कार्तिक १४/स्याङ्जा : सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यका साथ अर्जुनचाैपारी गाउँपालिका स्याङ्जाको आयाेजना तथा रुम टु रिड र सुर्याेदय क्लब स्याङ्जाको प्राविधिक सहयाेगमा पुस्तकालय व्यवस्थापनसम्बन्धी २ दिने आधारभूत तालिम सम्पन्न भएको छ।
यही कार्तिक १० र ११ गते पहिलाे सत्र, १२ र १३ गते दाेस्राे सत्र गरी सञ्चालन गरिएको कार्यक्रममा अर्जुनचौपारी गाउँपालिका भित्रका २२ विद्यालयका २/२ जना शिक्षक गरी ४४ जना शिक्षकलाई तालिममा समावेश गरिएकाे थियाे।
अर्जुनचौपारी गाउँपालिकाले यसै शैक्षिक सत्रदेखि कक्षा १ बाट रूम टु रिडकाे साक्षरता कार्यक्रम सञ्चालनमा ल्याएकाे छ। यस तालिम लगत्तै पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरूमा पुस्तकालय व्यवस्थापन गर्नुका साथै प्रत्येक आधारभूत तहका कक्षाहरूमा बालमैत्री कक्षाकाेठा समेत निर्माण गर्ने लक्ष्यका साथ अघि बढ्ने बुझिएको छ।
रुम टु रिड तथा सुर्योदय युवा क्लबले यस अघि नै स्याङ्जा जिल्लाका विभिन्न पालिकाहरुसँग समन्वय गरी पुस्तकालय व्यवस्थापन र भाषागत सिकाइका विभिन्न कार्यक्रमहरू गरिसकेको छ।
खबरकलम संवाददाता/अर्जुनचौपारी: अर्डाजुनचौपारी गाउँपालिका वडा नं ६ वडा कार्यालयको आयोजनामा सञ्चालन गरिएको देउसीभैलो प्रतियोगिता सम्पन्न भएको छ।
विद्यालयस्तरीय आधारभूत तह (१-५) सम्मका विद्यार्थीलाई हिन्दूहरूको दोश्रो ठूलो चाड तिहारको अवसरमा देउसीभैलो प्रतियोगिता आयोजना गरी सहभागी गराइएको हो। कार्तिक ११ गते आयोजना गरिएको उक्त प्रतियोगितामा दरौं मावि तथा श्री गाउँफर्क जनहित मावि प्रथम, श्री जनविकास आवि तृतीय तथा श्री राष्ट्रिय आवि सान्त्वना भएका छन्।
देउसीभैलो प्रतियोगितामा सहभागी आधारभूत तहका विद्यार्थीहरुले देशप्रेम र राष्ट्रिय भावनालाई शब्दमा उतार्दै आफूहरु यही देशको भविष्य निर्माण गर्ने शक्ति भएको र विदेशिने चाहना नभएको उल्लेख गर्दै देशको विकासलाई गति दिन र सुशासन कायम गर्न गीत मार्फत नै अनुरोध गरेका थिए।
सहभागी साना विद्यार्थी भाइबहिनीहरुले देउसीभैलो प्रतियोगितामा “छैन हाम्लाई जान मन विदेश, जसरी नि बस्ने हो यही देश” भनी गीत गाउँदा उपस्थित जनप्रतिनिधि तथा स्थानीयहरु भावुक बने। देशमा चरम निराशा र असन्तुष्टि बढिरहेका बेला विद्यार्थीको गीतको भावले सबै जनालाई सोचमग्न बनाएको थियो।
अर्जुनचौपारी गाउँपालिका वडा नं ६ वडा कार्यालयले विद्यालय बिदाको समयमा समेत देउसीभैलो प्रतियोगिता आयोजना गरी विद्यार्थीलाई सहभागी हुने अवसर दिएकोमा विद्यार्थीले आभार प्रकट गरे।
उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने दुई विद्यालयले ११० अंक, तृतीय हुनेले १०१.५ अंक तथा सान्त्वना हुने विद्यालयले ९७ अंक प्राप्त गरेका थिए।
विकास ठकुरी/असोज २८: प्रथम सेपत कप टोल स्तरीय भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आँधीखोला गाउँपालिकामा सुरु भएको छ।
आजबाट असोज ३० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले गर्दै खेलबाट सामाजिक सद्भाव र युवाहरुको अनुशासन बढेको बताए।
सेपत युवा क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा आँधीखोला गाउँपालिकाभित्रका १४ वटा टीमले सहभागिता जनाएको सेपत युवा क्लबका अध्यक्ष इन्द्रबहादुर रानाभाटले जानकारी दिए। उनका अनुसार प्रथम हुने टिमलाई शिल्ड मेडल र प्रमाणपत्र सहित नगद रु तीस हजार, द्वितीय टीमलाई शिल्ड मेडल र प्रमाणपत्र सहित नगद रु बीस हजार तथा तृतीय हुने टीमलाई नगद रु दश हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
