२०८३ अशोज ६, मङ्लबार

वालिङमा सांगीतिक कार्यक्रम हुँदै

असोज १४/हरि रेग्मी: लामो समयको अन्तरालपछि स्याङ्गजाको वालिङ्गमा एक भव्य साङ्गितिक कार्यक्रमको आयोजना गरिने भएको छ।

सप्तक सङ्गीत साँस्कृतिक केन्द्र वालिङ्गको आयोजनामा हुन लागेको उक्त कार्यक्रमको नाम भने सप्तक सङ्गीत दशै उत्सव २०७९ राखिएको छ। यही असोज १५ गते वालिङ सिटी हलमा साँझ ५ बजेदेखि सुरु हुने कार्यक्रममा बहुचर्चित लोकदोहोरी गायक राजु परियार , फिल्मी तथा सुगम सङ्गीतमा चर्चा कमाएकी गायिका बिन्दु परियार साथै चर्चित टिकटकर तथा मोडेल अस्मिता रनपालको साथमा सप्तक सङ्गीत विद्यालयका विद्यार्थी तथा स्थानीय कलाकारहरु आफ्नो प्रस्तुति राख्ने आयोजकले जनाएका छन्।

करिब एक वर्षको अन्तरालमा यो कार्यक्रम आयोजना गरेको आयोजक संस्था सप्तक सङ्गीत साँस्कृतिक केन्द्रले गत तिहारमा रुपक डोटेल लगायतका कलाकार हरुको साथमा सप्तक सङ्गीत दिपाली साँझ २०७८ आयोजना गरेको थियो।

एसियन प्रोफेशनल एचिभमेन्ट अवार्ड २०२२ बाट स्याङ्जाका डुम्रे सम्मानित

असोज १४: अन्तर्राष्ट्रिय मिडिया फोरम तथा सञ्जाल रहेको सिजन मिडिया हाउस द्वारा आयोजना गरिएको कार्यक्रममा अन्तर्राष्ट्रिय पत्रकार महासंघका सदस्य समेत रहेका अकला आवाज मिडिया प्रालिका अध्यक्ष तथा प्रधानसम्पादक प्रकाश डुम्रेलाई युएईको बर-दुवहीमा आयोजित कार्यक्रममा (ASIAN PROFESSIONAL ACHIEVEMENT AWARD 2022) द्वारा (dynamic journalist of the year)बाट सम्मानित गरिएको छ ।

विगत १९ बर्ष यता निरन्तर पत्रकारितामा सक्रिय डुम्रेलाई जोखिम पत्रकारिता पुरस्कार मार्फत अन्तर्राष्ट्रिय डायनमिक पत्रकारिता अवार्ड प्रदान गरिएको हो । डुम्रेले हालसम्म निरन्तर सत्ता र सरकार बाहिर रही व्यवस्थापिका,न्यायपालिका र कार्यपालिका भित्रका विकृति र बिसङ्ती बिरुद्ध कलम चलाउदै आएका छन् । देशका ७७ वटै जिल्लामा पुगेर प्रेस स्वतन्त्रताका बारेमा बहस चलाएका डुम्रेले ७१ जिल्लाका औपचारिक कार्यक्रममा वक्ताको रुपमा सहभागी जनाएका छन् ।

राज्य संयन्त्रको आडमा गरिएका नागरिक विरोधी गतिविधिमा कलम तथा बहसको माध्यमबाट राष्ट्रिय रुपमा अभियान चलाएका डुम्रेलाई सरकारले पटकपटक विभिन्न मुद्दामा फसाउने षड्यन्त्र गरेपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रकार संघ संगठन र मानवअधिकार अधिकारबादी संस्थाहरुले व्यापक विरोध जनाएपछि सरकार पछि हटेको थियो । स्याङ्जा वालिङबाट पत्रकारिता जीवन सुरु गरेका डुम्रे हाल नेपाली पत्रकारितामा राष्ट्रिय पहिचान बनाएका छन् ।


