२०८३ अशोज ६, मङ्लबार

तेश्रो कोखे महोत्सव भलिबलमा तेश्रो स्थानका लागि प्रगतिशील युवा क्लब र गल्याङ भिड्दै

कार्तिक ९/वालिङ: नवज्योति जनसेवा युवाक्लबले आयोजना गरेको तेश्रो कोखे महोत्सवमा सञ्चालन गरिएको भलिबल प्रतियोगितामा तेश्रो स्थानका लागि अहिले प्रगतिशील युवा क्लब र गल्याङ भलिबल क्लब भिड्दै छन्।‌‌

आजै हुने उपाधिका लागि यसअघि नै मिसन थ्रीस्टार क्लब काउले र वालिङ भलिबल क्लब फाइनल प्रवेश गरिसकेका छन् भने फाइनल खेल दिउँसो १ बजे हुने आयोजकले जनाएको छ।

विविध साँस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको तेश्रो कोखे महोत्सव पनि आजै समापन हुनेछ।

कोखे महोत्सवमा आयोजित पुरुष भलिबलमा वालिङ र मिसन थ्रीस्टार भिड्ने

कार्तिक ८/वालिङ: नवज्योति जनसेवा युवाक्लबले आयोजना गरेको तेश्रो कोखे महोत्सव भोलि सम्पन्न हुने भएको छ। समापन समारोहसँगै क्लबले आयोजना गरेको पुरुष भलिबल समेतको फाइनल भोलि नै खेलाइने भएको छ।

तेस्रो कोखे महोत्सवमा आयोजित पुरुष भलिबलको उपाधिका लागि वालिङ् भलिबल क्लब र मिसन थ्री स्टार क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ।

आज भएको सेमिफाइनल खेलमा वालिङले प्रगतिशील युवा क्लब ओकादीलाई हराउँदै फाइनलको पुगेको हो । वालिङ र ओकादीबीच भएको खेल वालिङले सोझो तीन सेटमा जित्दै फाइनल प्रवेश गरेको हो। पहिलो सेट २५–१७, दोस्रो सेट २५–१४ र तेस्रो सेट २७–१७ को अंक स्थितिले वालिङ फाइनलमा जान सफल बन्यो।

यस्तै दोश्रो सेमिफाइनतर्फ नेपाल तारा क्लब तल्लो गल्याङ र मिसन थ्री स्टार काउलेबीच भएको खेलमा मिसन थ्री स्टारले जित्यो । निकै प्रतिस्पर्धात्मक र रोचक भएको खेल पहिलो सेट गल्याङले २५–२२, दोस्रो सेट काउलेले २५–२३, तेस्रो सेट काउलेले २५–२२, चौथो सेट गल्याङले २५–२३ र पाँचौ सेट काउलेले १७–१५ ले जित्यो । 

फाइनल भिडन्त भोलि १ बजे हुनेछ।

तेश्रो कोखे महोत्सवमा आजबाट भलिबल सेमिफाइनल गेम सुरु, वालिङ फाइनलमा

कार्तिक ८/वालिङ: “ग्रामीण पर्यटनको विकास,राष्ट्र निर्माणको आधार” भन्ने मुल नाराका साथ जनसेवा युवाक्लबले कार्तिक ४ गतेदेखि ९ गतेसम्म आयोजना गरेको तेश्रो कोखे महोत्सवमा आजबाट भलिबल प्रतियोगिताका सेमिफाइनल खेल सुरु भएका छन्।

वालिङ भलिबल क्लब भर्सेस प्रगतिशील युवा क्लबबीच भएको पहिलो सेमीफाइनलबाट वालिङ भलिबल क्लब फाइनल प्रवेश गरेको छ भने दोश्रो सेमिफाइनल खेल मिसन थ्रीस्टार क्लब काउले र गल्याङ भलिबल क्लबबीच आजै हुनेछ।

भलिबल प्रतियोगिता सहित विविध साँस्कृतिक कार्यक्रमहरु गरी तेश्रो कोखे महोत्सव सञ्चालन गरिएको छ।

