२०८३ अशोज ५, सोमवार

स्याङ्जा कोरोना भाइरस (कोभिड १९) संक्रमणको वर्तमान अवस्था

खबरकलम संवाददाता/भदौ २७: स्याङ्जा जिल्लामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको जम्मा संख्या ३५४ रहेको छ। जसमा निको भएर घर फर्कनेको संख्या ३०८ रहेको छ।

हाल कोरोना भाइरसको सक्रिय केस ४३ रहेको र ३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय स्याङ्जाले आज भदौ २७ गते बिहान ९ बजे विवरण अद्यावधिक गरी पुष्टि गरेको छ।

कोरोना भाइरसबाट स्याङ्जामा एकको मृत्यु

राम बहादुर रोका/भदौ २७: कोरोना भाइरस (कोभिड १९) को कारण स्याङ्जामा थप एक जनाको मृत्यु भएको छ।

पुतलीबजार नगरपालिका वडा नं १ का ८५ वर्षीय पुरुषको उपचारका क्रममा आज मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

आँधीखोला किनारकै सुख्खा जमीन

नारायण कोइराला/भदौ २७:

बत्तीमुनि अँध्यारो भनेझैँ आँधीखोलाको काखैमा भएर पनि भीरकोटको उर्वर कृषि भूमि सिमलचौर फाँट दुई दशकदेखि आकाशे पानीकै भरमा छ।

आँधीखोलाबाट वर्षेनी अनियन्त्रित र अव्यवस्थित तरीकाले गरिने गिटी बालुवा उत्खनन यसको प्रमुख कारण हो।जसका कारण खोलाको सतह गहिरिँदै गएको छ भने नहरको मुहान अग्लिदैँ गएको छ। वि.सं. २०४६ सालमा निर्माण भएको नहरको मूल संरचना लगभग जीर्ण अवस्थामा छ। करिब १७० रोपनी र तीन खेतीको सम्भावना रहेको सम्भवत भीरकोटकै दोस्रो ठूलो कृषि भूमिको सिचाइ समस्याको समाधान हरेक चुनावी समयमा नेताहरूको मूल एजेण्डा बन्ने गर्दछ। तर, कृषकहरू वर्षौँदेखि पम्पसेट र आकाशे पानीकै भरमा खेती गर्न बाध्य छ्न्।

धान खेतीको समयमा आँधीखोलामा बाढी आउला र रोपाइँ गरौँला भन्ने आशमा हुन्छ्न् अधिकांश किसानहरु।माननीय स्व. कमल पङे्नी देखि भूमिसूधार मन्त्री पद्मा कुमारी अर्यालसम्मले सिंचाइ समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको भएपनि यो कहिले यथार्थमा परिणत हुन्छ भन्ने यकिन गर्न गाह्रो छ।”नेताहरू आउँछ्न् भाषण गर्छन् जान्छ्न्। तर, हाम्रो मूल समस्या नै सिंचाइ हो।” वर्षौदेखी एउटै समस्या भोग्नुपर्दा मलाई यीनिहरूको बोलिको विश्वास नै लाग्दैन।´स्थानीय खगेन्द्र कोइराला बताउँछन्।

सरकारी र राजनीतिक तवरबाट भरपर्दो योजना आउने नदेखेपछि अगुवा कृषक सूर्य प्रसाद कोइरालाले आफ्नै खेतमा मोटरसेट सहितको चापाकल गाड्नुभएको छ।आकाशे पानी र पम्पसेटको भरमा खेती गर्दा खेतीको खर्चै उठ्दैन।खेत बाझो राख्न भन्दा देख्नलाई त राम्रो हुन्छ भनेर खेती लाउने गरेको छु।´ कृषक लोकप्रसाद कोइराला व्यङ्ग्यात्मक पारामा भन्छ्न्।मुहान सार्न आएका ढोल सबै फर्के। यो सबै खगेन्द्रको असहयोगका कारण हो।` नेपाली काङ्ग्रेसका भुतपूर्व जिल्ला सभापतिलाई इङ्कित गर्दै कृषक भिम बहादुर गोदार भन्छ्न्।