देशको दुर्गम क्षेत्र कर्णाली देखि काठमाडौंसम्म र पुर्वको ताप्लेजुङ देखि कञ्चनपुरसम्मका सबै जिल्लामा डुम्रेले नागरिक अभियान लिएर पुगेका छन् ।
देशभरका झण्डै ७१ जिल्लामा मानवअधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभियान लिएर पुगेका डुम्रेलाई सिजन मिडिया फोरमले युएईमा उक्त अवार्ड दिएको हो ।डुम्रे अन्तर्राष्ट्रिय पत्रकार महासंघ(आ.एफ.जे)को सदस्य तथा जनपत्रकार संगठन नेपालका निर्वतमान केन्द्रीय अध्यक्ष समेत हुन । डुम्रेलाई भारतीय जनता पार्टीका बरिस्ठ नेता डा.बिजय जोली, एसिया पेसिफका अध्यक्ष डा.रोबर्ट एस किट्टेल(यु.एस.ए.) लगायतले अवार्ड प्रदान गरेका हुन ।
कार्यक्रममा एनआरएन युएईकाअध्यक्ष ठाकुर ढुङ्गाना लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
स्रोत: onkhabar.com/अकला आवाज

चाडबाडको अवसरमा विरुवा गाउँपालिकाले गर्यो शुभकामना कार्यक्रम

असोज १३/स्याङ्जा: हिन्दूहरूको सबैभन्दा ठूलो चाड विजयादशमीको अवसरमा विरुवा गाउँपालिकाले पालिकामै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।‌‌‌‌‌

आज आफ्नै सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी विजयादशमी, शुभदीपावली, छठ, नेपाल संवत् तथा इदुल फित्रको शुभकामना आदानप्रदान गरिएको पालिकाले जनाएको छ।

विरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवर, उपाध्यक्ष भगवती शर्मा, प्रमुख प्रशासकीय अधिकृत अनन्तराज न्यौपाने लगायतका जनप्रतिनिधि, कर्मचारी लगायतका विभिन्न व्यक्तिहरुको उपस्थितिमा उक्त कार्यक्रम गरिएको थियो।

दरौँखोला युवा परिवारले पञ्चकन्या मन्दिर परिसरमा जोड्यो सडकबत्ती

असोज १०/खबरकलम संवाददाता: अर्जुनचौपारी गाउँपालिका वडा नं १ केटीचौरमा अवस्थित पञ्चकन्या मन्दिरमा दरौँखोला युवा परिवारले बिजुलीबत्ती (सडकबत्ती) जडान गरेको छ।

घटस्थापनाको अवसर पारेर मन्दिर परिसरदेखि प्रवेशद्धारसम्मै सडकबत्ती राखिएको दरौँखोला युवा परिवारले जनाएको छ। दशैँको अवसरमा मन्दिरमा आउने भक्तजनहरुलाई कुनै असहज नहोस् भनी आफ्नै लगानी र सक्रियतामा दरौँखोला युवा परिवारले बत्ती जोडेको हो।

सडकबत्ती जडान कार्यमा स्थानीय युवाहरुको सहभागिता रहेको थियो।

मतदाताको शिर उचो बनाउने काम गरेकी छु: पूर्वमन्त्री अर्याल

असोज १०/स्याङ्जा: नेकपा एमालेकी केन्द्रीय सचिव एवं पूर्व मन्त्री पदमा कुमारी अर्यालले आफूलाई मत दिएर जिताउनेहरुको शिर उचो पार्ने काम गरेको बताउनुभएको छ।

भीरकोट साना किसान सहकारी संस्था लिमिटेड, भीरकोट ६ स्याङ्जाको चौंथो साधारणसभा तथा दोस्रो अधिवेशनको समुद्घाटन गर्दै सो कुरा बताउनुभएको हो। उहाँले आज आफूलाई मत दिएर जिताउनेहरुले गर्व गर्न लायक काम गरेको र उक्त कामको जिम्मेवारी दिने सबै मतदातालाई धन्यवाद ज्ञापन गर्दै सो कुरा बताउनुभएको हो। सहकारीको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले सहकारी बचत र ऋणको कारोबारमा मात्रै अल्मलिन नहुने बताउँदै सहकारीले महिलाहरूलाई व्यवसायी बन्न आवश्यक पर्ने सीप, तालिम र दक्षता विकास गर्नुपर्नेमा जोड दिनुभयो। भीरकोटबासी आम मतदातालाई हार्दिक आभार व्यक्त गर्दै उहाँले विकासका नाममा अनावश्यक राजनीति नगर्न समेत स्थानीय नेता कार्यकर्तालाई आग्रह गर्नुभएको थियो।

