२०८३ अशोज ६, मङ्लबार

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै १० औँ राष्ट्रिय पुस्तक दिवस मनाइयो

माघ १३/युवराज अर्याल: वसन्त पन्चमी एवं श्रीपञ्चमीको अवसरमा मनाउँदै आईएको पुस्तक दिवस नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ स्याङ्जा शाखाले यसवर्ष पनि आर्थिक विपन्न तथा जेहेन्दार बिद्यार्थीलाई पाठ्यसामग्री वितरण गरेर मनाएको छ ।

माघ १२ गते बिहीबार स्याङ्ग्जा शाखाद्वारा वालिङ नगरपालिका वडा नम्बर १४ थुमपोखरास्थित जनहित माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी कापि, कलम सहित विभिन्न स्टेशनरी सामग्री बितरण गरियो ।
जनहित माध्यमिक विद्यालयको ५४ औँ वार्षिकोत्सव अवसर पारेर गरिएको कार्यक्रममा स्याङ्गजा क्षेत्र नम्बर २ का साँसद धनराज गुरुङ्ग, वालिङ नगरपालिका प्रमुख कृष्ण खाँण, १४ नम्बर वडाध्यक्ष बोधराज कुँवर (राजु), प्रधानाध्यापक मिन बहादुर लुइँटेल, वद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृता कुँवर, नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासङ्घका केन्द्रीय सदस्य तथा स्याङ्जा शाखाका निवर्तमान अध्यक्ष किसान श्रेष्ठ, गण्डकी प्रदेश सदस्य छायादेवी लुइँटेल, धन बहादुर बहादुर अधिकारी लगायतका अतिथि रहनुभएको थियो ।

Exif_JPEG_420


कार्यक्रममा स्वागत मन्तव्य राख्दै गण्डकी प्रदेश सदस्य पुस्तक व्यवसायी छायाँदेवी लुइँटेलले श्रीपञ्चमीको बिशेष दिन र पाठ्यपुस्तकको महत्वलाई बुझेर यो दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउन आग्रह गर्नुभयो, शिक्षक टोप बहादुर अधिकारी, बिद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष लोकनाथ तिवारी, वडा नम्बर १४ का अध्यक्ष बोधराज कुँवर लगायतका वक्ताहरुले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।


कार्यक्रममा स्थानीय समाजसेवी र उल्लेख्य अभिभावक एवं वद्यार्थीको उपस्थिति रहेको थियो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा स्याङ्ग्जाका अध्यक्ष रामु लुइँटेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन जिल्ला शाखा सहसचिव युवराज अर्यालले गर्नुभएको थियो ।

स्याङ्जामा परीक्षा हलबाट विद्यार्थीको मोबाइल चोर्ने शिक्षक पक्राउ

माघ ११/स्याङ्जा: परीक्षा हलबाट आफ्नै विद्यार्थीको मोबाइल चोरेको आरोपमा गार्ड बसेका शिक्षकलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ ।


कास्कीको पोखरा महानगरपालिका -१९ का २१ वर्षीय किरण तिवारीलाई पक्राउ गरिएको प्रहरी कार्यालयले जनाएको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका -१ स्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा गत साउन महिनामा संचालन भएको स्नातक तह दोस्रो वर्षको वार्षिक परिक्षामा मोबाइल फोन डेस्कमा राखी सहभागी भएकी विद्यार्थीको सोही हलमा परिक्षा गार्ड बसेका कम्प्युटर पढाउने शिक्षक तिवारीले मोबाईल चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलासा भएको हो ।


अनुसन्धानको क्रममा तिवारीले चोरेको भिभो कम्पनीको मोबाईल बरामद समेत भएको र उनलाई चोरी शिर्षकमा मुद्दा दर्ता गरि जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरि अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिनुभयो ।


पक्राउ परेका तिवारीले तत्कालीन समयमा त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा विभिन्न तहमा अध्यनरत विद्यार्थीहरुलाई कम्प्युटर विषय पढाउँदै आएपनि वर्तमान समयमा क्याम्पसमा कर्मचारीको रुपमा नरहेको उक्त क्याम्पस प्रशासनले जनाएको छ ।

