असोज १२/लमजुङ: जिल्ला प्रशासन कार्यालय लमजुङले विद्यार्थी पढाए कारवाही गर्ने चेतावनी दिएको छ।
कोरोना महामारीकै बीच केही सामुदायिक तथा संस्थागत विद्यालय खुल्न थालेपछि प्रशासनले त्यस्तो नगर्न र जिम्मेवारी आफैले लिन भन्दै चेतावनी दिएको हो। देशका विभिन्न जिल्लामा स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय संचालन हुँदै गर्दा लमजुङमा भने विद्यालय खुले कारवाही हुने चेतावनी मिलेको छ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले आइतबार एक सूचना निकालेर अर्को सूचना नआउँदासम्म शैक्षिक संस्था सञ्चालन गर्न निर्देशन दिएका हुन्।
विद्यालय सञ्चालन गरी संक्रमण फैलिन गएमा त्यसको जिम्मेवारी सम्बन्धित विद्यालय नै हुने र उनीहरुलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।
असोज ११/खबरकलम: राजस्थान रोयल्सले किङ्स इलाभेन पंजाबले दिएको लक्ष्य भेट्टाउँदै ४ विकेटले म्याच जितेको छ।
पहिले ब्याटिङ गरेको पञ्जाबले मयांक अग्रवालको शानदार शतकमा राजस्थान रोयल्सलाई २२४ रनको विशाल लक्ष्य दिएको थियो। विशाल लक्ष्य पछ्याएको राजस्थान रोयल्सको तर्फबाट सन्जु सामसनले ४२ बलमा ८५ रन बनाउँदै जिततर्फ डोर्याएका थिए। स्टिभ स्मिथले ५० रन बनाएर आउट भएपछि रनरेट निकै सुस्ताएको थियो। तर, लामो समय क्रिजमा टिकेका राहुल तेबटियाले म्याच जिताउन अहम भूमिका निर्वाह गरे। उनले एकै ओभरमा ५ छक्का प्रहार गरे।
राजस्थान रोयल्सले १९.३ ओभरमा ६ विकेटको क्षतिमा २२६ रन बनाएर लक्ष्य भेट्टाउँदै खेल जित्यो।
असोज ११/ स्याङ्जा: पहिलो पाइला नेपाल स्याङ्जाले खाद्यान्न संकलन तथा वितरण अभियानलाई निरन्तरता त दिएको छ। साथसाथै यसले विद्यार्थी लक्षित शैक्षिक सामग्री वितरण अभियान आजदेखि संचालन गरेको छ।
शिक्षा संविधान प्रदत्त मौलिक हक हो, तर दुर्गम स्थानमा बिपन्न बिद्यार्थीलाई न त शिक्षा छ। न त मौलिक हकबारे जानकारी नै छ। घन्टौँसम्म हिडेर शिक्षा लिनुपर्ने बाध्यता र त्यसैमाथि गरिबीका कारणले शैक्षिक सामाग्री को अभाव पनि रहेको छ र आंशिक विद्यार्थी त बीचैमा बिद्यालय छाड्न बाध्य छन्।
यस्ता गरिब र विपन्न परिवारका विद्यार्थीलाई लक्षित गर्दै पाठ्यपुस्तक वितरण कार्यक्रम सुरु गरिएको जानकारी पहिलो पाइला नेपाल स्याङ्जा शाखाका सदस्य झलक अर्यालले जनाएका छन्।
भविष्यका कर्णधार विद्यार्थीको यो समस्यालाई पहिचान गरी आँधीखोला गाउँपालिका-२ तिलिमका १० विद्यार्थीलाई घरमै पुगी शैक्षिक सामग्री वितरण गरेको अभियानकी संयोजक स्मृति काफ्लेले बताइन्। साथै, उनले सहयोगी मनलाई मन फुकाएर सहयोग गर्न पनि अनुरोध गरिन्। हामीले नगरे कसले गर्ने? र अहिले नगरे कहिले गर्ने? उनको प्रश्न थियो!
