२०८३ अशोज ५, सोमवार

स्याङ्जा प्रहरीले फरार अभियुक्त धमाधम पक्राउ गर्दै एकैदिन ४८ पक्राउ

असोज ५/खबरकलम संवाददाता: जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न अपराधमा अदालतबाट दोषी करार भएका र कैद सजाय भुक्तान नगरी फरार बनेका अभियुक्तलाई धमाधम पक्राउ गर्ने अभियान सुरु गरेको छ।

स्याङ्जामा नयाँ प्रहरी प्रमुखको रुपमा एसपी होविन्द्र बोगटी आएपछि फरार अभियुक्तको खोजी कार्यले तिव्रता पाएको हो। २०७७‌ साल असोज ४ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जा र मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सम्मानित अदालतहरुको फैसलाले कर्तव्यज्यान, हाडनाता करणी,लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशवण्डा ,सम्बन्ध विच्छेद, कुटपिट लुटपिट लगायतका बिभिन्न मुद्धका फरार रहेका ४८ जना प्रतिवादीहरूलाई पक्राउ गरी सम्मानित स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराईएको जानकारी जिप्रका स्याङ्जाले दिएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाद्धारा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत विगत १ महिनामा बिभिन्न मुद्धाका ८३ जना फरार प्रतिवादीहरू पक्राउ गरी सम्मानित स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराउनुका साथै उल्लेखित मध्येका हाडनाता करणी मुद्धामा २ बर्ष कैद तोकिई बिगत २३ बर्ष देखी फरार रहेका जि. स्याङ्जा हरिनाश गा.पा. ५ बस्ने बर्ष ६४ को कर्ण बहादुर मह भन्ने कर्ण बहादुर भट्टक्षेत्री, सवारी ज्यान मुद्धामा २ बर्ष कैद तोकिई बिगत १५ बर्ष देखी फरार रहेका जि. स्याङ्जा चापाकोट न.पा. ४ बस्ने बर्ष ४५ को भक्त सुनारी मगर र डाँका चोरी मुद्धामा ६ बर्ष कैद तोकिई बिगत १० बर्ष देखी फरार रहेका जि. स्याङ्जा हरीनास गा.पा. १ बस्ने बर्ष ६२ को लाल बहादुर नाम्जालीलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी सम्मानित स्याङ्जा जिल्ला अदालतमा पेश गरिएकोमा तिनै जना कैद भुक्तानको लागि कारागार कार्यालय स्याङ्जामा थुनामा रहेको प्रहरी प्रबक्ता एवं सूचना अधिकारी DSP राजेन्द्र प्रसाद अधिकारीले बताएका छ्न् ।

नेपालमै छन्, चार धाम

फणिनारायण सिग्देल/असोज ५:

कयौँ नेपाली चारधाम दर्शन गर्न बर्सेनि भारततिर जान्छन् । नेपालमै चारधाम रहेको जानकारी विद्वत् वर्गबाट नगराइँदा नेपाली भारतमा लुटिएका छन् । यहाँ तिनै चारधामको दिग्दर्शन गरिएको छ ।

नेपालमै चारधाम रहेको वृत्तान्त मानसखण्डबाट स्पष्ट हुन्छ । प्रसिद्ध स्कन्द महापुराणमा हिमवत्, मानस, केदार, जालन्धर र काश्मीर खण्ड छन् ।

यी खण्डमध्ये मेचीदेखि कर्णालीको केही भागको महत्त्व वर्णन हिमवत् खण्डमा छ भने कर्णालीको बाँकी भागदेखि महाकालीसम्मको महत्त्व मानसखण्डमा वर्णित छ ।

वर्तमान नेपाल तथा सुगौली सन्धिपछि भारततिर पारिएको पहाडी भूभाग नै परम पावन वास्तविक देवभूमि हो भन्ने तथ्य पुराणहरूबाट स्पष्ट हुन्छ ।