विरुवा बजारमा बृहत स्वास्थ्य शिविर सञ्चालन हुने

माघ १०/स्याङ्जा: स्याङ्जा जिल्लाको विरुवा गाउँपालिकामा बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रालि पोखराको प्राविधिक सहयोग र विरुवा गाउँपालिकाको आयोजनामा उक्त शिविर सञ्चालन हुन लागेको हो।

मृगौला रोग, पेट तथा छाती रोग, मुटु रोग, महिला तथा प्रसुति रोग, इसिजी, हाडजोर्नी तथा नसा रोग, भिडियो एक्सरे, रगत तथा खकार जाँच लगायतका सेवा सहित स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको विरुवा गाउँपालिकाले जनाएको छ।

माघ १४ गते शनिबारको दिन विरुवा स्वास्थ्य चौकीको प्राङ्गणमा उक्त शिविर सञ्चालन गर्न लागिएको हो।

झापाकोट युवा क्लबको आयोजना र नेपाली बाजे स्याङ्जाको संयोजनमा न्यानो कपडा वितरण

माघ ८/जीवन अर्याल: झापाकोट युवा क्लबको आयोजना र नेपाली बाजे स्याङ्जाको संयोजनमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

पुतलीबजार नगरपालिका वडा नं १३ हिरापाटा स्थित बिपी स्मृति आधारभूत विद्यालयमा एक कार्यक्रम गरी न्यानो कपडा वितरण गरिएको नेपाली बाजे स्याङ्जाका संयोजक माधवप्रसाद रेग्मीले जानकारी दिए। पुतलीबजार नगरपालिकाका प्रमुख तुलसी रेग्मीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य कुमबहादुर गुरुङ, नेपाली कांग्रेस पुतलीबजार सभापति सुरजकुमार अधिकारी, पुतलीबजार नगरपालिका वडा नं १३ का वडाध्यक्ष जुद्धबहादुर थापा, पुतलीबजार नगरपालिकाका नगरप्रवक्ता मनोज पौडेल लगायत शिक्षक, स्थानीय समाजसेवी, बृद्धबृद्धा, युवा तथा थुप्रै स्थानीयहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा दुईवटा विद्यालयमा अध्ययनरत ३७ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो। यसअघि पनि नेपाली बाजे टीमले विभिन्न सामाजिक र परोपकारका कार्यक्रम गर्दै आएको छ।

स्वागत मन्तव्य नेपाली बाजे स्याङ्जाकी सहसंयोजक सञ्जु कुँवरले दिएको उक्त कार्यक्रममा अध्यक्षता नेपाली बाजे स्याङ्जाका संयोजक माधवप्रसाद रेग्मीले गरेका थिए भने सञ्चालन झापाकोट युवा क्लबका सचिव सूर्य जिसीले गरेका थिए। साथै झापाकोट युवा क्लबका अध्यक्ष महादेव अर्यालले नेपाली बाजे स्याङ्जाको कार्यको प्रशंसा गर्दै मायाको चिनो प्रदान गरेका थिए।

स्याङ्जा विरुवाका उत्कृष्ट कृषकहरूलाई १ लाख नगद पुरस्कार सहित सम्मान

माघ ७/एनपी कोइराला, स्याङ्जा: स्याङ्जाको विरुवा गाउँपालिकाले पालिकाभित्रका उत्कृष्ट २ जना कृषकहरूलाई जनही १ लाख नगद पुरस्कार सहित सम्मान गरेको छ। यही शुक्रबार आयोजित १२ औं गाउँसभामा एकीकृत कृषि तथा पशुपालन फर्मका संचालक ओम बहादुर थापा र मौसम एग्रो फर्मका संचालक दिनेश रानालाई नगद पुरस्कारसहित सम्मान गरिएको हो।