पाठ्यपुस्तक वितरण अभियानमा आँधीखोला आवासीय माविका संस्थापक, प्राचार्य र अन्य अभिभावकले सहयोगी भूमिका निर्वाह गरेका थिए।
खबरकलम संवाददाता/असोज ९: स्याङ्जा जिल्लाको प्रख्यात पर्यटकीय स्थल भालुपहाडमा बाटो फराकिलो पार्ने काम सुरु भएको छ।
घुम्ती काटिँदै (भालुपहाड)
ठूलो पहाडको बीचबाट काटिएर गएको बाटो, पहाडको निकध तल खोँचमा बग्ने सेतीखोला र घुम्तीको माथिल्लो भागमा बनाइएको शिवको मन्दिर यस भालुपहाडका मुख्य आकर्षण थिए।
बुटवल, भैरहवा, पोखरा लगायत भारतबाट समेत आउने पर्यटकको लागि विश्राम गर्ने ठाउँ रहेको यस भालुपहाड युवायुवतीको भने मुख्य आकर्षण नै रहेको छ। ठूलाठूला सल्लाका रुखको वन र रमणीय ठाउँ भएकैले युवापुस्ताको मुख्य क्रेज रहेको यस ठाउँलाई पछिल्लो समयमा “सेल्फी हिल” समेतले चिनिन्छ।
धेरै नेपाली चलचित्र तथा म्युजिक भिडियोमा समेत यस स्थानको दृश्य देख्न सकिन्छ।यस ठाउँको विकास र प्रवद्र्धनको निमित्त पुतलीबजार नगरपालिका, आँधीखोला गाउँपालिका र फेदीखोला गाउँपालिकाले गुरुयोजना समेत तयार गरिसकेका छन्।
आफैमा प्राकृतिक सुन्दरताले भरिपूर्ण यस स्थानलाई मानवीय कारणले खल्लो बनाउन नहुने साथै चिनारी र पहिचान मेट्न नहुने भन्दै केही स्थानीयले यस स्थानको सडक फराकिलो पार्ने कार्यको विरोध समेत गरेका छन्।
केही दिन अघिमात्र भीरकोट युवा आवाज र पहिलो पाइला नेपाल स्याङ्जाका युवाहरुले यस ठाउँमा फर्फराइएको राष्ट्रिय झण्डा पूरानो भएर नयाँ फेरेका थिए।
खबरकलम संवाददाता/असोज ९: बिहीबार बिहान वालिङ नगरपालिका-१४ तमादीमा बिहान ६ बजे खसेको बिनाशकारी पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो ।
नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाईएको थियो । ६ महीनाका बालकलाई १९ वर्षीया आमा विनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको नेपाल दलित सङ्घ स्याङ्जाका अध्यक्ष लिलबहादुर रनपालले बताए । सबैजना एकैघरका भएकाले दागबत्ती दिने परिवारभित्रैको कोही पनि नभएपछि आफन्तमध्येका जीबलाल परियारले सबै जनालाई दागबत्ती दिए ।
एकै परिवारका ९ जनाको ज्यान जाने गरी गएको पहिरोमा परी गम्भीर घाइते भएकी मनिषा परियारको पोखरामा उपचार भइरहेको छ।
खबरकलम संवाददाता/असोज ८: सरकारले एसिड आक्रमण रोक्न अध्यादेश मार्फत कानून ल्याउन अन्तिम तयारी गरिरहेको छ। भदौ २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणमा परी घाइते भएकाहरुसँगको भेटमा गरेको प्रतिबद्धता कानूनको रुपमा आउन लागेको हो।
नयाँ कानूनको मस्यौदामा एसिड आक्रमणको कारण मृत्यु भएमा आक्रमण गर्नेलाई जन्मकैदको सजाय तोकिएको छ । आक्रमणबाट मुख्य अंगहरु आँखा, कान, मुख, छाती र यौनाङ्गमा क्षति भएमा २० वर्ष तथा अन्य अंगमा घाउचोट लागे १५ वर्षको कैद सजाय तोकिएको छ ।
एसिड आक्रमणमा शरीरको कुनै पनि भाग एसिडले छोएमा न्यूनतम दश वर्षको सजाय तोकिएको छ भने एसिड आक्रमण गर्नेलाई धरौटीमा रिहा या आममाफी लागू नहुने समेत अध्यादेशमा उल्लेख छ।
अध्यादेशको मस्यौदामा एसिड सिल गरिएको बोतलमा मात्र बेच्न पाइने र खुला रुपमा बिक्री वितरण पूर्ण बन्देज गर्ने उल्लेख छ। साथै, एसिड आक्रमणमा परी घाइते हुनेलाई उपचार सरकारले निशुल्क उपलब्ध गराउने कुरा समेत उल्लेख छ।
खबरकलम संवाददाता/असोज ८: खबरकलम डटकममा प्रशासनको विभेदकारी नीति भन्ने शीर्षकमा समाचार प्रकाशन भएपछि आज जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक विज्ञप्ति जारी गरी प्रत्यक्ष कक्षा संचालन नगर्न निर्देश गरेको छ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले २०७७ साल भदौ ३१ गते जारी गरेको विज्ञप्तिमा शैक्षिक संस्था तथा शैक्षिक क्रियाकलाप प्रत्यक्ष रुपमा गर्न नपाइने कुरा उल्लेख थियो।