भारतको केदार खण्डमा बद्रीनाथ, केदारनाथ यमुनोत्तरी, गङ्गोत्तरी गरी चार धाम जस्तै नेपालमा पनि क्षेत्रीय दृष्टिले हिमवत् खण्डका चार धामहरू (वराह, पाशुपत, मुक्ति क्षेत्र, जनकपुर) चार धाम मानिन्छन् भने नेपालभरिका दृष्टिले नेपाल हरिहर क्षेत्र हो, जहाँ हरि विष्णु भगवानका दुई वटा क्षेत्र (वराह क्षेत्र, मुक्ति क्षेत्र) तथा हर शिवजीका दुई वटा क्षेत्र (पाशुपत, वैद्यनाथ) क्षेत्रहरू रहेका छन् ।

उक्त चार क्षेत्र सबैभन्दा पवित्र चार धाम मानिएका छन् । यस्तै पश्चिममा पनि चार धाम वा चार क्षेत्र (मानस, छाया, वैद्यनाथ, ज्वाला) क्षेत्र मानिन्छन् तर समग्रमा त नेपालभरिका पूर्वोक्त चार क्षेत्र नै चार धाम हुन् ।

वराहक्षेत्र

वराह भगवानका कथाहरू धेरै पुराणमा छन्, जसमध्ये मुख्य वराह क्षेत्र कोशी किनारमा नै हो भन्ने कुरा मानसखण्डमा यसरी लेखिएको छ-

तत्र गत्वा नरःस्नात्वा कौशिक्याः सलिले शुभे । दृष्ट्वा च कमलाकान्तं वराह रूपमास्थितम् । सर्वान् कामानवाप्येह विष्णोः सायुज्य माप्नुयात् । अर्थात् हे पार्वती ! कोशी नदीमा नुहाएर लक्ष्मीपति वराह भगवानको दर्शन गरे भक्तले चिताएका कुरा पाउनेछन् । यो भनाइ शिवजीको हो ।

एक पटक शङ्कर भगवानलाई खुसी पार्न विष्णु भगवानले एक दिव्य भूमि रोजी मुक्ति क्षेत्रमा साह्रै ठूलो तपस्या गर्दा उहाँका गालाबाट पसिनाका धाराहरू बगे ।

उहाँको शरीरबाट दिव्य तेजपुञ्ज प्रकाशित भयो, दिव्य ध्वनि पनि सुनियो । देवताहरू त्यसको कारण बुझ्न ब्रह्माजी तथा शंकरजी लाई अघि लगाएर सो ठाउँमा पुगे ।

ब्रह्मादि देवताहरूले उहाँको दर्शन गरे । शिवजी र विष्णु भगवान् दुवै साह्रै खुसी भए । विष्णु भगवानलाई वरदान दिँदै शङ्कर भगवानले भने- मुक्तिक्षेत्रमिदं देव ! दर्शनादेव मुक्तिदम् । अर्थात् यो तीर्थको दर्शन गर्नासाथ मुक्ति प्राप्त हुन्छ ।

भगवानका गाला (गण्ड) बाट बगेको पसिनाको धाराबाट उब्जेकी नदी हुनाले नै उक्त नदीको नाम गण्डकी रहेको हो ।

यसमा दामोदर कुण्डबाट आएकी काली (कृष्णा) नदी कागबेनीमा मिसिएपछि उक्त ठूली नदीको नाम कृष्णा गण्डकी रहेको हो ।

उक्त पावनतम सङ्गमस्थलमा काकभुशुण्डीले सधैं श्रीरामकथा गान गर्छन् भनी रामायणहरूमा लेखिएको छ । उक्त कृष्णा गण्डकीको महिमा जति गान गरे पनि कम नै हुन्छ ।

वराह पुराणमा भनिएको छ- यज्ञस्तपोकवा दानं श्राद्धमीशस्य पूजनम् । यत् किञ्चित् क्रियते कर्म तदनन्तफलं भवेत् । अर्थात्त् त्यहाँ यज्ञ, दान, तप श्राद्ध , पूजा आदि प्रत्येक कर्मको फल अनन्त (गणना गरेर नसकिने) हुन्छ । यसै कारण संसारको पल्लो भागबाट समेत हरेक वर्ष कयौँ हिन्दुहरू यहाँ दर्शन गर्न आउने गर्दछन् ।

पाशुपत क्षेत्र

हिमवत् खण्डको ६९ औँ अध्यायदेखि ७७ औँ अध्यायसम्म पाशुपत क्षेत्रको परिचय र महत्त्वमाथि प्रकाश पारिएको छ ।

