२०८३ अशोज ५, सोमवार

वालिङका शिक्षकले राजनीति गरे कारवाही हुने,मेयरले लिने भए एक्सन

भदौ १५/वालिङ: स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाभित्र अध्यापन गराउने शिक्षकले अब सक्रिय राजनीति गर्न नपाउने भएका छन्।

वालिङ नगरपालिकाको नगरप्रमुख पदमा कार्यभार सम्हालेसँगै आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले वालिङ नगरपालिकाको गरिमा कायम राख्दै सुशासन र विकासमा आफ्ना योजनासहित उनले यो खुलासा गरेका हुन्।

शिक्षकको काम र शिक्षण पेशाको धर्म नितान्त विद्यार्थीको उज्वल भविष्य सृजना गर्ने र शिक्षा मार्फत समुन्नत समाजको निर्माण गर्ने भएकाले कुनै पनि शिक्षकलाई सक्रिय राजनीतिमा लाग्न निषेध गर्न लागिएको मेयर खाँणको भनाइ छ।

विगतमा आफू पनि शिक्षक भएको र राजनीतिमा आउन आफूले शिक्षण पेशा नै परिवर्तन गरेको जानकारी दिँदै उनले वालिङ नगरपालिकाका सम्पूर्ण शिक्षकलाई शिक्षक जस्तो भएर काम गर्न र राजनीति नगर्न निर्देश गरे।

वालिङ नगरपालिकाको नगरक्षेत्रमा ढल व्यवस्थापन गर्ने, धुलोमैलो व्यवस्थापन गर्न फरक व्यवस्था गर्ने, आँधीखोलामा चेकड्याम बनाउने, गह्रौँसुर मन्दिरमा पर्यटन वृद्धि गर्ने गरी गुरुयोजना तयार गर्ने, पर्यटकीय स्थल बाहुनथानलाई थप आकर्षक बनाउने, वालिङ – चापाकोटसम्म सुरुङमार्गको अध्ययन गर्ने लगायतका योजना प्रस्तुत गरेका थिए।

वालिङका लथालिङ्ग तारहरू व्यवस्थित गर्न मेयरले दिए निर्देशन

भदौ १५/वालिङ: वालिङ नगरपालिकाले वालिङ बजारमा सडक तथा बजार क्षेत्र नै कुरुप हुने गरी राखिएका बिजुली, इन्टरनेट तथा केबुलका तारहरु व्यवस्थित सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । सेवा प्रदायकहरूसँग छ्लफल गरी ३५ दिनभित्र अव्यवस्थित रुपमा रहेका तारहरु व्यवस्थापन गर्न निर्देशन दिइएको नगर प्रमुख कृष्ण खाँणले बताए ।

वालिङको मुख्य चोकको पोलमा असरल्ल तार

अव्यवस्थित तारहरूले शहर नै कुरुप भएको हुँदा पूराना र अनावश्यक तारहरू हटाउन निर्देशन दिइएको नगर प्रमुख खाँणले जानकारी दिए। तोकिएको समयभित्र सम्बन्धित निकायले तारहरु व्यवस्थित नगरेमा पालिकाले नै तारहरू हटाउने तर त्यस वापतको क्षति सेवा प्रदायकले नै बेहोर्नुपर्ने नगरपालिकाले जनाएको छ।

भाग्योदय नमुना मावि स्याङ्जाको नमुना भवन शिलान्यास

भदौ १३/स्याङ्जा: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं ६ उजेलीडाँडामा अवस्थित भाग्योदय नमुना माविको नमुना भवनको आज शिलन्यास गरिएको छ।

नेपाली कांग्रेसका पूर्वउपसभापति तथा पूर्व उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले आज एक कार्यक्रमका बीच उक्त भवनको शिलान्यास गरेका हुन्।

