२०८३ अशोज ५, सोमवार

लियो जिल्ला परिषद् ३२५ एम , नेपालद्वारा क्लब अफिसर प्रशिक्षण कार्यक्रम सम्पन्न

साउन २२/पोखरा: लियो जिल्ला परिषद् ३२५ एम, नेपाल द्वारा गण्डकी प्रदेशमा रहेका क्लब अफिसर प्रशिक्षण कार्यक्रम पोखरा स्थिति ईन्फर्मेटिक्स कलेज रानीपौवामा सप्पन्न गरेको छ।

कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एम , नेपालका डिस्ट्रिक्र्ट गभर्नर लायन महेन्द्र पौडेलको प्रमुख आतिथ्यता रहेको थियो र बिरुवामा पानी हालेर कार्यक्रमको उट्घाटन गर्दै पौडेलले लायन्स र लियोको सहकार्यले नै हाम्रो एम , नेपाल एउटा थप उचाईमा पुग्ने र लियोलाई आवश्यक परेको खण्डमा हर सहयोग गर्न प्रतिबद्ध रहेको समेत बताए।

कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एम नेपाल का 2nd VG लायन चण्डी प्रसाद अर्याल , लायन धनीराम बराल , के. नेपालका उपाध्यक्ष लियो अविरल पौडेल , एम का कोषाध्यक्ष लियो प्रेमराज तिवारी लगायतले आफ्नो मन्तव्य राखेका थिए।‌ प्रक्षिक्षकको रुपमा लियो जिल्ला परिषद ३२५ जे नेपालका अध्यक्ष लियो किरण थापा , लियो जिल्ला परिषद ३२५ बि १ नेपालका पुर्ब अध्यक्ष लियो बिनायक पौडेल , लियो लायन हरिहर पराजुली रहेका थिए l कार्यक्रममा लियो परिषद एम , नेपालका अध्यक्ष लियो सुशील भण्डारी ज्युले आफ्नो १ वर्षे कार्ययोजना समेत प्रस्तुत गरेका थिए।

कार्यक्रमको अध्यक्षता लियो सुशील भण्डारीले गरेका थिए।स्वागत मन्तव्य रिजन कोडिनेटर लियो सन्तोष बरालले दिएको उक्त कार्यक्रममा कार्यक्रम संचालन सचीव लियो दिक्षान्त खाँणले गरेका थिए।

लियो क्लब अफ पोखरा माउन्टेन सिटी, लियो क्लब अफ पोखरा फिस्टेल सिटीद्वारा कार्यक्रमको संयोजन गरिएको थियो भने धन्यवाद मन्तव्य लियो सन्दिप पराजुलीले राखेका थिए। कार्यक्रममा गण्डकी प्रदेशका लियो तथा लायन्स क्लबका लियो र लायनको उल्लेखनीय उपस्थिति रहेको थियो l

भीरकोट उद्योग वाणिज्य संघले सम्पन्न गर्यो करदाता शिक्षा कार्यक्रम

साउन २०/स्याङ्जा: भीरकोट उद्योग वाणिज्य संघले करदाता शिक्षा तथा करसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।‌

भीरकोट उद्योग वाणिज्य संघको समन्वय तथा करदाता सेवा कार्यालय स्याङ्जाको आयोजनामा आज भीरकोट सिटी सभाहलमा आयोजना गरिएको कार्यक्रममा भीरकोट नगरपालिकाका उद्योगी, व्यापारीहरु सहभागी भएका थिए।

” स्वेच्छिक कर सहभागितामा अभिवृद्धि, सुशासन विकास र समृद्धि” भन्ने मुल नाराका साथ उक्त कार्यक्रम गरी करसम्बन्धी सचेतना अभियान गरिएको करदाता सेवा कार्यालय स्याङ्जाले जनाएको छ।

करदाता सेवा कार्यालय स्याङ्जाले आयोजना गरेको कार्यक्रम आफूहरुले समन्वय गर्न पाउँदा खुशी लागेको र यस्ता कार्यक्रम निरन्तरताको समेत अपेक्षा रहेको भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदिश प्रसाद कोइरालाले बताए।

स्याङ्जाका लोकप्रिय नेता स्व. कमल पंगेनीको चौथो स्मृति दिवसमा श्रदाञ्जली अर्पण

साउन २०/स्याङ्जा: नेपाली कांग्रेस स्याङ्जाका तत्कालीन सभापति कमल पंगेनीको चौथो स्मृति दिवसमा विभिन्न व्यक्तिहरुले श्रदान्जली व्यक्त गरेका छन्।