उक्त प्रतियोगिताको प्रत्यक्ष प्रसारण तारा डिजिटल युट्युब च्यानल समाचार प्रकाशन र खबरकलम डटकमद्वारा गरिनेछ।
खबरकलम संवाददाता /स्याङ्जा: जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सेना प्रहरीको जस्तो देखिने पोशाक लगाउनेमाथि निगरानी गर्न थालेको छ।
प्रशासन कार्यालय स्याङ्जाले आज एक विज्ञप्ति जारी गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रचलित कानून बमोजिम हुने गरी लगाउने गरेको पोशाक जस्तै देखिने गरी निजी तथा गैरसरकारी संस्था, सुरक्षा गार्डले समेत प्रयोग गरी दुरुपयोग गरेको र यसबाट सांगठनिक अपराध समेत बढेको भन्दै प्रशासनले त्यसो नगर्न निर्देशन गरेको हो।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जारी गरेको विज्ञप्तिमा सेना तथा प्रहरीको पोशाक तथा दर्ज्यानी चिन्हसँग मिल्दोजुल्दो पोशाकको प्रयोगले समाजमा भ्रम बढेको, शान्ति सुव्यवस्था कामय गर्न समेत द्विविधा उत्पन्न भएको र अपराध समेत हुनसक्ने जोखिम तहेकाले यस्ताखालका पोशाक र दज्र्यानी चिह्न प्रयोग नगर्न र अवैधानिक रूपमा यसको प्रयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही समेत गरिने भएको छ।
चाडबाडको मुखमा प्रशासन कार्यालयले निकालेको विज्ञप्तिअनुसार कार्यन्वयन हुन सकेमा समाजमा शान्ति सुव्यवस्था कायम हुने छ।
खबरकलम संवाददाता/वालिङ: स्याङ्जा सहयोग समाज (अन्तर्राष्ट्रिय समन्वय समिति) को आयोजनामा आगामी कार्तिक २, ३, र ४ गते वालिङ खेल मैदानमा पालिकास्तरीय पहिलो भलिबल कप २०२४/२०८१ हुने भएको छ। स्याङ्जा जिल्लाका ११ वटा पालिकाहरूको सहभागितामा हुन लागेको यो प्रतियोगिता खेलकुद क्षेत्रका लागि एक महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। स्याङ्जाका ५ नगरपालिका र ६ गाउँपालिकाका टीम सहभागी हुने उक्त प्रतियोगितामा आवश्यकता अनुसार १ दिन थप्न सकिने संस्थाका खेल संयोजक प्रकाश श्रेष्ठले जानकारी दिए।
स्याङ्जा सहयोग समाजद्वारा आयोजित यस प्रतियोगितामा विजेताहरूको आकर्षक पुरस्कारहरू राखिएको छ। शिल्ड मेडल र प्रमाणपत्र सहित प्रथम पुरस्कार नगद रु. १ लाख ५० हजार , द्वितीय पुरस्कार लागि नगद रु. १ लाख , तृतीय स्थानका लागि रु. ५० हजार रूपैयाँ रहेको छ। सान्त्वना स्थानका लागि नगद रु. २५ हजार सहित मेडल, ट्रफी, र प्रमाणपत्रको व्यवस्था गरिएको छ। उत्कृष्ट खेलाडीलाई नगद रू १० हजार, र अन्य ५ विधामा ५/५ हजार रूपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ। नगद पुरस्कारले खेलाडीहरूको हौसला बढाउँदै प्रतिस्पर्धालाई थप रोचक बनाउने विश्वास गरिएको छ।
प्रतियोगितालाई स्याङ्जाली खेलाडीहरूको क्षमताको परीक्षण गर्ने, प्रोत्साहन गर्ने र खेलकुदमार्फत भाइचारा अभिवृद्धि अवसरका रूपमा लिएको स्याङ्जा सहयोग समाज (अन्तर्राष्ट्रिय समन्वय समिति) का अध्यक्ष विरेन्द्रजंग के.सी. ले जानकारी दिए।
सांस्कृतिक कार्यक्रमसँगै हुने यस प्रतियोगितामा स्याङ्जा जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकाका ११ टिमले सहभागिता जनाउनेछन्। आयोजक समितिका अनुसार, यो प्रतियोगिता खेलकुद प्रवर्द्धनका साथै स्थानीय समुदायमा एकता र सहयोगको भावना बढाउने लक्ष्यका साथ गरिएको हो। यस कार्यक्रमलाई सफल बनाउन स्याङ्जा जिल्लाका विभिन्न पालिकाहरू, वालिङ भलिबल क्लब र स्याङ्जा सहयोग समाजका विभिन्न राष्ट्रिय समन्वय समितिहरूको समेत सहयोग रहेको छ।