सभामा आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्दै जिल्ला सहकारी संघका सचिव मीन प्रसाद कोइरालाले सहकारीका सिद्धान्त अनुरूप गतिविधि संचालन गर्न, कारोबार व्यवस्थित र पारदर्शी बनाउन, अनुदानको सही सदुपयोग गर्न शेयर सदस्यहरू र संचालक समितिलाई आग्रह गर्नुभएको थियो।

भीरकोटका ५, ६, ७ र ८ मा कार्यक्षेत्र रहेको भीरकोट साना किसान सहकारीको स्थापना २०७५ सालमा भएको थियो। कृषि उद्यमशीलतालाई प्राथमिकतामा राखेको संस्थाका कूल शेयर सदस्यहरूको संख्या ४ सय ७८ पुगेको छ। संस्थाको कुल शेयर पूँजी १६ लाख १८ हजार र कुल आर्थिक कारोबार ५४ लाख ११ हजार रहेको छ। संस्थाको आर्थिक कारोबार पारदर्शी र व्यवस्थित नरहेको भन्दै केही शेयर सदस्यहरूले गुनासो गरेका थिए। संस्थाका निवर्तमान अध्यक्ष विश्वनाथ अर्यालले संस्थाका कमीकमजोरीलाई सुधार गर्न र व्यवस्थित बनाउन सबै शेयर सदस्यहरूले सकारात्मक भूमिका निर्वाह गरेको बताउनुभयो।

संस्थाको आज सम्पन्न साधारण सभाले तुलसी प्रसाद अर्यालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। उपाध्यक्षमा डाँसीनारायण अर्याल, सचिवमा सीता खनाल , सहसचिवमा काशीराम तिवारी, कोषाध्यक्षमा जमुना अर्याल निर्वाचित हुनुभएको छ। कार्यक्रममा वडाध्यक्ष लक्ष्मण खत्री क्षेत्री, गण्डकी प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य मोहन रेग्मी, सहकारी अभियान्ता पूण्य अर्याल, तुलसी भञ्ज्याङ साना किसान सहकारीका व्यवस्थापक शम्भु अधिकारी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

भीरकोट नगरपालिकालाई कुपोषणमुक्त नगरपालिका बनाइँदै

असोज ९/स्याङ्जा: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकालाई कुपोषणमुक्त नगरपालिका बनाइने भएको छ।‌‌

भीरकाेट नगरपालिकालाई कुपोषणमुक्त बनाउने लक्ष्यका साथ सञ्चालन गरिएको पालिकास्तरीय पाेषण कार्यक्रमकाे दुई दिने समिक्षा तथा कार्ययोजना गाेष्ठीमा बोल्दै नगरप्रमुख गोविन्द कर्माचार्यले भीरकोटलाई कुपोषणमुक्त नगरपालिका बनाउन सम्पूर्ण तयारी गर्न थालिएको बताए।

उनले भीरकोट नगरपालिकावासीको स्वास्थ्य र पोषण सुरक्षाको प्रत्याभूति नगरपालिकाको जिम्मेवारी भएको बताउँदै नगरपालिकाबाट हुने स्वास्थ्य, पोषण र स्वस्थ जीवनयापनका लागि आवश्यक कुराहरु प्रदान गर्न आफू तयार रहेको जानकारी दिए।

यसअघिको स्थानीय सरकारले नै भीरकोट नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिसकेको छ।

स्याङ्जाका ३३३ जनप्रतिनिधि कारबाहीमा ६ करोड ६० लाख जरिवाना तिर्नुपर्ने

असोज ७/स्याङ्जा: स्थानीय निर्वाचन २०७९ को चुनावी खर्च समयमै नबुझाउने स्याङ्जा जिल्लाका विभिन्न स्थानीय निकायका ३३३ जना उम्मेदवारहरु कारबाहीमा परेका छन्।