हेर्नुहोस्,भदौ ३१ गतेको निर्देशन
तर, ठीक त्यसको विपरित जिल्लाका ११ वटा पालिकाका विभिन्न सार्वजनिक विद्यालयहरुले प्रत्यक्ष कक्षा संचालन गरेका थिए। खुला रुपमै सार्वजनिक विद्यालय खुलेर विद्यार्थी विद्यालय पोशाकमा नै जान थालेपछि जिल्लाभित्रका केही निजी तथा आवासीय विद्यालयले सो बारे ध्यानाकर्षण समेत गराएका थिए। तर, सम्बन्धित पालिका र प्रशासन तथा प्रहरीको समेत उपयुक्त भूमिका नभएपछि उनीहरुले पनि सम्पर्क कक्षाको रुपमा सीमित विद्यार्थी बोलाएर पूर्ण रुपमा स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर विद्यालय खुला गरेका थिए।
निजी विद्यालयमा सिकाई केन्द्रको शैलीमा केही विद्यार्थी बोलाएर गृहकार्य दिँदा नै जिल्ला प्रशासन कार्यालय स्याङ्जा तथा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभेदपूर्ण व्यवहार गरेका थिए। बर्दीधारी प्रहरी नै विद्यालय पठाएर बन्द गराउने कार्यले “विद्यालय शान्ति क्षेत्र” भन्ने सरकारको भनाईलाई नै खिल्ली उडाएको निजी विद्यालयका प्रिन्सिपलहरुको गुनासो रहेको छ।
प्रशासनको त्रुटिपूर्ण व्यवहारबारे समाचार प्रकाशन भएपछि र धेरै शिक्षक, अभिभावक तथा विद्यार्थीबाट नै उक्त कार्यको विरोध भएपछि आज प्रशासन कार्यालय स्याङ्जाले अर्को विज्ञप्ति जारी गरी अर्को सूचना नभएसम्मका लागि प्रत्यक्ष सिकाई क्रियाकलाप नगर्न नगराउन सूचित गरेको छ
। तर, यस अघि नै आफैले जारी गरेको निर्देशनमा प्रशासन र प्रहरी निरीह बनेपछि यो पटक पनि प्रहरी र प्रशासनको भूमिका समन्वयकारी र समतामूलक हुनेमा शंका छ। विद्यार्थीले आफूले पढ्न पाउने हकबाट उनीहरुलाई वञ्चित नगर्न र सार्वजनिक तथा आवासीय विद्यालय बीच बिभेद नगर्न पनि खबरकलम डटकम जिल्ला प्रशासन कार्यालय स्याङ्जा तथा जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई हार्दिक अनुरोध गर्दछ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आज जारी गरेको विज्ञप्ति
खबरकलम संवाददाता/असोज ८: स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नं १४ तमादीमा अविरल वर्षाका कारण आज गएको पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको छ।
मृतकहरु एकै परिवारका माया नेपाली, सेनु नेपाली, जेठो छोरा दिपक नेपाली, साइलो छोरा कुलदिप नेपाली, कुलदीपको श्रीमती बिनिता नेपाली, बिनिता-कुलदीपकोको एक वर्षे छोरा, काइलो छोरा शिशिर नेपाली, कान्छो छोरा दिवस नेपाली र पाहुना भएर आएकी रुपा नेपाली छन्। एक जना घाइते मनिषा नेपालीको जीवितै उद्धार गरिएको र अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
एकै परिवारका ९ जनाको मृत्यु भएपछि सिंगो स्याङ्जा जिल्ला नै शोकमा डुबेको छ।
खबरकलम संवाददाता/असोज ८: कालिका सामुदायिक अस्पतालको आइसोलेसनबाट एक जना कोरोना संक्रमित भागेका छन्। स्याङ्जा जिल्ला अर्जुन चौपारी गाउँपालिका वडा ४ रापाकोट का अन्दाजी ३० वर्षीय युवक फरार भएको वडा नं ४ की वडाध्यक्ष जितकुमारी चपाइँले जानकारी दिइन्।
उनी केही समय अगाडी मात्र गाई काटेको अभियोगमा पक्राउ परी जेल चलान भएका थिए। जेलमै कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको थियो।
यससम्बन्धी थप जानकारी माग्न खोज्दा कालिका सामुदायिक अस्पतालमा सुरक्षाको लागि खटिएका असईले जानकारी दिन खोजेनन्। साथै जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी राजेन्द्र अधिकारीले पनि फोन उठाएनन्।
आइसोलेसनमा भएका कोरोना संक्रमित नै फरार भएपछि समुदायमा कोरोना संक्रमण फैलने त्रास र कमजोर प्रहरी सुरक्षा उदांगो भएको छ।