वालिङ खेल मैदानमा खेलप्रेमीहरूको उपस्थिति र सहभागिता अत्यन्त उत्साहजनक हुने अपेक्षा गरिएको छ। यसले स्याङ्जा जिल्लालाई खेलकुदको क्षेत्रमा थप चर्चित बनाउन मद्दत गर्ने विश्वास आयोजकले लिएका छन्। खेललाई शान्तिपूर्ण व्यवस्थित र मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय र मातहतका निकायसँग समन्वय गरिएको बताइएको छ।
दर्ता शुल्क जम्मा रु १५००० राखिएको यस प्रतियोगितामा प्रस्तावित जम्माजम्मी खर्च १५ लाख ८५ हजार हुने छ।
यस प्रतियोगिताका लागि मुख्य प्रायोजन अमेरिकामा बसोवास गर्दै आएका डिलु पराजुलीले गरेका छन्। प्रथम पुरस्कार प्रायोजन अमेरिकामै बसोबास गर्दै आएकी बिमला हमालले गरेकी छन्। यस्तै द्वितीय पुरस्कार सौजन्य कतारमा व्यवशाय गर्दै आएका नारायण शर्मा, तृतीय पुरस्कार जापान निवासी सुकबहादुर केसीले गरेका छन् भने सान्त्वना पुरस्कार आयोजक टीम आफैले प्रायोजन गरेको छ।
असोज १९/स्याङ्जा : स्याङ्जाको झापाकोट स्थित कालिका माध्यामिक विद्यालयमा अध्ययन गरी स्वदेश तथा विदेशका विभिन्न स्थानमा पुगेका विद्यार्थीलाई प्रतिनिधित्व गर्ने गरी पूर्व विद्यार्थी मञ्च गठन गरिएको छ।
विजयादशमी तथा दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमका बीच सो विद्यालयमा अध्ययन गरी समसजकस विभिन्न क्षेत्रहरुमा प्रतिनिधित्व गरिरहेका पूर्व विद्यार्थीको भेलाले बोधराज गौतमको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति चयन गरेको हो।
उक्त मञ्चको अध्यक्षमा बोधराज गौतम, उपाध्यक्षमा पूर्णबहादुर क्षेत्री “पुरन”, सचिवमा युक्त नारायण अर्याल, कोषाध्यक्षमा निता पौडेल, सहसचिव रामप्रसाद पौडेल सहित सदस्यहरुमा मुना भट्टराई, घनश्याम न्यौपाने, गेजा शर्मा अर्याल, भोजराज पौडेल, डिल्लीराम अर्याल र आत्मराम अर्याल चयन भएका छन्।
विद्यालयको उन्नयनमा सारथी बन्ने गरी काम गर्ने मञ्चका अध्यक्ष बोधराज गौतमको भनाइ छ।
माधवप्रसाद रेग्मी/असोज १६: बार्दलीबाट खसेर टाउकोको अप्रेसन गरेका बालक किरण परियारलाई उपचारार्थ सहयोग रकम एक लाख तीन हजार पाँच रूपैयाँ हस्तान्तरण गरिएको छ।
भीरकोट नगरपालिका वडा नं १ स्थित कन्साइन्स आवासीय माध्यमिक विद्यालयमा एलकेजीमा अध्ययनरत बालक किरण परियार घरमा खेल्ने क्रममा यही साउन १३ गते बार्दलीबाट खसेका थिए । हजुरबुबा प्रेम बहादुर परिवारको आर्थिक अवस्था कमजोर भएको हुनाले सोही विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक माधव प्रसाद रेग्मीद्वारा सहयोग संकलन अभियान सुरु गरिएको थियो ।
दुई महिनाको अवधिमा जम्मा भएको रकम आज एक कार्यक्रमको आयोजना गरी किरणका हजुरबुबालाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै माधव प्रसाद रेग्मीले बालकलाई देश तथा विदेशबाट विभिन्न व्यक्तिहरुबाट सहयोग रकम उपलब्ध भएको कुरा जानकारी गराउँदै सहयोग दाताहरुलाई धन्यवाद व्यक्त गरे।
विद्यालयका सम्पूर्ण शिक्षकको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक साजन परियारले समाजमा यस्ता किसिमका सामाजिक काम गर्दै अगाडि बढ्ने शुभकामना व्यक्त गरे। सहयोग वितरण कार्यक्रमको संचालन विद्यालयका शिक्षक भोलाराम अर्यालले गरेका थिए।