काठमाडौँ वाग्मतीको तटमा दिव्य पञ्चमुखी शिव विराजमान छन्, जहाँ सिद्ध महायोगीहरूले मात्रै उनको दिव्य ज्योतिर्मय स्वरूपको दर्शन पाउँछन् ।

अव्यक्तं परम लिङ्गं प्रकाशते ह्यहर्निशम् । दीपशिखाकृतिस्तच्च दृश्यं योगिभिरेव हि । ब्रह्मा र विष्णु भगवानले उक्त पशुपतिनाथको ध्यान गर्दा शिवजी र पार्वतीजीको दिव्य स्वरूपको दर्शन पाए । उक्त ज्योतिर्लिङ्ग केदारनाथ भगवानको शिरोभाग मानिन्छ ।

यसका महिमाको झलक-

ये पश्यन्ति शिव साक्षात् पञ्चव्यूह समन्वितम् । सर्वजन्मार्जितैः पापैश्चतुर्विधोद्भवैश्च ते । मुच्यन्ते तत्क्षणान्नूनं ज्ञानाज्ञानकृतैरपि । सर्वयज्ञफल लब्ध्वा सर्वदानोद्भवं तथा । धर्मोपवासपूजां स शिवलोके महीयते । (हिमवत् खण्ड नेपाल माहात्म्य)

अर्थात् जसले यो पञ्चमुखी दिव्य शिवलिङ्गको दर्शन गर्छ, ऊ जानी नजानी गरेका सबै जन्मका सबै किसिमका पापहरुबाट तुरुन्तै मुक्त हुनेछ । ऊ सबै प्रकारका दान, यज्ञ, धर्म, उपवासका फल प्राप्त गरेर सम्मानित भएर कैलासमा बस्न पाउनेछ ।

वैद्यनाथ क्षेत्र

शङ्कर भगवानलाई अति प्रसन्न गराउन राक्षसराज रावणले कैलाश पर्वतमा ठूलो तपस्या गरे पनि शिवजी प्रसन्न नभएपछि त्यहाँबाट दक्षिणतिर रहेको घोर जङ्गलको माझमा स्थित सिद्ध स्थानमा पुगेर शिवको ठूलो तपस्या गर्यो ।

शिव महापुराणमा भनिएकै छ-

ततश्चायं हिमवतः सिद्धिस्थानस्य वै गिरेः। पौलस्त्यो रावण श्रीमान् दक्षिणे वृक्षषण्डके ।
उक्त सिद्धिस्थानको परिचय तथा घटनाबारे स्कन्द पुराणको मानसखण्डमा लेखिएको छ-

वृद्धगङ्गा महापुण्या यत्र पुण्या सरस्वती । महर्षिभिः समाहूता मम प्रियचिकीर्षया । तत्र सङ्गमिते नद्यौ विद्येते वरवर्णिनि ! तत्र मध्ये महाक्षेत्रं मम प्रीतिकरं शुभम् । नास्ति भूमण्डले क्वापि कैलासेपि तथेश्वरि । अर्थात् हे पार्वती ! मलाई प्रसन्न पार्न महर्षिहरूले त्यहीँ वृद्धगङ्गा (बूढीगङ्गा) र सरस्वती (लुग्रेलीगाड) नदी उत्पन्न गराए ।

मलाई तीनै लोकमा त्यो ठाउँ जति प्यारो कुनै पनि ठाउँ छैन ,कैलास पनि छैन । उक्त ठाउँमा गएर रावणले आफ्ना नौ वटा शिर होमेर दसौँ शिर होम्न लाग्दा शिवजी ज्योतिर्मय रूपमा प्रकट भई उसका सबै शिरहरू जोडी उसलाई अतुलनीय बलशाली बनाएर उसका सबै कामनाहरू पूरा गरिदिए ।

यससम्बन्धमा शिव महापुराणमा लेखिएको छ-

तदा हि प्रार्थितस्तत्र संस्थितोसौ वृषध्वजः। वैद्यनाथेश्वरो भूत्वा प्रसिद्धोभूज्जगत्त्रये । दर्शनात् पूजनाज् ज्योतिर्लिङ्गरूपो महेश्वरः। उक्त क्षेत्रको महत्त्व मानसखण्डको १६६ औँ अध्यायमा विस्तृत रूपमा गान गरिएको छ ।

