२०८३ अशोज ५, सोमवार

“राष्ट्रिय शिक्षा दिवस २०८३ को अवसरमा गल्याङमा विद्यार्थी, शिक्षक तथा विद्यालय सम्मानित

खबरकलम संवाददाता /गल्याङ: राष्ट्रिय शिक्षा दिवस २०८३ को अवसरमा गल्याङ नगरपालिकामा विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको छ।

गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न शैक्षिक तथा खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान गरिएको हो।

कार्यक्रममा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने ७६ जना विद्यार्थी, कक्षा १२ मा उत्कृष्ट ५ जना तथा खेलकुदतर्फ उत्कृष्ट २ जना विद्यार्थीलाई सम्मान गरिएको थियो। त्यसैगरी दीर्घ सेवा सम्मान प्राप्त गर्ने १० जना तथा बढुवा भएका २० जना शिक्षकलाई समेत सम्मान गरिएको थियो।

कक्षा ५ तर्फ उत्कृष्ट २० जना विद्यार्थीलाई सम्मान गरिएको कार्यक्रममा शैक्षिक उपलब्धिका आधारमा शिक्षक तथा प्रधानाध्यापकहरूलाई पनि सम्मान गरिएको थियो।

SEE परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्ने शैक्षिक वर्ष २०८१ र २०८२ का १३२ जना विषयगत शिक्षक तथा सर्वोत्कृष्ट नतिजा ल्याउने २६ जना विषयगत शिक्षकलाई सम्मान गरिएको थियो। साथै ४ जना प्रधानाध्यापक, ६ जना शिक्षक, ४ जना बालविकास शिक्षक तथा उत्कृष्ट विद्यालयलाई समेत सम्मान गरिएको थियो।

कार्यक्रमले शैक्षिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई प्रोत्साहन गर्नुका साथै शिक्षाको गुणस्तर अभिवृद्धि र उत्कृष्ट नतिजाका लागि थप प्रेरणा प्रदान गरेको छ।

नवग्रह मन्दिरमा सकियो तीन-दिवसीय विशेष महाअनुष्ठान

खबरकलम संवाददाता /स्याङ्जा: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरमा तीन-दिवसीय विशेष महाअनुष्ठान सम्पन्न भएको छ। भागवत पारायाण पण्डित गिरिराज पौडेलको कथा वाचनसँगै अनुष्ठानमा नवग्रहका लागि ५ लाख ४४ हजारभन्दा बढी मन्त्रको लक्षजपसहित हवन सम्पन्न गरिएको हो। 

नवग्रहमा क्षमा पूजासहित इतिहासमै दुर्लभ मानिएको अथर्ववेदीय नवग्रह महासाम्राज्य कल्पअनुसार महाअनुष्ठान गरिएको हो । हवनकुण्डमा नौ प्रकारका अन्न, शुद्ध घिउ, तिल, जौ, मह तथा विशेष जडीबुटीयुक्त नवधान्य र द्रव्यको आहुति दिइएको थियो भने भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण दिवगंत भएकाहरुको सम्झनामा क्षमा पूजा तथा मानव जीवनमा देखिने सम्पूर्ण ग्रहदोष शान्ति र सर्वसिद्धि प्राप्तिको कामनासहित महाअनुष्ठान गरिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए।

उनका अनुसार यो सामान्य पूजा वा हवन मात्र नभई कृष्ण यजुर्वेद र अथर्ववेदको ‘नक्षत्र कल्प’मा उल्लेखित दुर्लभ महासाम्राज्य विधानअनुसार गरिएको अनुष्ठान हो। हजारौँ वर्षअघि महर्षिहरूले गोप्य राखेको उक्त विधिअनुसार अनुष्ठान गरिएको उनको भनाइ छ।

महाअनुष्ठानका क्रममा अघोर पूजा तथा तान्त्रिक विधिअनुसार कुभिन्डो, नरिवल, कागती, उखु र जायफलको सात्त्विक बलिसमेत दिइएको थियो । तीन दिनसम्म चलेको अनुष्ठानमा करिब २५ हजार भक्तजनले मन्दिरमा पुगेर पूजा तथा आराधना गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले जानकारी दिए। उनका अनुसार तीन दिनसम्म करिब एक लाख साठी हजार रुपैयाँ आम्दानी गरिएको छ।