थापाले कृषि तर्फको उत्कृष्ट पुरस्कार पाएका हुन् भने रानाले पशुपालन तर्फको उत्कृष्ट पुरस्कार पाएका हुन्।कृषितर्फ उत्कृष्ट हुनुभएका थापाले विगत ३ वर्षदेखी व्यवसायिक कृषि गर्दै आएका छन्। उनले सञ्चालन गरेको एकीकृत पशुपालन फर्ममा तरकारी खेतीका लागि स्थाई र अस्थायी प्रकृतिका गरी करिब एक दर्जन प्लास्टिक टनेलहरु रहेका छ्न्। मह उत्पादनमा आत्मनिर्भर भैसकेको विरुवा गाउँपालिकामा उनको फर्ममा मात्रै २९ वटा मौरीका घारहरू छ्न्। यसैगरी पशुपालनतर्फ उत्कृष्ट भएका दिनेश रानाको बाख्रा फर्म छ। उनको मौसम एग्रो फर्ममा ७९ वटा बाख्रा छ्न्। उनले पनि विगत ३ वर्षदेखि पशुपालन गर्दै आएका छन्।

पालिकाको एक मात्र समृद्धिको आधार व्यवसायिक कृषि भएकाले कृषकलाई प्रोत्साहन गर्न नगद पुरस्कार सहित सम्मान गरिएको पालिकका प्रमुख प्रशासकीय अधिकृत अनन्तराज न्यौपानेले बताए। “समृद्ध विरूवाबासी, सुखी विरूवाबासी” नाराको व्यवहारिक कार्यान्वयनतर्फ पालिका अग्रसर रहेको गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले बताए। युवाहरूलाई कृषि व्यवसायतर्फ आकर्षित गर्न कृषि तथा पशुपालन व्यवसायमा आबद्ध पालिका भित्रका उत्कृष्ट किसानहरूलाई गाउँ सभामा पुरस्कृत गरिएको उनको भनाइ छ।

उक्त सभामा पालिकाले आफूलाई चाहिने विविध ऐन तथा नियमावली समेत बनाएर पारित गरेको छ। विनियोजन ऐन, आर्थिक ऐन, गाउँ प्रहरी ऐन, प्रज्ञा प्रतिष्ठान ऐन, बालिबलिकाको अधिकार सम्बन्धि ऐन, प्रशासकीय कार्यविधी ऐन ,कार्यविभाजन नियमावली लगायतका एक दर्जन भन्दा बढी ऐन, नियमावली र प्रतिवेदन सर्वसम्मत पारित गर्दै पालिकाको १२ औं गाउँ सभा सम्पन्न भएको छ।

पहिलो पाइला नेपाल स्याङ्जाद्वारा सदरमुकाममा दीप प्रज्वलन

माघ ३/स्याङ्जा: पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको सम्झनामा आज स्याङ्जा सदरमुकाममा दीप प्रज्वलन गरिएको छ ।

पहिलो पाइला नेपाल स्याङ्जाको आयोजनामा सन्ध्या लामिछानेको संयोजकत्वमा पुतलीबजार नगरपालिका -१ चौकीस्थित बि.पि. चोकमा आज दीप प्रज्वलन गरिएको हो ।

आइतबार काठमाडौंदेखि पोखराका लागि उडान लिएको यती एयरलाइन्सको एटिआर विमान 9N-ANC मा दुर्घटनामा परि चालक दलका ४ जना सहित सवार ७२ जना सबैको निधन भएको थियो ।
उक्त विमान दुर्घटनामा परेका दिवाङ्गत आत्माहरुको चिर शान्तिको कामना गर्दै मृतकहरुप्रति एक मिनेट मौन धारण गरिएको थियो । पहिलो पाइला नेपाल स्याङ्जा शाखा सदस्य पवन मरासिनीले शोक मन्तव्य राख्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै उहाँकै संचालनमा उक्त शोक सभा सम्पन्न भएको हो ।

रामबहादुर रोका/स्याङ्जा

दरौँखोला सामीप्य समाज पोखराको दोश्रो अधिवेशनबाट अध्यक्षमा बोधराज गौतम निर्वाचित

पौष ३०/पोखरा: दरौँखोलाबाट पोखरा आई विभिन्न व्यवसाय,जागिर पेसा तथा स्थायी बसोबास गरी बसेका मानिसहरूको सुखदुःखको साझा चौतारीका रूपमा निर्माण भएको समाजको आज दोस्रो अधिवशन,पाँचौँ साधारण सभा तथा रमाइलो वनभोज कार्यक्रम संस्थाका अध्यक्ष शोभित खड्काको अध्यक्षतामा सम्पन्न भएको छ।