निर्वाचन आयोगले एक सूचना जारी गर्दै उनीहरुको नामसहित जरिवाना रकम सार्वजनिक गरेको हो। यसरी जरिवाना तिर्नेहरुमा अधिकांश उम्मेदवारहरु निर्वाचनमा पराजित भएको भएतापनि निर्वाचित भएकै प्रतिनिधिले समेत निर्वाचन खर्च सार्वजनिक गरेका छैनन्।

निर्वाचित भएर कार्यभार सम्हालिसकेकाहरुमा भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कर्माचार्य, नगर उपप्रमुख भगवती अर्याल, चापाकोट नगरपालिकाका नगरप्रमुख देवबहादुर खाँण ईश्वर तथा उपप्रमुख इशा राना, हरिनाश गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धर, उपाध्यक्ष इन्द्रकुमारी राना थापा, विरुवा गाउँपालिका उपाध्यक्ष भगवती शर्मा रहेका छन् भने वडाध्यक्ष र वडासदस्यको सूची पनि लामै रहेको छ।

समयमै निर्वाचन खर्च विवरण नबुझाउनेमा अर्जुनचौपारी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष चिनमाया गुरुङ समेत रहेकी छन्। जो अर्जुनचौपारी गाउँपालिकाको अध्यक्ष पदमा हालैको निर्वाचनमा पराजित भएकी थिइन्। यसैगरी चापाकोट नगरपालिकाका नगरप्रमुख पदमा पराजित उम्मेदवार राजु कोइराला, उपप्रमुख पदमा पराजित सृष्टि मल्ल, अर्जुनचौपारी गाउँपालिकाको उपाध्यक्ष पदमा पराजित उम्मेदवार टंकप्रसाद खनाल लगायतका रहेका छन्।

वडाध्यक्ष तथा वडासदस्यका उम्मेदवारबाट जनही १ लाख ५० हजार, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारबाट जनही ३ लाख ५० हजार तथा नगरपालिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारबाट जनही ४ लाख ५० हजार रुपैयाँ जरिवाना गरी स्याङ्जाका ३३३ जना उम्मेदवारले ६ करोड ६० लाख जरिवाना बुझाउनुपर्ने भएको छ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि निर्वाचन अधिकृत तोकिए, स्याङ्जामा को?

असोज ७: निर्वाचन आयोगले यही मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि निर्वाचन अधिकृत तोकेको छ।

देशभरका १६५ वटा निर्वाचन क्षेत्रबाट १६५ जना प्रतिनिधि सभा सदस्य निर्वाचित हुने व्यवस्था छ। स्याङ्जा जिल्लामा रहेका दुईवटा निर्वाचन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालत स्याङ्जामा जिल्ला न्यायाधीशको रुपमा कार्यरत माननीय रोमाकान्त ज्ञवाली तथा न्यायाधिवक्ताको रुपमा जिल्ला सरकारी वकील कार्यालय स्याङ्जामा कार्यरत रामचन्द्र शर्मा निर्वाचन अधिकृत तोकिएका छन्।

सम्पूर्ण विवरणको लागि यो लिंकमा क्लिक गर्नुहोस्।

https://election.gov.np/admin/public//storage/HoR/%E0%A4%AE%E0%A5%81.%E0%A4%A8%E0%A4%BF.%E0%A4%85%20.pdf

विरुवा गाउँपालिकाले सार्वजनिक गर्यो जनप्रतिनिधिको१०० दिने उपलब्धि

असोज ४/स्याङ्जा: स्याङ्जा जिल्लाको विरुवा गाउँपालिकाले जनप्रतिनिधिहरुको १०० दिने उपलब्धि सार्वजनिक कार्यक्रम सम्पन्न गरेको छ।‌

विरुवा गाउँपालिकाको सभाहलमा आज स्थानीय तह निर्वाचन २०७९ मार्फत निर्वाचित जनप्रतिनिधिहरुको प्रगति विवरण तथा कार्यसम्पादन र प्राप्तिको सार्वजनिक कार्यक्रम सम्पन्न गरिएको हो।