अवैध फर्निचर सहित चापाकोटका डिएसपी नियन्त्रणमा

कार्तिक १/स्याङ्जा: नारायण कोइराला/जीवन अर्याल

अवैध फर्निचर सहित इलाका प्रहरी कार्यालय चापाकोटमा कार्यरत डिएसपी खर्गनारायण शाहलाई नियन्त्रणमा लिइएको छ।

बिना बिलका फर्निचरका सामान लिएर चापाकोटबाट आउँदै गरेको सूचना पाएपछि पत्रकारहरु नारायण कोइराला र जीवन अर्यालले भीरकोटमा डिएसपी सहितको उक्त गाडी रोकेर प्रहरीलाई खबर गरेका थिए।

बाटोमा नक्कली बिल देखाएर उम्कन खोजेका डिएसपी खर्गनारायण शाहले प्रहरी र वन कार्यालयको अगाडी प्रश्न गर्दा भने उनले आफूसँग बिल भरपाई केही नभएको दोहोर्याए। बाटोमा पत्रकारले घेरेपछि उनले आन्तरिक द्वन्द्वका कारण आफूलाई कसैले फसाएको र उम्कन पत्रकारहरुलाई त्यस्तो केही भए मिलाउँला भन्दै आर्थिक प्रलोभन समेत देखाउने प्रयास गरेका थिए।

प्रहरीले २ पलङ, ४ कुर्सी, २ टि टेबुल, १ हाते ट्रयाक्टर सहित आज ७ बजे डिएसपीलाई भीरकोटबाट नियन्त्रणमा लिएको हो।

अवैध काठबाट बनाइएका फर्निचर नक्कली निल बनाएर काठमाडौं लाँदै गर्दा ग ३ च ५५२५ नंबरको जीपमा लोड गरिएका फर्निचरका सामान सहित भीरकोटमा नियन्त्रण गरिएको हो। उनी यसअघि पनि विभिन्न काण्डहरुमा‌ मुछिएका डिएसपी हुन्।

जिल्ला वन कार्यालय स्याङ्जाका सहायक वन अधिकृत सरोज जमरकट्टेलको रोहवरमा उक्त फर्निचर सहितको गाडीलाई जिल्ला प्रहरी कार्यालय पठाइएको छ।

आगामी निर्वाचनमा खटिने म्यादी प्रहरीको तालिम शुरु

असोज ३०/स्याङ्जा: राम बहादुर रोकाहा

प्रतिनिधि सभा सदस्य  र प्रदेश सभा सदस्य निर्वाचनका लागि स्याङ्जा जिल्लामा भर्न गरिएका म्यादी प्रहरीको तालिम शुरु भएको छ ।

आगामी मङ्सिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग , भर्ना छनौट शाखाबाट यहि मिति भदौ २६ गते प्रकाशित भएको विज्ञापन अनुसार जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट छनौट भई नियुक्त भएका म्यादी प्रहरी कर्मचारीहरुको तालिम शुरु गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जामा र मातहतका वडा प्रहरी कार्यालय वालिङ् र ईलाका प्रहरी कार्यालय चापाकोटमा म्यादी प्रहरीहरुलाई तालिम दिइने जिल्ला प्रहरी कार्यालय स्याङ्जाका  प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार नियुक्त भएका म्यादी प्रहरीहरुलाई एक हप्ताको तालिम दिइने र तालिममा अनुशासनबारे सिकाइने , आफुभन्दा सिनियर प्रहरी कर्मचारीलाई सलाम गर्ने तरिका , लौरो चलाउने तरिका र भिड नियन्त्रण गर्ने तरिकाबारे सिकाइनेछ । निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्य अवधी ४० दिनको हुनेछ भने सेवा सुविधा नेपाल सरकारले तोके बमोजिम हुनेछ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक राजिब बहादुर बस्नेतको  प्रमुख आतिथ्यमा आज तालिमको उद्घाटन गरिएको हो ।

आँधीखोलामा पौडी खेल्दा डुबेर एकको मृत्यु

असोज २८/स्याङ्जा: आँधीखोलामा पौडी खेल्दा डुबेर एकको ज्यान गएको छ।

वालिङ नगरपालिकाको त्रियासी भन्दा तल आँधीखोलाको रहमा डुबेर १९ वर्षीय संगम रेग्मीको ज्यान गएको हो। प्रहरीले जनाएअनुसार पोखराबाट गोताखोरको टोली ल्याई निरन्तर खोजी पश्चात १५ फिट गहिराइबाट शव निकालिएको हो।

