२०८३ अशोज ५, सोमवार

गुप्तेश्वर युवा क्लब दाह्रेगौँडाद्वारा आयोजित भलिबल प्रतियोगिताको उपाधि पर्वतलाई, आयोजक द्वितीय

खबरकलम संवाददाता /स्याङ्जा: गुप्तेश्वर युवा क्लब दाह्रेगौँडाद्वारा आयोजित भलिबल प्रतियोगिताको उपाधि फलेबास नगरपालिका पर्वतको टोलीले जितेको छ।

आज आयोजित भलिबल प्रतियोगिताको फाइनलमा आयोजक गुप्तेश्वर युवा क्लब दाह्रेगौँडाको टोलीलाई २- १ को सेटमा हराएर पर्वतले उपाधि जितेको हो। उपाधिसँगै विजेता टोलीले नगद रु ५१ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्यो। यस्तै अग्रदीप युवा क्लब लामडाँडाले तेस्रो स्थान हात पार्यो।

नयाँ वर्ष २०८२ सालको अवसरमा आयोजना गरिएको उक्त प्रतियोगितामा विभिन्न स्थानका १२ वटा टोलीको सहभागिता रहेको थियो।

फाइनल समारोह कार्यक्रममा प्रमुख अतिथिको रुपमा अर्जुनचौपारी गाउँपालिकाकी उपाध्यक्ष सपना गुरुङ उपस्थित थिइन् भने विशिष्ट अतिथिको रुपमा भीरकोट नगरपालिका वडा नं ७ का वडाध्यक्ष ताराप्रसाद अर्याल, दलित उद्यान केन्द्र अर्जुनचौपारी संयोजक दीपक विश्वकर्मा, विश्व हिन्दू युवा संघ स्याङ्जा अध्यक्ष नवराज पौडेल लगायतका व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो।

देउडा गायक प्रेम रसाइलीको “साइ बिना म‌ आधा” सार्वजनिक

खबरकलम संवाददाता/वैशाख ४: देउडा गायक प्रेम रसाइलीको ” साइ बिना म आधा” देउडा गीत सार्वजनिक भएको छ।

रोकाया डिजिटल युट्युब च्यानलमार्फत उक्त देउडा गीत सार्वजनिक भएको हो। गायक प्रेम रसाइली तथा चर्चित गायिका इब्सल सञ्ज्यालले उक्त गीतमा स्वर दिएका छन्। सुदर्शन थापा “दर्सु” को शब्द संकलन रहेको उक्त गीतमा विकास रोकाया र दिलबहादुर बिकको संगीत रहेको छ।

उक्त गीतमा भिडियो छायाङ्कन भने रमेश बिजुली बिसीको छ भने अभिनय समेत बिसी र कोपिला सिंह ठकुरीको रहेको छ।

स्याङ्जा र पर्वत जोड्ने जिल्लाकै पूरानोमध्येको नागडाँडा-सिरुबारी-घण्टे सडक कालोपत्रे हुँदै

खबरकलम संवाददाता/चैत २०: स्याङ्जा जिल्लाको पूरानो सडकमध्येको एक नागडाँडा-सिरुबारी-घण्टे सडक कालोपत्रे हुने भएको छ।

स्याङ्जा जिल्लाको मात्र नभई दक्षिण एशियाकै पहिलो ग्रामीण पर्यटकीय स्थल सिरुबारी जोड्ने पूरानो सडक अब कालोपत्रे हुने अन्तिम तयारीमा पुगेको हो। स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका स्थित नागडाँडाबाट सुरु भई पञ्चमूल, सिरुबारी, आरुचौर हुँदै घण्टे पुग्ने यस सडकको कालोपत्रे दुई करोड १० लाख रुपैयाँ बजेटमा हुन लागेको जानकारी आँधीखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले दिए।

उनका अनुसार यस सडकको प्रदेश सरकार र संघीय सरकारको लगानीमा १७ किमि कालोपत्रे गरिन लागेको हो। जसमध्ये सडकको बीचमा रहेको पर्यावरणीय रुपले संवेदनशील खण्डको ६०० मिटर ट्रयाकको पनि ठेक्का खोल्ने तयारी भैरहेको छ।

यस बाटोको कालोपत्रेसँगै धारु, भक्किम्ले आरुचौर घण्टे हुँदै पर्वतसम्म जोडिने सबैभन्दा छोटो सडकको रुपमा रहने र २० वर्षसम्म छायाँमा परेको सडकले मुहार फेर्ने अध्यक्ष पौडेलले जानकारी दिए।

यस सडकमा दैनिक २० वटा बस र जिपले सेवा दिइरहेका छन् भने पर्यटकीय स्थल सिरुबारी पुग्ने थुप्रै पर्यटकका सवारी समेत यही बाटो हुँदै आवातजावत गर्दछन्।

यस सडकको कालोपत्रेसँगै ४०० घरधुरीले प्रत्यक्ष रुपमा सेवा लिने र ग्रामीण उत्पादनले समेत बजार पाउने छन्।