२०८३ अशोज ५, सोमवार

स्याङ्जा प्रहरी अपराध नियन्त्रणमा आक्रमक बन्दै

असोज १४/राम बहादुर रोका: जिल्ला प्रहरी कार्यालय स्याङ्जा पछिल्लो समय फरार अभियुक्तको खोजीमा तिव्र रुपमा लागेको छ। नयाँ प्रहरी प्रमुखको रुपमा एसपी होविन्द्र बोगटी आएपछि फरार अभियुक्तको खोजी गर्ने कामले तिव्रता पाएको हो।

आज मात्रै वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले लागू औषधको मुद्दामा रु २,००० जरिवाना, ४ महिना २१ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका स्याङ्जा जिल्ला भीरकोट नगरपालिका -९ स्थायी ठेगाना भएका २० वर्षीय सुजन गुरुङलाई पक्राउ गरी सम्मानित जिल्ला अदालत स्याङ्जामा उपस्थित गराईएको र कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ।

साथै, सार्वजनिक मुद्दामा रु ८,०००।– जरिवाना असुल उपर गर्न बाँकी रहेका अन्य ३ जनालाई समेत सम्मानित अदालतमा पेस गरिएकोमा जरिवाना रकम दाखिला छोडिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

सनराइजर्स हैदराबादले जितको खाता खोल्यो

असोज १३/खबरकलम: संयुक्त अरब इमिरेट्स (युएई) मा चलिरहेको १३ औँ आईपिएलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै जितको खाता खोलेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाउँदै १६३ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्ली क्यापिटल्सले २० ओभर खेल्दै जम्मा १४७ रन मात्र बनाएपछि १५ रनले हैदराबादले म्याच जितेको हो।

रसिद खानले ४ ओभर बलिङ गर्दै १४ रन दिएर ३ विकेट लिएपछि हैदराबादको पहिलो जित पक्का भएको हो।

बझाङमा १२ बर्षको बालिकालाई बलात्कार गरी हत्या गर्ने अपराधी सार्बजनिक

असोज १३/खबरकलम: १२ वर्षिया बालिका सम्झना बिकलाई बलात्कार गरी हत्या गर्ने राजेन्द्र बोहरालाई आज जिल्ला प्रहरी कार्यालय बझाङले सार्वजनिक गरेको छ।

पत्रकार सम्मेलन गरी उक्त बलात्कारीलाई जिप्रका बझाङका डिएसपी रुपक खड्काले सार्बजनिक गरेका हुन्।


सायद यो बलात्कारीलाई आज भन्दा १ महिना अगाडि १४ वर्षिया दलित बालिकालाई बलात्कार गर्दा त्यो गाउँका पन्चायत बसी रु ५०० बच्चालाई दिएर माफी मगाई नछोडेको भए सम्झनाको हत्या हुने थिएन। त्यसरी गाउँमै मुद्दा मिलाउन मतियार गर्ने सबैलाई कडा कारबाही गर्न गृहमन्त्री राम बहादुर थापाले निर्देशन दिइसकेका छन्।

सम्झनाको हत्या हुनुमा बलात्कार जस्तो जघन्य अपराधलाई लुकाउनु र मेलमिलापमा लैजानु ,अपराधीलाई यसरी समाजले सम्मान दिएर पाल्नुलाई मानिएको छ।

तेश्रो दिन पनि शैक्षिक सामग्री वितरण गर्दै पहिलो पाइला नेपाल

असोज १३/स्याङ्जा:

पहिलो पाइला नेपाल स्याङ्जाले खाद्यान्न संकलन तथा सहयोग सँगसँगै शैक्षिक सामग्री वितरण कार्यलाई पनि निरन्तरता दिएको छ।

स्मृति काफ्लेको संयोजकत्वमा गठित पहिलो पाइला नेपाल स्याङ्जाका सबै सदस्यहरु समाजसेवी भावनाले ओतप्रोत भएका छन्। समाजमा केही न केही भूमिका निर्वाह गरेर युवा एकताको सन्देश दिईरहेका उनीहरुले यसपटक गरिब र विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर आफ्नो भूमिका अझ प्रभावकारी बनाउँदै लगेका छन्।

शैक्षिक सामग्री वितरणको तेश्रो दिनमा स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका-४ सेपतमा पुगेर बिद्यार्थी भाइबहिनीहरुलाई राहत वितरण गरिएको झलक अर्यालले बताए।

कलिला बाबुनानीहरुको वास्तविक समस्या बुझेर उनीहरुको सुनाैलाे शैक्षिक भविष्यकाे निम्ति शैक्षिक सामग्रीको अभाव नहोस् भन्ने मान्यताले थोरै भएपनि घरमै पुगेर शैक्षिक सामग्री बितरण गरिएकाे उनको भनाई छ।

उनले आउँदा दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने र सहयोगी मनलाई धन्यवाद ज्ञापन समेत गर्दै थप सहयोगको अपेक्षा समेत राखे।

नेबिको बिस्कुटले बाँड्यो‌ खाजा

असोज १३/ स्याङ्जा: नेपालकै पहिलो बिस्कुट कम्पनी नेबिको प्रालिले खाजा स्वरुप बिस्कुट वितरण गरेको छ।