उक्त शिलन्यास कार्यक्रममा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, भीरकोट नगरपालिकाका मेयर गोविन्द कर्माचार्य, उपमेयर भगवती अर्याल, भीरकोट नगरपालिकाका संस्थापक मेयर छायाराम खनाल, नेकपा एमाले भीरकोट नगरअध्यक्ष विश्वनाथ अर्याल, नेपाली कांग्रेस भीरकोट सभापति लक्ष्मण अधिकारी, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद पौडेल, विद्यालय निरीक्षक नविन थापा, भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदिश प्रसाद कोइराला लगायत विभिन्न सामाजिक व्यक्तित्व, शिक्षक, पत्रकार तथा सयौँ विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा बोल्दै बक्ताहरुले विद्यालय यस समाजको गहना रहेको र यसलाई नामको मात्र नमुना नभई विद्यार्थीको उज्वल भविष्य, प्राविधिक सीप, नैतिकता र अनुशासन, सामाजिक सद्चरित्र निर्माणको निम्ति समाजको अभिन्न दर्पण बनाउनुपर्ने कुरामा जोड दिएका थिए।

१ करोड ४९ लाख २८ हजार ९ सय १८ रुपैयाँ लागत रहेको उक्त भवन २०८० साल जेठ १० गते सम्पन्न गर्ने लक्ष्य राखिएको छ। उक्त भवनको निर्माण गर्ने ठेक्का गजिन्द्र निर्माण सेवाले पाएको छ।

उक्त भवन शिलान्यास कार्यक्रममा संस्कृतिविद् डा. तुलसी प्रवास खनाललाई सम्मान समेत गरिएको थियो।‌‌

लियो जिल्ला परिषद ३२५ एम नेपालको बैठक होमस्टेमा सम्पन्न

भदौ ५/पोखरा: लियो जिल्ला परिषद ३२५ एम , नेपाल द्वारा प्रथम कार्यसमितिको बैठक कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ०१ टुसेमा सम्पन्न गरेको छ l

कार्यक्रमको उट्घाटन माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङज्युले पानसमा दीप प्रज्ज्वलन गरी गर्नुभएको थियो l कार्यक्रमका प्रमुख अतिथि गुरुङले गाउँ कार्यपालिकाको तर्फबाट यस स्थानलाई महत्त्व दिएर कार्यक्रमको लागि छनोट गर्नु भएकोमा धन्यवाद दिनुभयो l र लियो जिल्ला परिषद ३२५ एम , नेपाल र माछापुच्छ्रे गाउँपालिकाको एउटा सम्बन्ध गासिएको र साझेदारीमा कार्यक्रम गर्न गाउँपालिका तयार रहेकोे समेत बताउनु भयो।

कार्यक्रममा जोन चियर प्रसन लायन राजु देवकोटा , कोषाध्यक्ष लियो प्रेम्रराज तिवारी , जन्मसम्पर्क अधिकृत लियो बिदुर सापकोटा ,( सि ,आर , सि ) लियो निश्चल हमाल ठकुरी, (अा ,र , सि) लियो प्रवेश कुमार कार्की , लियो रमेश पाण्डे , लियो सन्तोष बराल लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो l
बैठकले प्रथम लियो जिल्ला परिषद बैठक भदौ २५ गते काठमाडौमा हुने र लियो क्लब अफ अटल पिंगलास्थानलाई होष्ट गर्न दिने लगायतका महत्त्वपूर्ण निर्णय बैठकले पारित गरेको छ।

कार्यक्रममा अध्यक्षता लियो सुशील भण्डारी ज्युले गर्नुभएको थियो। स्वागत उपाध्यक्ष लियो आस्बिन खतिवडाज्युले र संचालन भने सचिव लियो दिक्षान्त खाँणज्युले र धन्यवाद मन्तव्य कार्यक्रम संयोजक लियो सुजन लम्सालज्युले गर्नुभएको थियो l कार्यक्रमको संयोजन लियो क्लब अफ पोखरा माउन्टेन सिटी र लियो क्लब अफ पोखरा माछापुच्छ्रे द्वारा गरेको थियो l कार्यक्रमको जानकारी कार्यक्रम सह -संयोजक लियो ज्ञानु पौडेलले दिनुभएको थियो l