उक्त कार्यक्रममा पूर्व जनप्रतिनिधिहरु, वर्तमान जनप्रतिनिधिहरु, कार्यपालिका सदस्यहरु, शिक्षक, कर्मचारी, पत्रकार, विरुवा गाउँपालिकाभित्रका विभिन्न पालिका स्तरीय कार्यालयका प्रमुख तथा प्रतिनिधि सहभागी भई आफ्ना धारणा राखेका थिए।

विरुवा गाउँपालिकामा सक्रिय राजनैतिक दलविशेषका प्रतिनिधिले समेत विरुवा गाउँपालिकाको नीति तथा कार्यक्रम र प्रगति विवरणको खुलेरसम्मान गरेका थिए।

गाउँपालिकाले विभिन्न क्षेत्र छुट्याएर रणनीतिक योजना, दीर्घकालीन योजना, वहुवर्षे तथा अल्पकालीन योजना मार्फत “संवृद्ध विरुवा सुखी विरुवाबासी” नारा सहित अघि बढ्न लागेको पालिका अध्यक्ष सूर्यबहादुर कुँवरले जानकारी दिए।‌‌

पालिका स्तरमै स्वास्थ्य प्रयोगशालाको शुभारम्भ गर्दै गाउँपालिकाले हालै मात्र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सुरु गरेको छ। विरुवा गाउँपालिकालाई सुशासन, आर्थिक पारदर्शिता र अनुशासनको नमुना पालिका बनाउने अठोटका साथ कार्यसम्पादन गर्न सुरु गरिएको अध्यक्ष कुँवरले जानकारी दिए।

उनले “स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित पदाधिकारीहरुका १०० दिनमा सम्पादित क्रियाकलाप तथा प्राप्त उपलब्धि” नामक पुस्तकको समेत सार्वजनिक गरेका थिए।

आउँदा दिनमा पनि सबैको साथ सहयोग र सहकार्य मार्फत अघि बढ्ने उनको प्रतिबद्धता थियो। आजको कार्यक्रममा विरुवा गाउँपालिकाका आठ वटै वडाका वडाध्यक्षहरुलाई प्रगति विवरण प्रस्तुत गर्न समय प्रदान गरिएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा पालिका अध्यक्ष सूर्यबहादुर कुँवर, विशिष्ट अतिथि गाउँपालिका निर्वाचन अध्यक्ष चुनप्रसाद शर्मा तथा उपाध्यक्ष देवीकुमारी थापा लगायतका थिए। योजना अधिकृत दीपक ढुङ्गानाले सञ्चालन गरेको उक्त कार्यक्रममा अध्यक्षता पालिका उपाध्यक्ष भगवती शर्माले गरेकी थिइन्।

विरुवा गाउँपालिकाले यही असोज १४ गते विजयादशमी तथा दीपावलीको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम समेत तय गरेको जानकारी दिएको छ।

नेविसंघ वालिङ क्याम्पस इकाइले दशैं तिहार विशेष शुभकामना कार्यक्रम गर्ने

असोज ३/वालिङ: नेपालका पूराना विद्यार्थी संगठनहरुमध्ये एक संगठन नेपाल विद्यार्थी संघ वालिङ बहुमुखी क्याम्पस इकाइले दशैं तिहार विशेष शुभकामना कार्यक्रम गर्ने भएको छ।

हिन्दू धर्मावलम्बीको प्रमुख चाड विजयादशमी तथा दीपावली, तराइको प्रमुख चाड छठ, नेवारहरुको नयाँ वर्ष नेपाल संवत् ११४३, मुस्लिमहरूको चाड इदुल फित्रको अवसरमा क्याम्पसमा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागिएको जानकारी नेविसंघ निकट विद्यार्थी हरि रेग्मीले दिए।

विद्यार्थी, प्राध्यापक, शिक्षक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निम्तो दिँदै उनले कार्यक्रम भव्य रुपले सम्पन्न गर्न सहयोग गरिदिन समेत अनुरोध गरेका छन्। कार्यक्रम यही असोज ७ गते शुक्रबार बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म वालिङ बहुमुखी क्याम्पसकै प्रांगणमा हुने जनाइएको छ।