उक्त युवकको खोजीमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी गुल्म नं. ३० प्रमुख, वालिङ नगरपालिकाका नगरप्रमुख लगायत पत्रकार र स्थानीय सहित ठूलो संख्यामा प्रहरी सक्रिय थिए।

स्याङ्जामा नयाँ प्रजिअको स्वागत तथा निवर्तमान प्रजिअको बिदाई कार्यक्रम सम्पन्न

असोज २५/खबरकलम संवाददाता:


एक कार्यक्रमकाबीच कर्मचारी मिलन केन्द्र स्याङ्जाले नवआगन्तुक प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर क्षेत्रीलाई स्वागत तथा काज सरुवा हुनुभएका निवर्तमान प्रजिअ राजुप्रसाद पौडेललाई बिधाई गरेको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नवआगन्तुक प्रजिअ क्षेत्रीले कर्मचारी मिलन केन्द्रमा पहिलेभन्दा अहिले परिवर्तन आएको बताउनुभयो । उहाँले सबै कर्मचारी मिलेर कार्यलयमा आउने सेवाग्राहीहरुको काम छिटो गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी बिदाई भएर जान लाग्नुभएका निवर्तमान प्रजिअ पौडेलले स्याङ्जाको बसाईमा स्याङ्जाले लगाएको गुन कहिल्यै नभुल्ने साथै यहाँको बसाई स्मरणीय रहेको बताउनुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नमिता रेग्मीले नवागंतुक प्रजिअ क्षेत्रीलाई र बिधाई हुनुभएका निवर्तमान प्रजिअ पौडेललाई फुल,माला,खादा र मायाको चिनोले स्वागत तथा बिधाई गर्नुभएको थियो । स्याङ्जाका निवर्तमान प्रजिअ पौडेलको जिल्ला प्रशासन कार्यालय चितवनमा सहायक प्रजिअका रुपमा काज सरुवा भएको हो भने प्रजिअ क्षेत्री जिल्ला प्रशासन कार्यालय चितवनबाट स्याङ्जा आउनुभएको हो ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाको सभाहालमा भएको स्वागत तथा बिधाईको कार्यक्रम सुरक्षा निकायका प्रमुखहरू , अन्य सरकारी निकायका प्रमुखहरु लगायतको उपस्थितिमा प्रशासकीय अधिकृत भरतराज पाण्डेले संचालन गर्नुभएको थियो ।

चाडको अवसरमा नेकपा एमाले फेदीखोला तथा भीरकोटले गर्यो शुभकामना आदानप्रदान

असोज १५/स्याङ्जा: विजयादशमी तथा दीपावलीको अवसरमा नेकपा एमाले स्याङ्जाले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

नेकपा एमाले फेदीखोला तथा भीरकोट कमिटीले छुट्टाछुट्टै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका हुन्। शुभकामना आदानप्रदानसँगै चियापान कार्यक्रम समेत सम्पन्न गरिएको नेकपा एमाले भीरकोट र फेदीखोला कमिटीले जनाएका छन्।

नेकपा एमाले भीरकोटले आयोजना गरेको कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे पारस तथा सभाध्यक्ष नेकपा एमाले भीरकोट नगरअध्यक्ष विश्वनाथ अर्याल रहेको जनाइएको छ।‌‌

कार्यक्रममा उपस्थित सबैले पालैपालो शुभकामना आदानप्रदान गरेका थिए।‌

नेपाली कांग्रेस पुतलीबजारले सम्पन्न गर्यो शुभकामना आदानप्रदान कार्यक्रम

असोज १५/स्याङ्जा: नेपाली कांग्रेस पुतलीबजारले विजयादशमी तथा दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

नेपाली कांग्रेस पुतलीबजार वडा नं १३ कमिटीले आज एक कार्यक्रम आयोजना गरी शुभकामना आदानप्रदान गरेको बुझिएको छ।