श्रीकृष्ण जन्माष्टमीको अवसरमा ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालयले गर्यो कार्यक्रम

भदौ ३/स्याङ्जा: श्रीकृष्ण जन्माष्टमीको अवसरमा ब्रम्हकुमारी विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र भीरकोटले बयरघारीस्थित आफ्नै भवनमा आज श्रीकृष्ण जन्माष्टमी महोत्सव कार्यक्रम सम्पन्न गरेको छ।‌‌

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका भीरकोट नगरपालिका वडा नं २ का वडाध्यक्ष श्यामकाजी अधिकारीले आफ्नो क्षेत्रमा यस्ता कार्यक्रम हुनु राम्रो कुरा भएको भन्दै श्रीकृष्ण जन्माष्टमीको शुभकामना व्यक्त गरेका थिए।

विशिष्ट अतिथिको रुपमा उपस्थित भीरकोट नगरपालिका प्रवक्ता तथा वडा नं १ का वडाध्यक्ष दीपेन्द्र केसीले यस्ता धार्मिक कार्यक्रमको सञ्चालनले मात्र समाजका धार्मिक चेतना र शान्ति फैकाउन सहयोग गर्ने भन्दै कार्यक्रम निरन्तरताको कामना गरेका थिए।‌‌

भगवान श्रीकृष्ण त्यागको प्रतिमूर्ति भन्दै विश्व हिन्दु महासंघ भीरकोटका अध्यक्ष एवम् भीरकोट नगरपालिका वडा नं ८ का वडाध्यक्ष नन्दलाल खनालले भगवान श्रीकृष्णलाई माया,प्रेम, सद्भाव र आदर्शको प्रतिबिम्ब रुपमा समाजले स्वीकार गरेको बताए। धर्मले सदाचार र समाजसेवामा जोड दिएको भन्दै भगवान श्रीकृष्णले देखाएको कर्म र दर्शनको बाटोमा लाग्न सबैलाई अनुरोध गरे।

मानव जीवन सफल बनाउनको लागि भगवान श्रीकृष्णले गरेको त्याग र बलिदान सम्झेर भगवान श्रीकृष्णको मार्गमा हिँड्न सके मानव जीवन सफल हुने भन्दै भीरकोट नगरपालिका वडा नं ६ का वडाध्यक्ष लक्ष्मण खत्रीले श्रीकृष्ण जन्माष्टमीको शुभकामना व्यक्त गरेका थिए।

ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय भीरकोटकी सञ्चालक श्री सुभास दिदीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा योग तथा ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजयोग सेवासँग सरोकार राख्ने शिक्षक, पत्रकार, समाजसेवी, राजनीतिकर्मी लगायत ५० बढीको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा भगवान श्रीकृष्ण महिमा तथा भगवान श्रीकृष्णसँग सम्बन्धित चरित्रहरुको प्रदर्शन गरिएको तथा नाच समेत प्रस्तुत गरिएको थियो।

विरुवा गाउँपालिकाले गर्यो विपद् जोखिम व्यवस्थापन तालिम सम्पन्न

भदौ २/स्याङ्जा: स्याङ्जा जिल्लाको विरुवा गाउँपालिकाले विपद् जोखिम व्यवस्थापन सम्बन्धी २ दिने अभिमुखीकरण तालिम सम्पन्न गरेको छ।

आफू मातहतका सम्पूर्ण कर्मचारी तथा सरोकारवालाहरुलाई विपद्को अवस्थामा गरिने उद्धार कार्य, विपद् आउनुअघिका सावधानी तथा तयारी र विपद् पश्चात गरिने उद्धार कार्यसम्बन्धी चेतना र रिहर्सल सहित तालिम आयोजना गरिएको विरुवा गाउँपालिकाले जनाएको छ।

२ दिन सम्म चलेको उक्त कार्यक्रममा करिब ५० बढीको सहभागिता रहेको विरुवा गाउँपालिकाले जनाएको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मै विपद् व्यवस्थापन सम्बन्धी पूर्वतयारी हरेक स्थानीय तहले गर्नुपर्ने उल्लेख छ।