अर्जुनचौपारीमा तीन दिन नवग्रह महासाम्राज्य महाअनुष्ठान हुने

खबरकलम संवाददाता /स्याङ्जा: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको नेपालकै पहिलो नवग्रह धाममा तीन दिनसम्म विशेष धार्मिक अनुष्ठान हुने भएको छ । देशकै पहिलो नवग्रह मन्दिरका रूपमा चिनिँदै आएको धाममा भाद्र २७, २८ र २९ गते क्षमा पूजा तथा अथर्ववेदीय नवग्रह महासाम्राज्य कल्प महाअनुष्ठानको तयारी गरिएको हो ।

भोटेकोशीमा आएको बाढीपहिरोमा परी ज्यान गुमाएका तथा सम्पर्कविहीन नागरिकको शान्तिको कामना गर्दै क्षमा पूजा तथा मानव जीवनमा देखिने ग्रहदोष शान्ति र सर्वसिद्धिका लागि महाअनुष्ठान गर्न लागिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए ।

‘ग्रह शान्त भए जीवन शान्त हुन्छ’ भन्ने मूल भावनाका साथ आयोजना हुने अनुष्ठान सामान्य पूजा वा हवनमा मात्र सीमित नरहने आयोजकको दाबी छ । कृष्ण यजुर्वेद र अथर्ववेदको ‘नक्षत्र कल्प’मा उल्लेखित विधानअनुसार महाअनुष्ठान गरिने अध्यक्ष तिवारीले बताए ।

उनका अनुसार कलियुगको शास्त्रोक्त विधानअनुसार पाँच लाख ४४ हजारभन्दा बढी मन्त्रको लक्षजप गरिनेछ । वैदिक ब्राह्मणद्वारा सूर्यका लागि सात हजार, चन्द्रका लागि ११ हजार, मङ्गलका लागि १० हजार, बुधका लागि नौ हजार, गुरुका लागि १९ हजार, शुक्रका लागि १६ हजार, शनिका लागि २३ हजार, राहुका लागि १८ हजार र केतुका लागि १७ हजार मन्त्रजप गरिनेछ । त्यसपछि निर्धारित विधिअनुसार त्यसको चार गुणा जप पूरा गरिने आयोजकले जनाएको छ ।

जपपछि नवग्रहका लागि तोकिएका वनस्पति तथा समिधाबाट हवन गरिनेछ । सूर्यका लागि आँक, चन्द्रका लागि पलाश, मङ्गलका लागि खदिर र शनिका लागि शमीसहित ग्रहअनुसारका सामग्री प्रयोग गरिने नवग्रह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले बताए ।

हवनकुण्डमा नौ प्रकारका अन्न, शुद्ध घिउ, तिल, जौ, मह तथा जडीबुटीयुक्त नवधान्य र अन्य द्रव्यको आहुति दिने तयारी छ । नवग्रहसँग सम्बन्धित अधिदेवता र प्रत्यधिदेवताका लागि पनि विशेष तर्पण तथा आहुति गरिने आयोजकले जनाएको छ । सूर्यका लागि शिव, चन्द्रका लागि पार्वती र बुधका लागि विष्णुसहित सम्बन्धित देवताको पूजा गरिनेछ ।

मध्यरातमा अघोर पूजा

महाअनुष्ठानको मुख्य आकर्षणका रूपमा भदौ २८ गते मध्यराति १२ बजे अघोर पूजा तथा तान्त्रिक विधिअनुसार सात्त्विक बलि दिने कार्यक्रम राखिएको छ । आयोजकका अनुसार कुभिन्डो, नरिवल, कागती, उखु र जायफलको सात्त्विक बलि दिइनेछ ।

मन्त्रको अखण्ड गुञ्जनबीच गरिने उक्त विधिले यजमान तथा दर्शनार्थीमा रहेको ग्रहदोष, अदृश्य बाधा र संकट हट्ने धार्मिक विश्वास रहेको आयोजकले बताएका छन् ।

तीन दिनसम्म सञ्चालन हुने महाअनुष्ठानमा करिब ५० हजार भक्तजन सहभागी हुने अनुमान गरिएको छ । हरेक वर्ष गणेश चतुर्थीको अवसरमा धार्मिक कार्यक्रम हुँदै आए पनि नवग्रह मन्दिर निर्माणपछि पहिलोपटक यस प्रकारको महाअनुष्ठान गर्न लागिएको हो ।