संस्थाका संरक्षक एवम् कार्यक्रमका प्रमुख अतिथि घनश्याम रिजालले संस्थाको प्रशंसा गर्दै समाजको बहुउद्देश्यीय भवन निर्माणका लागि सहकार्य र एकताको आवश्यकता भएको बताउनुभयो।संस्थाले साधारण सभाका अवसरमा प्रा.डा.कृष्ण कोइराला,बाल प्रभात बोर्डिङ स्कुल र लेखा संयोजक शिव अर्याललाई सम्मान गरेको छ भने संस्थाका संरक्षक श्री रामेश्वर अर्याललाई संरक्षकको प्रमाणपत्र प्रदान गरेको छ।

कार्यक्रमको पहिलो सत्रमा युवाका तर्फबाट बालकृष्ण घिमिरे,सल्लाहकार वरिष्ठ सई होतबहादुर रोका,संरक्षक रामेश्वर अर्यालले शुभकामना मन्तव्य राख्नुभएको थियो भने अनुजा गौतमले सन्देशमूलक कविता प्रस्तुत गर्नुभएको थियो। पोतप्रसाद अर्याल संयोजक,सदस्यमा शिवप्रसाद अर्याल र डिल्लीराम अर्याल रहेको निवार्चन मण्डलले बोधराज गौतमको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ।

यसैगरी कार्यसमितिको उपाध्यक्षमा गङ्गाराम पौडेल,सचिवमा नम रोका,सहसचिवमा विनिता घिमिरे, कोषाध्यक्षमा रामबहादुर क्षेत्री,सदस्यहरूमा मीना अधिकारी,छविलाल जिसी, झक रोका, मञ्जु कार्की, मिनप्रसाद तिवारी र सोवित रोका रहनुभएको छ। जनसम्पर्क समितिको संयोजक क्याप्टेन मीन बहादुर कार्की सहसंयोजक डिल्लीराम घिमिरे,सचिवालय संयोजकमा शोभित खड्का,दिदीबहिनी क्वालिटी सर्कलको संयोजकमा मीना अधिकारी,सहसंयोजकमा मञ्जु कार्की,लेखा समिति संयोजकमा शिव अर्याल,सहसंयोजकमा कमल अर्याल,भजन कीर्तनको संयोजकमा नारायणदत्त अर्याल सर्वसम्मतिबाट चयन हुनुभएको छ। यस कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष बोधराज गौतमले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव डोलराज अर्यालले गर्नुभएको थियो।

शीत भण्डारमा राखिएका सुन्तला कुहिए, किसान चिन्तित

पौष ३०/स्याङ्जा: शीत भण्डारमा राखिएका सुन्तला कुहिन थालेपछि स्याङ्जाका किसान चिन्तित बनेका छन्। स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकास्थित जैसीडाँडा शीत भण्डारमा राखिएका सुन्तला कुहिन थालेका हुन्।‌

भण्डारमा राखिएका सुन्तलाका क्रेटमध्ये सरदर १०० क्रेटमा २५ देखि ३० क्रेटसम्म कुहिएको पाइएको किसानहरुले दुखेसो पोखे।‌ २ क्रेटदेखि ११५० क्रेटसम्म भण्डारण गरी राखिएको तर सुन्तला मौसममै राखिएका सुन्तला कुहिन थालेपछि बेमौसममा झिकेर आर्थिक कारोबार गर्ने आफ्नो सपनामा बज्रपात परेको किसान बताउँछन्।

प्राविधिक परीक्षण गरी सुन्तला नकुहिने व्यवस्था मिलाउन किसानहरुले सम्बन्धित पक्षलाई आग्रह समेत गरेका छन्।

इन्धनमा मिसावट भएको भन्दै स्याङ्जा प्रशासनले गर्यो पेट्रोल पम्प सिल

पौष २७/खबरकलम संवाददाता: जिल्ला प्रशासन कार्यालय स्याङ्जाले इन्धनमा मिसावट गरी बिक्री वितरण गरेको र सवारीको इन्जिन बिगारेको आरोपमा एक पेट्रोल पम्प सिल गरेको छ।