यो भिम बहादुर गोदारको मात्रै नभएर सिमलचौरका आम कृषकको बुझाइ हो। प्रभावशाली नेता भएर पनि सिंचाइ समस्या समाधान गर्न सहजीकरण र सहयोग गर्नुको सट्टा भरपुर असहयोग गरेको भन्दै उहाँ प्रति यस क्षेत्रका सम्पूर्ण किसानहरू असन्तुष्ट छ्न्।स्थानीय नेता विश्वनाथ अर्यालले राष्ट्रिय स्तरको योजना पार्न पहल भैरहेको बताएको पनि दुइ वर्ष भैसक्यो।तर समस्या जिउकातिउ छ। अर्को स्थानीय चुनाव आउनै लाग्दासम्म पनि कृषकहरू समस्या स्थानीय सरकारको प्राथमिकतामा नपर्नु विडम्बना हो।`यो समस्या समाधान गर्न राष्ट्रिय योजना नै चाहिन्छ। वडामा जम्मा २५ लाख आउँछ।´ वडाध्यक्ष लक्ष्मण खत्री क्षेत्री बताउँछ्न्।

सम्पादकीय

भदौ २५: लामो समयदेखि विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरस (कोभिड १९) बाट थुप्रै संभावना मक्किएका छन्। कतिको रोजगार गुमेको छ। अर्थतन्त्र निरन्तर ओरालो लागिरहेको छ।

सेवाप्रदायक सबै क्षेत्र नराम्ररी प्रभावित भएका छन्।यस्तो अवस्थाबाट नेपाल पनि अछुतो रहन सकेको छैन। चैतको ११ गतेबाट यातायातका साधन चलेका छैनन्। यातायातमा आश्रित लाखौँ मजदुरहरुको उठिबास भएको छ। तिनीहरुको घरमा चुल्हो बल्न सकेको छैन।‌रोगी बिरामीको उपचारमा खर्च गर्ने पैसा छैन। दाताहरुले दिएको अन्नले गास धानिरहेको उनीहरुले बताइरहेका छन्।

यातायातको क्षेत्र मात्रै नभई शिक्षा क्षेत्रमा पनि हालत उस्तै छ। ९० लाख बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन्। सरकारले भनेजस्तो भर्चुअल क्लासको पहुँच उनीहरुलाई पुगेको छैन। कोरोना महामारीको चपेटामा परेर अधिकांश मानिसहरु शहर छोडेर गाउँमै फर्केका छन्।‌ त्यहाँ राम्रोसँग मोबाइलको टावर पनि आउँदैन। शहरमै पनि सबैको पहुँचमा इन्टरनेट सेवा छैन। यस्तो अवस्थामा केही निजी विद्यालयले सुरु गरेको अनलाइन क्लास पनि प्रभावकारी बनेको छैन। नियमनकारी निकाय शिक्षा मन्त्रालय मौन छ। कुनै स्पष्ट निर्णय गर्न सकेको छैन।


निजी विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको हालत नाजुक अवस्थामा पुगेको छ। चैत महिनादेखि तलबबिहीन भएर बस्नु परको छ, त्यतिमात्र होइन तलब माग गर्दा कति शिक्षकहरु विद्यालयबाट निकालिनु परेको छ। जागिरबाट हात धुनुपर्ने अवस्था सृजना भएको छ।

स्वदेशमा नै २३ प्रतिशत भन्दा धेरैले रोजगार गुमाएका छन्। विदेशमा गएकाहरुको पनि हालत उस्तै छ। न काम न तलब भएर महिनौदेखि बस्नु परेको, भोकभोकै कम्पनीले राखेको, घरफिर्ती केन्द्रमा घर आउने दिन गन्दै बस्नुपरेको समाचारहरु दिनहुँ आईरहेका छन्। तिनै विदेशमा काम गर्ने नेपाली दाजुभाइहरुको कमाईले देशको अर्थतन्त्र चलेको अवस्थामा तिनीहरुलाई अप्ठेरो पर्दा राज्य नै नभएको जस्तो गरी बस्नु साह्रै निन्दनीय छ।


जब-जब नागरिकलाई समस्या पर्छ, नागरिकहरु अप्ठेरोमा पर्छन्, तब-तब राज्यको उपस्थिति त्यहाँ अपरिहार्य हुन्छ। तर, ऐले राज्य सरकार यसरी गुपचुप बसेको छ कि लाग्छ नेपालमा राज्य र सरकार दुवै छैनन्। साउदी अरबमा नेपाल सरकार बिरुद्द नाराबाजी र आन्दोलन भयो। विदेशी भूमिमा देशको बिरुद्द त्यसरी आन्दोलन हुनु आफैमा राम्रो बिषय पक्कै होइन। यसले अन्तराष्ट्रिय स्तरमै नेपाल सरकारको खिल्ली उडेको छ, सरकार आफ्ना नागरिकप्रति गैरजिम्मेवार भएको कुरा छर्लङ्ग देखाएको छ।