मन्दिर नवभूज आकारमा निर्माण गरिएको छ । आकाशतर्फ फर्किएको २७ फिट अग्लो मन्दिरमा सौर्यमण्डल तथा ब्रह्माण्डको प्रतिमासमेत राखिएको छ । महाअनुष्ठानमा सहभागी हुने भक्तजनले उक्त संरचना तथा प्रतिमा प्रत्यक्ष अवलोकन गर्न पाउने आयोजकले जनाएको छ ।

DCIM\100MEDIA\DJI_0330.JPG

जिल्लास्तरीय अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न, त्रिआ मावि प्रथम

माधवप्रसाद रेग्मी/स्याङ्जा: जुनियर रेडक्रस सर्कल त्रिभुवन आदर्श माध्यमिक विद्यालयद्वारा आयोजना गरिएको जिल्लास्तरीय अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ।

विद्यालयको सभाहलमा संचालन भएको उक्त कार्यक्रममा स्याङ्जा जिल्लाका विभिन्न स्थानीय तहबाट २३ विद्यालयहरू प्रतियोगितामा सम्मिलित रहेका थिए । विद्यालयका रेडक्रस अध्यक्ष ओस्कार रेग्मीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला रेडक्रसका सभापति दिनेश अर्याल, विशिष्ट अतिथिको रूपमा नगरपालिका शिक्षा अधिकृत शोभा बस्याल, अतिथिको रूपमा विद्यालय प्रधानाध्यापक प्रेम प्रसाद पौडेल हुनुहुन्थ्यो।

कार्यक्रममा प्रमुख अतिथिले स्याङ्जा जिल्लामा रेडक्रसले संचालन गरेका विभिन्न सामाजिक कार्यहरूको चर्चा गर्नुभयो। साथै विद्यालयका प्रधानाध्यापकले आफू विद्यालय अध्ययन गर्ने समयदेखि नै रेडक्रसले काम गरेको र त्यही विद्यालयमा अहिले प्रधानाध्यापक हुन पाएकोमा गर्व लागेको कुरा व्यक्त गर्नुभयो। ओम बिकास सिंजालीको संयोजकत्वमा ५ सदस्यीय कार्यसमिति बनाई प्रतियोगिता संचालन गरिएको थियो।

प्रतियोगितामा त्रिभुवन आदर्श माध्यमिक विद्यालय प्रथम, रोशनी आवासीय माध्यमिक विद्यालयले द्वितीय, भु.प. सैनिक आवासीय माध्यमिक विद्यालय बयरघारीले तृतीय स्थान र स्याङ्जा उच्च माध्यमिक विद्यालयले सान्त्वना स्थान प्राप्त गरेका छन् । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक लगायत अंग्रेजी शिक्षकहरूको उपस्थिति रहेको थियो।

शुभलक्ष्मी सहकारीको १४ औं वार्षिक साधारणसभा सम्पन्न

खबरकलम संवाददाता /भदौ २१: भीरकोट नगरपालिका वडा नं १ बयरघारीस्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १४ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।

भीरकोटस्थित क्षेत्री समाजको बहुउद्देश्यीय भवनमा आफ्ना सयौं शेयर सदस्यहरुको उपस्थितिमा आज सहकारीले १४ औं साधारणसभा सम्पन्न गरेको हो।

उक्त साधारणसभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, व्यवस्थापकको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको आर्थिक वर्ष २०८२/८३ को प्रतिवेदन परित गरिएको थियो भने सहकारीले नीति तथा कार्यक्रममा समावेश गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम, नयाँ लेखापरीक्षक नियुक्ति, शेयर लाभांश वितरण तथा संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धी कार्ययोजना समेत पारित गरिएको थियो।

कुल १ करोड ९६ लाख ५८ हजार ५ सय शेयर पुँजी रहेको उक्त सहकारीले बचत संकलन रु २२ करोड १० लाख ७६ हजार ६ सय ९१ संकलन गरेको छ भने रु १६ करोड ४७ लाखभन्दा बढी रकम ऋण प्रवाह गरेको छ। हालसम्म सहकारी संस्थाले कुल रु ६५ लाख ८७ हजार ३३६ रुपैयाँ बचत मुनाफा गरेको छ। संस्थाको प्रतिवेदन अनुसार १२ करोड ७४ लाखभन्दा बढी बैंक तथा नगद मौज्दात रहेको छ भने तरलता प्रतिशत ५७.६६ रहेको छ।‌

