खबरकलम संवाददाता/भदौ २१: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकामा टेलिमेडिसिन सेवा सुरु भएको छ।
कोरोना महामारीको चपेटामा कोही कसैलाई औषधि उपचारबारे जानकारी लिन र उपचार पाउनबाट वञ्चित हुने अवस्था सृजना नहोस् भनी अर्जुन चौपारी गाउँपालिका स्वास्थ्य चौकी र आईपास नेपालको सहकार्यमा टेलिमेडिसिन सेवा सुरु गरिएको गाउँपालिका उपाध्यक्ष चिनमाया गुरुङले बताइन्।
अब टेलिमेडिसिन सेवा सञ्चालन भएपछि टेलिफाेन, म्यासेन्जर, भाईबर, ईमेल वा अन्य संचारको माध्यमबाट आफ्नाे स्वास्थ्य अवस्थाबारे परामर्श लिन र नजिकबाट सेवा लिन सकिने गुरुङको भनाइ छ।
जीवन अर्याल/खबरकलम: स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद गौतम आफै फिल्डमा खटिएका छन्। चाहे कार्यालय समयमा होस्, या कार्यालय समयको अघि-पछि उनलाई अप्ठ्यारोमा परेकाहरुको सेवा गर्न मन पर्छ।
@खबरकलम
एक्कासी कोरोना महामारीले अर्जुन चौपारी गाउँपालिकामा असर पुर्याउँदा एम्बुलेन्स चालक समेतले बिरामीलाई ओसार्न बन्द गरेको र उनी आफैले एम्बुलेन्स चालकको रुपमा बिरामीको सेवा गरेको जानकारी दिए। केही दिन अगाडी गाउँपालिकाकै ग्रामीण सडकमा गएको पहिरो हटाउन पनि उनी आफै पुगेका थिए।
बिगत एक दुई दिनदेखि गाउँपालिकाको गाडीको दुरुपयोग भएको भन्ने गुनासो आएपछि खबरकलमको टोली आज उनलाई भेट्न गाउँपालिका कार्यालयमा नै पुगेको थियो। बाहिर बजारमा गाडीको दुरुपयोग भएको हल्ला गलत रहेको र आफू कार्यालयकै कामको लागि ड्राइभरसँग निस्केको उनले बताएका थिए। असहज परिस्थिति र ड्राइभर नभएका बेला पनि गाउँपालिकालाई अप्ठ्यारो महसुस नहोस् भनी गाडी चलाउन सिकेको उनले खबरकलमलाई बताएका थिए।
मिडिया तथा पत्रकारहरुलाई उनले केवल नराम्रो कुराको प्रचार गर्ने साधन मात्र नबनी सत्य तथ्य कुरा सार्वजनिक गर्न र राम्रो कामको पनि उजागर गरिदिन आग्रह समेत गरे।
मानव जीवनमा सबैभन्दा सिर्जनशिल, गतिशील, सिक्न चाहने र गर्न सक्ने समय युवा अबस्था नै हो भन्ने भनाइलाई आत्मसात गर्दै मिति २०७७-०५-२० गतेका दिन क्रिएटिभ युुुवा क्लबद्वारा आयोजित खुला हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा स्थानीय ६ टिम समाबेश भएका थिए। संगम थापाको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रमको संचालक दिनेश अर्यालले गर्नुभएको थियो। स्वागत मन्तब्य दिँदै प्रकाश अर्यालले यस्तो विषम परिस्थितिमा बालबालिकाको पढ्ने बानीको बिकास होस् र किताबी ज्ञान मात्रै नभई सामान्य ज्ञानको पनि आवस्यकता पर्ने हुँदा बालबालिकाको सिर्जनशिलता विकास गर्न पनि उक्त कार्यक्रम संचालन गरिएको उनको भनाई थियो। युवाहरू परिवर्तनका सम्वाहक हुन्। र, समाज परिवर्तनका आधार हुन् भन्ने भनाइलाई प्रयोगात्मक शैलीमा उजागर गर्नुपर्छ र युवाले नै