२०८३ अशोज ५, सोमवार

अर्जुनचौपारी गाउँपालिकाद्वारा पालिकाभर बृहत शैक्षिक उत्प्रेरणा कार्यक्रम सम्पन्न 

जेठ १३/स्याङ्जा : अर्जुनचौपारी गाउँपालिकाले आफ्नो पालिकाभर शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई लक्षित गरी बृहत शैक्षिक उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ। 

अर्जुनचौपारी गाउँपालिकाको आयोजना र बृहत शैक्षिक सुधार कार्यदल अर्जुनचौपारी तथा युथ फर अर्जुनचौपारीको समन्वयमा सञ्चालन गरिएको उक्त उत्प्रेरणात्मक कार्यक्रममा रवि किरण श्रेष्ठले सहजीकरण गरेका थिए। 

मिति २०८२ जेठ ५ गतेदेखि १३ गतेसम्म चलेको बृहत शैक्षिक उत्प्रेरणात्मक कार्यक्रममा पालिकाभरका विद्यालय, शिक्षक र अभिभावकको उपस्थिति रहेको थियो। वडा नं १ देखि वडा नं ६ सम्म फरक दिन र स्थानमा उक्त कार्यक्रम आयोजना गरिएको थियो। 

वडा नं १ स्थित पञ्चकन्या माविमा जेठ ५ गते आयोजना गरिएको कार्यक्रममा ३५० जना विद्यार्थी, २६५ जना अभिभावक तथा वडा नं १ का सम्पूर्ण विद्यालयका शिक्षकको उपस्थिति रहेको थियो। यसैगरी जेठ ६ गते घण्टे माविमा २०० जना विद्यार्थी र १५० जना अभिभावक उपस्थित भएका थिए। वडा नं ५ कै सर्वोदय माविमा जेठ ७ गते आयोजना गरिएको कार्यक्रममा २२० जना विद्यार्थी र २०० जना अभिभावकलाई उत्प्रेरणा प्रदान गरिएको थियो। 

जेठ ८ गते वडा नं ४ स्थित जन मावि रापाकोटमा आयोजित कार्यक्रममा २३० जना विद्यार्थी र २०० जना अभिभावक, जेठ ९ गते वडा नं २ स्थित अमरज्योति मावि लामडाँडामा १७० जना विद्यार्थी र १२० जना अभिभावक , जेठ ११ गते वडा नं ३ को कार्यालयमा ७५ जना विद्यार्थी र १२० जना अभिभावक गथा स्थानीय उपस्थित थिए। 

जेठ १२ गते वडा नं ६ स्थित दरौं माविमा आयोजित उत्प्रेरणा कार्यक्रममा १६० जना विद्यार्थी र २८० जना अभिभावक तथा स्थानीय उपस्थित थिए भने आज अर्जुनचौपारी गाउँपालिकाको सभाहलमा आयोजित अन्तिम दिनको कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका सम्पूर्ण विद्यालयका ३१२ जना शिक्षकहरु उपस्थित थिए। 

आफ्नो पालिकाभर शिक्षकको मनोबल उच्च राख्न, विद्यार्थीलाई अध्ययनप्रति सकरात्मक बनाउन र अभिभावकलाई समेत जिम्मेवार बनाउन पालिकाले यो कार्यको प्रारम्भ गरेको पालिका अध्यक्ष प्रकाश तिवारीले बताए। 

प्रशिक्षकको रुपमा रवि किरण श्रेष्ठले अर्जुनचौपारी गाउँपालिकाको यो कार्यक्रम निकै सकरात्मक र फलदायी रहेको बताए। उनले यसअघि पनि अर्जुनचौपारी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा उत्प्रेरणा प्रदान गर्दै आएका थिए।

स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिका बेरुजु सबैभन्दा कम हुने पालिका