अमोर सेवा नेपाल फेदीखोला स्याङ्जा बालगृहलाई खाजाको निमित्त नेबिको बिस्कुटले बिस्कुट सहयोग गरेको हो। अबका दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा राख्दै नेबिको प्रालि बालाजु काठमाडौलाई हृदय देखि नै हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। अमोर सेवा समाजले धन्यवाद ज्ञापन गर्दै भनेको छ।

नेबिको बिस्कुट नेपालकै सर्वाधिक मन पराइएको बिस्कुट हो। यस बिस्कुटका विभिन्न प्रकारहरु बजारमा पाइन्छन्।

आईपिएलमा दिल्ली र हैदराबाद भिड्दै

असोज १३/खबरकलम: युएईमा जारी आईपिएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद बीचको खेल चलिरहेको छ।

लगातार दुई खेल जितेर उच्च मनोबलसहित उत्रेको दिल्ली तेश्रो जितको खोजीमा हुनेछ भने हैदराबाद पहिलो जितको आसामा मैदानमा उत्रेको छ। यस अघिका दुई खेल लगातार हारेको हैदराबाद टिममा आज स्टार क्रिकेटर केन विलियम्सन रहनेछन्।

टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले दिल्लीलाई जितको लागि १६३ रनको लक्ष्य दिएको छ।

स्याङ्जामा थप ३ संक्रमित थपिए

असोज १३/राम बहादुर रोका: स्याङ्जामा थप ३ जना पुरुषमा कोरोना संक्रमण देखा परेको छ ।

संक्रमित हुनेमा पुतलीबजार नगरपालिका – १ का ३० वर्षीय एक पुरुष, र वडा-३ का १७ वर्षीय पुरुष र, आँधिखोला गाउँपालिका -३ का १९ वर्षीय पुरुष छन्।

साथै जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार स्याङ्जा जिल्लामा हालसम्मको कोरोना विवरण हेर्दा जम्मा संक्रमित ३९८ जना हुनुहुन्छ भने ३७५ जना निको भई आइसोलेसनबाट घर फर्केका छन् भने अब आइसोलेसनमा रहेकाको संख्या २० छ। कोरोनाको कारण हालसम्म जिल्लामा ३ जनाको भएको छ।

स्याङ्जा वालिङका एक कोरोना संक्रमित पुरुषको आइसोलेसनमा उपचारका क्रममा मृत्यु

असोज १३/ खबरकलम संवाददाता: स्याङ्जा वालिङका एक कोरोना संक्रमित पुरुषको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको छ।

स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नं ४ एलादीका ४३ वर्षीय पुरुष असोज ५ गते भारतबाट आएका र उनको स्वाब संकलन गर्दा ७ गते कोरोना संक्रमण देखा परेको थियो र उनलाई एलादी स्थित सुन्तलाबारी होमस्टे सामुदायिक भवनमा उपचार गरिरहेको अवस्थामा मृत्यु भएको वालिङ नगरपालिकाका स्वास्थ्य प्रमुख कमलप्रसाद पाण्डेले बताउनु भएको हो ।

उहाँको दोस्रोपटक स्वाब संकलन भने सोमबार गरिएको र रिपोर्ट नेगेटिभ आएको वालिङ् नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले बताउनु भएको छ । नगर प्रमुख खाँणका अनुसार निधन भएका पुरुषको दुवै मृगौला फेल र क्यान्सरको रोगी हुनुहुन्थ्यो ।

त्यस्तै स्याङ्जाका जिल्ला प्रमुख अधिकारी गङ्गा बहादुर क्षेत्रीले बताए अनुसार नतिजामा कोरोना नेगेटिभ आएतापनि परिवारको चाहना अनुसार नगरपालिकाले व्यवस्थापन गरेको तरिकाले नै उक्त पुरुषको अन्त्येष्टि गरिने छ ।

बालुवा निकाल्दा स्याङ्जामा एकको मृत्यु

राम बहादुर रोका/ असोज १३: स्याङ्जाको वालिङ नगरपालिकामा गिट्टी निकाल्ने क्रममा माटोको डिस्को मुनि परी एकजनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

आज बिहान स्याङ्जा जिल्ला वालिङ नगरपालिका -११ पेखुको पनेरगैह्रामा गिट्टी निकाल्ने क्रममा माथिबाट माटोको डिस्को खस्दा ३ जना पुरिएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । सोही डिस्कोमा पुरिएका गम्भीर घाइते ३ जनालाई उद्दार गरी गर्हौ प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर उपचार गर्ने क्रममा सोही वडाका ३९ वर्षीय दुर्गा थापाको मृत्यु भएको छ भने ३५ वर्षीय मुना थापा र ३१ वर्षीय नारायणी सिंजालीको उपचार भइरहेको तर मुना थापाको खुट्टा भाचिएको स्वास्थ्य केन्द्रका सुचना अधिकारी देबेन्द्र प्रसाद भट्टराईले बताएका छन् ।

सोमबार देशभर थपिए १३५१ जना नयाँ संक्रमित

असोज १२/खबरकलम: आज सोमबार देशभर १३५१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

हाल नेपालमा कोरोना संक्रमण (कोभिड १९) बाट सक्रिय संक्रमित हुनेको संख्या १९६२४ रहेको छ।
७४२ जना गत २४ घण्टामा डिस्चार्ज भएका छन्।