समाजको परिवर्तन गर्न सक्छन् भन्दै समाजसेवी अमृत अर्यालले र सागर थापाले शुभकामना मन्तब्य दिनुभएको थियो । उक्त कार्यक्रममा समाजका समाजसेवी , लब्ध प्रतिष्ठित व्यक्तित्वको पनि उपस्थिति रहेको थियोे। उक्त कार्यक्रममा सफलता हासिल गर्ने विद्यार्थीहरु सृष्टि थापा,बिमल अर्याल,परि थापा, सभ्यता तिवारी लगायतका थिए। सम्पुर्ण सहभागी भाइबहिनीहरुलाई बधाई र उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै संगम थापाले कार्यक्रमको समापन गर्नुभएको थियो।
भदौ १९/खबरकलम: देशमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण पुष्टि हुने क्रम बढ्दो गतिमा चलिरहेको छ। दिनप्रतिदिन नयाँ-नयाँ संक्रमित थपिने क्रम चलिनैरहेको छ।
तर, आज भदौ १९ गते कोरोना भाइरससँग सम्बन्धित हरेक तथ्यले नयाँ रेकर्ड कायम गरेका छन्। पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हालसम्मकै सबभन्दा बढी छ।
देशभर संक्रमण हुनेको संख्या, भेन्टिलेटरमा रहनेको संख्या, काठमाडाैं उपत्यकामा देखिने कोरोना, देशभरबाट डिस्चार्ज भएर घर फर्कनेको संख्या आज अन्य दिनको तुलनामा उच्च देखिएको छ।
पछिल्लो २४ घण्टामा गरिएको परीक्षणको तथ्यांकलाई आधार मानेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बताएअनुसार देशभर १ हजार ३ सय १९ संक्रमित थपिएका छन्।
यो हालसम्मकै उच्च हो। जुन अघिल्लो २४ घण्टाको तुलनामा १ सय ३१ ले बढी पनि हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो २४ घण्टामा १ हजार २ सय २८ संक्रमित थपिएको बताएको थियो।
डिस्चार्ज हुनेको संख्या पनि आज बढी नै देखियो। हिजो देखि आजसम्मको आँकडामा १ हजार ३ सय ५४ जना डिस्चार्ज भएका छन्। आज काठमाडौं उपत्यकामा ४ सय ५४ संक्रमित थपिएका छन्। भेन्टिलेटरमा रहनेको संख्या २६ पुगेको छ।
खबरकलम/ भदौ १९: स्याङ्जा जिल्लामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज संक्रमण पुष्टि भएकामध्ये एक जना कालीगण्डकी गाउँपालिकाका २८ वर्षीय पुरुष र भीरकोट नगरपालिका वडा नं ९ का २० वर्षीय पुरुष रहेका छन्।
१८ भदौ/खबरकलम: केही महिनाअघि गलवान प्रान्तमा भएको भारत चीन सैनिक झडपपछी भारत र चीनबीचको सम्बन्ध चिसिंदै गएको छ। सम्बन्धको उक्त चिसोपना पश्चात भारतमा चीनबिरोधी अभियान सुरु भएको छ।
चीनका धेरै उत्पादन बहिस्कार गर्ने लहरमा फेरी भारत सरकारले पब्जी सहित ११८ मोबाइल एप्समाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भारतको सूचना तथा प्रविधि मन्त्रालयले बुधबार यस्तो निर्णय गरेको हो । मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।
भदौ १८, खबरकलम/काठमाडौँ: पछिल्लो २४ घण्टामा नेपालमा १२ सय २८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