जेठ १/स्याङ्जा : स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिका महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सबैभन्दा कम बेरुजु हुने पालिका बन्दै जिल्लाको प्रथम बनेको छ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदनमा कुल रकममा ०.१२ प्रतिशत मात्रै बेरुजु रहेको बिरुवा गाउँपालिकाले जिल्लामा यो वर्ष आफूलाई आर्थिक सुशासनमा अब्बल बनाएको हो।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार बिरुवापछि बेरुजु कम भएको पालिकामा कालीगण्डकी गाउँपालिका छ । कालीगण्डकीको ०.२४ प्रतिशत मात्रै बेरुजु देखिएको छ । यसैगरी फेदीखोला गाउँपालिमा कुल बजेटको ०.३४ प्रतिशत बेरुजु छ । बेरुजु कम गर्ने पालिकामा जिल्लाभित्र फेदीखोला गाउँपालिका तेस्रो स्थानमा छ । फेदीखोलापछि अर्जुनचौपारी गाउँपालिका चौथो स्थानमा छ। जसको कुल बेरुजु ०.३७ प्रतिशत छ।

बसाईसराई रोक्न कृषि विकास रणनीति बनाउँदै वालिङ

राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको वालिङ नगरपालिकाले दीर्घकालीन कृषि विकास योजना र रणनीति बनाउन सुरु गरेको छ । बसाईसराईको कारण गाउँको उर्वर जमिन बाँझै हुने अवस्था पुगेको भन्दै यसको रोकथामका लागि दीर्घकालीन योजना बनाउन सुरु गरेको नगर प्रमुख कृष्ण खांणले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँगाउँमा रहेको उर्वर भूमी बसाईसराइका कारण बाँझो हुने अवस्थामा पुगेको छ ।” कुन ठाउँमा कुन खेती गर्न सकिन्छ भन्ने स्पष्ट जानकारी नागरिकलाई दिन सके बसाईसराई रोकिने उहाँको भनाई छ ।


प्रमुख खांणले मेहनत गरे अनुसारको उत्पादन नहुँदा कृषक पेशाबाटै पलायन हुने अवस्था आएको बताउनु भयो । गाउँको बाँझो जमिनको सदुपयोग गर्न रणनीति अति आवश्यक परेको उहाँको बुझाई छ । कुन ठाउँमा के खेती गर्न आवश्यक छ भन्ने स्पष्ट खाका बनाउनु नगरपालिकाको योजना रहेको प्रमुख खांणले बताउनु भयो । वालिङ नगरपालिकाले हेफर प्रोजेक्ट नेपालसँगको सहकार्यमा दीर्घकालिन कृषि विकास योजना तथा रणनीति बनाउन लागिएको नगरप्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष पदमराज गुरुङले जानकारी दिनु भयो ।


१४ वटा वडा रहेको वालिङमा सबै वडाको वस्तुस्थिती सहित रणनीति तयार हुने हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डेले जानकारी दिनुभयो । वालिङ कृषि विकास परियोजनाको सम्झौता अनुसार हेफरको आर्थिक तथा प्राविधिक सहयोगमा रणनीति तयार गर्न लागिएको उहाँको भनाई छ । छलफलमा डाक्टर रामचन्द्र बस्ताकोटी,डाक्टर अम्मर शाह,नगेन्द्र बस्ताकोटी,अस्मिता नेपाल लगायतले कृषि विकास रणीनितको आवश्यक्ता र महत्वका बारेमा जानकारी गराउनु भएको थियो ।


कृषि विकास योजना र रणनीति निर्माण पश्चात पालिकाले कृषि र पशुपालनमा योजना बनाउन र काम गर्न सहज हुने विज्ञ डाक्टर रामचन्द्र बस्ताकोटीको भनाई छ । उहाँले भन्नुभयो,“काम गर्छु भन्ने कृषकलाई कुन ठाउँमा के काम गर्ने भन्ने स्पष्ट जानकारी दिन रणनीति आवश्यक छ ।”