वैद्यनाथ विवेचना प्रचारको प्रभावले नै होला, भारत झारखण्डको देवघरमा रहेको शिवलिङ्गलाई नै वैद्यनाथ ज्योतिर्लिङ्ग भनी धेरैले मान्दै आएका छन् तर शिवपुराण तथा मानसखण्डअनुसार त त्यो कुरा मिल्दैन ।

उक्त सर्वमान्य शास्त्रीय प्रमाणअनुसार त नेपालकै अछाम जिल्लाको बूढीगङ्गाको तटमा रहेको शिवलिङ्ग नै उक्त ज्योतिर्लिङ्ग ठहर्छ, किनकि कैलास मानसरोवरदेखि दक्षिणको ठूलो जङ्गल र वृद्धगङ्गा त नेपालमा नै छन् ।

अर्को कुरा आद्य शंकराचार्यका अनुसार- प्रज्वलिका निधाने-श्रीवैद्यनाथं तमहं प्रपद्ये । अर्थात् ज्वाला क्षेत्रनेर नै वैद्यनाथको अवस्थिति भनिएको छ । पर्यल्यां वैद्यनाथञ्च डाकिन्यां भीम-शङ्करम्, इत्यादि अनुसार पर्यलीबाट परिवर्तित हुँदै बनेको पर्वा गाउँ उक्त वैद्यनाथ क्षेत्रको उत्तरतिर नजिकै छ ।

अतः सक्कली वैद्यनाथ क्षेत्र त नेपालको नै सिद्ध हुन्छ । जहाँसम्म भारतको वैद्यनाथको कुरा छ- शिवजीलाई सो पावन भूमि छोडेर लङ्कामा जाने इच्छा नभएकाले अछामबाट त्यहीँ पुग्दा रावणलाई पिसाबले अत्याएर बिसाउँदा त्यहाँबाट उठेनन् र त्यहाँ पनि रहे भन्ने जनश्रुति पनि सुनिन्छ ।

यसरी प्रकट भएका ठाउँमा एकरूप र बिसाएका ठाउँमा अर्को रूपमा रहेका हुन सक्छन्, किनकि एकोहं बहुधा स्याम्, अर्थात् एकबाट असङ्ख्य र असंख्यबाट एक हुन समर्थ हुने नै भगवान् हो ।

स्रोत: वर्णनमिडिया

दिल्लीले दियो पंजाबलाई १५८ रनको लक्ष्य

असोज ४/खबरकलम:

आईपीएलमा जारी दोश्रो दिनको खेलमा सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स र किङ्स इलाभेन पंजाब बीचको खेल चलिरहेको छ।

पहिले ब्याटिङ गर्दै दिल्ली क्यापिटल्सले जीतको लागि किङ्स इलाभेन पंजाबलाई १५८ रनको लक्ष्य दिएको छ। खराब सुरुवात गरेको दिल्लीको इनिङ्स मार्कस स्टोइनिसले एकतर्फी सम्हालेका थिए। उनले २१ बलमा ७ चौका ३ छक्काको मदतमा ५३ रन बनाउँदै अर्धशतक प्रहार गरेका थिए।

पंजाबका मोहम्मद शामीले ४ ओभरमा १५ रन दिँदै ३ विकेट लिए।

किङ्स इलाभेन पंजाबले केही बेरमा जवाफी ब्याटिङ गर्दै छ।

यस वर्षको मदन पुरस्कार महारानी लाई

खबरकलम संवाददाता/काठमाडौं: नेपालको साहित्य क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित मानिने मदन पुरस्कार २०७६ चन्द्र प्रकाश बानियाँको “महारानी” कृतिले हात पारेको छ।

यसैगरी २०७६ सालको जगदम्बाश्री पुरस्कार शान्ति ठटाललाई प्रदान गरिएको मदन पुरस्कार गुठीले जनाएको छ।

भालुपहाडको झण्डा फेरियो

खबरकलम संवाददाता/असोज ४: स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाको सिमानामा अवस्थित पर्यटकीय स्थल भालुपहाडमा नयाँ झण्डा फेरिएको छ।