इतिहाद एअरलाइन्सले नेपाली नागरिकलाई निशुल्क उडान गरी देशमा ल्याईदिन्छौं भनेर आग्रह गर्दा समेत सरकारले त्यसलाई स्वीकृति नदिनुको पछाडी कमिसन र भ्रष्टाचारको खेल रहेको उजागर भएको छ। पर्यटनमन्त्री योगेश भट्टराई आफै यस बिबादमा मुछिएका छन्। सकेसम्म आफ्ना नागरिकलाई बिना शर्त स्वदेश फिर्ता हुन दिनु र फिर्ता ल्याउनु सरकारको पहिलो दायित्व हो। यो दायित्वबाट सरकार कुनै हालतमा पछी हट्न र पन्छिन मिल्दैन ।

रुपन्देहीमा पनि सुरु भयो फुड बैँक

राम बहादुर गुरुङ/भदौ २४: “हुनेले दिएर जानु , नहुनेले लिएर जानु” भन्दै देवदहमा क्रियाशील विभिन्न क्लबहरुले खाद्यान्न संकलन अर्थात फुड बैंक कार्यक्रम सञ्चालन गरेका छन् ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारी फैलिएको र बन्दाबन्दीका कारण कैंयौं गरिखाने समुदायले काम गरेर पनि खान नपाएकोले कसैको घरमा चुलो ननिभोस् भन्दै भएकाहरुले नभएकालाई सहयोग गर्ने हेतुले लायन्स क्लब अफ देवदह, लायन्स क्लब अफ देवदह प्रोफेशलन युथ, लियो क्लब अफ देवदह, लियो क्लब अफ लर्ड बुद्ध, रोट्याक्ट क्लब अफ तिलोत्तमा देवदह र सामाजिक सेवा समूह फाउण्डेशन नेपालले संयुक्त रुपमा उक्त कार्यक्रम सञ्चालन गरेको लायन्स क्लब अफ देवदहका अध्यक्ष लायन राम बहादुर गुरुङले जानकारी गराउनुभयो। त्यसै गरी लायन्स क्लब अफ देवदह प्रोफेशनल युथका अध्यक्ष लायन दिपेश बिक्रम मल्लले आफु बाँचौं र अरुलाई बचाऔं भन्दै मानवीय सेवामा जुटेकोले सबैको सहयोगको अपेक्षा राख्दै दीन दुःखीहरुको सेवामा सहभागी हुन यस क्षेत्रका समाजसेवी, राजनीतिज्ञ, व्यवसायी, जनप्रतिनिधि एवं पेशाकर्मी सबैलाई आवहान गर्नुभयो । सामाजिक सेवा फाउण्डेशनका अध्यक्ष रबि रेग्मीले संकलित खाद्यान्न लक्षित समुदायको घर दैलोमा नै गएर बितरण गर्ने बताउनुभयो । त्यसैगरी रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहका अध्यक्ष अर्जुन गुरुङले समुदायबाट लिएर समुदायलाई नै दिने यस पवित्र कार्यमा क्लबहरु केवल माध्यम मात्र भएकाले यो हामी सबैको साझा कार्यक्रमको रुपमा लिइदिन सबैमा हार्दिक अनुरोध गर्नुभयो ।

त्यसैगरी लियो क्लब अफ देवदह र लियो क्लब अफ लर्ड बुद्धका अध्यक्ष लियो श्रद्धा केसी र लियो सन्दिप तिवारीले युवाहरु समाजसेवामा समर्पित भइ समाज परिवर्तनमा लागेको भन्दै हामीले नै समाजको लागि केही गर्नु पर्छ भनेर यस्तो कार्यक्रमको आयोजना गरेको बताउनुभयो । यस कार्यक्रमबाट कम्तिमा पनि एक हजार परिवारलाई सहयोग गर्ने अभियान्ता बिमल तिवारीले जानकारी दिनुभयो ।

अर्जुनचौपारी गाउँपालिकाको आफ्नै प्रशासकीय भवन बन्ने

खबरकलम संवाददाता/भदौ २४: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकाले आफ्नै व्यवस्थित प्रशासकीय भवन बनाउने भएको छ।

निकै आधुनिक र सम्पूर्ण पूर्वाधार सम्पन्न भवन निर्माणको लागि ठेक्का आह्वान गरिसकिएको र यसको कुल लागत १० करोड ६६ लाख हुने अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष दीर्घनारायण अर्यालले जानकारी दिए।