विसं २०७० सालमा दर्ता भई विधिवत् रूपमा सञ्चालनमा आएको सहकारी संस्थाका हाल २१११ जना शेयर सदस्य रहेका छन् भने ८ जना कर्मचारीले सेवा प्रदान गरिरहेका छन्।

आज सम्पन्न भएको साधारणसभा कार्यक्रममा जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेल प्रमुख अतिथि, भीरकोट नगरपालिकाका निवर्तमान प्रमुख छायाँराम खनाल विशिष्ट अतिथि रहेका थिए भने अन्य समाजसेवी तथा विद्वत व्यक्तिहरुको समेत उक्त कार्यक्रममा उपस्थिति रहेको थियो। संस्थाका अध्यक्ष भक्तबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सहकारी संस्थाका व्यवस्थापक लेखबहादुर केसी किरणले गरेका थिए।

स्याङ्जाका विभिन्न स्थानबाट १३ जना फरार अभियुक्त पक्राउ

स्याङ्जा/साउन १: जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको छ। 

९ जना पुरुष, ४ जना महिला प्रतिवादीहरुलाई विभिन्न स्थानहरूबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूबाट ३० दिन कैद र २३४२० रुपैयाँ समेत जरिवाना असुल उपर भएको छ। 

पक्राउ परेका प्रतिवादीहरूको संख्यात्मक विवरणमा अंशबण्डा मुद्दामा  ३ जना, लुटपिट मुद्दामा २ जना, सम्वन्ध विच्छेदमा २ जना, कुटपिट मुद्दामा २ जना,चोरी मुद्दामा २ जना, चेक अनादर मुद्दा र लेनदेन मुद्दामा १-१ जना रहेका छन्। 

क्युआर मार्फत मौरीपालनलाई प्रविधिसँग जोड्दै फेदीखोला गाउँपालिका

रामबहादुर रोका/खबरकलम : स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरीपालनलाई प्रविधिसँग जोड्दै क्युआर कोडमार्फत मौरीका घारको अनुगमन सुरु गरेको छ । मौरीपालनको सम्भावना बढ्दै गएपछि गाउँपालिकाले अनलाइन प्रणाली प्रयोग गरेर घारको अवस्था, उत्पादन र रोगको निगरानी गर्न थालेको हो ।

भूमिसेवा नेटवर्क ‘बी.भूमि.अर्थ’ प्रणालीमार्फत सञ्चालन गरिएको यो प्रविधि स्याङ्जाकै आँधीखोला गाउँपालिकाका मदन पौडेलले विकास गरेका हुन् । गाउँपालिकाले कृषकलाई अनुदानमा उपलब्ध गराएका मौरीका घारमा क्युआर कोड जडान गरेर यसको प्रयोग सुरु गरेको जनाएको छ । गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीका अनुसार कृषकले पठाउने तस्बिर र अनुगमनका क्रममा स्क्यान गरिने क्युआर कोडमार्फत घारको अवस्थादेखि रोगको जोखिम, उत्पादनको स्थिति तथा गोला फुटाउने समयसम्मको जानकारी प्राप्त गर्न सकिन्छ ।

‘मौरीपालनलाई आधुनिक र व्यवस्थित बनाउँदै कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले यो प्रणाली लागू गरेका हौं,’ उनले भने । गाउँपालिकाले हालसम्म ७० प्रतिशत अनुदानमा एक हजार मौरीका घार वितरण गरिसकेको छ । त्यसबाहेक कृषकले आफ्नै लगानीमा दुई हजारभन्दा बढी घार सञ्चालन गरिरहेका छन् ।

एक वर्षअघि २४ जना कृषकलाई प्रतिव्यक्ति २५ घारका दरले मौरी वितरण गरेर फेदीखोला सेरेना मौरी समूह गठन गरिएको थियो । अहिले चार वटा समूहमार्फत १२० जना कृषक व्यावसायिक मौरीपालनमा आबद्ध छन् । गाउँपालिकाका अनुसार अनुकूल हावापानी, प्रशस्त चरन क्षेत्र र वनस्पतिको उपलब्धताले मौरीपालन विस्तारमा सहयोग पुगेको छ ।