भीरकोट युवा आवाज र पहिलो पाइला नेपाल स्याङ्जा शाखाको संयोजनमा त्यहाँ राखिएको पूरानो राष्ट्रिय झण्डाको ठाउँमा नयाँ राखिएको हो। राष्ट्रिय झण्डा पूरानो भएर च्यातिएको भएपनि स्थानीय निकायको ध्यान त्यता गएको थिएन।

सिदार्थ राजमार्ग छेवैमा अवस्थित यस स्थल युवायुवतीको लागि विशेष प्रख्यात छ। यात्रुहरु रोकिएर सेल्फी खिच्ने क्रम बढेकोले यस ठाउँको नाम नै सेल्फी डाँडा पनि राखिएको छ।

यस ठाउँले पर्यटनलाई विशेष टेवा पुर्याउने संभावना बोकेको छ। पहाडको तल बगेको घुमाउरो सेतीखोला, अग्ला-अग्ला पहाड, समथर मैदान यस ठाउँका विशेषता हुन्। थुप्रै नेपाली चलचित्रहरूमा समेत यस ठाउँको दृश्य देख्न सकिन्छ।

चेन्नई सुपर किङ्स ५ विकेटले विजयी

असोज ३/खबरकलम: आजबाट संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु भएको टि-ट्वान्टी क्रिकेटको कुम्भमेला आईपिएलमा चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ।

मुम्बई इन्डियन्सले दिएको १६३ रनको लक्ष्य ४ बल बाँकी छँदै चेन्नईले भेट्टाएको हो। ५ विकेटले चेन्नईलाई विजय गराउन अम्बाती राइडु र फाप डुप्लिसिसले अर्धशतक प्रहार गरे।

भोलिको खेल सन्दिप लामिछाने सम्मिलित टिम दिल्ली क्यापिटल्स र किङ्स इलाभेन पञ्जाब बीच हुनेछ।

बहुप्रतिक्षित आईपिएल सुरु

असोज ३/खबरकलम: टि-ट्वान्टी क्रिकेटको सबैभन्दा महँगो र बहुप्रतिक्षित आईपिएल आजबाट सुरु भएको छ।विश्वका महान क्रिकेटर यस प्रतियोगिता खेल्न लालयित हुन्छन्। आजबाट सुरु भएको पहिलो खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स भिडिरहेका छन्।

पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्सलाई जितको लागि १६३ रनको लक्ष्य दिएको छ‌।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका महेन्द्र सिंह धोनीको यो पहिलो घरेलु प्रतियोगिता हो।

कोरोना भाइरसको महामारीको कारण भारतमा हुने गरेको खेल यसपटक संयुक्त अरब इमिरेट्समा भएको छ।

स्याङ्जामा संविधान दिवसको रौनक

असोज ३/स्याङ्जा: दोश्रो जनआन्दोलन २०६२/६३ तथा संविधान सभाको मुख्य उपलब्धि ‘नेपालको संविधान २०७२’ जारी भएको आज ६ वर्ष पूरा भएको छ।

संविधान जारी भएको छैठौं वर्षको अवसरमा नेपाल सरकारले आफ्ना नागरिकलाई घरघरमा दीप प्रज्वलन गरी संविधान दिवस मनाउन अनुरोध गरेबमोजिम स्याङ्जा जिल्लाको विभिन्न ठाउँमा संविधान दिवस धुमधामले मनाइएको छ। स्याङ्जा जिल्लाका मुख्य बजारहरु पुतलीबजार, वालिङ, गल्याङ, भीरकोट लगायतका स्थानमा दीप प्रज्वलन गरी संविधान दिवसको शुभकामना समेत आदानप्रदान भएको जानकारी युवाहरुले खबरकलमलाई गराएका छन्।

पछिल्लो समय फुड बैंक कार्यक्रम गरी समाजसेवामा लागिरहेको पहिलो पाइला नेपाल स्याङ्जा शाखाको आयोजनामा आज स्याङ्जाको सदरमुकाम पुतलीबजारमा संविधान दिवस मनाइयो। स्याङ्जा शाखाकी संयोजक स्मृति काफ्लेको अनुपस्थितिमा दीप प्रज्वलन तथा शुभकामना आदानप्रदान कार्यक्रम संयोजन गरेका झलक अर्यालले संविधानले दिएका हक अधिकारको संरक्षण र प्रयोगका लागि यस्तो कार्यक्रम गरिएको बताए।

स्थानीय वासिन्दा, राजनैतिक व्यक्तित्व, समाजसेवी, पत्रकार आदिको उपस्थितिमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको झलक अर्याल बताउँछन्।

अनाथ,असाहाय, र पिछडिएका वर्गलाई राहत उपलब्ध गराउँदै आएको “पहिलो पाइला नेपाल, स्याङ्जा शाखा”ले स्याङ्जा जिल्लाको प्रमुख पर्यटकीय आकर्षणको रुपमा रहेको भालुपहाडमा भोलि राष्ट्रिय झण्डा फेर्ने कार्यक्रम समेत राखेको छ। यसअघि उक्त स्थानमा फहराइएको झण्डा पूरानो भएर च्यातिएको तस्विरसहितको समाचार पूर्व सचिव भिम उपाध्यायले आफ्नो फेसबुकमा लेखेपछि पहिलो पाइला नेपाल स्याङ्जाले पूरानो झण्डा परिवर्तन गर्दै नयाँ राष्ट्रिय झण्डा राख्ने जानकारी दिएको हो।

भीरकोटका युवाले गरे दीप प्रज्वलन

स्याङ्जा/असोज ३: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाका युवाहरुको सामुहिक संजाल “भीरकोट युवा आवाज”का अभियन्ताहरुले संविधान दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम गरेका छन्।

भीरकोट नगरपालिका वडा नं ५ सुन्दरबजार( बगरेबजार)मा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको जानकारी प्रमोद खनालले खबरकलमलाई दिएका हुन्।

नेपाल सरकारले अनुरोध गरेबमोजिम आज देशभर दीप प्रज्वलन तथा हर्षबढाइँका साथ छैठौं संविधान दिवस मनाइएको छ। नेपाल सरकारले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा टुँडिखेलमा कार्यक्रम सम्पन्न गरेको थियो।

लकडाउन र कोरोना महामारीको अवस्थामा भीरकोटका युवारु मिलेर सामाजिक विकासमा युवाहरुको सुनिश्चितता गर्ने उदेश्यले “भीरकोट युवा आवाज”को गठन गरेका थिए। कृष्ण अर्याल, जगदिश अर्याल, प्रमोद खनाल, पवन खनाल, राजेश सुनार, दिपेश बिके, रश्मी अर्याल, अनुश्का अर्याल, रवि थापा लगायतका युवाहरुले यही साउन १८ गते एक भेला गरी साउन २२ गते कृष्ण अर्यालको संयोजकत्वमा एक समिति गठन गरेका थिए।

भीरकोट युवा आवाजले स्थानीय निकायमा हुने अनियमितता, ढिलासुस्ती र लापरवाहीमा खरो रुपमा उत्रने तथा सामाजिक कार्यमा समेत युवाहरुको सुनिश्चितता गर्ने उदेश्य रहेको युवा आवाजका सदस्यहरु बताउँछन्।

भीरकोट युवा आवाजले रासायनिक मलको वितरणमा सहजिकरण, बाटो तथा मन्दिरको सरसफाई, सामाजिक सचेतना कार्यक्रम जस्ता कार्यक्रम सम्पन्न गरिसकेको छ।

केही दिनमै भीरकोट युवा आवाजको बृहत भेला समेत गर्ने तयारी भैरहेको छ।‌ विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने दिग्गज व्यक्तित्वहरु यस “भीरकोट युवा आवाज”का संस्थापक सदस्य रहेका छन्।

पछिल्लो २४ घण्टामा १२०४ जना संक्रमित थपिए

असोज ३/काठमाडौँ: नेपालमा आज शनिबार थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १०३३३ जनाको स्वाब परीक्षण गर्दा १२०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। आज थपिनेको संख्या भन्दा डिस्चार्ज हुनेको संख्या बढी रहेको छ।१४४७ जना गत २४ घण्टामा डिस्चार्ज भएका छन्। हालसम्म ४५२६७ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएर घर फर्केका छन्।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६२७९७ पुगेको छ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या पछिल्लो २४ घण्टामा ११ पुगेको छ।