यो सहित कोरोना संक्रमितको जम्मा संख्या ४२ हजार ८७७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बुधबार मात्रै ११ सय २० जनामा संक्रमण देखिएको थियो। बिहीबार देखिएका नयाँ कोरोना संक्रमितमा ३९४ महिला र ८३४ पुरुष छन्।
भदौ १८/राम बहादुर रोका: स्याङ्जामा बन्दुकको छर्रा लागेर एक जना घाइते भएका छन् । स्याङ्जा जिल्ला अर्जुन चौपारी गाउँपालिका वडा नं १ का ६३ वर्षीय इन्द्र बहादुर छेत्रीले बिहान बारीमा बाँदर धपाउने क्रममा पड्काएको भरुवा बन्दुकको छर्रा लागी सोही वडा बस्ने ४५ वर्षीय भिम बहादुर गोदार घाइते भएका हुन् ।
जीवन अर्याल/भदौ १७: कोरोना भाइरस (कोभिड-१९) ले कसैलाई विश्राम दिएको छ भने कसैलाई विपत्ति दिएको छ। विश्रामको रुपमा लिनेहरु लकडाउनको मागमा छन्। विपत्ति सहनेहरु लकडाउनको मारमा छन्। हुँदा खाने र हुने खाने बीचको वर्गीय विभेद निरुत्साहित गर्न गाँस, बास र कपासको सुनिश्चितता गर्नु आजको आवश्यकता हो।
यही कुरालाई मध्यनजर गर्दै स्याङ्जामा क्रियाशील युवाहरुले “पहिलो पाईला नेपाल स्याङ्जा” शाखा स्थापना गरेका छन्। यस संस्थामार्फत पुतलीबजार न.पा. १ शहीदचोकमा खाद्य सामाग्री संकलन तथा वितरण केन्द्र ( Food Bank ) को सुरुवात गरी आर्थिक रुपले विपन्न परिवारका सदस्यलाई राहत उपलब्ध गराउने उनीहरुको योजना छ।
स्मृति काफ्लेको संयोजकत्वमा गठित उक्त ‘पहिलो पाइला नेपाल स्याङ्जा’ शाखामा झलक अर्याल, ख्याम गौतम, ममता केसी, मनोज जि.टी., शंकर चापागाईं, अनिश नेपाली जस्ता सक्रिय युवाहरु रहेका छन्।
आज मात्रै फुड बैंकमा संकलन भएको खाद्यान्न उनीहरुले ३६ जना विपन्न परिवारका सदस्यलाई वितरण गरेको उक्त संस्थाकी संयोजक स्मृति काफ्लेले जानकारी दिइन्। आजबाट सुरु गरिएको उक्त कार्यक्रममा १३ जना सहयोगी मनहरुले नुन, तेल, चामल, चिनी, दाल जस्ता खाद्यान्न सहयोग गरेको र यो क्रम बढ्दो क्रममा रहेको स्मृति काफ्ले बताउँछिन्।
कम्तीमा सकेको सहयोग गरौँ। उनले सहयोगी मनलाई सहयोगको आह्वान समेत गरेकी छन्। “हुनेले सहयोग गरौँ। नहुनेले लिएर जाऔँ।” अभियान यस अघि देशका विभिन्न स्थानमा संचालन भैसकेको छ।
खबरकलम संवाददाता/भदौ १६: देशभर अभाव भएको रासायनिक मलमा स्याङ्जा जिल्ला पनि अछुतो छैन l बिश्वभर फैलिएको कोरोना महामारी र लामो समयदेखिको लकडाउनको कारण मलको ढुवानी र आपूर्ति हुन नसक्दा देशभर मलको चरम अभाव सृजना भएको हो l
लकडाउनको कारण थुप्रै टन मल कोल्कोत्ता बन्दरगाहमै रोकिएको थियो। साल्ट ट्रेडिङ कर्पोरेसनको अगुवाइमा बल्लतल्ल भएको ढुवानीले पनि किसानको मलको अभावलाई मेट्न सकेन। स्याङ्जा जिल्लामा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको कुनै वितरण केन्द्र वा बिक्रेता नभएकाले मल भित्राउने र वितरण गर्ने जिम्मा जिल्ला सहकारी संघ स्याङ्जाले लिएको थियो।