स्याङ्जा जिल्लाको सदरमुकाम स्थित नेपाल पेट्रोलियम सप्लायर्स बाडखोलाले इन्धनमा मिसावट गरेको आरोपमा सिल गरिएको र थप कारबाही प्रक्रिया सुरु गरिएको जानकारी प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले दिएका छन्।

सेवाग्राहीहरुले नै त्यस पम्पबाट हालिएको तेलका कारणले विभिन्न सवारीसाधनहरुमा खराबी आएको गुनासो बढेपछि उक्त पेट्रोल पम्प सिल गरिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिएका हुन्।

उनका अनुसार पम्प सिल पश्चात नमुना स्वरुप बिक्री वितरण गरिएको तेल दक्ष प्राविधिक मार्फत अनुसन्धान गर्न परीक्षण केन्द्रमा पठाइएको छ । साथै प्रजिअ क्षेत्रीले अनुसन्धानपश्चात दोषी देखिए उक्त नेपाल पेट्रोलियम सप्लायर्सलाई कानुनी कारबाही अगाडी बढाइने समेत जानकारी दिए।

यसअघि पनि स्याङ्जा जिल्ला स्थित विभिन्न पेट्रोल पम्पहरुमा मिसावट भएको गुनासो आइरहेको थियो।

विश्व हिन्दु युवा संघ स्याङ्जाले पृथ्वी जयन्तिको अवसरमा सम्पन्न गर्यो वक्तित्वकला प्रतियोगिता

पौष २७/स्याङ्जा: विश्व हिन्दु युवा संघ स्याङ्जाले पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसको अवसरमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ।

स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका स्थित छायाँक्षेत्र मन्दिरको सभाहलमा आयोजना गरेको उक्त कार्यक्रममा १४ जना विद्यार्थीले प्रतिष्पर्धा गर्दै पृथ्वीनारायण शाह र उनको राष्ट्रिय एकीकरण अभियानको बारेमा चर्चा गरेका थिए।

विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि भीरकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष दीपेन्द्र केसी, विशिष्ट अतिथि विश्व हिन्दु महासंघ भीरकोटका अध्यक्ष तथा भीरकोट नगरपालिका वडा नं ८ का वडाध्यक्ष नन्दलाल खनाल, वालिङ नगरपालिका वडा नं ११ का वडाध्यक्ष दण्डपानी पँगेनी, नेपाली कांग्रेस भीरकोट उपसभापति विष्णुमाया काफ्ले, वालिङ जेसिसका अध्यक्ष ध्रुव पँगेनी, छायाँक्षेत्र मन्दिर समितिका अध्यक्ष पीताम्बर श्रेष्ठ लगायतले आफ्नो मन्तव्य राखेका थिए।

कार्यक्रममा निर्णायकको भूमिका कमल अर्याल, मिलन समीर तथा कृष्ण श्रेष्ठले गरेका थिए।

“पृथ्वीनारायण शाह र राष्ट्रियता” शीर्षकमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रथम स्थान कन्साइन्स माविका निशान अर्याल, द्वितीय स्थान भुम्रे मावि वालिङका पोषकान्त लुइँटेल, तृतीय स्थान बालोदय माविकी विनिशा खनालले प्राप्त गरेका थिए।

उक्त वक्तित्वकला प्रतियोगिताको सञ्चालन भने विश्व हिन्दु युवा संघ स्याङ्जाका सचिव हरि रेग्मीले गरेका थिए। उक्त वक्तित्वकला प्रतियोगितामा स्याङ्जा जिल्लाका करिब १५ वटा विद्यालयले सहभागिता जनाएका थिए। कार्यक्रममा करिब ६० जनाको सहभागिता रहेको थियो।

विश्व हिन्दु युवा संघ स्याङ्जाले स्याङ्जा जिल्लाको सबै पालिकामा पृथ्वीनारायण शाहको तस्विर समेत राख्न आग्रह गर्दै ज्ञापनपत्र समेत बुझाउने निर्णय गरेको छ।