आजकै दिन स्याङ्जा जिल्लाका लोकप्रिय नेता कमल पंगेनीको असामयिक निधन भएको थियो।‌ उनी काँग्रेस पार्टीमा मात्र नभएर विभिन्न पार्टीमा आस्था राख्ने जिल्लावासीहरु माझ समेत उत्तिकै लोकप्रिय नेता थिए।

स्याङ्जा जिल्लाको विकासप्रेमी र राजनैतिक चिन्तक नेताको छवि बनाएका उनी २०१९ साल जेठ २३ गते साविकको खिलुङ देउराली गाविसमा जन्मेका थिए।

विकासप्रेमी नेता स्वर्गीय पंगेनीको मूल्य, मान्यता र आदर्श आत्मसात गर्दै अघि बढ्नुको विकल्प नरहेको काँग्रेस स्याङ्जाले जनाएको छ।

नेकपा एमाले अर्जुनचौपारी गाउँपालिका कमिटीको प्रशिक्षण कार्यक्रम सम्पन्न

साउन २०/स्याङ्जा: नेकपा एमाले अर्जुनचौपारी गाउँपालिका कमिटीले कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

अर्जुनचौपारी गाउँपालिकाको केन्द्र अर्जुनचौपारी बजारमा अवस्थित गुरुङ समाज हलमा आज कार्यकर्ता प्रशिक्षण तथा स्थानीय नेताहरुबीच अन्तर्क्रिया कार्यक्रम समेत गरिएको हो।

नेकपा एमालेकी स्याङ्जा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य सिता सुन्दास, केन्द्रीय सदस्य तथा पुतलीबजार नगरपालिकाकी पूर्व मेयर सीमा क्षेत्री, नेकपा एमाले स्याङ्जा जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे पारस लगायतका नेताले प्रशिक्षण दिएका थिए।

नेकपा एमाले अर्जुनचौपारी गाउँपालिका कमिटीका अध्यक्ष मोहनबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाकी पूर्व उपाध्यक्ष तथा भर्खरै सकिएको निर्वाचनमा उपबिजेता भएकी नेकपा एमाले अर्जुनचौपारी गाउँपालिका कमिटी इन्चार्ज चिनमाया गुरुङ समेत उपस्थित थिइन्।

करिब २०० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा स्थानीय स्तरका नेता तथा कार्यकर्ताले आफ्नो धारणा राख्दै मंसिर ४ गते हुने प्रदेश तथा संघीय निर्वाचनमा नेकपा एमालेलाई विजयी गराउनुको विकल्प नरहेको बताएका थिए।

कार्यक्रममा स्वागत मन्तव्य टंकप्रसाद सापकोटाले दिएका थिए भने संचालन नेकपा एमालेबाट स्थानीय निर्वाचनमा उपाध्यक्ष पदका उम्मेदवार तथा पार्टी गाउँकमिटी सचिव टंकप्रसाद खनालले गरेका थिए।

स्थानीय निर्वाचनमा भएका कमीकमजोरी तथा गल्तीलाई सुधार गर्दै एकढिक्का भएर आगामी निर्वाचनमा होमिने उपस्थित सबैले प्रतिबद्धता गरेका छन्।

एसईई परीक्षामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई अनेरास्ववियु स्याङ्जाले गर्यो सम्मान

साउन २०/वालिङ: २०७८ सालको एसईई परीक्षामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरुलाई अनेरास्ववियु स्याङ्जाले सम्मान गरेको छ।

स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नं ८ स्थित शुभम् पात्टी प्यालेसमा एक कार्यक्रम आयोजना गरेर एसईई उत्तीर्ण विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको कामना गर्दै सम्मान गरिएको हो।

नेकपा एमाले केन्द्रीय सचिव तथा पूर्वमन्त्री माननीय पद्मा अर्यालको प्रमुख आतिथ्यता तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य डाक्टर बुद्धिमान श्रेष्ठको विशिष्ट आतिथ्यतामा आयोजना गरिएको उक्त सम्मान कार्यक्रममा नेकपा एमाले स्याङ्जा जिल्ला सचिव राजेन्द्र डुम्रे, नेकपा एमाले भीरकोट अध्यक्ष तथा अनेरास्ववियु स्याङ्जाका पूर्व अध्यक्ष विश्वनाथ अर्याल, अनेरास्ववियु केन्द्रीय सचिव खेम मरासिनी, केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सचिव आरके पोखरेल, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य रिता ढकाल, ज्ञानु भुजेल लगायतले सम्पूर्ण विद्यार्थीको उज्वल भविष्यको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए।

आजका विद्यार्थी भोलिको संवृद्ध राज्य निर्माणका कर्णधार रहेको भन्दै केन्द्रीय सचिव पद्मा अर्यालले असल चरित्र निर्माण र सामाजिक जीवनको विकास गर्नुपर्ने कुरामा जोड दिएकी थिइन्।‌

