थापन र सरकारी कामकाजका लागि बाहेक बैंकिङ्ग सेवा समेत पूर्ण रुपमा बन्द गरिने भएको छ । बैकिङ्ग सेवा बन्द भएपनि एटिएम सेवा भने सुचारु राखिने छ ।
औषधीजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि ११ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो । देशमै कोरोनाको दोस्रो लहर भित्रीएसङ्गै अछुतो नरहेको स्याङ्जामा पनि दोस्रो लहरको कोरोना संक्रमण दर बढेसँगै निषेधाज्ञाको समय थप गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।

अविरल वर्षाका कारण सिदार्थ राजमार्ग अवरुद्ध

जेठ ३०/स्याङ्जा: अविरल वर्षाका कारण सिदार्थ राजमार्ग अन्तर्गत स्याङ्जा-पोखरा सडकखण्ड अवरुद्ध भएको छ।


आज बिहान ०६:३० बजेको समयमा स्याङजा जिल्ला फेदीखोला गा.पा. वडा नं. २ भालुपहाड स्थित सिद्धार्थ राजमार्गमा अविरल बर्षाको कारण माथिबाट पहिरो आई बाटो पूर्ण रुपमा अबरोध भएको हो।

सडक विभाग र सम्बन्धित निकायसँग समन्वय गरी बाटो खुलाउने पहल भैरहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ ।