२०८३ अशोज ५, सोमवार

निर्दयी पहिरो,पुर्यो सिङ्गै परिवार

खबरकलम संवाददाता/असोज ८: अबिरल वर्षाका कारण गएको पहिरोमा परी स्याङ्जामा घरभित्रै ९ जना पुरिएका छन् । वालिङ नगरपालिका वडा नम्वर १४ तमादीस्थित माया परियारको घर पहिरोले पुरिदा ९ जना घर भित्रै परेका हुन्।

आज बिहान घरमाथिबाट गएको पहिरोले घर पुरेको एक स्थानीयले जानकारी दिनुभयो । १० जनाको परिवार रहेकोमा एक जनालाई जीवितै उद्धार गरी उपचारका लागि लगिएको छ भने एक जना महिलाको शव बाहिर निकालिएको उद्धारमा खटिएका स्थानीय रामचन्द्र खनालले जानकारी दिएका छन्।

घर माथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाई भएको बताइएको छ । अझै घर भित्रै ८ जना रहेको र दुई जनाको टाउको देखिएको उद्धारमा खटिएका खनालले बताए। प्रहरी र स्थानीयबासी मिलेर उद्धार गर्ने काम भईरहेको प्रहरीले जनाएको छ।

शिक्षा मन्त्रालयको निर्देशन,एक हप्ताभित्र विद्यार्थी भर्ना सक्नू

खबरकलम संवाददाता/असोज ७: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको भर्ना एक हप्ताभित्र सम्पन्न गर्न निर्देशन दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको विद्यालय शिक्षासम्बन्धी आकम्मिक कार्ययोजनामा विद्यालय भर्ना हुन बाँकी र स्थानान्तरण हुन चाहने विद्यार्थीलाई असोज दोस्रो सातासम्म भर्ना भइसक्नुपर्ने उल्लेख छ ।

असोजको पहिलो साताभित्र शिक्षकहरु विद्यालय पुग्नुपर्ने, घरदैलो कार्यक्रम गर्नुपर्ने र दोश्रो हप्ताभित्र विद्यार्थीको हातमा पुस्तक पुर्याउनुपर्ने उल्लेख छ।

असोज दोस्रो सातासम्म शूल्क पुनरावलोकन गर्न पाइने

निजी तथा संस्थागत विद्यालयहरुले लिने शूल्क पनि असोज दोस्रो सातासम्म पुनरावलोकन गरिसक्नुपर्ने कार्ययोजनामा उल्लेख छ ।

मन्त्रालयले यसअघि जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा ‘विद्यालयले लिन पाउने शूल्क प्रचलित कानुनको अधीनमा रही स्थानीय तहले स्वीकृत गरे बमोजिम हुने’ भनिएको छ ।विद्यालयहरूले आगामी एकहप्ताभित्र सम्बन्धित पालिकाहरूबाट आफूले लिने शूल्क स्वीकृत गराउनुपर्ने मन्त्रालयले जनाएको छ ।

अनुगमन र आफ्नै आदेशमा निरीह प्रशासन,विभेदपूर्ण व्यवहार गरेको आरोप

असोज ७/खबरकलम संवाददाता: जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आफैले गरेको निर्णयको खिल्ली उडाएको छ। स्याङ्जा जिल्लाभर लागू हुने गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जाले २०७७ साल भदौ ३१ गते एक निर्णय गरेको थियो। र, उक्त निर्णयमा शैक्षिक संस्था, पार्टी तथा सेमिनार, बैठक, भेला जस्ता कार्यक्रममा बन्देज नै लगाइएको थियो।

तर, उक्त बन्देजको अवज्ञा गर्दै जिल्लाभर सार्वजनिक विद्यालयले धमाधम कक्षा संचालन गर्दै आएका छन्। वालिङ नगरपालिकाका अधिकांश सार्वजनिक विद्यालयहरु निर्वाहत रुपमा संचालनमा आएका छन्। भीरकोट नगरपालिकाको शहीदशुक्र मावि,भाग्योदय मावि, दहथुम मावि पनि निस्फिक्री रुपमा खुलेका छन्। पुतलीबजार नगरपालिकाको कालिका माविले विद्यार्थीलाई ड्रेस नै लगाएर बोलाएको छ र पढाइ संचालन गरिरहेको छ।

यसबीच भीरकोट नगरपालिकाका केही निजी विद्यालयले सम्पर्क कक्षाको रुपमा थोरै मात्रै विद्यार्थी बोलाएर कक्षा संचालन गर्दा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी होविन्द्र बोगटीले ठाडो आदेशमा बर्दीधारी प्रहरी पठाएर विद्यालय बन्द गराएको आरोप निजी विद्यालयका प्रिन्सिपलहरुले लगाएका छन्।

“कि विद्यार्थी घर पठाइहाल्नुस्। कि प्रहरी कार्यालय हिड्नुस्।” प्रहरीले साह्रै नराम्रो शब्दमा भने। नाम नबताउने शर्तमा एक प्रिन्सिपलले बताए।

प्रशासनले साह्रै नै विभेद गरेको छ। अधिकांश निजी विद्यालयका शिक्षक र अभिभावकको गुनासो छ।

के कोरोना लागे सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई नलाग्ने र निजीमा पढ्नेलाई लाग्ने हो? के सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई जोखिम नै हुँदैन? स्थानीय अभिभावक बताउँछन्। विद्यालय फरक होलान्, विद्यार्थी त एकै हुन्।

भौतिक दुरी कायम छ। एउटा बेन्चमा एक जना मात्रै विद्यार्थी राखेर सम्पर्क कक्षाको रुपमा विद्यार्थी बोलाइएको छ। त्यो पनि जोर बिजोर गरी दुई देखि तीन सिफ्ट बनाएर बोलाइएको हो। गेटमै ज्वरो नापेर साबुन पानीले हात धुन लगाएर, अनिवार्य रुपमा मास्कको प्रयोग गराएर, सेनिटाइजरको व्यवस्था गरेर सुरु गर्दा पनि हामीलाई अप्ठ्यारोमा पारियो। निजी विद्यालयका प्रिन्सिपलहरुको गुनासो छ।

विद्यालय बन्द छ। बन्द भएपछि उठ्नुपर्ने शुल्क उठाउन सकिएको छैन। शुल्क नउठेपछि शिक्षकलाई पनि तलब दिन सकिएको छैन। यस अवस्थामा हामी कसरी चल्न सक्छौँ? प्रशासनले सहजीकरण गरिदिन पर्छ कि पर्दैन? निजी विद्यालयमा अध्यापन गराउँदै आएका केही शिक्षकहरु नाम नबताउने शर्तमा दु:खेसो पोख्छन्।

प्रशासन र प्रहरी केवल सिदार्थ राजमार्ग आसपास मात्रै केन्द्रित भयो। त्यसमा पनि निजी विद्यालयलाई मात्रै उपेक्षित नजरले हेर्यो। धेरैजसो स्थानीयहरु यो व्यवहारबाट अचम्मित छन्। हामीले प्रशासनमा फोन गरेर जानकारी गराउँदा पनि कुनै चासो दिएनन्। उनीहरु बताउँछन्।

साँच्चै, प्रशासन र प्रहरीले यस्ता विषयमा समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने हो। ‘रक्षक नै भक्षक’ भनेजस्तो समन्वयकारी भूमिका निर्वाह गर्ने संस्था नै विभेदको नीतिमा उत्रेपछि टुलुटुलु हेर्न बाहेक केही नसकिएको निजी विद्यालयका संचालकहरु पनि बताउँछन्। कि हामीलाई राज्यका नागरिक होइनौ भन्नुपर्यो। कि, राज्यको नियम सबैमा लागू र कडाईका साथ पालना गराउनुपर्यो।

पालिकाले चलाउ भन्ने। प्रशासन र प्रहरीले बन्द गराउने, त्यसमा पनि निजी विद्यालयलाई मात्रै बन्द गराउने कार्यले प्रशसन र प्रहरीको भूमिकामै प्रश्नचिन्ह खडा भएको छ। नीति तथा नियम बनाउने लागू गर्ने जिम्मेवारी बोकेका निकायको यो भूमिका परिवर्तन हुन जरुरी छ।

स्याङ्जा जिल्ला नै कोरोना संक्रमणबाट अछुतो नभएकाले यस्ता व्यवहारबाट संक्रमण फैलने जोखिम त एकातिर छ नै। अर्कोतिर यो विभेदकारी नीतिले समाजमा झनै प्रहरी र प्रशासनप्रति वितृष्णा पैदा भैरहेको पनि छ। यस्ता कार्यहरुलाई तत्काल रोक्न प्रशासनले सहजीकरण गर्नुपर्छ।

विद्यार्थीले पढ्न पाउने हकबाट विद्यार्थी वञ्चित हुन हुँदैन। तर, सुरक्षित उपाय अवलम्बन गरेर, भर्चुअल विधिबाट पढाई हुन नसक्ने ठाउँमा र संक्रमण पुष्टि संभावना कम भएको ठाउँमा पठनपाठन सुरु गराउनुपर्ने अवस्था सिर्जना भएको छ।

स्वरेक मैदानको सरसफाई सम्पन्न

नारायण प्रसाद कोइराला/असोज ६: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं ५ मा रहेको धार्मिक तथा पर्यटकीय स्थल स्वरेक मैदानको सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

केही समय अगाडी मात्र स्थापना भएको भीरकोट युवा आवाजका युवाहरुको अग्रसरतामा सरसफाई कार्यक्रम सम्पन्न भएको हो। भीरकोट नगरपालिका वडा नं ५ का वडाध्यक्ष यामप्रसाद अधिकारीको प्रमुख आतिथ्यता, भीरकोट युवा आवाजका युवाहरुको अग्रसरता र स्थानीय वासिन्दाको सहभागितामा प्याराग्लाइडिङ स्थल स्वरेक मैदानको सफाई अभियान पूरा भएको हो।

@khabarkalam

स्याङ्जा जिल्लाको स्वरेक मैदान आन्तरिक पर्यटनको लागि निकै महत्वपूर्ण मानिन्छ। यहाँबाट स्याङ्जा, वालिङ, भीरकोटका अधिकांश स्थानहरुको ३६० डिग्री दृश्यावलोकन समेत गर्न सकिन्छ।

केही समय अगाडी यही स्थानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न भएको थियो।

आईपिएलमा राजस्थान र चेन्नई बीच खेल जारी! अपडेट

खबरकलम/असोज ६: संयुक्त अरब इमिरेट्समा जारी आईपिएलमा आज राजस्थान रोयल्स र चेन्नई सुपर किङ्स भिडिरहेका छन्।

‌ र, राजस्थान रोयल्सले जितको लागि चेन्नईलाई २१७ रनको लक्ष्य दिएको छ।

सन्जु स्यामसन,स्टिभ स्मिथले अर्धशतक बनाए। चेन्नईको लागि अन्तिम ओभर निकै महँगो पर्यो। लुङ्गी इङ्गीडीले जोफ्रा आर्चरबाट लगातार छक्का खाए र तीन नो बल समेत फाले। लुंगी इङ्गीडीले ४ ओभर बलिङ गर्दै ५६ रन दिएर १ विकेट लिए।

बेंगलोरले गर्यो आईपिएलमा विजयी सुरुवात

खबरकलम/असोज ६: संयुक्त अरब इमिरेट्समा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलोरले विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा बेङ्गलोरले डेभिड वार्नरको कप्तानीमा रहेको सनराइजर्स हैदरावादलाई १० रनले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।

बेङ्गलोरले दिएको १६४ रनको लक्ष्य पछ्याएको हैदरावादले १९.४ ओभरमा सबै विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो । ओपनर जोनी बेयर्‍स्टोले अर्धशतक प्रहार गरेपछि मिडल अर्डरका खेलाडी लगातार आउट हुँदा हैदरावाद जितसम्म पुग्न सकेन र नतिजा सुम्पिन पुग्यो ।

आजको खेल राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सबीच हुनेछ।

नेपाल प्रहरीका ४८८ प्रहरी निरीक्षकको सरुवा

असोज ६/खबरकलम: नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ५ असोजको निर्णयबाट इन्स्पेक्टरहरुको सरुवा भएको हो।

निवर्तमान आईजीपी ठाकुर ज्ञवालीकै कार्यकालमा इन्स्पेक्टर सरुवा गर्ने प्रयास गरिए पनि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय, नक्सालबीच भएको मतभेदका कारण रोकिएको थियो । थापाको समयमा पनि तीब्र दबाबका कारण लामो समय रोकिएको निरीक्षकको सरुवा सोमबार मात्र भएको हो ।

भीरकोट युवा आवाजले प्याराग्लाइडिङ मैदान सफाई गर्दै

असोज ५/खबरकलम संवाददाता: भीरकोट युवा आवाजले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सरसफाई कार्यक्रम गर्ने भएको छ।

स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं ५ मा अवस्थित सुन्दर पर्यटकीय स्थल स्वरेक मैदानमा भोलि असोज ६ गते भीरकोट युवा आवाजका युवाहरुको सक्रियतामा सरसफाई हुने भएको हो। यसअघि पनि युवाहरुले निकै पूरानो राजेन्द्र भवानी मन्दिर वरपरको क्षेत्र सफाई गरका थिए।

स्वरेकको मैदान यस्तो स्थल हो, जहाँ बाबु एड्भेन्चरको आयोजनामा विश्वकप प्याराग्लाइडिङ प्रतियोगिता समेत सम्पन्न भएको थियो।

सोमबार थपिए ११५४ कोरोना संक्रमित

असोज ५/खबरकलम संवाददाता: पछिल्लो २४ घण्टामा नेपालमा ११५४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १७६११ रहेको छ।

पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १००५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

‘हिउँ चितुवा’ आङरिता शेर्पाको निधन

असोज ५/खबरकलम संवाददाता:१० पटकसम्म विना अक्सीजन सगरमाथा आरोहण गरी रेकर्ड कायम गरेका विख्यात पर्वतारोही आङरिता शेर्पाको सोमबार आज निधन भएको छ।

हिउँ चितुवा समेतको उपनाम पाएका उनी केही समयदेखि ब्रेन र कलेजोसम्बन्धी समस्याबाट गुज्रिरहेका थिए। उनको अन्तिम दाहसंस्कार कार्यक्रम शेर्पा परम्परा अनुसार हुने जनाइएको छ।