विरुवा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा अनन्तराज न्यौपाने आएपछि गाउँपालिकामा सामाजिक तथा प्रशासनिक कार्यले चुस्तता पाएका छन्।

“गठबन्धनको एकमात्र समाधान चुनावमा हाम्रो विजय हो” : पद्मा अर्याल

भदौ २/स्याङ्जा: नेकपा एमालेकी केन्द्रीय सचिव तथा पूर्वमन्त्री एवं संघीय सांसद् माननीय पद्मा अर्यालले हालको गठबन्धन सरकारले गरेको मनपरी रोक्ने र देशको अस्तित्व बचाउने एक मात्रै अचुक उपाय भनेको आउँदो चुनावमा एमालेको विजय हो भनेकी छन्।

आज स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकामा नेकपा एमाले भीरकोट नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्वमन्त्री अर्यालले गठबन्धन काँडो भएको र यसलाई बेलैमा नफाले विषाउने कुरा बताएकी हुन्।

नागरिकता विधेयकदेखि महँगी र हालका सम्पूर्ण क्रियाकलापलाई नेकपा एमालेले नियालिरहेको र यी सबै क्रियाकलाप विरुद्ध सशक्त प्रतिकार गरिरहेको अर्यालको भनाइ थियो। ” देशमा संबृद्धि, दिगो विकास र रोजगारी सिर्जना गर्न नेकपा एमालेको बहुमतको सरकार अनिवार्य छ।” यसको लागि महिला, युवा, विद्यार्थी, किसान लगायतका सम्पूर्ण जनवर्गीय संगठनहरुको सक्रिय भूमिका अनिवार्य रहेको र गाउँ-गाउँ, टोलटोलमा पुगेर जनमत निर्माणमा लाग्न पूर्वमन्त्री अर्यालले निर्देश गरेकी छन्।

आफू मन्त्री हुँदा भीरकोट नगरको गरिमा बन्न सक्ने योजना तयार गरी भीरकोट नगर अस्पताल बनाउन १९ करोड विनियोजन गरी पठाउँदा पनि भीरकोट नगरपालिकाले प्राविधिक कारण देखाई बजेट फ्रिज गराउनु निकै दु:खद कुरा भएको पद्मा अर्यालको गुनासो थियो। विकास भन्ने कुरा साझा हुने र विकासले समाजका सबै तह तप्काका मानिसलाई समेट्ने भन्दै उनले विकासका काममा राजनीति नगर्न समेत जोड दिइन्।

सिटी हल, विभिन्न पुलहरु, बाटो र खानेपानीको निम्ति आफूले सक्ने जति सबै जोड गेर बजेट विनियोजन गर्दा समेत काम नहुनु निकै दु:खद कुरा रहेको उनको भनाइ थियो।

उक्त प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल तथा गण्डकी प्रदेश सांसद् माननीय मोहन रेग्मीले समेत बोल्दै नेकपा एमालेको जनमत निर्माणमा गम्भीर भएर लाग्न तथा चुनावी प्रचारप्रसार तिव्र रुपमा सञ्चालन गर्न अनुरोध गरेका थिए।

६ दलको गठबन्धनसँग नेकपा एमाले एक्लै लडेर चुनावमा विजयी हुने लक्ष्यका साथ तयारी गर्न सम्पूर्ण स्थानीय नेता तथा कार्यकर्ता तयार भएका छन्।‌‌

तमु समाज बयरघारीमा नेकपा एमाले भीरकोट नगरअध्यक्ष विश्वनाथ अर्यालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा नेकपा एमाले निकट विभिन्न भातृसंगठनका नेता तथा कार्यकर्ता सहित करिब २०० जना व्यक्तिहरुको उपस्थिति रहेको थियो।

बिरुवा गाउँपालिकाले गर्यो,आफ्नो पालिका क्षेत्रका पसलको अनुगमन

साउन २५/स्याङ्जा: स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय स्याङ्जाको अनुरोध बमोजिम आज आफ्नो पालिका क्षेत्रमा बजार अनुगमन तथा निरीक्षण गरेको छ।

बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत अनन्तराज न्यौपाने सहितको कर्मचारी तथा जनप्रतिनिधिको टोलीले आज बजार अनुगमन सम्पन्न गरेको हो।

बजार अनुगमनको क्रममा अधिकांश पसलहरुले म्याद गुज्रिएको सामान बेचेको पाइएको, पसल दर्ता नगरी सञ्चालन गरिएको, दर्ता भएका पसल नविकरण नगरिएको, मूल्यसूची समेत टाँस नगरिएको पाइएकाले म्याद गुज्रिएको सामान जफत गरी कानून बमोजिम हुनेगरी सञ्चालन गर्न निर्देश गरिएको प्रमुख प्रशासकीय अधिकृत अनन्तराज न्यौपानेले जानकारी दिए।

बिरुवा गाउँपालिकाको अनुगमन टोलीले ४५ भन्दा बढी पसलको स्थलगत अनुगमन तथा निरीक्षण गरेको थियो।

दहथुम बहुमुखी क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरियो

साउन २४/स्याङ्जा: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाले दहथुम बहुमुखी क्याम्पस दहथुममा अध्ययनरत ५८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

आज दहथुम बहुमुखी क्याम्पसमा एक कार्यक्रम आयोजना गरी एक लाख बयासी हजार बराबरको रकम छात्रवृत्ति प्रदान गरिएको जनाइएको छ। उक्त कार्यक्रममा भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कर्माचार्य, पूर्व नगरप्रमुख छायाराम खनाल, नेकपा एमाले भीरकोट नगरअध्यक्ष विश्वनाथ अर्याल लगायत स्थानीय समाजसेवी पिताम्बर श्रेष्ठ, क्याम्पस सञ्चालक समितिका पदाधिकारी, शिक्षक, पत्रकार र दहथुम बहुमुखी क्याम्पसमा अध्ययनरत करिब ८० जना विद्यार्थीको सहभागिता रहेको थियो।

दहथुम बहुमुखी क्याम्पसलाई स्तरोन्नति गरी यस क्षेत्रकै उत्कृष्ट क्याम्पस बनाउने अभियानका साथ कार्ययोजना अघि बढेको क्याम्पस व्यवस्थापन समितिले जनाएको छ।

स्याङ्जाको छायाँक्षेत्र मन्दिरमा गाडियो २५ फुट अग्लो त्रिशूल

साउन २२/स्याङ्जा: स्याङ्जा जिल्लाको प्रसिद्ध धार्मिक स्थल छायाँक्षेत्र मन्दिरमा त्रिशूल स्थापना गरिएको छ।

समाजका विभिन्न सहयोगीहरुबाट संकलन गरिएको रकमबाट त्रिशूल खरिद गरी छायाँक्षेत्र मन्दिरमा स्थापना गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

२५ फुट अग्लो त्रिशूल निर्माणको लागि १ लाख ३० हजार मूल्य लागेको बुझिएको छ। उक्त त्रिशूललाई छायाँक्षेत्र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठ र भीरकोट नगरपालिकाका पूर्व नगरप्रमुख छायाराम खनालले एकसाथ अनावरण गर्दै यस क्षेत्रको प्रसिद्ध छायाँक्षेत्र मन्दिरलाई देशव्यापी प्रचारप्रसार गर्न सबैमा अनुरोध समेत गरे।

स्वस्थानी ब्रतकथामा समेत उल्लेख गरिएको र स्याङ्जा जिल्लाकै प्रसिद्ध धार्मिक स्थल छायाँक्षेत्र मन्दिरमा १०८ जलधारा समेत निर्माण गर्ने प्रक्रिया अघि बढाउन लागिएको जनाइएको छ। साउन महिनाभर शिव अनुयायीको यस मन्दिरमा घुइँचो लाग्ने गर्दछ भने शिवरात्रि तथा एकादशी पर्वमा समेत भक्तजनको यहाँ भीड हुने गर्दछ।