२०८३ अशोज ५, सोमवार

तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अर्जुनचौपारीमा सुरु

खबरकलम संवाददाता /स्याङ्जा: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड तथा बृहत् शैक्षिक महोत्सव सोमबारदेखि औपचारिक रूपमा सुरु भएको छ । यहाँको वडा नम्बर १ स्थित पालिका खेलमैदानमा सुरु भएको प्रतियोगिताले गाउँपालिकाभरिका विद्यार्थीलाई एकै ठाउँमा जोडेको छ ।

उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले खेलकुद र सिर्जनात्मक गतिविधि विद्यार्थीको नेतृत्व विकास र क्षमता उजागर गर्ने सशक्त माध्यम भएको बताए । उनले प्रतिस्पर्धामार्फत प्रतिभावान खेलाडी पहिचान गरी उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्यसहित राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव आयोजना गरिएको बताए ।

कार्यक्रममा उपाध्यक्ष सपना गुरुङ, प्रमुख प्रशासकीय अधिकृत युवराज अर्याल, वडा नं -१ का वडा अध्यक्ष रण बहादुर थापा, पञ्चकन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक जीतबहादुर थापा, शैक्षिक कार्यदल संयोजक प्रेमप्रसाद देवकोटा, शिक्षक नारायण काफ्ले, लाल केसी तथा विद्यार्थी प्रतिनिधिहरू दिपीका काफ्ले, चेन्ज मेकर क्लबका आकृती तिवारी, सिजन रोका र आयुस चापागाईंलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

महोत्सवअन्तर्गत मेमोरी टेस्ट, इन–आउट, ब्यालेन्स रेस, क्विक रेस्पोन्स, चम्चा दौड, म्युजिकल चियर, एकल नृत्य, डोरी तान्ने, हट पोट्याटो, वाटर रिले, रिले दौड, बोरा दौड, हाइजम्प, लङजम्प, ट्रिपल जम्प, शटपुट, कबड्डी, ज्याभ्लिन थ्रो, भलिबल, बिच भलिबल तथा विभिन्न दूरीका दौड प्रतियोगिता सञ्चालन भइरहेका छन् । प्रतियोगितामा ५० स्वर्ण, ५० रजत र ५० कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

तीन दिनसम्म चल्ने महोत्सवमा गाउँपालिकाभित्रका २९ विद्यालयका करिब एक हजार खेलाडी सहभागी छन् । प्रतियोगितामा सहभागी सबै खेलाडीको एक लाख रुपैयाँ बराबरको बीमा गाउँपालिकाले गरेको छ ।

अर्जुनचौपारी गाउँपालिका अध्यक्ष जेसिआई युथ अवार्डद्वारा सम्मानित

खबरकलम संवाददाता /स्याङ्जा: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारी जेसीआई (जुनियर च्याम्बर इन्टरनेशनल) यूथ अवार्डबाट सम्मानित भएका छन् ।

युवामैत्री नेतृत्व, नवप्रवर्तनशील सोच र स्थानीय तहमा देखाएको प्रभावकारी कार्यसम्पादनको कदर गर्दै जेसीआई नेपालले ५२ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उनलाई उक्त अवार्डद्वारा सम्मान गरेको हो । जेसीआई नेपालले प्रत्येक वर्ष विभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका युवालाई सम्मान गर्दै आएको छ ।

यसअघि पनि तिवारी चर्चित अनलाइन सञ्चारमाध्यम अनलाइनखबरद्वारा प्रकाशित ‘४० मुनिका ४०’ सूचीमा सूचीकृत भई सम्मानित भइसकेका छन् । देशभरका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका ४० वर्षमुनिका प्रभावशाली युवालाई समेट्दै उक्त सूची सार्वजनिक गरिँदै आएको छ ।

पहिले गुमनाम र विकासका दृष्टिले पछाडि परेको अर्जुनचौपारी गाउँपालिकालाई राष्ट्रिय स्तरमा चिनाउन तिवारीको नेतृत्व निर्णायक बनेको स्थानीयहरू बताउँछन् । सीमित स्रोत–साधनका बाबजुद स्पष्ट दृष्टिकोण, योजनाबद्ध कार्यान्वयन र जनसहभागितामूलक विकास मोडेलमार्फत उनले गाउँपालिकालाई विभिन्न राष्ट्रिय सम्मान र पुरस्कारको योग्य बनाउन सफल भएका छन् ।

सञ्चालनमा आयो बिरुवा आधारभूत अस्पताल, गाउँमै आवश्यक स्वास्थ्य सेवा उपलब्ध

खबरकलम संवाददाता/स्याङ्जा: स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिकाले वडा नं. ६ चिन्नेवासस्थित बिरुवा आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

स्वास्थ्य सेवा विस्तार गर्दै गाउँमै ओपीडी, आकस्मिक, एक्स–रे, भिडियो एक्स–रे तथा CBC, LFT, RFT लगायतका प्रयोगशाला परीक्षण सेवाहरू सञ्चालनमा ल्याएको छ । सो अस्पतालको आज मिति २०८२ साल मंसिर २१ गते गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री माननीय कृष्ण प्रसाद पाठकले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन्। उक्त अवसरमा अध्यक्ष श्री सूर्य बहादुर कुँवरले अस्पताल सञ्चालनको उद्देश्य “गाउँमा स्वास्थ्य चेतना, सहज पहुँच र आपतकालीन अवस्थामा तत्काल उपचार सुनिश्चित गर्नु भएको बताए।

अस्पतालमा हाल एम.वि.वि.एस. डाक्टर, रेडियोग्राफर सुपरभाइजर, हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, स्टाफ नर्स, अनमी, अहेव र फर्मेसी सुपरभाइजर गरी नौ जना स्वास्थ्यकर्मी खटाइएका छन् । साविक चिन्नेवास गा.वि.स. थाँतथलो रही हाल नेपालका विभिन्न ठाउँमा छरिएर बसेका व्यक्तिहरु संगठित भएर बनेको “सामाजिक विकासका लागि सहयोगी हातहरु” नामक संस्थाले अस्पताल सञ्चालनको लागी सुविधा सम्पन्न भवन निर्माण गरी सोही स्थानमा रहेको चिन्नेवास स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको थियो । अहिले सोहि भवनमा अस्पताल सञ्चालन गरिएको छ । अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने थप भौतिक पूर्वाधार भने गत आर्थिक वर्षमा बिरुवा गाउँपालिकाले आफ्नै स्रोतबाट निर्माण सम्पन्न गरेको थियो ।

स्थानीयवासीहरूका अनुसार, अस्पतालमा स्वास्थ्य सेवा विस्तार भएपछि सामान्य उपचारका लागि समेत पोखरा लगायत राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । विशेषगरी आकस्मिक उपचार, गर्भवती महिला र बालबालिकाको स्वास्थ्य परीक्षण गाउँमै उपलब्ध भएपछि जनजीवनमा सहजता आएको छ । गाउँपालिकाले आगामी वर्ष अस्पतालका सेवाहरु थप गरी अल्ट्रासोनोग्राफी तथा दन्त सेवा थप्ने तयारी गरेको जनाएको छ, जसले बिरुवाबासीको स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।