अध्यक्ष सुवेदीले आगामी दिनमा ‘एक किसान, कम्तीमा एक घार मौरी’ भन्ने अवधारणालाई अघि बढाउने तयारी भइरहेको बताए । उनका अनुसार मौरीपालनलाई ग्रामीण रोजगारी, उद्यमशीलता र आयआर्जनको भरपर्दो आधारका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । गाउँपालिकाले विद्यालयस्तरमै मौरीपालनबारे जानकारी गराउन ‘एक विद्यालय, एक उद्यम’ कार्यक्रममार्फत नौ विद्यालयमा यससम्बन्धी गतिविधि सञ्चालन गरेको छ । साथै सहकारीमार्फत मौरीसहितको घार उद्योग स्थापना, महको बजारीकरण, स्थानीय उत्पादनको प्रवर्द्धन, कोसेली घर सञ्चालन तथा चरन क्षेत्र विकासका कार्यक्रम पनि अघि बढाइएको छ ।

स्थानीय मौरीपालक तथा होमस्टे सञ्चालक खरीकुमारी गुरुङले ४० घार मौरीबाट एक वर्षमै ४० वटा नयाँ घार बिक्री गर्नुका साथै करिब २०० किलो मह र महका चाका बिक्री गरेर झन्डै आठ लाख रुपैयाँ आम्दानी गरेको बताइन् । मौरीपालक कृषक समूहका अध्यक्ष उजिरबहादुर केसीले फेदीखोलामा मेहनत गर्ने मौरीपालक कृषक खाली हात नफर्किएको बताए । उनका अनुसार गाउँपालिकाभित्र धेरै परिवारको मुख्य आम्दानीको स्रोत नै अहिले मौरीपालन बनेको छ ।

गोरु पाल्ने किसानलाई गल्याङ नगरपालिकाले दियो पाँच हजार भत्ता

खबरकलम संवाददाता /स्याङ्जा: स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु संरक्षण र कृषकलाई परम्परागत खेतीप्रति आकर्षित गर्ने उद्देश्यले हल गोरु पाल्ने ११५ जना कृषकलाई जनही पाँच हजार रुपैयाँका दरले प्रोत्साहन अनुदान वितरण गरेको छ ।

चालू आर्थिक वर्ष २०८२/८३ अन्तर्गत सञ्चालन गरिएको ‘कृषक प्रोत्साहन अनुदान कार्यक्रम’ मार्फत नगरपालिकाले ११६ हल गोरुका लागि आवेदन परेकामा मापदण्ड पूरा गरेका ११५ जना कृषकलाई अनुदान उपलब्ध गराएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीका अनुसार पछिल्ला वर्षमा पावर टिलरजस्ता यान्त्रिक उपकरणको प्रयोग बढेसँगै हल गोरु पाल्ने चलन घट्दै गएको छ । यही अवस्थालाई ध्यानमा राख्दै कृषकलाई हल गोरु पालनतर्फ प्रेरित गर्न प्रोत्साहन रकम उपलब्ध गराइएको उनले बताए ।

उनका अनुसार ग्रामीण क्षेत्रमा अझै पनि इन्धनको सहज उपलब्धता नहुने, पावर टिलर चलाउने दक्ष जनशक्तिको अभाव रहने र उपकरण बिग्रिएपछि मर्मतमा समस्या हुने भएकाले हल गोरुको आवश्यकता कायमै रहेको छ ।

नगरपालिकाको पशु सेवा शाखाका प्राविधिक महादेव बनले सूचना जारी गरेर आवेदन माग गरिएको र तोकिएको प्रक्रिया पूरा गरेका कृषकलाई मात्रै अनुदान उपलब्ध गराइएको जानकारी दिए ।

उनका अनुसार ११ वटै वडाका कृषकले हल गोरुको बिमा गरेको प्रमाण, गोठमा रहेका हल गोरुको तस्बिरसहित आवेदन दिएका थिए । त्यसपछि नगरपालिकाको टोलीले स्थलगत अनुगमन गरेर विवरण प्रमाणित गरेपछि सम्बन्धित कृषकको बैंक खातामा रकम जम्मा गरिएको हो ।