अनेरास्ववियु स्याङ्जाका अध्यक्ष सगुन रानाको अध्यक्षतामा आयोजित उक्त सम्मान कार्यक्रमको सञ्चालन अनेरास्ववियु स्याङ्जाका सचिव नविन पौडेलले गरेका थिए। उक्त कार्यक्रममा स्वागत मन्तव्य अनेरास्ववियु स्याङ्जाका पूर्व अध्यक्ष तथा नेकपा एमाले भीरकोट नगरअध्यक्ष विश्वनाथ अर्यालले दिएका थिए।

स्याङ्जा जिल्लाभरका सरकारी तथा निजी विद्यालयबाट २०७८ सालको एसईई परीक्षा उत्तीर्ण गरेका करिब ५०० जना विद्यार्थीको उक्त सम्मान कार्यक्रममा उपस्थिति रहेको थियो।

आँधीखोला गाउँपालिकाले सुरु गर्यो आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह

साउन १८/स्याङ्जा: आँधीखोला गाउँपालिकाले आजबाट आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु गरेको छ।

पाँच वर्ष पुरानो कृषिको भवनलाई कार्यलय बनाएर गाउँपालिकाले हालसम्म सेवा प्रदान गर्दै आएको थियो।

चुहिने छानोबाट वर्षाको समयमा भुइँमा भाँडो थापेर र छाता ओडेर सेवा दिदै आएको पालिकाले आजबाट आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह गर्न पाउँदा निकै उत्साह लागेको आँधीखोला गाउँपालिकाका पूर्व अध्यक्ष सुधिर पौडेलले बताए। उनकै कार्यकालमा पालिकाको प्रशासकीय भवन बनाउने कार्ययोजना अघि बढेको थियो।

सुविधा सम्पन्न भवनबाट अबका दिनमा प्रदान हुने सेवा प्रवाहमा सहज र छिटोछरितो बनाउने प्रण आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले गरेका छन्।जनताले पालिकाबाट प्रात गर्ने सेवामा सास्ति भोग्न पर्ने छैन उनले बताए।

आँधीखोला गाउँपालिका अन्धाअन्धी दह तथा आँधीमुहानको कारण धार्मिक महत्वले निकै प्रसिद्ध छ।

आँधीखोलामा बन्यो स्याङ्जाकै अग्लो र लामो पुल, पर्यटकको आकर्षण

साउन १६/स्याङ्जा: स्याङ्जाको गल्याङ नगरपालिकास्थित चिउरीको भीरमा आँधीखोलामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ।

निर्माणको काम एसए शैलेन्द्र जेभीले २०७७ असारमा सुरु गरेको हो । पुल २०७८ वैशाखमा सक्नुपर्ने भए पनि कोरोनाका कारण समयावधि थप गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताउनुभयो ।

पुल २०७९ साउन २० सम्ममा सक्नेगरी समयावधि थप गरिएकामा निर्धारित समय अगावै सम्पन्न भएको छ । ३६८ मिटर लामो पुल निर्माणका लागि एक करोड ८३ लाख रुपैँयामा ठेक्का सम्झौता भएको थियोे ।

पुल निर्माणसँगै विशेषगरी गल्याङ र पेलाकोटका नागरिकलाई छिटो आवत–जावत गर्न सहज हुनुका साथै सिद्धार्थ राजमार्गसँग प्रत्यक्ष सम्पर्क पनि जोडिएको छ। ग्रामीण क्षेत्रमा उत्पादन गरिएका कृषिजन्य उत्पादनहरुले गल्याङ तथा वालिङमा बजार पाउन थालेका छन्।

कृषि तथा ग्रामीण पर्यटन मात्र नभई युवायुवतीको पनि मुख्य गन्तव्य बनेको छ यो पुल। विशेषगरी पारिवारिक घुमघाम तथा टिकटक बनाउन पनि युवायुवतीको घुइँचो लाग्ने गरेको छ। यो पुलमा दिनहुँ कम्तीमा ५०० जनाले अवलोकन गर्ने गरेका छन्।

यातायातको असुविधा तथा प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको पेलाकोटमा रहेको केदारनाथ मन्दिरसम्म दर्शनार्थीलाई पुग्न पुलले सहयोग पुर्‍याएको स्थानीय बताउँछन्।

यो स्याङ्जा जिल्लाको भालुपहाड पश्चात सबैभन्दा बढी अवलोकन गर्न लागिएको झोलुङ्गे पुल बन्न थालेको छ। स्याङ्जा जिल्लाको पर्यटनलाई यसले थप प्रवर्द्धन गर्ने छ।