हाल, गाउँपालिकाले फरक-फरक भवनबाट सेवाग्राहीलाई सेवा दिइरहेको छ।

स्याङ्जामा थपिए १० कोरोना संक्रमित

खबरकलम संवाददाता/भदौ २४: स्याङ्जा जिल्लामा आज थप १० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। थपिएका सबै संक्रमित स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकाका वासिन्दाहरु हुन्।

संक्रमित १० मध्ये ४ जना मालपोत कार्यालय स्याङ्जामा कार्यरत कर्मचारी हुन्। उनीहरुलाई आइसोलेशनमा लैजाने तयारी भैरहेको छ।

गण्डकी प्रदेशमा थपिए ७ कोरोना संक्रमित

भदौ २४/खबरकलम: गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड १९) का सात जना संक्रमित थपिएका छन् । ७ जना नयाँ संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ७९ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा नयाँ संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माका अनुसार नयाँ संक्रमितमा तनहुँ जिल्लाका तीन जना, कास्की जिल्लाका दुई जना र लमजुङ र स्याङजा जिल्लाका एक-एक जना रहेका छन् ।

संंक्रमित मध्ये कास्की जिल्ला, पोखरा महानगरपालिका–१५ का ४० वर्षीय पुरुष नेपाल प्रहरीमा कार्यारत हुन्। उनी वडा प्रहरी कार्यालय, रामबजार, कास्कीमा कार्यरत छन् ।

संक्रमित स्याङ्जा जिल्ला, पुतलीबजार–१ का ८५ वर्षीय पुरुष र तनहुँ जिल्ला, म्याग्दे–६ का ६० वर्षीय महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचाररत रहेको निर्देशनालयले जनाएको छ । अन्य सबै संक्रमित कन्ट्याक ट्रेसिङबाट पहिचान भएका निर्देशनालयले जनाएको छ।

पोलको प्रतिक्षामा सडक बत्तीहरु

नारायण कोइराला/भदौ २३: स्थानीयको सक्रियता र रोजबड युथ सर्कलको सहजीकरणमा आँधीखोला करिडोरको सिमलचौर सडकखण्डमा आधा दर्जन भन्दा बढी सडक बत्ती जडान गरिएको झण्डै एक वर्ष भैसकेको छ। १५ देखी २८ वाट सम्मका बत्तीहरूले रातको समयमा उक्त सडक खण्ड झलमल हुने गरेको छ।स्थानीय जनताहरूले आफ्नै खर्चमा विद्युतीय सामग्री खरिद गरी बाँसको पोलमा सडक बत्ती जडान गरेका थिए। यस पछाडि नगरपालिकाले दुई पटक पोल वितरण गरिसकेको छ।

तर,सडक बत्तीको दीगो व्यवस्थापनको लागि नगरपालिकामा विद्युतीय पोलको माग गरेपनि कुनै सुनुवाइ नभएको स्थानीय युवा सन्तोष रोकाले बताएका छ्न्। स्थानीय निकायले कुनै सहयोग नगरेपछि युवाहरूले वडा कार्यालय र नगरपालिकाप्रति असन्तुष्टि प्रकट गरेका छन्। “भोट माग्न त आउलान् नि? त्यति बेलै मुखभरीको जवाफ दिनी हो।” आक्रोशित मुद्रामा जेष्ठ नागरिक अम्बिका खत्रीले भनिन् । ओहोरदोहोर गर्ने क्रममा नगर प्रमुख छायाराम खनालले स्थानीयको प्रयासको प्रशंसा गर्दै विद्युतीय पोल उपलब्ध गराउने मौखिक वचन दिएको भए पनि सोको व्यवहारिक कार्यन्वयनको प्रतीक्षामा छन् स्थानीय, र बाँसको पोलमा झुन्डिएका सडक बत्तीहरू। वडा अध्यक्ष लक्ष्मण खत्रीले वडाले सडक बत्तीको निम्ति रकम विनियोजन गर्न नसक्ने बताउँछन् ।

खिलुङ कालिका एग्रो फार्मको ट्रक दुर्घटना

खबरकलम संवाददाता/भदौ २१: हेलु-अर्जुनचौपारी सडकखण्ड अन्तर्गत कालिका क्याम्पस (भीरकोट ७) नजिकै खिलुङ कालिका एग्रो फार्मको ट्रक दुर्घटना भएको छ। उक्त दुर्घटनामा ४ लाख बराबरको अण्डा नष्ट भएका छन् भने मानवीय क्षति भने भएको छैन।

सडक चौडा गर्ने क्रममा पुरिएको माटोमा ट्रक चिप्लिएको हो। उक्त ट्रक माटो भरिएको सडकबाट चिप्लिएर ५ मिटर तल खसेको थियो।