जिल्ला सहकारी संघ स्याङ्जाले ल्याएको रासायनिक मल स्याङ्जा जिल्लाका सबै पालिकाले सहकारी संस्था मार्फत वितरण गर्ने व्यवस्था मिलाइएको थियो।
हिजो सोमबार राती आएको रासायनिक मल मंगलबार बिहानैबाट वितरण गर्ने थाहा पाएपछि मलको अभावमा थलिएका किसानहरु टाढा-टाढाबाट बोरा र झोला बोकी बिहानैदेखि लामबद्ध भएर बसेका थिए। मल पाइने आसामा घण्टौँ सडकमा लाम लगाएर उभिएका किसानहरुमा न गर्मीको कुनै भय थियो। न पसिनाले भिजेका लुगामा नै ध्यान दिएका थिए। बिना मास्क, बिना भौतिक दुरी लाइनमा बसेका उनीहरु भोकभोकै थिए।
स्याङ्जा जिल्लामा भदौ १८ गते राती १२ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्गजाले निषेधाज्ञा जारी गरेको छ। तर, मल लिन आउने किसानलाई यसको कुनै प्रवाह छैन। “जसरी होस् मल चाहिएको छ। ५ किलो या १० किलो।” नविन खनालले भने! “वर्षभरी खान लगाएको धान खेती मलको अभावमा पाकेको आँप जस्तै पहेँलो भएको छ” शिक्षक समेत रहेका स्थानीय माधव प्रसाद रेग्मीको भनाइ हो यो। “आदर्शका कुरा मात्रै गरेर सरकारले किसानलाई पनि झुक्कायो” एक घण्टा हिँडेर पुतलीबजार ११ बाट आएका मेघराज पौडेलले बताए। “म आएर तीन घन्टा उभिएँ। तर, मल पाइन!”
“मल लिन लाइनमा बसेर, बिल काटेर पनि मल नपाई फर्किएका किसानको पीडा उस्तै छ। लकडाउन र कोरोनाले भएको जागिर जाने, पसल र व्यवसाय बन्द गर्नुपर्ने, कृषिमा लाग्छु भनेर हिँड्दा मल पनि नपाइने?” भीरकोट ५ का भिम प्रसाद खनालले आक्रोश पोखे। यो सरकारको कृषि मन्त्रीले राजिनामा दिए हुन्छ।
स्याङ्जा जिल्लाको कोटामा परेको ८४० बोरा मल २ घण्टा पनि नबित्दै स्वाहा भयो। मल पाइने आसामा किसानहरु एक सहकारीदेखि अर्को सहकारीसम्म हिँड्दै पुगे। र पनि मल पाउन सकेनन्। मलाई बडो दु:ख लागेको छ। मल वितरण गर्न सहजीकरण गरेकी रेखा बस्यालले बताइन्। “मैले पनि मल पाउन सकिन” उनको भनाइ थियो।
खिलुङ कालिका सहकारी संस्थाको सस्तो पसलका व्यवस्थापक चेतनारायण कोइरालाले मल वितरण गर्दा थोरै कमजोरी भएको स्वीकार गरे। “सुरुमा आउनेलाई १० किलोसम्म दिएर पठायौँ। नपुग्ने अवस्था आएपछि ५ किलोमा झार्यौँ। र, अन्तिममा २ किलो पनि मल पुगेन” अबका दिन यस्तो कमजोरी नहुने र सकेसम्म मल वितरण गर्दा समानता कायम गर्ने उनको भनाइ छ।
यस्तै अन्य सहकारी पसलबाट बाँडिएको मलमा पनि अनियमितता भएको भन्ने जनगुनासो आएको छ। बयरघारीमा वितरण गर्ने भनिएको ४० बोरा मल मध्ये ३९ बोरा वितरण गरिएको र १ बोरा लुकाइएको स्थानीयले आरोप लगाएका छन्।
मल वितरणमा कुनै पनि स्थानीय निकायका प्रतिनिधि, प्रहरी प्रशासन र अन्य कुनै पनि सरोकारवाला निकायको ध्यान भने पुगेको थिएन। पहुँचको आधारमा मल एकै व्यक्तिले दोहोर्याएर, तेहर्याएर पनि लगिएको जानकारी पाएपछि हाम्रो टिम वितरण केन्द्रमै पुगेर स्थलगत अनुगमन गरेको थियो।