बनका अनुसार नगरपालिकाभित्र हल गोरु पाल्ने कृषकको संख्या आवेदन परेकाभन्दा बढी भए पनि कतिपयले सूचना नपाउँदा वा आवेदन नदिँदा अनुदानबाट वञ्चित भएका हुन सक्छन् ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ मा पनि यो कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । यस वर्ष अनुदान नपाएका हल गोरु पाल्ने कृषकलाई आगामी वर्ष प्राथमिकतामा राखिने नगरपालिकाले जनाएको छ ।

गल्याङ नगरपालिकाको १९ औं नगरसभा सम्पन्न, ८६ करोडको वार्षिक बजेट प्रस्तुत

असार १०/खबरकलम संवाददाता: गल्याङ नगरपालिकाले आज आफ्नो १९ औं नगरसभा सम्पन्न गरेको छ।

गल्याङ नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तथा वार्षिक बजेट प्रस्तुतिसहित १९ औँ नगरसभा आज सम्पन्न गरिएको हो।

नगरसभामा आगामी आर्थिक वर्षका विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार तथा सुशासनका विविध प्राथमिकताहरू समेटिएको नीति तथा कार्यक्रम र बजेट गल्याङ नगरपालिकाकी नगर उपप्रमुख हेमा न्यौपानेले प्रस्तुत गरेकी हुन्।

गल्याङ नगरपालिकाको बजेटको सिलिङ रु ८६ करोड ६३ लाख ५० हजार रहेको छ। उक्त बजेटको सिलिङ अनुसारको वार्षिक बजेट विनियोजित गर्दै नगरसभाले “दिगो विकास, व्यवस्थित सहर र समृद्ध गल्याङ” को लक्ष्यलाई आत्मसात गर्दै नागरिकको जीवनस्तर उकास्ने, उत्पादन र रोजगारी वृद्धि गर्ने तथा समावेशी विकासलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

“दक्षिण एशियाली ज्योतिष महासंघको महासचिवमा स्याङ्जा, वालिङका रविन पंगेनी निर्वाचित”

खबरकलम संवाददाता /जेठ १६: दक्षिण एशियाली ज्योतिष महासंघको सातौं केन्द्रीय महासभाबाट अध्यक्ष पदमा डा.सहदेव विष्ट,युवा ज्योतिषी अनुसन्धानकर्ता, संगठन अभियन्ता तथा सामाजिक व्यक्तित्व रविन पंगेनी सर्वसम्मत रूपमा महासंघको केन्द्रीय महासचिव पदमा र कोषाध्यक्ष पदमा आचार्य लक्ष्मण गौतम निर्वाचित भएका छन्। काठमाडौं स्थित होटल पेन्सन वासनामा सम्पन्न महासभाले पंगेनीको नेतृत्व क्षमता, संगठन निर्माणमा पुर्‍याएको योगदान तथा ज्योतिष क्षेत्रको विकासमा देखाएको सक्रियतालाई मूल्याङ्कन गर्दै सार्क स्तरीय महासचिवको जिम्मेवारी प्रदान गरेको हो।

महासभामा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका तथा दक्षिण एशियाका विभिन्न राष्ट्रका ज्योतिषविद्, वास्तु विशेषज्ञ, पञ्चाङ्गविद् तथा आध्यात्मिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। महासभाले ज्योतिष विज्ञानको संरक्षण, अनुसन्धान, अन्तर्राष्ट्रिय सहकार्य तथा युवा पुस्तामा ज्योतिषप्रतिको आकर्षण बढाउने विषयलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ।

नवनिर्वाचित महासचिव पंगेनीले ज्योतिषलाई केवल परम्परागत विश्वासको विषयका रूपमा नभई अनुसन्धान, दर्शन, संस्कृतिसँग जोडिएको वैज्ञानिक एवं आध्यात्मिक अध्ययनको क्षेत्रका रूपमा स्थापित गर्न आफू प्रतिबद्ध रहने बताएका छन्। उनले दक्षिण एशियाली राष्ट्रहरूबीच ज्योतिषीय ज्ञान आदान–प्रदान, संयुक्त अनुसन्धान तथा अन्तर्राष्ट्रिय सम्मेलनहरूलाई अझ प्रभावकारी बनाउने योजना प्रस्तुत गरेका छन्।

रविन पंगेनी विगत १ दशक भन्दा बढी समयदेखि ज्योतिष, वास्तु, सनातन संस्कृति संरक्षण तथा सामाजिक जागरणका क्षेत्रमा सक्रिय रहँदै आएका व्यक्तित्वका रूपमा परिचित छन्। उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन, गोष्ठी तथा प्रशिक्षण कार्यक्रमहरूमा सहभागिता जनाउँदै ज्योतिषीय चेतना विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
दक्षिण एशियाली तथा अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलनहरूमा विभिन्न अवार्ड
“युवा तारा ज्योतिष अवार्ड “,मन्दाकिनी अवार्ड ,ज्योतिष ऋषि अवार्ड ,पशुपतिनाथ अवार्ड ,अन्तर्राष्ट्रिय खगोल माननीय अतिथि अवार्ड ,ज्योतिष भास्कर अवार्ड ,शारदा अवार्ड – 2022 “ज्योतिष रत्न”,अवार्ड , “ज्योतिष भूषण”, “वास्तु भूषण”, “इण्डो–नेपाल एस्ट्रोलोजिकल एक्सिलेन्स अवार्ड” सम्मान प्राप्त गरेका छन् । पंगेनीले ज्योतिषीय संगठन विस्तार, अनुसन्धान प्रवर्द्धन तथा युवा सहभागिता अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएका कारण विभिन्न संस्थाबाट सम्मान प्राप्त गरेको जनाइएको छ। �

उनले दक्षिण एशियाली ज्योतिष महासंघका विभिन्न कार्यक्रम, राष्ट्रिय सम्मेलन, आध्यात्मिक सम्मेलन तथा ज्योतिष सम्बन्धी कादम्बिनीको प्रधान सम्पादक र मन्दाकिनीमा सम्पादक रहेर प्रकाशन कार्यमा समेत सक्रिय भूमिका निर्वाह गरेका छन्। संगठन निर्माण, समन्वय तथा व्यवस्थापनमा उनको दक्षता महासंघभित्र विशेष रूपमा प्रशंसित रहेको सहभागीहरूले बताएका छन्।

युवा पुस्ताका प्रेरणास्रोत

ज्योतिष क्षेत्रमा पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्ने व्यक्तित्वका रूपमा रविन पंगेनीलाई हेरिन्छ। ज्योतिष , मनोविज्ञान , कानुन, समाज शास्त्रमा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन गरेका उनले परम्परागत वैदिक ज्ञानलाई आधुनिक सञ्चार माध्यममार्फत जनसाधारणसम्म पुर्‍याउने अभियानमा समेत सक्रिय भूमिका खेलेका छन्। विशेषतः युवा वर्गलाई ज्योतिष, संस्कृत शिक्षा, पञ्चाङ्ग विज्ञान तथा सनातन संस्कृतिप्रति आकर्षित गराउन उनले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

महासंघका वरिष्ठ पदाधिकारीहरूले पंगेनीको महासचिवमा निर्वाचनले संगठनलाई नयाँ ऊर्जा, अनुसन्धानमुखी दृष्टिकोण तथा अन्तर्राष्ट्रिय विस्तारको अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। दक्षिण एशियाली ज्योतिष महासंघले आगामी दिनमा दक्षिण एशियाका राष्ट्रहरूबीच ज्योतिषीय अनुसन्धान, शैक्षिक सहकार्य, प्राचीन ग्रन्थ संरक्षण, डिजिटल अभिलेखीकरण तथा अन्तर्राष्ट्रिय स्तरका सम्मेलन आयोजना गर्ने लक्ष्य लिएको छ। नवनिर्वाचित महासचिव रविन पंगेनीको नेतृत्वमा महासंघले नयाँ उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ।
ज्योतिष विज्ञान, वास्तुशास्त्र, संस्कृत शिक्षा तथा सनातन सभ्यताको प्रवर्द्धनमा समर्पित पंगेनीको महासचिव पदमा भएको निर्वाचनलाई ज्योतिष क्षेत्रका लागि सकारात्मक, ऊर्जाशील तथा दूरदर्शी नेतृत्वको उदयका रूपमा हेरिएको छ।